अशोककुमार शिवामुसोको एकाबिहानैको हाँसो
मुसोले त मलाई पो च्यालेन्ज गरेर हाँसेको रहेछ । छोप कति छोप्छस् म कस्तो कस्तो चिज त प्वाल पार्छु जाबो प्लाष्टिक भन्दै पो हाँस्दो रहेछ । मलाई आफैसँग रिस उठ्यो ।

मैले सधै जस्तो आज पनि बिहान सबेरै उठेर एफएममा समाचार सुनेँ । न्युजले भन्दै थियो “पूर्व राष्ट्रपति विद्या भण्डारी आज सितल निवासबाट छोरीको घर वालुवाटारमा सर्ने भएकी छन् । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आजै दिउँसो कामु प्रधान न्यायाधीसबाट सपथ लिंदै ।” सोचें आज विशेष दिन पो रहेछ ।
ओछ्यानबाट निस्किएर नित्यकर्म सकेर चियाको बन्दोबस्त गर्न भान्साकोठातिर यसो छिरेको पछाडिको कौसीमा खत्र्याकखुत्रुक आवाज आयो । केको आवाज रहेछ भनेर ढोका खोलेर हेरेको पल्लो घरको भित्तामा बडेमानको मुसा मतिर हेरेर मुस्कुराई रहेको रहेछ । अचम्म लाग्यो ।
मुसाले एकाबिहानै मलाई जिस्काउँदै किन हाँस्यो ? सनक्क रिस उठ्यो र हातले केही उठाएर हिर्काए झै गरें मुसो टसमस केही गर्दैन त । अझ दुई हातले जुँगा मुसारी मुसारी हाँस्छ । मुसोको हर्कत देखेर म पनि अनायासै हाँसें । म हाँसेको देखेर मुसो झन पुच्छर नचाउँदै पो हाँस्यो । होइन, यो मुसोले कता कुन झ्यालतिर चिहाएछ । के देखेछ ? मलाई सिर भन्दा पनि फेरि हाँस्न मन पो लाग्यो हाँसें ।
फेरि बिचार गरें मुसो हाँस्यो चाहिँ किन ? ट्वाक्क उत्तर पत्तो पाउन सकिन, मुसो बोल्ने होइन । लाग्यो, मुसोले एफएमको समाचार सुनेछ कि के हो ? अनि समाचार सुन्दैमा किन हाँस्नु ? हिजो मात्रै मैले पल्लो घरको भित्ताको मुसो छिर्ने दुलो बन्द गरिदिएको थिएँ । सायद त्यसले मलाई मेरो घर जाने बाटो बन्द गरेर घर बस्न नदिएर के भयो ? कत्रा कत्रा मान्छे सितलसँग निवासमा बसेका त छोडेर हिँड्न लागे । मैले चाहें भने अर्को प्वाल छिनभरमा नै खोल्छु भन्दै काखी बजाउँदै पो हाँस्यो कि के हो भन्ने पनि लाग्यो ।
फेरि यसो सोचें नवनिर्वाचित राष्ट्रपतिले कामु प्रधान न्यायाधीशबाट सपथ लिने भन्ने थाहा पाएर पो हाँस्यो कि के हो ? जाबो एउटा प्रधान न्यायाधीश नियुक्तसम्म गर्न नसक्ने भनेर सरकारलाई व्यङ्ग्य गर्दै हाँस्यो कि के हो ? हैट, मलाई तर्कनाहरू पनि के के आउने होला भनेर आफूले आफैलाई कोसें । अब चाहिँ अचाक्ली नै गरिस है मुसा भनेर नजिकै भुईंमा लडिरहेको लौरो टिपेर ठट्टाई दिनुपर्यो भनेर लम्केको मात्रै थिएँ मुसो कुलेलम ठोक्यो ।
म भान्सामा फर्किएर चियानास्ता लिएर माथि कौशीमा उक्लिएँ । एकसरो गमलाहरू सबै नियालें । एउटा गमला अलि ठुलो ड्रम काटेर त्यसमा स्ट्रवेरी लगाएको थियो । स्ट्रवेरी फल्न पाछैन केले खान्थ्यो खान्थ्यो । स्ट्रवेरी पाक्न लागेछ अब भोलि चाहिँ खाने भनेर राख्यो भोलि हेर्दा भेट्नु मात्रै हुन्थ्यो । परेवाले पो खान्छन् कि जस्तो लागेर गमलामा बाँसका सिन्का गाडेर प्लाष्टिकले वरिपरी घेरिदिएको थियो ।
आज त स्ट्रवेरी टिपेर खान्छु भनेर गमला छेउ गएर यसो हेर्छु त एक छेउबाट यत्रो प्वाल पारेर भ्याइसकेछ । प्लाष्टिकको प्वाल हेर्दा परेवाले बनाएको जस्तो थिएन । थाप्लामा हात आफै पुगेर बजायो । त्यो मुले मुसो किन हाँस्यो भनेर त्यत्रोबेर माथापच्ची बेकार । मुसोले त मलाई पो च्यालेन्ज गरेर हाँसेको रहेछ । छोप कति छोप्छस् म कस्तो कस्तो चिज त प्वाल पार्छु जाबो प्लाष्टिक भन्दै पो हाँस्दो रहेछ । मलाई आफैसँग रिस उठ्यो । अब भने स्ट्रवेरी खान पल्केको मुसो चिनियो । मन मनै मुर्मुरिएँ, पख मुसो, अब म तेरो के हाल गर्छु !
०००
गल्कोपाखा, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































