ह्यारी- ८०‘नमस्कार’ विक्रीमा !!
नेताहरू चाहिँ जात न भातका सयौँ वणर्का सयौँ थरिका नमस्कार गर्छन् । स्वार्थका लागि नमस्कार पनि बिक्री हुन थाल्यो । त्यसैले अब नमस्कार उत्पादन गर्नुहोस् र मान्छेअनुसार बिक्री गर्नुहोस्, तपाई मालामाल ।

ह्यारी-८० :
नमस्कार हजुर ! हजुरलाई नै नमस्कार गरेको मैले । किन पछाडि फर्कनुभएको ? पछाडिको मान्छेलाई नमस्कार गरेको होला यसले भन्ने ठान्नुभएको हो ?
यस्ता घटना कति भए, कति भए ! हुन पनि यस्तै हुन्छ, पछाडि आइरहेको मान्छेलाई नमस्कार गर्यो चिन्दै नचिनेको मान्छेले अगाडिबाट हात जोड्छ अनि अगाडिको मान्छेलाई नमस्कार गर्यो पछिल्लो मान्छे नमस्कार थाप्न आइपुग्छ । होइन अलि ठम्याउन सकिनँ नि भन्यो, तपाईँले होइन मेरो भैँसी किन्नुभएको, भन्छ बा ! भैसी किन्ने होस् वा गोरु बेचेको साइनो लाएर होस्, आफू त नमस्कार गरिन्छ गरिन्छ ! मेरो शिरको टोपी फाटेको छ त के भो । एकसरो लुगा झुत्रो छ त त्यसले कसलाई पिरेको छ र, अहिले खाए भरे के खाऊँ, भरे खाए भोलि के खाऊँ भएर के भो त ?
मेरो नमस्कारले कुन नमस्कार खानेलाई पिरेको छ र ? म त संस्कारमा हुर्केको मान्छे, बुबाआमाले आफूभन्दा ठुलालाई दुई हात जोडेर थपक्क नमस्कार गर् भनेर सिकाएकाले त अहिले न कहिले सधैँ नमस्कार गर्न मात्र आयो, झुटो बोल्न, पोल खोल्न र ठग्न चाहिँ कसम खान्छु आउँदै आएन । मरिजाऊँ सत्य बोलेर आजसम्म न कसैले गाई दान दिएका छन् मलाई न त भैँसी नै । हिजोआज बाहिर निस्कनै हुँदैन बा ! कस्ता कस्ता नमस्कार देखिन्छन् !
एउटै ठुटामा अनगिन्ती उम्रेका च्याउ झैँ टोल टोलमा टोले नेता उम्रेका छन् । काम नपाएर लखरलखर हिँड्ने मान्छे अहिले झोले, पर्चे, ढाडे नेता भएर हिँडेका छन्, तिनलाई नमस्कार गर्नै पर्यो । खै, हात जोड्न नजानेका होलान् र यिनले ! कोही कोही चाहिँ यसो टाउको चाहिँ हल्लाइटोपल्छन् । मैले चुनाउअघिको बखान गरेको कहाँ हुँ र चुनाउअघि त हामीभन्दा पहिल्यै नमस्कार गर्न आतुर हुन्छन् यी । कोहीकोही त साष्टाङ्ग दण्डवतै गर्छन् । लट्ठी काकाले कहाँ त्यसै भनेका हुन् र, ‘‘नेता भ्रष्ट चोर प्रस्ट ।’’
बिहान उठेदेखि बेलुका नसुतेसम्म कतिलाई नमस्कार गरिन्छ, कतिको खाइन्छ र कतिले गरेका हुन्छन् भनी साध्यै छैन । नमस्कारको इतिवृत्तान्त दिन तथ्याङ्क विभागले यस जुनीमा पनि सक्ने अवस्था छैन । ह्वाइट हाउसदेखि बेइजिङसम्म अनि काठमाडौँदेखि सिउलसम्म नमस्कार गर्न सिकेको कोविड १९ को महामारीदेखि नमस्कार संस्कृति अन्तर्राष्ट्रियकरण भयो । मलाई कुनै वेला यो नमस्कार हाम्रै पेवा हो जस्तो लाग्थ्यो तर सबैको मुखमा नमस्कार शब्द भुन्डिन थाल्यो । विश्वका मै हुँ भन्ने नेता चुम्बन गर्न र आलिङ्गन गर्न खोइ उनीहरू चाहिँ हग गर्ने भन्छन् क्यारे सबथोक गर्न छोडेर नमस्कार मुद्रामा विश्वका टेलिभिजनमा छाए । बोतोडले फैलिएको नमस्कार चाकडीवाज भ्रष्टहरूमाझ बढी लोकप्रिय भयो । यही नमस्कार कसैलाई आकाशको फल आँखा तरी मर भनेजस्तो भा’हुन्छ भन्या । सेवा गर्नेलाई पनि मेवा लुट्नेलाई पनि यही नमस्कार ।
