शेषराज भट्टराईनयाँ नेपाल
शासन सत्ताको उन्मादमा आफ्नालाई काखा पराइलाई पाखा गर्ने जनसेवक नेतालाई नयाँ नेपालको आराध्य देवले कस्तो बुद्धि दिएका छन् ? कता हेलिइरहेका छन् ?

एक्काइसौँ औँ शताब्दीमा हामी नयाँ नेपालको तन्नेरी गणतन्त्रमा कपाल कन्याउँदै रमाइरहेका छौँ । कपाल कन्याउन झ्याउ मान्नेहरू सोझै विदेश हान्निएर धन दौलतको रछानमा मुख गाड्दै आनन्दको ओच्छ्यानमा पल्टिरहेका छन् । यहाँ लथालिङ्ग अवस्थामा नयाँ नेपालले कछुवा चालमा फड्को मार्नै लागेको छ । नेताहरू जस आफूतिर खैचिन मैराम्री मैपातलीको भाकामा बनपाखा रन्किने गरी गीत गाइरहेका छन् । एउटाले अर्काको गीत सुन्न हिजो झिजो मान्थे भने आज हिजोको झै झिजो नमान्ने कुरै भएन । तैपनि नयाँ नेपाल खातिर आफू माथि पुग्न अरूलाई धारेहात लगाउँदै शिष्ट विशिष्ट, सत्तोसरापमा आफ्नो आयतन वेतनका खातिर खुम्च्याइरहेका छन् । नयाँ नेपालमा यत्तिका जुझारु जाँगरिला नेता न अगाडि जन्मिए न पछाडि जन्मिनेवाला छन् । आमाका गर्भमा बस्ता पनि नयाँ नेपाल खातिर खुटा फालेर उफ्रिएकी जस्तो कस्ता टाठा कति बाठा नयाँ नेपालमा हाम्रा पुङमाङे नेता । मादलमा दुबै तर्फ साल हुन्छ अनि जसले खरिहाल्छ उसैले बजाउँछ । नेता पनि मादल जस्तै जस्ले खरी हाल्छ उसैले बजाउँछ । उसैका काँधमा लड्किएको हुन्छ ।
खोलानाला प्रकृतिले आफ्नो लय छोडेका छैनन् तर नेपाली सारा जनता आफ्नो पाराबाट विचलित भएका छन् । उच्च विकसित देशहरूले चन्द्रमा, मंगल ग्रह ताकिरहेका बेलामा नयाँ नेपालका नेताहरू चाहिँ एक अर्काको टुप्पी र खुट्टा तान्नमै व्यस्त छन् । यिनलाई विकसित देशका नेताले तपाईंको पेशा के हो ? भनेर सोधे भने नेपालका नेता धक नमानी धक फुकाएर भन्छन् मेरो पेशा नै राजनीति । पेशा अर्थात् आम्दानीको स्रोत नै राजनीति । यहाँका नेता जोगी हुनलाई राजनीति गर्दैनन् भोगी हुनलाई राजनीति गर्छन् । भद्रगोलका पुजारीहरू आन्तरिक लुटतन्त्र र कलहमा रमाइरहेका छन् । गठबन्धन सरकार कलहबाटै मथिएर निस्किएको नौनी हो । गठबन्धन बाहक हुकुमी शासनमा आसन जमाएर सुशासनको उधारो प्रत्याभूतिले जनता थुम्थुम्याइरहेका छन् भने हामीले खोजेको चाहेको नयाँ नेपाल यहि हो ?
बैंक वित्तीय संस्थाहरू जनसेवाका नाममा मज्जाले मेवा चपाइरहेका छन् । आफूतिर तराजुको पल्ला ढल्काउँदै उपभोक्ता पल्काउँदै गर्न सक्नु त आधुनिक सामन्तीको सीप कौशल नै भयो नि । आफू अरबौ फाइदा गर्न अग्रसर रहँदा प्रजा मरुकरण तर्फ धकेलिएका छन् भन्ने कुरा कसरी बर्सिएको ? पाप कर्मले हर धर्मलाई बिर्साइदिन्छ । सरकारले उपलब्ध गराएको राहत नेताका अगुवा पछुवाले मात्रै कुम्ल्याउँछन् भन्ने कुरा किन नबुझेको ? जनता नानाभातिका करकरबाट लुट्नु लुटिएका छन्, कुट्नु कुटिएका छन् । कमिसन र भ्रष्टाचारमा मन्त्री महोदयहरू म्याराथन जित्न उद्यत छन् । प्रदेश सरकारलाई आफ्नो नजिकका भर्ती केन्द्र बनाएर देशको लाम्टो चुसिरहेका छन् । विकास निर्माणको काममा स्वार्थ सिद्ध भए काम गर्न दिने नत्र अलपत्र छोड्नेहरूले नै देशलाई खलपत्र पार्दै आसेराणी जनतालाई हाकाहाकी लोप्पा खुवाउनकै लागि हो त नयाँ नेपाल ?
