साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ नेपाल

शासन सत्ताको उन्मादमा आफ्नालाई काखा पराइलाई पाखा गर्ने जनसेवक नेतालाई नयाँ नेपालको आराध्य देवले कस्तो बुद्धि दिएका छन् ? कता हेलिइरहेका छन् ?

Nepal Telecom ad

एक्काइसौँ औँ शताब्दीमा हामी नयाँ नेपालको तन्नेरी गणतन्त्रमा कपाल कन्याउँदै रमाइरहेका छौँ । कपाल कन्याउन झ्याउ मान्नेहरू सोझै विदेश हान्निएर धन दौलतको रछानमा मुख गाड्दै आनन्दको ओच्छ्यानमा पल्टिरहेका छन् । यहाँ लथालिङ्ग अवस्थामा नयाँ नेपालले कछुवा चालमा फड्को मार्नै लागेको छ । नेताहरू जस आफूतिर खैचिन मैराम्री मैपातलीको भाकामा बनपाखा रन्किने गरी गीत गाइरहेका छन् । एउटाले अर्काको गीत सुन्न हिजो झिजो मान्थे भने आज हिजोको झै झिजो नमान्ने कुरै भएन । तैपनि नयाँ नेपाल खातिर आफू माथि पुग्न अरूलाई धारेहात लगाउँदै शिष्ट विशिष्ट, सत्तोसरापमा आफ्नो आयतन वेतनका खातिर खुम्च्याइरहेका छन् । नयाँ नेपालमा यत्तिका जुझारु जाँगरिला नेता न अगाडि जन्मिए न पछाडि जन्मिनेवाला छन् । आमाका गर्भमा बस्ता पनि नयाँ नेपाल खातिर खुटा फालेर उफ्रिएकी जस्तो कस्ता टाठा कति बाठा नयाँ नेपालमा हाम्रा पुङमाङे नेता । मादलमा दुबै तर्फ साल हुन्छ अनि जसले खरिहाल्छ उसैले बजाउँछ । नेता पनि मादल जस्तै जस्ले खरी हाल्छ उसैले बजाउँछ । उसैका काँधमा लड्किएको हुन्छ ।

खोलानाला प्रकृतिले आफ्नो लय छोडेका छैनन् तर नेपाली सारा जनता आफ्नो पाराबाट विचलित भएका छन् । उच्च विकसित देशहरूले चन्द्रमा, मंगल ग्रह ताकिरहेका बेलामा नयाँ नेपालका नेताहरू चाहिँ एक अर्काको टुप्पी र खुट्टा तान्नमै व्यस्त छन् । यिनलाई विकसित देशका नेताले तपाईंको पेशा के हो ? भनेर सोधे भने नेपालका नेता धक नमानी धक फुकाएर भन्छन् मेरो पेशा नै राजनीति । पेशा अर्थात् आम्दानीको स्रोत नै राजनीति । यहाँका नेता जोगी हुनलाई राजनीति गर्दैनन् भोगी हुनलाई राजनीति गर्छन् । भद्रगोलका पुजारीहरू आन्तरिक लुटतन्त्र र कलहमा रमाइरहेका छन् । गठबन्धन सरकार कलहबाटै मथिएर निस्किएको नौनी हो । गठबन्धन बाहक हुकुमी शासनमा आसन जमाएर सुशासनको उधारो प्रत्याभूतिले जनता थुम्थुम्याइरहेका छन् भने हामीले खोजेको चाहेको नयाँ नेपाल यहि हो ?

बैंक वित्तीय संस्थाहरू जनसेवाका नाममा मज्जाले मेवा चपाइरहेका छन् । आफूतिर तराजुको पल्ला ढल्काउँदै उपभोक्ता पल्काउँदै गर्न सक्नु त आधुनिक सामन्तीको सीप कौशल नै भयो नि । आफू अरबौ फाइदा गर्न अग्रसर रहँदा प्रजा मरुकरण तर्फ धकेलिएका छन् भन्ने कुरा कसरी बर्सिएको ? पाप कर्मले हर धर्मलाई बिर्साइदिन्छ । सरकारले उपलब्ध गराएको राहत नेताका अगुवा पछुवाले मात्रै कुम्ल्याउँछन् भन्ने कुरा किन नबुझेको ? जनता नानाभातिका करकरबाट लुट्नु लुटिएका छन्, कुट्नु कुटिएका छन् । कमिसन र भ्रष्टाचारमा मन्त्री महोदयहरू म्याराथन जित्न उद्यत छन् । प्रदेश सरकारलाई आफ्नो नजिकका भर्ती केन्द्र बनाएर देशको लाम्टो चुसिरहेका छन् । विकास निर्माणको काममा स्वार्थ सिद्ध भए काम गर्न दिने नत्र अलपत्र छोड्नेहरूले नै देशलाई खलपत्र पार्दै आसेराणी जनतालाई हाकाहाकी लोप्पा खुवाउनकै लागि हो त नयाँ नेपाल ?

