नगिता लेप्चा राईविशेषज्ञ
बाजे आए । पात्रो हेरे निकै घोरिएर अनि भने- केटोको शनि अलिक डाउन रहेछ.... केतु चाहिँ एकदमै चञ्चल रहेछ । नानीको नाममा मृतसञ्जीवनी जाप गर्नुपर्छ । लौ त्यो पनि साङ्गो भयो ।

दिनभरि गधाजस्तो खटेर घर पस्नसाथै छोरो खाटमाथि लड़रहेको देखेर डम्बरेले सोध्यो- अरे तेरो कानको लोती किन यति रातो हँ… केले टोक्यो कि… ।
– खै कुनि…
– दुख्दैछ ?
– कम्ति…
– आमामामा…. हेर त यसको कान, कान दुख्दैछ रहेछ मलाई किन नभनेको ? कानको बिमारजस्तो डेन्जर अरु केही हुँदैन । हिँड़्…हिँड़् डाक्टरकहाँ अहिले हिँड़्…उठ्… उठ् छोरा । एकक्षण पनि नबिसाई छोरोलाई लिएर डम्बरे डाक्टरकहाँ लाग्यो । सोझै फेमिली डाक्टर तामाङकहाँ पुगे दुई बाबु छोरो । डाक्टर तामाङले रोगीको छात्ती, जिब्रो, पेट, नाकको ओड़ार, कान, आँखा लाइट बालेर जाँचे । तीन सय रुपियाँ फिस लिएपछि डाक्टरले नानीलाई कानको डाक्टरकहाँ लाने सुझाव दिए । कानमै केही गड़बड़ी छ जस्तो लाग्दैछ । नानीको रगत र थुक पनि जाँच गराउनोस् । केही दिन नो बाथ….नो बुलुबुलु ।
रगत र थूक जाँच वापत् ६ सय रुपियाँ । सोझै कान डाक्टर डा. गड़्तौलाको च्याम्बरमा । फिस ५ सय । देब्रे कान झण्डै आधा घण्टाभन्दा बढ़ी जाँचे । दाहिने कान जाँच्दा डाक्टर गड़्तौला बोले- हेर्नोस् हजूर…म चाहिँ देब्रे कानको विशेषज्ञ हुँ । नानीलाई दाहिने कान विशेषज्ञकहाँ लानुहोस् । त्यो बेष्ट हुन्छ । नानीको कानको लोती सारै रातो भइसकेको छ । केश भेरी कम्पलिकेटेड छ ।
डा. गड्तौलाको कुरा सुनेर डम्बरे सुर्तामा पर्यो । नानीलाई तुरुन्तै दाहिने कान विशेषज्ञकहाँ पुर्यायो । दाहिने कान विशेषज्ञ सापकोटाले बड़ो मेहनत लाएर नानीको दाहिने कानको रातो लोती हेरिसकेपछि नानीलाई नाक विशेषज्ञकहाँ लाने सुझाव दिए । ७ सय त्यहाँ पनि । रात निकै बितिसकेको हुनाले डम्बरे नाक विशेषज्ञकहाँ नगई झण्डै डेढ़ किलोजति औषधि बोकेर बाबु-छोरा घऱ फर्के । एकदम बेड रेष्ट । नो प्ले, नो स्कूल…डाक्टरको निर्देश । हप्ता दिनपछि फेरि रगत, थुक, पिशाब, कानको लोती आदिको रिपोर्ट आयो । दुवै कानको बाहिरी खोल, भित्री ओड़ार, नाकका दुलाहरूका एक्स रे, स्क्यानिङ रिपोर्ट आयो । नो कम्पेलेन । रिपोर्ट हेरेर डम्बरेले लामो श्वास फेऱ्यो । उसलाई सामान्य सञ्चो भयो ।
आमाको मन मानेन । फेरि उनले घरेलू डाक्टरकहाँ पुर्याइन् । यसपाली घरेलू डाक्टरले कुनै फिस लिएनन् । नानीको आमाको रुञ्चे र नियास्रो मुहार हेर्दै डाक्टर बोले- नसुर्ताउनुहोस् । अब म यहाँ भएका जति सबै विशेषज्ञहरू लिएर एउटा कन्फरेन्स गर्नेछु अनि नानीको शीरदेखि पाइतालासम्म प्रत्येक पोइण्ट-पोइण्टसम्म चेक गराउँनेछु ।
नानीको आमा गहिरो सुर्तामा परिन् । ससुराले जण्डा झाँक्री काका बोले- नानीलाई नजर लागेको छ । मुटुमा एटेक गर्ने गर्ने विचार थियो तर नानीको ग्रह बलियो भएकोले कानकै लोतीमा एटेक गरेर नानीको कान यस्तो रातो भएको हो ।
आँखाभरि आँसु पारेर बोलिन्- यसलाई बिसेक पार्न सकिँदैन गम्भीर काका ?
यो म मेरो लेफ्टह्याण्डको काम हो नानी । एउटा कालो कुखुरा- दुइवटा अण्डा,.अण्डा पनि कन्ये अण्डा होइन नि ।
– कस्तो कन्ये अण्डा गम्भीर काका ?
– पोल्ट्री कुखुराको अण्डालाई म कन्ये अण्डा भन्छु… कारण त्यो भाले बिनाको अण्डा हो । कन्ये अण्डाले बनदेवी देवता मान्दैनन् । यसकारण घरमा पालेको कुखुराको अण्डा नै चाहिन्छ यताउति गर्नुलाई । अनि एक बोतल चोखो सगुन ।
– चोखो सगुन चाहिँ दूध कि….?
