साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘नमस्कार’ विक्रीमा !!

नेताहरू चाहिँ जात न भातका सयौँ वणर्का सयौँ थरिका नमस्कार गर्छन् । स्वार्थका लागि नमस्कार पनि बिक्री हुन थाल्यो । त्यसैले अब नमस्कार उत्पादन गर्नुहोस् र मान्छेअनुसार बिक्री गर्नुहोस्, तपाई मालामाल ।

Nepal Telecom ad

ह्यारी-८०  :

नमस्कार हजुर ! हजुरलाई नै नमस्कार गरेको मैले । किन पछाडि फर्कनुभएको ? पछाडिको मान्छेलाई नमस्कार गरेको होला यसले भन्ने ठान्नुभएको हो ?

यस्ता घटना कति भए, कति भए ! हुन पनि यस्तै हुन्छ, पछाडि आइरहेको मान्छेलाई नमस्कार गर्‍यो चिन्दै नचिनेको मान्छेले अगाडिबाट हात जोड्छ अनि अगाडिको मान्छेलाई नमस्कार गर्‍यो पछिल्लो मान्छे नमस्कार थाप्न आइपुग्छ । होइन अलि ठम्याउन सकिनँ नि भन्यो, तपाईँले होइन मेरो भैँसी किन्नुभएको, भन्छ बा ! भैसी किन्ने होस् वा गोरु बेचेको साइनो लाएर होस्, आफू त नमस्कार गरिन्छ गरिन्छ ! मेरो शिरको टोपी फाटेको छ त के भो । एकसरो लुगा झुत्रो छ त त्यसले कसलाई पिरेको छ र, अहिले खाए भरे के खाऊँ, भरे खाए भोलि के खाऊँ भएर के भो त ?

मेरो नमस्कारले कुन नमस्कार खानेलाई पिरेको छ र ? म त संस्कारमा हुर्केको मान्छे, बुबाआमाले आफूभन्दा ठुलालाई दुई हात जोडेर थपक्क नमस्कार गर् भनेर सिकाएकाले त अहिले न कहिले सधैँ नमस्कार गर्न मात्र आयो, झुटो बोल्न, पोल खोल्न र ठग्न चाहिँ कसम खान्छु आउँदै आएन । मरिजाऊँ सत्य बोलेर आजसम्म न कसैले गाई दान दिएका छन् मलाई न त भैँसी नै । हिजोआज बाहिर निस्कनै हुँदैन बा ! कस्ता कस्ता नमस्कार देखिन्छन् !

एउटै ठुटामा अनगिन्ती उम्रेका च्याउ झैँ टोल टोलमा टोले नेता उम्रेका छन् । काम नपाएर लखरलखर हिँड्ने मान्छे अहिले झोले, पर्चे, ढाडे नेता भएर हिँडेका छन्, तिनलाई नमस्कार गर्नै पर्‍यो । खै, हात जोड्न नजानेका होलान् र यिनले ! कोही कोही चाहिँ यसो टाउको चाहिँ हल्लाइटोपल्छन् । मैले चुनाउअघिको बखान गरेको कहाँ हुँ र चुनाउअघि त हामीभन्दा पहिल्यै नमस्कार गर्न आतुर हुन्छन् यी । कोहीकोही त साष्टाङ्ग दण्डवतै गर्छन् । लट्ठी काकाले कहाँ त्यसै भनेका हुन् र, ‘‘नेता भ्रष्ट चोर प्रस्ट ।’’

बिहान उठेदेखि बेलुका नसुतेसम्म कतिलाई नमस्कार गरिन्छ, कतिको खाइन्छ र कतिले गरेका हुन्छन् भनी साध्यै छैन । नमस्कारको इतिवृत्तान्त दिन तथ्याङ्क विभागले यस जुनीमा पनि सक्ने अवस्था छैन । ह्वाइट हाउसदेखि बेइजिङसम्म अनि काठमाडौँदेखि सिउलसम्म नमस्कार गर्न सिकेको कोविड १९ को महामारीदेखि नमस्कार संस्कृति अन्तर्राष्ट्रियकरण भयो । मलाई कुनै वेला यो नमस्कार हाम्रै पेवा हो जस्तो लाग्थ्यो तर सबैको मुखमा नमस्कार शब्द भुन्डिन थाल्यो । विश्वका मै हुँ भन्ने नेता चुम्बन गर्न र आलिङ्गन गर्न खोइ उनीहरू चाहिँ हग गर्ने भन्छन् क्यारे सबथोक गर्न छोडेर नमस्कार मुद्रामा विश्वका टेलिभिजनमा छाए । बोतोडले फैलिएको नमस्कार चाकडीवाज भ्रष्टहरूमाझ बढी लोकप्रिय भयो । यही नमस्कार कसैलाई आकाशको फल आँखा तरी मर भनेजस्तो भा’हुन्छ भन्या । सेवा गर्नेलाई पनि मेवा लुट्नेलाई पनि यही नमस्कार ।

