साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नानीदेखिको बानी

आखिर भृगु ऋषि विष्णुको अतिथि न ठहरिए । पाहुनासँग रिसाउन नहुने कुरा विष्णुलाई पनि थाहा नहुने कुरै भएन । उल्टै विष्णुले भनेछन् “मेरो यो जर्जर परेको कडा छातीमा प्रहार गर्दा हजुरको कोमल पाउमा कष्ट भयो कि ? थोरै पनि कष्ट पुगेको भए क्षमा पाउँ ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

“नानीदेखि लागेको बानी” भन्ने गरेको त निकै अघिदेखि सुनेको हो तर किन भनियो ? खासै ध्यान पुर्‍याउन सकेको थिइन । अनेक मान्छेका अनेक प्रकारका बानी हुने रहेछन् । केटाकेटी बेलामा लागेको बानी बुढेसकाल लाग्दासम्म, मान्छेले चटक्क छोड्न सक्दैन । त्यसैको परिणाम पक्कै यो उखान जन्मिएको हुनुपर्छ । शङ्का नमाने हुन्छ । कुनै कुनै मान्छेहरूलाई हेर्छु कतिपय मान्छेको एउटा न एउटा काइते बानी हुने रहेछ ।

मान्छेको समुहमा बसेको बेला लाजै नमानी कसैले आफ्नो औंला मुखमा लगेर कुटुक्क नङ् टोक्ने गरेको त देख्नु भएकै छ । केही बेसरमहरू अन्य मान्छेको उपस्थितिको ख्याल नै नगरी औँलाको डेढ इन्च भाग नाकमा घुसाएर निर्धक्क नाकको सफाइ गरिरहेका हुन्छन् । मान्छेको भिडमा दाँत र कान कोट्याउनेहरू पनि बाक्लै देख्न पाइन्छन् । दिनदहाडै बिजुली पानी धोकेर सभा सम्मेलनमा सहभागी हुने मान्छे देख्नुभयो भने पनि आश्चर्य मान्नु पर्दैन, किनकि त्यो उनीहरूको पुरानो बानी हो । झुटो बोल्ने बानी परेको मान्छेले अबदेखि झुटो बोल्दिन भन्यो भने पनि हतपती नपत्याए हुन्छ । चोर्न बानी परेको मान्छेले घरको ढुकुटीमा एक किलोको हिरा भए पनि मौका मिल्नासाथ कतै एउटा सानो फुली देखे पनि मन थाम्न सक्दैन ।

परीक्षामा चोर्न पल्केको विद्यार्थी, सबै प्रश्न जानेको किन नहोस्, मुन्टो तन्काएर दायाँ बायाँ नगरे उसलाई परीक्षामा लेखे जस्तै लाग्दैन । अर्काको सिर्जनामा आफ्नो नाम राखेर गीतकार, गायक र साहित्यकार बन्न खोज्दा उठ्न नसक्ने गरि पछारिएका घटनाहरू त घटिरहेकै हुन्छन् । राती ढिलो सुत्ने र बिहान ढिलो उठ्ने बानीले कतिको जीवन नै लथालिङ्ग बन्ने गरेको छ । कसैलाई अर्काको कुरा नकाटे खाएको हजम हुँदैन । विद्यार्थी कुट्ने बानी भएका शिक्षकले बनाएको निलडामको चर्चा बेलाबखत युटुब नामको सञ्जालमा देख्ने गरिएकै छ । कुनै सरकारी कर्मचारीको अनौठो बानी हुन्छ रे, दिनभरी कार्यालयमा काम गरेर फर्कंदा रित्तोहात नफर्कने । केही पत्रकारले एउटा नेताको गुणगान गाएर अर्को नेतालाई तथानाम गाली गर्दै लेखेको त देख्नु भएकै छ । यसमा पनि मुख्य भूमिका बानीले काम गरिरहेको हुन्छ, भत्ता खाने बानी ।

मेरो एकजना साथीको यो अनौठो बानी सुन्नुस् त ! हामी औसत साथीहरू भन्दा उनी केही भिन्न स्वभावका थिए । अघिपछि उनले हामीलाई साथी जस्तो व्यवहार नगरे पनि जब घाम अस्ताउन लाग्थ्यो, हामीलाई एकछिन पनि छोड्न सक्दैन थिए । त्यो पनि उनको बानी कै कारण । उनलाई एक्लै भट्टी जाने बानी थिएन । दिउँसो जता गए पनि साँझ भने टुप्लुक्क देखा परिहाल्थे । यो बानी छुटाउन उनले निकै बल गरे तर कहिले पनि सफल भएनन् । लौ, त्यो त केही थिएन । उनको सबभन्दा नराम्रो बानी थियो, भट्टी पसेर एक बोतल बिजुली पानी घुड्क्याएपछि सितन झिक्न दिएको चम्चा गोजीमा राख्नै पर्ने । आफूले प्रयोग गरेको चम्चा त राखे राखे, हाम्रो हातको चम्चा समेत थुतेर उनी गोजीमा राख्न भ्याइहाल्थे । उनको चम्चा सङ्कलन गर्ने बानीकै कारण सधैँ एउटै भट्टीमा मात्र जान पाइन्न थियो । अन्यथा चम्चा चोरको अभियोग उनलाई मात्र होइन, हामीलाई समेत लाग्न सक्थ्यो । उनले चम्चाको खेती गर्ने गरे पनि हाम्रा भकारीमा भने कुनैदिन झुक्किएर पनि त्यो चम्चाको वाली भित्रिएन । तर पनि उनीसँगको उठबसका कारण हामी पनि ठाडै चम्चा चोरका मतियार मानिन सक्थ्यौं ।