– दूधले अचेल भूत-प्रेत,बोक्सी डाइनीलाई कहाँ रुझाउन सकिन्छ । रम, ह्विस्कीले नै देवी-देवतालाई रुझाउन सकिन्छ ।
आइतबारको छेक पारेर सबै सेमे सामग्री घरमा ल्याइयो । झारफुक भयो । डेढ़ हजारको बुटी नानीको दाहिने पाखुरामा बाँधियो ।
बुटी लाएर पनि नानी बीसको उन्नाइस नहुँदा सेभेण्टिन मोड़का हरिप्रसाद बाजेलाई बोलाइयो… बाजे फेरि टोटो बिना नहिँड़्ने । बाजे आए । पात्रो हेरे निकै घोरिएर अनि भने- केटोको शनि अलिक डाउन रहेछ…. केतु चाहिँ एकदमै चञ्चल रहेछ । नानीको नाममा मृतसञ्जीवनी जाप गर्नुपर्छ । लौ त्यो पनि साङ्गो भयो । तर नानीको कानको लोती भने राताको रातै । नानीकी आमा झन् सुर्तामा परिन् ।
गाउँ-घरकाहरूले हनुमान मन्दिर गई त्यहाँका हनुमाने बाबालाई सबै वृतान्त बताउने सल्लाह दिए । आमाले नानीलाई हनुमाने बाबाकहाँ पुर्याई नानीको कानको लोतीबारे वृतान्त सुनाइन् । कानको लोती राम्ररी छामछाम छुमछुम गरेपछि बाबा बोले- सुर्ता गर्ने काम छैन बालिके । यमराजले अलि-अलि गुल्चे गर्दैछन् । यमराजलाई टाइट गराइदिउँला । यही हनुमान मन्दिरमा एउटा होम गर्नुपर्छ । हनुमानलाई साक्षात् बोलाउँछु मन्त्र शक्तिद्वारा । पाँच केजी खाँटी घिउ खारेको । हनुमानबाबालाई दस लिटर प्यूर खानेतेल, भोले बाबालाई दामी ड्रिङ्क्स अनि कैलाशदेखि यहाँसम्म आउनको निम्ति ट्रान्सपोर्ट फी । हनुमानबाबालाई पाँच केजी घिउको लड्डु । सब ठिक भइहाल्छ । जय हनुमान…बम बम भोले बाबा ।
स्कूल निकै दिन नगएकोले एकदिन नानीको मिल्ने साथी चन्द्रवीर घरमा आयो । चन्द्रवीरलाई देखेर नानीको आमा कोहोलो मच्चाउँदै रुन थालिन् । चन्द्रवीर नानु हेर न तिम्रा साथीलाई त के भयो भयो….। डाक्टर धामी झाँक्री, बाजे, बाबा क-कसलाई देखाई सकेनौं । खै अहिलेसम्म बीसको उन्नाइस भएकै छैन…. ।
– खै के को दशा लाग्यो नानी…के बिगार पर्यो कोनि… तिम्रा साथीलाई- नानीका बाबु बोल्यो नम्र स्वरमा ।
– आमा रुँदै बोलिन्- स्कूलमा कति पढ़ाइ भइसक्यो होला .तिमीले कति पढ़िसक्यौ होला नानी । खै हाम्रो यो त विचारा ओछ्यानको ओछ्यानमै ।
आमाको कुरा सुनेर चन्द्रबीर छक्कै पर्यो । आमा चाहिँ भक्कानो फुट्ने गरी रुन थालिन ।
अचानक चन्द्रवीर बोल्यो- आमामामा….एई कुलवीर अस्तिको हप्ता हिसाब क्लासमा किशन सरले तेरो कान मोल्नुभएको थियो होइन ? हिसाब सरको हातमा लागेको रातो मसीको दाग तेरो कानमा अहिलेसम्म पनि छ ? किशन सरले यूज गर्ने रातो मसीको रङ् कस्तो हार्ड रहेछ होकि ?
चन्द्रबीरको यो कुरो सुन्ने बाबुका शङ्का-उपशङ्काहरू एक निमेषमै डाँड़ा काट्यो । आमा चैँ हत्त न पत्त रुई पानीमा भिजाएर ल्याई छोरीको कानको लोती पुछिदिइन् ।
नानीको सबै रोग भिजेको रुईले पुछियो…भिजेको रुई रातै भयो ।
आमा-बाबु दुवै खुसी । बाबा बजार लागे । आमा चैँ भान्सा घरमा चन्द्रवीरको लागि चिया-खाजा बनाउन लागिन् ।
मौका छोपेर चन्द्रवीरले सुस्तरी सोध्यो साथीलाई- एई तैले के गरेको यस्तो ? किन ढाँटेको यसरी आमा-बाबालाई ?
त्यसले चन्द्रवीरलाई छेवैमा बोलाएर कानमा सुटुक्कै भन्यो- ठैट हेर्न मलाई स्कूल जान मनै लाग्दैन… पढ़्नु मनै लाग्दैन । रातो मसी आफैले कानको लोतीमा लाएर कान दुख्यो भनी फत्रक-फत्रक परेको नि । अहिले कम्तिको पनि खाता-किताब खोल्नु त परेको छैन ।
आमा चिया खाजा लिएर आएकी देखेर दुवै चूपचाप भए…. चन्द्रवीरको साथी भने ओछ्यानमै ढल्किरहयो…..।
०००
जलपाइगढ़ी, भारत
Subscribe
Login
0 Comments
Oldest







































