
चरित्र
“बिहेमा दाइजो ल्याउन नसकेकी र छोरी मात्रै जन्माएकी भनेर चरम यातनाका साथ घरबाट निकालिएकी हुँ ! म त्यही नेताकी श्रीमती हुँ जो अहिले मञ्चमा महिला हकको बारेमा कुर्लेर भाषण गरिरहेको छ !”

निकै लामो दौडधुप र केन्द्रीय नेताहरूको परिक्रमापछि बीरबहादुरको जिल्ला स्तरको नेताबाट केन्द्रमा बढुवा भयो । उसको अनुहारमा मुस्कानको लहर दौडन थालेको थियो । ऊ अव उमङ्गको पङ्खा हम्केर बस्न थाल्यो ।
उसको बढुवासँगै उसको दिनचर्या पनि वदलियो । ऊ अव सधैँ अन्तरकृया, गोष्ठी, सेमिनारहरूमा व्यस्त हुन थालेको थियो । सधैँ निराशाको आसनमा रहने ऊ अचानक खुशी देखिन थाल्यो ।
उसलाई पत्रकारहरूले पनि प्रखर वक्ताका रुपमा स्वीकार्न थालेका थिए । घरेलु हिंसा, महिला हिंसा, दाइजो प्रथा, चेलीवेटी वेचविखन, लागू औषध जस्ता सामाजिक बिकृतिहरूका वारेमा उ सशक्तरुपमा भाषण दिन थालेको थियो ।
एक दिन खुलामञ्चमा महिलाहिंसा विषयक एक भव्य कार्यक्रमको आयोजना भएको थियो । कुनै ठूलै एनजीओद्वारा प्रायोजित उक्त कार्यक्रममा उसलाई पनि वक्ताका रुपमा आमन्त्रण गरिएको थियो । उसको पालो आउनासाथ उसले मञ्चको अग्रस्थानमा उभिएर अति जोशिलो भाषण गर्यो –
“आदरणीय जनसमुदायहरू, आज हामी अत्यन्तै संवेदनशील अवस्थामा छौँ । आज हामीमाझ परम्परागत कुरीति, विकृति, विसङ्गतीले गर्दा देशको विकास हुन सकिरहेको छैन । बालविवाह, यौन दुव्र्यवहार र दाइजो प्रथाले गर्दा महिला दिदीवहिनीहरू आक्रान्त बनेका छन् । उनीहरू आत्महत्या गर्न बिवश छन् । जिउँदै जलाइएका छन् । जबसम्म महिलाहरू सशक्त हुँदैनन्, जवसम्म उनीहरूको आत्मसम्मानलाई सबैले स्वीकार गर्दैनन्, तबसम्म देशको विकास हुँदैन ! म यति भन्दै…”
उसको भाषण सकिने वित्तिकै दर्शक दीर्घाबाट आएको तालीको गडगडाहटले वातावरण नै उत्साहित भयो । मानिसहरूले नेता हुनु त वीरबहादुर जस्तो हुनु भनेर खुलेरै प्रशंसा गर्न थालेका थिए । यस्तो नेता भए मात्र देश विकास हुन्छ भनेर सवैले तारिफ गरे !
एक महिला दर्शक दीर्घाको पछाडि तीनवटी छोरी काखी च्यापेर रुँदै थिइन्, “बिहेमा दाइजो ल्याउन नसकेकी र छोरी मात्रै जन्माएकी भनेर चरम यातनाका साथ घरबाट निकालिएकी हुँ ! म त्यही नेताकी श्रीमती हुँ जो अहिले मञ्चमा महिला हकको बारेमा कुर्लेर भाषण गरिरहेको छ !”
०००
बागमती ११, कर्मैया, सर्लाही
Subscribe
Login
0 Comments
Oldest