कृष्ण प्रधानश्रीमती झण्डी घिमिरे
झण्डीको भाग्य राम्रो । गाड़ी दुर्घटनामा परी श्रीमती झण्डीले पाइताला फर्काई । पोष्टमर्टमबाट थाहा पाइयो पाँच महिनापछि आमा हुन्थी । झण्डीको मन बिग्रियो । दुइ-तीन वर्षको सम्बन्ध ।

लभ परेर झण्डी घिमिरे प्याक् प्याको परेको छ । आमाले कति भनिन्, जे पनि गर् बाबु तर अहिले हातखुट्टा चाहिँ बाँधि नहाल् । पछि अबरमा पर्छस् है । यस्तो खालके केटीले घर संसार गर्न सक्तिन । यिनीहरू भनेका नायिका हुन् । यिनीहरू नाँच्न दुगुर्छन् । यिनीहरूले बनाउँदैनन्; भत्काउँछन् ।
झण्डीलाई उबेला यस्तो भएको थियो यो बुढिया किन छिटो गुल्टिदिनन् । किन छिट्टै पैताला फर्काउँदिनन् मोरीले ।
झण्डीलाई लाख सम्झाएर थेत्तर भइसकेपछि आमाले छोरोलाई अब उसो सम्झाउनै छोड़िसकेकी थिइन् । एउटा उमेर छिचोलेपछि मानिस भाग्यनिर्भर हुन्छ भन्ने साठी हिउँद छिचोलिसकेकी आमालाई पक्कै थाहा थियो । यो नियति भन्ने कुरो विभिन्न जटिल उपादानले गठन भएको छ । जसको कुनै आकार, आकृति छैन, हुँदैन । हर्ट, लङ्गस्, किडनी होइन । जीउबाट काटेर निकाल्न सकिन्न ।
खाल्डोमा खुट्टा जाकिएर खोल्च्याङ्… खोल्च्याङ्- त्यो पनि भाग्य नै हो ।
फलानुको छोरोले हाकिमको काम पायो- त्यो पनि भाग्य ।
गैरी गाउँका जेठा मगरले रातो-रात एक करोड़को लटरी पाएर करोड़पति भए- त्यो पनि भाग्य ।
रामलखन भैयाले संसार त्यागेर सन्यासी भए- त्यो पनि भाग्य ।
यी कुराहरू संसारका सबैले नै स्वीकार गरेका छन् । जतिसुकै जेसुकै भनुन् तर आफ्नो भाग्य मानिस आफैले निर्माण गर्छन् । तर यस कुरामा त्यति दम छैन… कारण अनुभवले अर्कै कुरा फलाक्छ ।
जे सुकै होस् झण्डी एउटी सन्दरी युवतीको चक्करमा जाकियो । साथी-सँगी, ईष्टमित्र सबै उछिट्टिए । हातखुट्टा पनि बाँध्यो । स्वास्नीले एक रात भनी, औ… हामी अब छुट्टिनुपर्छ । झण्डीले अस्वीकार गर्ने कुरै आएन । छुट्टिए ती नव दम्पत्तिद्वय । राम्रै नोकरी हात पर्यो । पैसै ता पखेटा हो । उड्नु ता आकाशमै मज्जा ।
गाउँ-घरमा झण्डीले हातखुट्टा बाँध्यो भन्ने हल्ला भयो । अरूलाई केही होस् नहोस् तर यस्तो कुरा गाउँ-घरकालाई पूरै खसखस हुन्छ । एकजना कनसुत्लेले ता सोधी पनि हाल्यो- त्यो झण्डीकी बूढ़ी कस्ती रहेछ ? अर्का खसखसेको गनगन्- अचेलका बुहारीहरू यस्तै हुन्छन् । फाटेको जिन्स लाएर संसारै विजय गरेजस्तो गर्छन् । यिनीहरूको डिमाण्ड भक्कु हुन्छ । एकनम्बरकी अल्छिनी, स्वार्थी र मायाममताहीन हुन्छन् ।
अर्का खसखसे- सुकिसकेको नरिवलजस्तो हौ । बाहिर खोल मात्रै हुन्छ, पानी हुँदैन, क्रिम हुँदैन । बुद्धि भन्नु एकदमै दुष्ट ।
झण्डी र उसकी अर्धाङ्गिनीको जसोतसो गाड़ी गुड्यो । जीवनको सबैभन्दा ठूलो गल्ती गर्यो भन्ने कुरा एक वर्षपछि झण्डीलाई छ्याङ्ङै भयो । एउटा विशाल माखेसाङ्लोमा जाकिएको अनुभव भयो । त्यहाँबाट फुत्किने उम्किनै मौकै छैन । बूढि़याले जे गर्छिन्. उनले मान्नैपर्छ । जे देखाउँछिन् त्यै हेर्नैपर्छ । पटक पटक एउटै सुगा रटाइ संवाद सुन्नुपर्छ, “नारी स्वतन्त्रता ।” झण्डीकी अर्धाङ्गिनी पकाउँदिनन्, फाष्ट फुडमै मस्त । घर सजाउनु वा लुगाफाटा धुनु उनको शब्दकोशमा परेको छैन । झण्डीले सबै गर्नुपर्छ । झण्डीलाई ब्रण्डीको रित्तो बोतलजस्तै बनाइसकी । यो गर त्यो गर भन्यो कि ता, मिसाइलजस्तै कटाक्ष कोठाभरि छताछुल्ल भएर झण्डीलाई छुलछुल पार्छे, मलाई हुकूम नगरेर तिमी आफै केही गर्नु सक्दैनौ ? के म तिम्रो दासी हुँ ?