हुँदो न खाँदो कहिलेकाहीँ त भिरबाट खँगार्नुपर्नेलाई पनि नमस्कार गर्नुपर्ने हगि । कति, बलात्कारी, कति दुराचारी, कति अत्याचारीलाई नमस्कार गर्नुपर्यो । अहिले पश्चात्ताप हुन्छ । हिजो नमस्कार महँगो थियो दिनै पर्नेलाई मात्र नमस्कार भनिन्थ्यो र लिनेले पनि त्यसैअनुसार ग्रहण गर्दथ्यो । तर अहिले नमस्कार सस्तिएको छ । जेलभित्र जान लागेकालाई पनि लाम लागेर, कसैलाई काम लागेर, बात र भात खानेलाई नमस्कार गर्ने परिपाटीले नमस्कार संस्कार नेपाली राजनीति जस्तै कुरूप भएको छ । अहिले मुद्राको भाउजस्तै स्वाभिमान गुमाएर नमस्कार गर्नाले नै आज देश सिङ्गापुर होइन, सिँगानपुर बढ्दै छ ।
कोविड १९ ले एक्कासि विष्फोट भएको नमस्कार सिँढीबाट गुल्टिएर परम्परागतबाट आधुनिकतातर्फ लम्कँदै हाइ, हेलो, टस, हग शैलीमा रूपान्तरित भएको छ । एक हात उठाएर नमस्कार गर्नेहरू अर्को हातले अन्तै कन्याउँदै देश हरिकङ्गाल भएकामा गिल्ला गरिरहेका छन् दुनियाँलाई । अनुसन्धाता के भन्छन् भने सबैभन्दा मर्छु कि भन्ने पिर पनि यिनै असत्य, अधर्मी र अन्यायीलाई नै भएको रहेछ । कोविडको खोप लगाउनमा पनि सेटिङ गर्दै नमस्कार गरेर पहिले यिनैले लगाएछन्, दश पुस्तासम्मका नाताले भ्याएकालाई खुसुक्क खोप लगाए रे । राहत आए पनि, त्रिपाल आए पनि, रासन आए पनि सबैभन्दा पहिले यिनका हातमा पुग्छ अनि यिनीहरूले डकारेपछि मात्र लाखचोटि नमस्कार गर्ने लाखौँमा एउटा दुइटाले राहत पाउँछन् । हाम्रा नाममा भूकम्प, बाढी पहिरो आदिमा कति राहत आयो, कोविडका बेला कति सहयोग आयो तर जति र जसलाई नमस्कार गरे पनि हाम्रो नमस्कार बेचेर यिनले नै कुम्ल्याए । खै के पायौँ त, ऋणको भार थोपरेर बदलामा नमस्कार लिएर लुट्दै गए, अविश्रान्त लुट्दै छन् ।
सर्वप्रथम तपाईँलाई पनि नमस्कार छ । शिर निहुराउनुपर्ने नै भए नमन छ । नमस्कार यस्तो संस्कृत शब्द हो जसले दुई हात जोरेर सम्मान देखाउने काम भन्ने बुझिन्छ । तपाईँलाई नमस्ते छ भन्नु भनेकै नमस्कार छ भनेको हो तर हिजोआज जसलाई पनि नमस्कार भन्ने बानीले बजारको वस्तुको भाउ जति उकालो लागे पनि मान्छेको भाउ पनि ओरालो लागेको लाग्यै छ । नमस्कारको भाउ पनि मान्छेलाई नै पछ्याइरहेछ ।
कार चढेर आउनेलाई गरिने नमस्कार र हिँडेर आउनेलाई गरिने नमस्कार फरक छ र भन्नुहोला । वास्तवमा कारमा बसेकालाई निहुरेर गरिने निहुरे नमस्कार र हिँडेर आउनेलाई ठाडै गरिने ठड्यौरे नमस्कार फरक हुने नै भयो । नमस्कार शब्द उच्चारण गर्ने तर हात जोड्न नजान्ने आधुनिक नमस्कारले बजार छ्याप्छ्याप्ती भरिएको छ । जागिर माग्नेदेखि जागिर दिनेसम्मले गर्ने नमस्कारको मुद्रा फरक छ । ज्वाइँलाई गरिने नमस्कार र सालोलाई फर्काउने नमस्कार कति फरक छ । घुस्याहाका नमस्कार कति फरक छ ।
टेलिभिजनमा समाचार भन्ने अधिकांशले नमस्कार भन्ने तर नमस्कार देख्ता त कहिलेकाहीँ हान्दिऊँ भन्न मन लाग्छ । राजाहरूले जनतालाई नमस्कार फर्काउँदा दुई हात जोड्न नभ्याएर होला औँला मात्र जोड्थे हत्केला जोड्दैनथे । आजकलका नेताहरू चाहिँ जात न भातका सयौँ वणर्का सयौँ थरिका नमस्कार गर्छन् । स्वार्थका लागि नमस्कार पनि बिक्री हुन थाल्यो । त्यसैले अब नमस्कार उत्पादन गर्नुहोस् र मान्छेअनुसार बिक्री गर्नुहोस्, तपाई मालामाल ।
तँ चाहिँ के कम छस् र भन्नुहोला, लोकल वाइनदेखि होली वाइनसम्म धोक्नेहरूले विस्तारै वन साङ्लाले घर साङ्लो खाएझैँ नमस्कार संस्कृति खाँदै डकार्दै छन् तर एक्लो वृहस्पति झुटो भए पनि होस् म चाहिँ तपाईँलाई भन्छु – नमस्कार ।
०००
जोरपाटी, गोकर्णेश्वर – ५, काठमाडौँ
२०८०/०२/२६
Subscribe
Login
0 Comments
Oldest












