त्यसैले एकपटक चम्चा उठाइ सकेको भट्टीमा हामीलाई दोस्रो पटक छिर्न हिम्मत आउदैन थियो । यही कारण बजारमा खुलेका कुनै पनि भट्टी बाँकी रहेनन्, जहाँ हामी नपुगेको होस् । छिः यसको सङ्गत कस्तो चम्चा चोरसँग रहेछ भन्नुहोला ! तर पर्खनुस्, यो चोरी कार्यमा उनको एउटा महान लक्ष लुकेको भने रहेछ । संसारमा सबैभन्दा धेरै प्रकारका चम्चा सङ्कलन गर्ने व्यक्ति बनेर गिनिजबुकमा नाम लेखाउने उनको लक्ष रहेछ, एकदिन बिजुली पानी अलि बढि भएको दिन हामीलाई सुनाउँदै थिए ।

कसैको बानी भने यति फोहरी र घिनलाग्दो हुन्छ कि, जसलाई देख्दा र सुन्दा पनि आङ सिरिङ्ग हुन्छ । कुरा धेरै अगाडिको होइन, सामान्य चिनजानका एकजना व्यक्ति पाहुना बन्न आए । गर्मीको समय भएकोले आउनासाथ हातगोडा धोए । लगाएको पतलुन पट्टाएर झोलामा थन्क्याइ एउटा बुट्टे साडी जस्तै लुँगी फेरिवरी पलेंटी कसेर बसे । आफूलाई उनीसँग बात मारेर बस्ने फुर्सद थिएन । आफू घरधन्दातिर लागियो । केही बेरमा घरको लुते धन्दा सकेर म बैठकमा पसेको मात्र थिएँ, उनले लुँगीभित्र हात हाल्दै अपानवायु मुठीमा राखेर आफ्नै नाकतिर लगिरहेका रहेछन् । उनी यति आनन्द लिइरहेका थिए कि म कोठामा पसेको समेत तिनलाई होस भएन । रुघाले ग्रस्त बनाएको समयमा भिक्स इन्हेलर सुँघेर तत्काल राहत पाए झैं उनले लामो सास फेरे अनि निकै आनन्दित बने । मैले ख्वाक्क खोकेर आफू उपस्थित भएको सूचना दिन खोजें । मोवाइलमा कार्टुन हेर्न व्यस्त किशोरले बरु मेरो जनाउ खोकीको आवाज सुन्थ्यो होला, टिकटकमा झुण्डिरहने टिकटकेले खोकेको आवाज सुन्न सक्थ्यो होला, तर उनले भने मरिगए पनि सुनेनन् । कुनी केलाई भन्दा देख्नेलाई लाज भन्ने गरेको त्यसै होइन रहेछ । बल्ल त्यस दिन थाहा पाएँ । यसै उसै बरु भात खाँदा मजाले थाल चाट्ने बानी छ भने बरु त्यो जाती, कमसेकम खाना खाँदा एक गेडा पनि अन्नको दुरुपयोग त भएन नि ! बरु लोभी र महा कन्जुस्याइँ गर्ने बानी छ भने त्यो काइदा तर यस्तो निर्घिनी बानी त शत्रुको पनि नहोस् ।

तिनको यो हर्कत देखेर म भाउन्न भएँ । यस्तो मान्छेलाई भान्सामा लगेर कसरी अतिथि सत्कार गर्नु ? मलाई घिनमात्र होइन यिनीसँग औधी रिस पनि उठ्यो । तर पनि म बोल्न सक्दिन थिएँ । घरमा आएको अतिथि विरुद्ध आवाज उठाउनु शास्त्र सम्मत पनि हुँदैन थियो । वाध्य भएर मैले देखेको नदेखै गरेँ ।

