रेहित सैजुपदक
पहिले गाउँ सहरमा आमासमुह गठन हुन्थ्यो अचेल गाउँमा प्रज्ञा प्रतिष्ठान खोलिन्छ, टोलटोलमा कुलपति उप-कुलपति । साहित्यिक संस्था कि उद्योग ? साहित्य सेवा कि व्यापार ?

मान्छेको जिन्दगी भन्नु पनि अनेक अनेक फोबियाको भरिया । मलाई विभिन्न फोबिया त पहिल्यै थियो तर अहिले फेरि पदकेफोबियाले खुब पिरोल्नसम्म पिरोलेको छ । अँ त, कतै पदक वितरणको हल्ला आयो कि सबैभन्दा डराउने मै हुन्छु । त्यो पदक वितरणको सूचीमा कतै मेरो पनि नाम टाँसेका छन् कि भनेर । तर म ढुक्क छु । पदको कद थामेर नबसेको म जस्तो लुँडेलाई कसले पो पदकको पगरी भिराउला र …।
हाम्रा हजुरबाहरूले पहिलो, दोस्रो विश्वयुद्धका बेला आफ्नो वीरता देखाएर विपक्षलाई परास्त गरे । अङ्ग्रेजहरूले तिनै कौशल, कलालाई सम्मान गर्दै वीर योद्धालाई भिक्टोरिया क्रस, मिलिटरी क्रस जस्ता पदकले विभूषित गरे । सायद तिनकै प्रभाव परेर होला अहिले सैन्य क्षेत्र मात्र नभई विभिन्न क्षेत्र तप्काहरूमा पदक वितरण गर्ने गरेको छ । यस्तो बजारिया माहोलमा साहित्य क्षेत्र नपर्ने कुरै भएन ।
मेरो एकजना साथी छन् विदेशमा । हजुर बा उमेरको मान्छे मलाई नै पो हजुर बा भनेर विजोग पार्छन् । साहित्य क्षेत्रमा म हजुरबा उहाँ चाहिँ नाति रे । अब नाता, साइनोको भागवण्डा पनि क्षेत्रनुसार हुने भएछ । समयको वयमा अब कसलाई के नै भन्नु । ती नाति पनि बडो अनौठा पात्र छन् । अझ भनौं मेरो त सूत्रधार नै हुन् । पहिले पहिले पनि लेख्थे रे बीचमा लेख्न छोडेको रे । अहिले फेरि लेख्न के रहर लागेको हो ! नातिलाई पनि पदकको तीर्खाले त पक्कै होइन होला । जे होस् मलाई हजुरबा भन्ने नातिको लेख चाहिँ गजबका राम्रा राम्रा छन् । हरेक लेखमा कुनै न कुनै प्रभाव छोड्ने गरी लेखेका हुन्छन् । अब मैले यत्ति भन्दा फेरि नातिको चाकडी गरेको भन्नु होला । आफूलाई मनमा लागेको करा प्वाक्क बोल्न मन लाग्छ । ट्वाक तानेछ आज यो केटाले भन्नु होला । हाहा ! कति हाँस्नु हौ गाँठे !
