साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो टाउको

यही फेटाको आधारमा म आज यद्यपि त्यो औकातको छैन र पनि एकाइसौंं शताब्दीको प्रतिनिधि कवि भइटोपलेको छु । शहस्राब्दीको सर्वोत्कृष्ट कलाकार भइटोपलेको छु ।

Nepal Telecom ad

मेरो टाउको बाउको न साहुको । यत्ति भनेर शायद कुरा बुझिंदैन । कुरा बुझाउन सकिएन भने लेख्नुको सार्थकता रहँदैन । भन्नुको सार्थकता रहँदैन ।

मेरो टाउको बाउको न साहुको । यो ध्रुवसत्य हो । मेरो बाउको टाउको टाउकोले मेरी ठूली आमाको पुस्तौनी सम्पत्तिको झगडाको मुद्दा बीस वर्षसम्म बोक्यो । मेरो काकाले पैतालादेखि तालुसम्म एक गरेर खर्च जुरायो । दुवैको टाउकोमा झगडाको भूत सवार थियो । अन्यायको विरोध सवार थियो । मेरा बाउले झगडा बोक्दा बोक्दा म बीस बर्षको लाठे भइसकेको चालै पाएनन् । सधै अड्डा अदालत सधैं नेपाल, नेपाल । उनताका आजभोलि जस्तो बसबाट गुडेर वा हवाईजहाजबाट उडेर नेपाल (काठमाडौं उपत्यका उनताका मोफसलको लागि नेपाल थियो) पुगिन्थ्यो र ? बरबन्दीको उकालो कन्चटबाट पसीना काढेर उक्लदै जान पथ्र्यो रे ! बाफरे !

ती हाम्रा बा तथा काकालाई उनताका हिरो बन्ने कस्तो सोख चलेको होला ? ‘गाँठ भी गुमाना बेबकूफ भी बन्ना ।’ सम्पत्ति पाउने ठूली आमा पुर्पुरो सेकिउन्जेल झगडा खेप्ने मेरो बाउ तथा काका । विचरा बूढाहरू (उनताकाका हिरोहरू पछि आएर भिलेन बनाइएका) ले नेपालका कालो कोट लगाउने बाबुहरूलाई खुशी पार्न मर्वीको असला र फेवाको सहर माछो खेप्ने रहर गरेनन् कि बाटुलेचौरको सुन्तला (उबेलाको अहिले सुन्तलाको बुटोको दर्शन पनि पाइँदैन) देखि घरगाउँको खाँटी घिउसम्म ओसारेनन् कि ? बिचरा ! तर के गरुन् आखिर झगडा मेलमिलाप भयो, सम्पत्ति ठूली आमाको नाममा ग्वाम्म पर्‍यो । मेरो काका र बाउको परिश्रम मात्र झ्वाम्म पर्‍यो । मकै खाने भालु चोट पाउने कालु । त्यही भएर मलाई यो भैझगडा, अड्डा कचहरी भनेपछि रिंगटा लागेर आउँछ, भैझगडा भनेपछि पहिल्यै जरो आउँछ । मै जस्ता मेरा एकजना दाइ हुनुहुन्छ । उहाँ त झन् यत्ति डरपोक कि भाउज्यूले बल्डेङ्गा आँखा पल्टाइदिए मात्र पनि ब्लडप्रेसर डाउन भइहाल्छ । त्यस्ताको त भाइ, कहाँको मुद्दामामिला खेप्नु । त्यसै भएर भनेको मेरो टाउको न बाउको न साहुको भनेर ।

बाउको कुरो सकियो, अब साहुको कुरो गरौं । साथीहरूको लहैलहैमा लागेर कुनै समयमा मैले ठूलै साहुको सङ्गतमा काम गर्ने अवसर पाएको थिएँ । ती साहुहरूसँग निक्कै खटेर काम गर्दो पनि थिएँ। जति काम गरे पनि झुन्डिएको बदनामीले खाँदो रहेछ । साहु हुनलाई यस मुलुकमा साढे सातको राहु हुनुपर्ने रहेछ आफूलाई के मालुम ! राहूको नाम लिनासाथ कालो धजा, कालो बोका र कालो कुखुराको भाले सम्झने आफ्नो दिमाग, कहाँको साहू हुनु । फेरि टाउकोमाथि चौबीसै घण्टा बेइमानी र बेइज्जतीको तरवार झुन्डिएको झुन्डियै । यस्तो बेला आफूजस्तो बबुरो बिचरोले कहाँबाट साहु हुने सपना उन्नु ? त्यसै भएर ‘साग र सिस्नु खाएको बेश आनन्दी मनले’ भने के ‘जयरामजी कि’ भनेर हिँडियो साहुजीहरूकहाँबाट बिदावारी भएर । यो साहुजी हुनु पनि खतरामुक्त रहेनछ । त्यसै भएर भनेको यो टाउको न साहुको न बाउको भनेर ।