देशमा राजतन्त्र छँदा मार्नु, लुट्नु, कुट्नु, पाप मानिन्थ्यो भने अहिले नयाँ नेपालको सूत्रपात नै सत्र हजार नेपालीको बध गरेर भएको छ । अनि नेतृत्व तिनै अधर्मीको हातमा छ भनेपछि त्यस्ताबाट जनताले कस्तो सुविधा भोग गर्न पाउलान् ? गाउँ बस्तीका उर्बर जग्गा जमिन यस्तैका कारण आज थारो भएका छन् । गाउँघरका बस्तीहरू प्रायः सबै आतङ्ककै कारण कुलेलम ठोकेर झिटी गुन्टा बोकेर सहर पसेका छन् । माओवादीले लुटपाट र हिंसाको शिकार खेलेपछि नै देशका कर्मठ जनशक्तिहरू पलायन पथ पक्रिन बाध्य भए । अलिअलि बचे खुचेका मानवहरू गाउँका अविकासको सिकार हुनु भन्दा सहरमा पसेर कमाउन, जिउन, पिउन, कंक्रिटको बस्तीमा मस्ती गर्न थाले । अहिले गाउँका अधिकांश जग्गा जमिनमा जंगली जनावरको राज छ भने सहर चाहिँ तिनै जङ्गलबाट जंगली व्यवहार देखाएर अवकास लिएकाहरूले राज गरी रहेका छन् अनि जनताले चाहेको यही हो नयाँ नेपाल ?

पुर्खाका बस्तीमा बुढापाका घुँडा धसेर बसेर एकतमासले घरको गोठालो लागि रहेका छन् । छोरा नाति कमाउन खाडीको उच्च तापक्रममा श्रम बेचीरहेका छन् । राजनेताहरू रेमिट्यान्समा रमाइरहेका छन् । विभिन्न लुटका अखडाहरू खोलिएका छन् । जनताको जनधनको कुनै सुरक्षा छैन । वडा सदस्य अध्यक्ष नै छोटेराजा बनेर ह्याकुलोले हानी रहेका छन् । धर्म, कर्म नासिदो मासिदो क्रममा छ भने परम्परा, संस्कार संस्कृति पैसामा अनुवाद भइरहेको छ । सेवा सुविधा, उद्धारका नाममा चेलीबेटी पैठारी गरिरहेका छन् भने बौद्धिक युवाशक्ति पलायन पथमा एक तमासले लम्किरहेका छन् । के हुनुपर्ने नयाँ नेपाल यही हो ? यस्तै पाराले नयाँ नेपालको सपना साकार हुन्छ त सरकार ?

राजाका पालामा बनेका राजमार्गहरू अहिले विकास निर्माणका नाममा महिनौ बन्द गरेर छन्द न बन्धसँग दुःख दिइरहेका छन् । चार पाँच घण्टामा काठमाडौँ पोखरा यात्रा गर्न सकिन्थ्यो तर अहिले नयाँ नेपालमा ८।९ घण्टा लाग्छ । अन्य राजमार्गको हालत र हविगत पनि उस्तै त होला के गर्नु जस्तो आफू उस्तै च्यापु भनेको यही हो ।

भ्रष्टाचार निवारण गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्तव्यनिष्ठ कर्मचारी नै भ्रष्टाचार गर्न मिल्ने च्याँखेदाउ थापिरहेका छन् । केही घण्टामा सकिने कामहरू ३।४ दिन नभई नडकारी कामै हुँदैन । यातायात कार्यालयले दिने सवारी लाइसेन्स आज सात वर्षमा पनि सर्वसाधारण जनताको पालो आउँदैन भने तिनले घाटमा जानेबेलामा लाइसेन्स पाएर हुन्छ ? मान्छेले गरिखानु पर्दैन ? शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र, सेवामूलक संस्थाहरू हाकाहाकी लुटका अखडा बनेका छन् भने नयाँ नेपालमा हुनुपर्ने यस्तै हो ? हरेक क्षेत्र विकृति विसंगति भ्रष्टाचारले थिलथिलो भएको छ भने के चाहिँ सुधार भयो त नयाँ नेपालमा ? तिनका सन्तान, तिनका बाईफाई र लवाइखवाइमा सुधार भए हुन्छ अरे ?

नवनेताहरू नयाँ जोगीले धेरै खरानी धस्छ भनेझै तिनको खटनपटन सासूको भन्दा पनि चर्को छ । पुराना जोगीहरू नागा बाबालाई केही बात लाग्दैन भन्दै नाङ्गै भुतुङ्गै ताण्डव नृत्य देखाइरहेका छन् । समष्टिमा नेपालको राजनीति भुइमा न भाँडामा भएर पोखिनै लागिसक्यो । निरीह जनता भिरबाट लड्न लागेको गाईलाई राम राम भन्न बाहेक केही गर्न सक्दैनन् न त तिनको आबाज नै सुनिन्छ । कुनै नेता सपार गरेको हो भनेर कुर्लिन्छ तर धेरै त जनताको बिगार नै गरिराखेका हुन्छन् । कतिपय जनताको घरबार, व्यापार, व्यवसायबाट गोजी टकटक्याएर उठिबास लगाएको प्रत्यक्ष देख्दा देख्दै पनि असल र अब्बल नेतामा दरिन प्रसव वेदनाले छटपटिएकी महिला झै छटपटाइरहेका छन् । आम नागरिकको दुःख दर्दमा कर्द हालेर हुँडली रहेका छन् । ऋण र अभावमा डुब्न लागेकाको दबाइमुलो गर्नुभन्दा तलैतलै दबाइ रहेका छन् । दुनियाँको दुःख पीडा चटक्क बिर्सिएर कटक्क मनखाने गरी शासनको स्वाद लिइराखेका छन् । शासन सत्ताको उन्मादमा आफ्नालाई काखा पराइलाई पाखा गर्ने जनसेवक नेतालाई नयाँ नेपालको आराध्य देवले कस्तो बुद्धि दिएका छन् ? कता हेलिइरहेका छन् ?

०००
शिवशक्ति मार्ग, फूलबारी-११, पोखरा, कास्की
फोन ९८०६६७७५९४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x