ह्यारी- ८०मोबाइलको लत छुटाउने हो ?
पाहुना आउन् वा जाउन्, केटाकेटीलाई के दोष लगाउनु, त्यो भन्दा बढी बैँसे प्रौढेहरूलाई मोहिनी लगाएको छ यसले । बरु पति पत्नी एकअर्कालाई छोड्न सक्छन् तर मोबाइल छोड्न सक्दैनन् ।

ह्यारी- ८० :
कति चलाउँछ यो, बिग्रियो, सकियो भन्दै गाली गरिरहेका आफ्ना पतिको हातको मोबाइल देखेर आफैँ बिग्रिसकेका छन् छोरो के नब्रिग्रियोस् भनेर आमा पनि मोबाइलमा फतरफतर गरेर कराउँदै हिँडेको त मेरै कानले सुनेको हुँ । शताब्दीको सुरुमै के माग्छस् मनुख्खे भन्दा मोबाइल भन्यो रे एउटाले अनि त के चाहियो र मोबाइलको आविष्कार भएको रे । यसपछि त मान्छेका हातहातमा असिना बर्से झैँ बर्सिन थाले मोबाइल ।
जेठो, माहिलो, साहिँलो, ठाहिँलो हुँदै हिजोआज अन्तरे, मन्तरे, जन्तरे, लखन्तरे, पानी मन्तरे सम्मका मोबाइल जन्मिसकेका छन् । बस्दा, उठ्दा, हिँड्दा, खाँदा, सुत्दा, सिरकभित्र लुकेर, बसेर, उठेर, हिँडेर, घरमा बाटामा, खाटमा, घाटमा जहाँ जाऊ, यसैलाई लैजाऊ चलाऊ, मन बहलाऊ भएको छ । यो सर्वप्रिय मोबाइल जिउँदो मान्छेलाई आधुनिक दास बनाउने बलवान् मालिक भएको छ । साँच्चै मानिस गधा हो मोबाइलको । मै हुँ भन्ने मान्छेले पनि मोबाइलरूपी मालिकलाई बोकेर सयर गर्नै पर्छ । ह्वाइट हाउसदेखि मस्कोसम्म, प्योङयाङदेखि ह्वाङहोसम्म, नेता हनुमानदेखि पुङमाङे रैतीसम्म, दिल्लीका सिल्लीदेखि काँठका महजोडीको बखकोला हुँदै स्वाँठ र ल्वाँठहरूसम्मकाले यो प्यारप्यारे बट्टा नबोकी धरै छैन ।
ठुलाठालुदेखि पिँडालुका गानु जत्रासम्म अनि उम्रेदेखि खुम्रेसम्मले बोक्नैपर्ने यो बट्टा सञ्चारका लागि चाहिँ ठट्टाको विषय होइन है । सृष्टिकर्ताले पहिल्यै यो थाहा पाएको भए सायदै आविष्कार गर्दैनथे कि । अहिले त भगवानै हुँ भन्ने औतारीलाई पनि मोबाइल नबोकी सुखै छैन । चुहिने गाग्री जस्तो पैसा चुहाउने यो बट्टा हातमा राख, गोजीमा राख, पर्समा राख, ब्यागमा हाल वा जहाँ फाल एकैछिनमा चाहिन्छ चाहिन्छ ।
सर्वप्रिय, सर्वभोगी वरदान पनि अभिशाप पनि बनेकोे केही छ भने त्यो हो मोबाइल । चोरले सल्लाह गर्न, साधुले मन्त्र पढ्न, भ्रष्टले भ्रष्ट बन्न, यो सबै थरी तरकारीमा मिल्ने आलु जस्तो साधन किन आविष्कार भएको होला ? कुरा मिलाउने पनि यही बिगार्ने पनि यही । घरबार जोड्ने पनि यही दरबार धुजाधुजा बनाउने पनि यही । नेपाली राजनीतिका टाउकेहरूले जस्तो फुटाउने र जुटाउने जादु भएको यो बिकासे बट्टाको नालीबेली लाउन खोज्नु लट्टा भएका जोगीले ठट्टा गर्न त आँटेनन् ? म बतुरे माहिलाका लागि त यो विषय कमिलालाई खै केको पहिरो भन्थे त्यही हुने नै भयो ।
ट्विट गर्ने कि इन्स्टा चलाउने, फेसबुक चलाउने कि टिकटक मोबाइल । चुरोटेलाई सलाईको बट्टा झैँ भएको छ मोबाइल । कमिलाले हात्ती रुवाउँछ भन्थे हो रै’छ बा । साना मोबिले क्यामराले ठुला भीमकाय क्यामरा क्वाप्लाक्कै निलिदियो । फोटो धुलाउने जमाना अब त कहाँ पुग्यो कहाँ भन्नुहोला । यो उही मोबिले बट्टाभित्र घुस्रियो । यति मात्र हो र, नाडीको सिको फाइब, राडो के के हो के के जातिका घडीको त सौता नै बनिदियो यो प्यारप्यारे बट्टाले । मन्दिर होस् वा कर्मथलो, खाने थलो होस् वा बिहा, व्रतबन्ध, दुर्घटना जता नि फोटा र भिडियो बनाउनेको भिड बढाउँछ यो । दुर्गा पूजा होस् वा शिव पूजा यो अगाडि बढ्छ र सबैलाई जित्छ ।
हे मोबाइल, कति सर्वशक्तिशाली छौ तिमी, जे खोज्यो त्यही ल्याइदिन्छौ । बैँक तिमीभित्रै, मान्छे तिमीभित्रै । सिम सिम, मोबाइलै मोबाइल । ल्याइते, ब्याइते तथा चोरी भगाइ वा छलछाम गरेर ल्याइएका रखैल गरी उहिल्यैका राजा महाराजा, श्रीहरूका प्रकार प्रकारका सुरा सुन्दरी झैँ मोबाइल पनि हाटबजारमा थरीथरीका पाइन्छन् बा । मूलासनमा बस्नेले मोबाइल बोकेर हेलो भन्नासाथ काँतरे काका हवस् हवस् भनिहाल्छन् बा !