एउटा रोचक प्रसङ्ग छ, अस्ति भर्खरै एउटा साहित्यिक संस्थाले भाषा साहित्यमा अतुलनीय योगदान पुर्याएकोमा संस्थाले पदक वितरण गर्ने भनी लामै सूची निकाल्यो । तिनै नाति भनौदालाई जिस्क्याउन मन लाग्यो र भनिदिएँ, ‘एउटा साहित्यिक संस्थाले आफ्नो नाम लेखेर ग्रेटवाल भन्दा पनि लामो सूचीमा तिम्रो नाम नदेखेपछि तिमीलाई के साहित्यकार भन्नु ?’ विचरा उनलाई घत पर्र्यो जस्तो छ, मसँग खनिँदै बकबकिए, ‘तिमीले मलाई जँड्याहा ठान्यौ कि कसो, अघिल्लो रात टन्न प्याक तानेर भोलिपल्ट ढ्याक वितरणको ठ्याक लगाउने बजारमा मलाई के सम्झियौ ?’ हुन पनि हो, पदकमा दोहोरो शतक । राम राम ! काँधमा कसरी थेग्न सकेका होला, सोच्दा पनि म त प्रेसरले ढाल्ला कि भन्ने डर । प्रेसरको रोगीले पदकको भोगी हुन वास्तवमा नमिल्दो जस्तै रहेछ । जे भए पनि ए साहित्यको नाति तिमीले जतिनै राम्रो लेखे पनि तिमी पदमा छैनौ र पदमा रहँदा हदमा बस्न जानेनौ भने नाइल नदी जत्रै लामो सूची प्रकाशित गरे पनि तिम्रो नाम अट्ने छैन । यो बजारिया दुनियाँमा जसले हरियो घाँस देखाएर गोरुलाई जोत्न सक्यो उही नामी हली हुन्छ । त्यही नामी हलीलाई पदकको ढलीमली हुन्छ । सुकेको पराल देखाएर गोरु जोत्न खोज्नु यो भन्दा ठूलो मूर्खता अरु हुन नसक्ला सायद ।
उमेर र इच्छा, मोक्षको प्रत्यक्ष समानुपातिक सम्बन्ध हुन्छ क्यार ! नत्र किन भन्थे होला, “मर्ने बेला हरियो काँक्रो ।” उमेरको अङ्क बढ्दै गएपछि सम्मान, अभिनन्दनको भोक लाग्दो रहेछ भन्ने कुरा पुष्ट्याइँ भएको मेरो फुट्न बाँकी भएको आँखाले पटक पटक देखिसकेको छ । पहिले पहिले गाउँघरमा अैँचो पैँचो खुब चल्ने गथ्र्यो । अहिले त गाउँमा मान्छे नै छैन । गाउँमा भएका युवा तन्नेरीहरू जति सबै खाडी, युरोप, अमेरिका, जापान, कोरिया, अस्ट्रेलिया पुगिसके । अलिअलि बचेका बुढाबुढी पनि तेल भिसा के के भिसामा उतै पुग्छन् । त्यसो त गाउँमा मोटर बाटो पुगेपछि गाउँ पनि गाउँ जस्तो नरहने रहेछ । त्यही गाउँको मेलापातमा चल्ने अर्म पर्म कार्यक्रम सहरको पुरस्कार, सम्मान वितरणमा रूपान्तरण भइसकेको छ । अझ शर्तमा वितरण । नातागोता, आफन्त, भाइ, भदा, सालो के के हो के के । गजबको आसेपासे खेल । समय समाप्त नहुने बरू पर्याप्त समय थपिने । गोल पनि कहिल्यै नहुने यो कस्तो अचम्मको खेल । यदि यो खेलको विश्वकप हुँदो हामी दोस्रो कहिल्यै हुने थिएनौँ ।
‘आफै धामी आफै बोक्सी ।’ आफै संस्था खोल्ने र उक्त संस्थाबाट धनी गोरो, खाइलाग्दो अनुहार हेरेर पुरस्कार, सम्मान, पदक दिने जसले उसलाई पनि फिर्ता गर्न सक्दछ । यस्तो चलनले कतिलाई जलन बनायो होला भनिसाध्य छैन । यो त सरासर दुरुपयोग भयो भनौं भने आफैमाथि आइलाग्छन् । तँ च्याँसेले नपाउन्जेलसम्म मात्र हो यस्तो दर्शन छोड्ने, पाउँदा तँ झन् बोक्रा समेत चपाउने ठिमाहा परिस् । हैट ! कस्तो अशुभ जवाफले आफ्नो कान भर्नु परेको । हुन त यहाँ अरूलाई खेताला बनाएर आफू वाहवाही खाने लेखक त छन् । अरू अण्ट सण्ट कुरा के गर्नु !