लोग्नेमान्छेको भाग्य विभिन्न थरिका हुन्छन् । ती हुन्- अर्थभाग्य, पत्नीभाग्य, मित्रभाग्य, सन्तानभाग्य । अर्थभाग्य जुर्यो भने स्वाभाविकै रुपले साथीहरू शत्रु हुन्छन् । यसको एकमात्र कारण ईर्ष्या, डाह बाहेक अरु केही हुनै सक्तैन । झण्डीको जीवनमा पनि त्यस्तै भयो । घरमा पनि दन्दनी आगो ; बाहिर पनि आगो । झण्डीकी आमाले कोनि ककसबाट जम्मै खबर पाइरहिन् । बोलिनन् केही । बरु भन्छिन् “छोरो अहिले स्वास्नीको मोहग्रस्तले प्याल्याक प्याल्याक् भएको छ । तर एक दिन न एक दिन त्यो आफ्नो गुड़तिर फर्किने नै छ । झण्डीले केही समयसम्म मलाई चटक्कै बिर्सिसकेको छ । तर म त्यसको खासै प्यारो बाल्यबन्धु थिएँ । मेरो अर्थभाग्य राम्रो नभए पनि परिवारभाग्य चाहिँ एकदमै राम्रो थियो । पीर, कष्ट, मर्का सबै सहने स्वाभाविक रुपले नै मेरो धेर छ अरुभन्दा । हाम्रो शान्ति शपिङ, पार्टी, आउटिङ्, गेटटुगेदर आदिले कुनै दिन भङ्ग भएन । साधारण जीवन । खायो पियो मौज गर्यो… बस त्यसभन्दा धेर अरु केही थिएन । हाम्रो पालामा क्याटरर भन्ने कुरो एकदमै नौलो थियो । बिहे बटुल, पूजा-आजामा त्रिपालले घेरिएको सानो ठाउँमा दाउराको चूल्हामा सेलरोटी पकाइन्थ्यो । फरिया र चौबन्दी चोली छप्छप्ती । नारीहरूको स्वतन्त्र रात हुन्थ्यो । आहा….। तर अहिले ती सबै फ्ल्याट कल्चरले स्वाहा पारिसक्यो ।”
यता श्रीमती झण्डीको गनगन् आफ्नै छ । भन्छे, “तिमी मान्छे गोरु हौ …गोरु । नारी स्वतन्त्रताको विरोधी । तिम्री आमा नि… तिम्री आमा… काउसो हो । न केही गर-गहना छ न कुनै एटिकेट । प्राइमरी स्कूलकी माष्टरनी । मल, सिटी केही देखेकी छैनन् । यो फ्ल्याट मेरो नाममा लेखिदिनू भन… अनि मात्र म सेटिस् हुन्छु । होइन भने डिभोर्स फाइल गर्छु । कुनै गञ्जागोल गर्दिनँ ।”
झण्डीको भाग्य राम्रो । गाड़ी दुर्घटनामा परी श्रीमती झण्डीले पाइताला फर्काई । पोष्टमर्टमबाट थाहा पाइयो पाँच महिनापछि आमा हुन्थी । झण्डीको मन बिग्रियो । दुइ-तीन वर्षको सम्बन्ध ।
झण्डीकी आमाले पहिल्यैबाटै एउटीलाई हेरिराखेकी थिइन् । पढ़ेकी… हाई स्कूलकी गुरुआमा । झण्डीसित हातखुट्टा बाँधियो । अब भने सुखको समय, फूल फक्रिने समय । तीनजनाको संसार, आमा, छोरा अनि बुहारी ।
झण्डी रनक्क भएको बेला उनको भेद यसरी खोल्छ, “म चाहिँ हत्यारा हुँ । मैले आमाको मृत्युको कामना गरेको थिएँ । उफ… मैले के सोंचेको त्यस्तो ? म किन बाँचेको हुँला ?
०००
सिलिगुड़ी, भारत
Subscribe
Login
0 Comments
Oldest








