अब प्रश्न उठ्न सक्छ यो टाउको कसको त ? यसबारे मैले पनि निक्कै सोच्ने गरेको थिएँ । आखिर यो टाउको कसको ? निक्कै सोचविचार गरेपछि निष्कर्षमा पुगेँ यो टाउको न साहुको, न बाउको, न मेरो, यो टाउको आखिर रहेछ हाउको । ‘हाउ’ भनेको हाउगुजी । म केटाकेटी हुँदा मेरी हजुरआमा आफूले भनेको मानिनं भने मलाई सधैं ‘हाउ’ आयो भनेर तर्साउनुहुन्थ्यो। ‘हाउ’ मैले देखेको थिइन र पनि तर्सन्थें । हजुरआमा भन्ने गर्नुहुन्थ्यो- ऊ । रातो फेटा लगाएको हाउ आएको
छ । कहिले भन्नुहुन्थ्यो ऊ । सेतो फेटा लगाएको हाउ आएको छ । आज-भोलि लाग्न थालेको छ मेरो टाउको साहुको न बाउको भएर तिनै हाउको हो । मेरो टाउकोले न मलाई मुद्दा मामिला वोक्न सक्ने बनायो, न साहु बन्न सक्ने नै तुल्यायो । बरु मेरो टाउकोमा कला-साहित्यमा लागेपछि र अलिकति सीप जान्नासाथ मेरी हजुरआमाले भन्ने गर्नुभए झैं यो टाउको नानाथरी फेटा पाउँदो रहेछ । फेटा बाँध्नेले टाउको भित्रको गिदी हेर्दा रहेनछन्, मनभित्र हुने गुदी पनि हेर्दा रहेनछन् । कतै गोरु किनबेचको साइनो त कतै भाङ्गधतुरोको साइनोले पनि फेटा गुताइँदो रहेछ । मान्छेको जन्तभन्दा कला-साहित्यको जन्त जानु रमाइलो हुँदो रहेछ । मान्छेको जन्तमा त सम्धिको खलकका साथै मामा-भान्जाहरूले टीका सहित दक्षिणा र कतै फेटा पाउँछन्, तर कला-साहित्यमा भने मामा-भान्जा त परै रहुन् गोरु बेचेको साइनो मात्र भए पनि पुग्दो रहेछ । त्यै पनि अनुकूल नभए भट्टीमा गिलास घुट्क्याउँदाको साइनो पनि काफी हुने रहेछ ।

यस्तैयस्तै नाता प्रमाणको आधारमा मैले २-४ वटा फेटा यस टाउकोमा गुत्ने सौभाग्य पाएको छु । कहीं कतै टाउकोभन्दा फेटा धेरै ठूलो हुन्छ । टाउकोलाई सुहाउँदै नसुहाउने रहेछ, फेरि पनि चल्दो रहेछ । यस्तै यहाँको फेशन रहेछ । त्यो फेटा लगाउँदा म साँच्चीकै हजुरआमाले भन्नुभए झैं हाउ जस्तै देखिन्छु होला जस्तो लाग्छ र पनि मेरो यसैमा गौरव छ, इज्जत छ, सम्मान छ, प्रतिष्ठा छ । यही फेटाको आधारमा म आज यद्यपि त्यो औकातको छैन र पनि एकाइसौंं शताब्दीको प्रतिनिधि कवि भइटोपलेको छु । शहस्राब्दीको सर्वोत्कृष्ट कलाकार भइटोपलेको छु । सर्वोत्कृष्ट कविको रूपमा नाम दर्ता गराउन सफल रहेको छु । यसभन्दा ठूलो उपलब्धि मान्छेले अरु के खोज्नु । त्यसैले मैले आजभोलि गर्वसाथ भन्ने गरेको छु यो मेरो टाउको न साउको, न बाउको, मात्र ‘हाउ’को हो, ‘हाउ’ को ।

०००
‘श्री पशुमहापुराण’ (२०५७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x