देशमा राजतन्त्र छँदा मार्नु, लुट्नु, कुट्नु, पाप मानिन्थ्यो भने अहिले नयाँ नेपालको सूत्रपात नै सत्र हजार नेपालीको बध गरेर भएको छ । अनि नेतृत्व तिनै अधर्मीको हातमा छ भनेपछि त्यस्ताबाट जनताले कस्तो सुविधा भोग गर्न पाउलान् ? गाउँ बस्तीका उर्बर जग्गा जमिन यस्तैका कारण आज थारो भएका छन् । गाउँघरका बस्तीहरू प्रायः सबै आतङ्ककै कारण कुलेलम ठोकेर झिटी गुन्टा बोकेर सहर पसेका छन् । माओवादीले लुटपाट र हिंसाको शिकार खेलेपछि नै देशका कर्मठ जनशक्तिहरू पलायन पथ पक्रिन बाध्य भए । अलिअलि बचे खुचेका मानवहरू गाउँका अविकासको सिकार हुनु भन्दा सहरमा पसेर कमाउन, जिउन, पिउन, कंक्रिटको बस्तीमा मस्ती गर्न थाले । अहिले गाउँका अधिकांश जग्गा जमिनमा जंगली जनावरको राज छ भने सहर चाहिँ तिनै जङ्गलबाट जंगली व्यवहार देखाएर अवकास लिएकाहरूले राज गरी रहेका छन् अनि जनताले चाहेको यही हो नयाँ नेपाल ?
पुर्खाका बस्तीमा बुढापाका घुँडा धसेर बसेर एकतमासले घरको गोठालो लागि रहेका छन् । छोरा नाति कमाउन खाडीको उच्च तापक्रममा श्रम बेचीरहेका छन् । राजनेताहरू रेमिट्यान्समा रमाइरहेका छन् । विभिन्न लुटका अखडाहरू खोलिएका छन् । जनताको जनधनको कुनै सुरक्षा छैन । वडा सदस्य अध्यक्ष नै छोटेराजा बनेर ह्याकुलोले हानी रहेका छन् । धर्म, कर्म नासिदो मासिदो क्रममा छ भने परम्परा, संस्कार संस्कृति पैसामा अनुवाद भइरहेको छ । सेवा सुविधा, उद्धारका नाममा चेलीबेटी पैठारी गरिरहेका छन् भने बौद्धिक युवाशक्ति पलायन पथमा एक तमासले लम्किरहेका छन् । के हुनुपर्ने नयाँ नेपाल यही हो ? यस्तै पाराले नयाँ नेपालको सपना साकार हुन्छ त सरकार ?
राजाका पालामा बनेका राजमार्गहरू अहिले विकास निर्माणका नाममा महिनौ बन्द गरेर छन्द न बन्धसँग दुःख दिइरहेका छन् । चार पाँच घण्टामा काठमाडौँ पोखरा यात्रा गर्न सकिन्थ्यो तर अहिले नयाँ नेपालमा ८।९ घण्टा लाग्छ । अन्य राजमार्गको हालत र हविगत पनि उस्तै त होला के गर्नु जस्तो आफू उस्तै च्यापु भनेको यही हो ।
भ्रष्टाचार निवारण गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्तव्यनिष्ठ कर्मचारी नै भ्रष्टाचार गर्न मिल्ने च्याँखेदाउ थापिरहेका छन् । केही घण्टामा सकिने कामहरू ३।४ दिन नभई नडकारी कामै हुँदैन । यातायात कार्यालयले दिने सवारी लाइसेन्स आज सात वर्षमा पनि सर्वसाधारण जनताको पालो आउँदैन भने तिनले घाटमा जानेबेलामा लाइसेन्स पाएर हुन्छ ? मान्छेले गरिखानु पर्दैन ? शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र, सेवामूलक संस्थाहरू हाकाहाकी लुटका अखडा बनेका छन् भने नयाँ नेपालमा हुनुपर्ने यस्तै हो ? हरेक क्षेत्र विकृति विसंगति भ्रष्टाचारले थिलथिलो भएको छ भने के चाहिँ सुधार भयो त नयाँ नेपालमा ? तिनका सन्तान, तिनका बाईफाई र लवाइखवाइमा सुधार भए हुन्छ अरे ?
नवनेताहरू नयाँ जोगीले धेरै खरानी धस्छ भनेझै तिनको खटनपटन सासूको भन्दा पनि चर्को छ । पुराना जोगीहरू नागा बाबालाई केही बात लाग्दैन भन्दै नाङ्गै भुतुङ्गै ताण्डव नृत्य देखाइरहेका छन् । समष्टिमा नेपालको राजनीति भुइमा न भाँडामा भएर पोखिनै लागिसक्यो । निरीह जनता भिरबाट लड्न लागेको गाईलाई राम राम भन्न बाहेक केही गर्न सक्दैनन् न त तिनको आबाज नै सुनिन्छ । कुनै नेता सपार गरेको हो भनेर कुर्लिन्छ तर धेरै त जनताको बिगार नै गरिराखेका हुन्छन् । कतिपय जनताको घरबार, व्यापार, व्यवसायबाट गोजी टकटक्याएर उठिबास लगाएको प्रत्यक्ष देख्दा देख्दै पनि असल र अब्बल नेतामा दरिन प्रसव वेदनाले छटपटिएकी महिला झै छटपटाइरहेका छन् । आम नागरिकको दुःख दर्दमा कर्द हालेर हुँडली रहेका छन् । ऋण र अभावमा डुब्न लागेकाको दबाइमुलो गर्नुभन्दा तलैतलै दबाइ रहेका छन् । दुनियाँको दुःख पीडा चटक्क बिर्सिएर कटक्क मनखाने गरी शासनको स्वाद लिइराखेका छन् । शासन सत्ताको उन्मादमा आफ्नालाई काखा पराइलाई पाखा गर्ने जनसेवक नेतालाई नयाँ नेपालको आराध्य देवले कस्तो बुद्धि दिएका छन् ? कता हेलिइरहेका छन् ?
०००
शिवशक्ति मार्ग, फूलबारी-११, पोखरा, कास्की
फोन ९८०६६७७५९४
Subscribe
Login
0 Comments
Oldest







