उहिले पो राजा छँदा विशिष्ट व्यक्तित्वलाई छानेर गोरखा दक्षिण बाहु (गोदबा) प्रदान गरिन्थ्यो । राजाले आफ्नो स्वास्नी, छोरा जसलाई गोदबा प्रदान गरे पनि गैरकानुनी हुन्थेन । राजाकी स्वास्नी राजापछिको दोस्रो अङ्ग थियो भने राजकुमार पनि देशको राजा बन्ने पक्का थियो । तसर्थ यसमा आफ्नो मान्छेलाई दिएको भन्ने हुँदैन । अहिले गणतान्त्रिक मुलुकमा जसले जसलाई जसरी दिए पनि हुने । जो पनि राजा, जो पनि रानी, जसलाई पनि राजकुमार बनाउन मिल्ने । अवैधानिक संवैधानिक कसले वास्ता गरोस् ! जेहोस् गणतन्त्रले गर्नु गरेको छ । यसर्थमा गणतन्त्र फापेकै भन्नु पर्ला ।
अहिलेको सामाजिक सञ्जालको विकरालले पो खुत्रुक्कै ढाल्यो नि । ‘स्याउँ स्याउँ चल्ला बाह्र गाउँ हल्ला’ भनेर सामाजिक सञ्जाललाई अघोषित रूपमा मान्दा पनि सायद फरक नपर्ला । इडिटको कमालले बाफ्रे ! बाफ्रे ! छिनमै सम्मानपत्र जति पनि ओइराउन मिल्ने । रेडिमेड बधाई टन्न खाएको छ । बिडम्बना पनि कस्तो ! गोदाई दिएर राम धुलाई गर्नु पर्ने मान्छेलाई हार्दिक बधाई भन्नुपर्या छ । यतिखेर नारायण गोपालको ‘मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ’ गीत बज्दो हो सुनमा सुगन्ध हुन्थ्यो होला ।
हो, म सहर्ष स्वीकार गर्दछु सिर्जना गर्नु सानो कुरा होइन । सिर्जना गर्नेलाई बेलाबेला प्रोत्साहन स्वरूप सम्मान पुरस्कार ठेलिरहनु पर्छ । तर अहिले बजारमा पदक, सम्मान पत्र, पुरस्कारलाई किन लज्जित बनाइँदै छ । मापदण्ड, आधारलाई किन यति चाँडै सती पठाएको होला । हत्तेरिका ! असली सर्जक डराएर भाग्नुपर्ने स्थिति सिर्जित हुँदा खकार भन्दा तुच्छ संस्कारलाई अङ्गालेर कतिञ्जेल थामेर बस्ने ? हरे ! पहिले गाउँ सहरमा आमासमुह गठन हुन्थ्यो अचेल गाउँमा प्रज्ञा प्रतिष्ठान खोलिन्छ, टोलटोलमा कुलपति उप-कुलपति । साहित्यिक संस्था कि उद्योग ? साहित्य सेवा कि व्यापार ? अब म पनि यसो गर्छु, आफ्नै अध्यक्षतामा साहित्यिक उद्योग के रे संस्था खोल्छु ! सके पालिकाबाट बजेट झार्छु नभए पार्टीका प्रमुखहरूका खुट्टाको धूलो चाटेर भए पनि चन्दा असुल्छु । मनले खाका मान्छेहरूलाई “महाव्यक्तित्व” स्वघोषणा गर्दछु, जसले मलाई पनि सम्मान गर्न सक्ने ल्याकत राख्न सक्दछ । लाजलाई पचाउन बरु कुन हाजमोला खाने होला साथीहरू ? लौन उपचार झट्टै बताइदिनु है ।
०००
रामेछाप
Subscribe
Login
0 Comments
Oldest








