हुँदो न खाँदो कहिलेकाहीँ त भिरबाट खँगार्नुपर्नेलाई पनि नमस्कार गर्नुपर्ने हगि । कति, बलात्कारी, कति दुराचारी, कति अत्याचारीलाई नमस्कार गर्नुपर्‍यो । अहिले पश्चात्ताप हुन्छ । हिजो नमस्कार महँगो थियो दिनै पर्नेलाई मात्र नमस्कार भनिन्थ्यो र लिनेले पनि त्यसैअनुसार ग्रहण गर्दथ्यो । तर अहिले नमस्कार सस्तिएको छ । जेलभित्र जान लागेकालाई पनि लाम लागेर, कसैलाई काम लागेर, बात र भात खानेलाई नमस्कार गर्ने परिपाटीले नमस्कार संस्कार नेपाली राजनीति जस्तै कुरूप भएको छ । अहिले मुद्राको भाउजस्तै स्वाभिमान गुमाएर नमस्कार गर्नाले नै आज देश सिङ्गापुर होइन, सिँगानपुर बढ्दै छ ।

कोविड १९ ले एक्कासि विष्फोट भएको नमस्कार सिँढीबाट गुल्टिएर परम्परागतबाट आधुनिकतातर्फ लम्कँदै हाइ, हेलो, टस, हग शैलीमा रूपान्तरित भएको छ । एक हात उठाएर नमस्कार गर्नेहरू अर्को हातले अन्तै कन्याउँदै देश हरिकङ्गाल भएकामा गिल्ला गरिरहेका छन् दुनियाँलाई । अनुसन्धाता के भन्छन् भने सबैभन्दा मर्छु कि भन्ने पिर पनि यिनै असत्य, अधर्मी र अन्यायीलाई नै भएको रहेछ । कोविडको खोप लगाउनमा पनि सेटिङ गर्दै नमस्कार गरेर पहिले यिनैले लगाएछन्, दश पुस्तासम्मका नाताले भ्याएकालाई खुसुक्क खोप लगाए रे । राहत आए पनि, त्रिपाल आए पनि, रासन आए पनि सबैभन्दा पहिले यिनका हातमा पुग्छ अनि यिनीहरूले डकारेपछि मात्र लाखचोटि नमस्कार गर्ने लाखौँमा एउटा दुइटाले राहत पाउँछन् । हाम्रा नाममा भूकम्प, बाढी पहिरो आदिमा कति राहत आयो, कोविडका बेला कति सहयोग आयो तर जति र जसलाई नमस्कार गरे पनि हाम्रो नमस्कार बेचेर यिनले नै कुम्ल्याए । खै के पायौँ त, ऋणको भार थोपरेर बदलामा नमस्कार लिएर लुट्दै गए, अविश्रान्त लुट्दै छन् ।

सर्वप्रथम तपाईँलाई पनि नमस्कार छ । शिर निहुराउनुपर्ने नै भए नमन छ । नमस्कार यस्तो संस्कृत शब्द हो जसले दुई हात जोरेर सम्मान देखाउने काम भन्ने बुझिन्छ । तपाईँलाई नमस्ते छ भन्नु भनेकै नमस्कार छ भनेको हो तर हिजोआज जसलाई पनि नमस्कार भन्ने बानीले बजारको वस्तुको भाउ जति उकालो लागे पनि मान्छेको भाउ पनि ओरालो लागेको लाग्यै छ । नमस्कारको भाउ पनि मान्छेलाई नै पछ्याइरहेछ ।

कार चढेर आउनेलाई गरिने नमस्कार र हिँडेर आउनेलाई गरिने नमस्कार फरक छ र भन्नुहोला । वास्तवमा कारमा बसेकालाई निहुरेर गरिने निहुरे नमस्कार र हिँडेर आउनेलाई ठाडै गरिने ठड्यौरे नमस्कार फरक हुने नै भयो । नमस्कार शब्द उच्चारण गर्ने तर हात जोड्न नजान्ने आधुनिक नमस्कारले बजार छ्याप्छ्याप्ती भरिएको छ । जागिर माग्नेदेखि जागिर दिनेसम्मले गर्ने नमस्कारको मुद्रा फरक छ । ज्वाइँलाई गरिने नमस्कार र सालोलाई फर्काउने नमस्कार कति फरक छ । घुस्याहाका नमस्कार कति फरक छ ।

टेलिभिजनमा समाचार भन्ने अधिकांशले नमस्कार भन्ने तर नमस्कार देख्ता त कहिलेकाहीँ हान्दिऊँ भन्न मन लाग्छ । राजाहरूले जनतालाई नमस्कार फर्काउँदा दुई हात जोड्न नभ्याएर होला औँला मात्र जोड्थे हत्केला जोड्दैनथे । आजकलका नेताहरू चाहिँ जात न भातका सयौँ वणर्का सयौँ थरिका नमस्कार गर्छन् । स्वार्थका लागि नमस्कार पनि बिक्री हुन थाल्यो । त्यसैले अब नमस्कार उत्पादन गर्नुहोस् र मान्छेअनुसार बिक्री गर्नुहोस्, तपाई मालामाल ।

तँ चाहिँ के कम छस् र भन्नुहोला, लोकल वाइनदेखि होली वाइनसम्म धोक्नेहरूले विस्तारै वन साङ्लाले घर साङ्लो खाएझैँ नमस्कार संस्कृति खाँदै डकार्दै छन् तर एक्लो वृहस्पति झुटो भए पनि होस् म चाहिँ तपाईँलाई भन्छु – नमस्कार ।

०००
जोरपाटी, गोकर्णेश्वर – ५, काठमाडौँ
२०८०/०२/२६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x