हामीले “अतिथि देवो भव” भन्ने मन्त्र केटाकेटीदेखि नै सुन्दै आएका हौँ । जस्तो बानी भएको भए पनि अतिथिलाई भगवान सरह मान्नुपर्छ,पूजा गर्नुपर्छ, अचेल पूजा गर्ने प्रचलन हराए पनि शास्त्रले त भनेकै छ । शास्त्रमा लेखेको कुरा के थाहा ? भन्ने टिप्पणी गर्नुहुन्छ भने टिभी सिरियलमा कृष्णजीको दरवारमा पाहुना लाग्न गएका सुदामाको दृश्य सम्झिए पुग्छ । कृष्णले सुदामाको खुट्टा धोएर पूजा गरेको दृश्य हेर्नुस् त । अब त मान्नु होला नि पाहुनालाई सकेसम्मको सत्कार गर्नु पर्छ भनेर । त्यसैले मैले पनि तिनलाई केही भनिन । आखिर अतिथि नै भएपछि भन्नु पनि त भएन नि ! उनलाई मैले मिलेजति र गर्न सकेजति सत्कार गरें ।

अतिथिको स्वागत गर्नुपर्ने संस्कारमा हुर्किएका हामीले बानेश्वरको हलमा अतिथि बन्न गएका र सिंहदरबारका अतिथिहरूले लुँगीभित्र हात हालेर मुठी नाकमा लगेको भन्दा पनि घृणित बानी प्रदर्शन गरेको दृश्य त बारम्बार देख्न पाइने गरेकै छ । ती दृश्य देखिरहँदा पनि हामी भने केही बोल्न सक्दैनौं । किनकि उनीहरू हाम्रा अतिथि हुन् । घरमा आएका अतिथिले अपानवायु नाकमा पुर्‍याउँदा हामीलाई बरु टाउको दुखाइ हुँदै थियो । न त्यसले राष्ट्रलाई हानि नोक्सानी हुन्छ, न हामीलाई नै फरक पर्छ ? तर बानेश्वर, सिंहदरबार र पुलचोकतिर अपानवायु मुठ्याउने र छोड्नेहरूले त मुलुककै बेइज्जत गरिरहेका हुन्छन् । मुलुकलाई नै नोक्सान पुर्‍याइरहेका हुन्छन् । होइन के को बेइज्जत गर्थे, ती त छानिएर गएका मुलुककै उत्कृष्ट प्राणी पो हुन् त ! भन्नु भो भने तपाइँमा चेतना छ भनेर कसरी पत्याउने ? नभए मुलुकका ठूला ठूला पदमा पुगिसकेका केही अतिथिहरूलाई हेर्नुस् त पैसाको लागि यिनीहरूले जे पनि गर्न सक्ने रहेछन् ।

फेरि तिनीहरू एकदुई रातमात्रका अतिथि हुन् र ? पाँच पाँच वर्षसम्म ढुक्कले बस्छन् अतिथि बनेर । मेजबानी गर्नै पर्‍यो । भव्य सत्कार ग्रहण गर्नै पर्‍यो । मिठो मसिनो खुवाउनु, खानु पर्‍यो । अझै भएन यस पटकदेखि त केही नगद रकम दक्षिणाको पनि बन्दोबस्त गरिएको छ क्यारे । दसैंमा ससुराली गएको ज्वाइँलाई खाममा राखेर टक्र्याए जस्तै गरि । आखिर अतिथि हुन्, राम्ररी खातिरदारी नगरे रिसाउने हुन् कि भन्ने डर त लागिहाल्छ नि ! हुन त दक्षिणाको खाम लिने र दिने प्रचलन नयाँ भने होइन क्यारे । आखिर पुरानो बानी कसले पो छोड्न सक्थ्यो र ?

उहिले भृगु नाम गरेका एकजना ऋषि विष्णुलोक स्थित लक्ष्मीनारायण निवासमा पाहुना लाग्न गएछन् । विष्णु दम्पती अलिकति आतिथ्य सत्कारमा के चुकेका थिए, भृगुको पालो जुरुक्क उठेर विष्णुको छातीमा लातका लात बर्साउन लागेछन् । आखिर भृगु ऋषि विष्णुको अतिथि न ठहरिए । पाहुनासँग रिसाउन नहुने कुरा विष्णुलाई पनि थाहा नहुने कुरै भएन । उल्टै विष्णुले भनेछन् “मेरो यो जर्जर परेको कडा छातीमा प्रहार गर्दा हजुरको कोमल पाउमा कष्ट भयो कि ? थोरै पनि कष्ट पुगेको भए क्षमा पाउँ ।” छाँटले यी विष्णु भगवानमा अभूतपूर्व सहन सक्ने गर्ने बानी रहेछ । अन्यथा शिवजीको रिसाउने बानीका कारण द्वारपाल बसेका गणेशको टाउको छिने जस्तै यिनले पनि रिस थाम्न नसकेको भए के चाल हुन्थ्यो होला ? एक मन लाग्छ, धन्न भृगु ऋषि जस्तो तुरुन्त रिसाइ हाल्ने बानी भएका पाहुना चाहिँ आजसम्म बास बस्न आइपुगेका छैनन् र त अहिलेसम्म यो छाती जोगिएको छ ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
बाँच्न दिन्नन्

बाँच्न दिन्नन्

चिरञ्जीवी दाहाल
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x