कुनै मोबाइल त रेमिट्यान्स पठाउँदा पठाउँदै पोइल जान्छन् । यो बट्टा यति घाँडो भएको छ कि वेला न कुबेला लुतो सल्के झँै सल्किन्छ र घर परिवार सखाप पार्छ । उता बिदेसिएको मोबाइल उतै पल्कने र यताको मोबाइल यतै सल्कने रोगले मोबाइल समाज तहसनहस भएको कुरा मोबाइलशास्त्रीहरू बताउँछन् । काम पाएनौ, टिकटक चलाऊ पैसा कमाऊ वर्गको मोबाइल त के बोलिस् होइन कि के चाहिँ बोल्न बाँकी राखिस् हो । कर्जा र दर्जाअनुसारका मोबाइल भिरेका समय भाँचेर जिन्दगीलाई मोबाइलमा रिचार्ज गर्ने आइफोनेहरू शरणार्थीका नाममा परिचय बेचिरहेछन् ।
मोबाइलबाट भोट र नोटसँगै चोट मागिरहेछन् । कोट लगाए पनि, सुट वा बुट लगाए पनि कन्या कुमारीदेखि कन्या राशिसम्मकाले मोबाइल लिइरहेछन्, पिइरहेछन् । कुनै कुनै भाग्यमानी मोबाइलहरू दायाँबाया पहरेदार राखी साइरन बजाएर सवार हुन्छन् अनि विधेयक पास गरेर सलामी खाने र मलामी जाने मोबाइलहरू पहिले पहिले कुखुरी काँ भन्थे, अहिले मोबाइल काँ भनेर सोध्छन् र अलार्म बजाई छिटो छिटो मोबाइलबाटै सबै डिलिट गरिदिन्छन् कर्तुतहरू ।
जे पनि देखाउने यी केही मोबाइलहरू यति फोहोरी छन् कि नर्कै जन्माउँछन् । वस्त्रदेखि निर्वस्त्रसम्मको फेसनको सेसन चलाउने मोबाइल आज सब्जी खानेदेखि पब्जी खेल्नेसम्मको लतले मान्छेमा झुन्डिएर बसेका हुन्छन् । नयाँ जोगीले बढी खरानी घसे जस्तै भर्खर मोबाइल पाएका लैनादेखि अभ्यस्त बनिसकेका बकेर्नुसम्मकाले मोबाइलबाट आफूलाई दुनियाँसामु नङ्ग्याइसकेको देखिन्छ ।
आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक संस्कार र बेथिति दुवै बोकेर हिँडेको मोबाइल मान्छे स्वयंलाई बलिको बोको बनायो र मन्दिरमा चढाएको गन्हाउने बोको झैँ मोबाइल संस्कृति कार्यालयमा बस्दा होस् वा घर घरमा आआफ्नै हातमा बसेर आँखामा टाँसिइरहेको हुन्छ । पाहुना आउन् वा जाउन्, केटाकेटीलाई के दोष लगाउनु, त्यो भन्दा बढी बैँसे प्रौढेहरूलाई मोहिनी लगाएको छ यसले । बरु पति पत्नी एकअर्कालाई छोड्न सक्छन् तर मोबाइल छोड्न सक्दैनन् ।
मोबाइल असाध्य महारोग हो । मोबाइलले भ्रष्टलाई पल्काएको छ । सबतिर रेडिमेड डढेलो सल्काएको छ । भुँडी फुलाउनेदेखि बुढी फुलाउनेसम्म, काममा मात्र जानेदेखि माममा मात्र आँखा लाउनेसम्म अनि साग बेच्नेदेखि राग बेच्नेसम्मलाई लत बसेको छ । यसको लत छुटाउने भए मुद्दा हाल्नुस् बलात्कारी मोबाइलविरुद्ध । अनि पो बिछोड गराइदिन्छन् मोबाइलसँगको प्रेम कहानी ।
०००
२०८० साल जेठ १९ गते
गोकर्णेश्वर ५, जोरपाटी, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest












































