साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चम् प्लस चा = चम्चा (प्रकरण- २)

‘चम्’ र चाकडी/चाकरी शब्दको पनि अगाडिको ‘चा’ भाग मिलेर बनेको शब्द हो ‘चम्चा’ । अब त स्पष्ट भयो होला नि चम् + चा = चम्चा शब्दका बारेमा ।

Nepal Telecom ad

पशुपति नाथ तिमल्सेना :

हातमा चम्चाका दुई टुक्रा खेलाउँदै गर्दा चम्चाको पछाडि आउने ‘चा’ शब्दको पछाडि जोडिने प्रत्यय त होइन ? भन्ने पनि लाग्यो । केही दिन पहिलाको कुरा हो बाबुचाको भतिचाले टुकुचामा आलुचा पखालेर बागबजारबाट असनबजार जाँदै गरेको बेलामा सानुचा भन्ने हाकुचाको छोराले एक मुठ्ठी गमक्र्याएर सुइँकुच्चा ठेकेर भाग्दा रत्नचाले समातेको सम्झिएँ । अनि मलाई लाग्यो ‘चा’ त शब्दकै पछाडि लाग्ने परसर्ग रहेछ भनेर ।

एकछिन त्यसै झोक्रिएर ट्वाल्ल परी भित्तातिर हेरिरहें । फेरि च्वास्स र किटिक्कको अनुभव भयो । उडुस उपियाँले टोकेको पो हो भनेर ऐना झिेकर काखीमन्तिर हेरें । कोठीजस्ता काला काला दाग मात्र देखिए । काखीमुनी कोठी कसरी आए होला भन्ने कुरामा घोत्लिरहेको थिएँ फेरि चिलायो र तिनै कोठीमध्ये एउटालाई लक्ष्य गरेर, औंलाले कोट्याएँ । कोठी त खुरुरु हिड्न पो थाल्यो वा † क्या गजब, यस्तो रहस्यको विषयमा एउटा अनुसन्धानात्मक लेख लेखेर ‘गोरखापत्र’ या ‘मधुपर्क’को ‘विज्ञान प्रविधि’ स्तम्भमा अथवा आआफ्ना पुस्तक छपाउनका लागि आ-आफू नै मिलेर बनेको साझा प्रकाशनको ‘गरिमा’ या नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको ‘प्रज्ञा’ नामक पत्रिकामा छपाउन दिउँ कि जस्तो लाग्यो । त्यसै बेला हालसालै हङ्कङ्गबाट भन्सार फ्री सुन लिएर आएका गाऊँले दाइ अचानक कोठाभित्र पसे । हाइ हेलोको भलाकुसारीपछि मैले आफ्नो हातमा समाती राखेको हिड्ने कोठी बारे अनुसन्धानात्मक लेख लेख्न लागेको कुरा पनि सुनाएँ । उनले रमाइलो मानी हिंड्ने कोठी हेरे र हलुकै पारामा यो त “चम्जुम्रो” हो भनिदिए, अनि थपे ‘जाडोको समयमा सानादेखि ठूलासम्म सबै व्यक्तिहरूले चम्जुम्रा पालेका हुन्छन्, यो त शरीरमा छालाजस्तै भएर टाँसिएर रगत चुस्ने जुम्रा हो’ भनेर ।

पाठकहरू हो ! तपाइँहरू मेरो कुरामा विश्वास नलागी रिसाउन थाल्नु भयो होला तर नरिसाउनु होस् । रिसाउनु पर्ने कारणै छैन । तपाइँलाई पनि चम्जुम्राले सताएको छ कि मलाईजस्तै । एक पटक आफ्नै काखीभित्र नङ्ग गाडेर कन्याउनु होस् त । आफ्नै शरीरमा लपक्क टाँसिएर थाहै नपाइने गरी रगत चुस्ने किर्नोजस्तो सैतान रहेछ यो ‘चम्जुम्रो’ । चम्+जुम्रो चम्जुम्रो, आखिर यो चम् त मापाको पो रहेछ । मलाई अन्तर्वार्ता दिंन या पावर खोज्न जाँदा पनि काखीमनि चिलाएर अपशकुन पार्ने ज्याम्राज त यै चम्जुम्रो रहेछ भन्ने ज्ञान अहिले भयो । गाऊँले काकाहरू भन्नुहुन्थ्यो कसैसँग कुनै काम पट्याउनुछ भने पहिला चम्जुम्रोजस्तै गरी टाँस्सिएर चाकरी गर्नुपर्छ, काम फत्ते ।

मलाई पहिला नै एकपटक ‘चम्’ले भ्रम पारेको भए पनि अहिले यो दोस्रो चम्चाको ‘चम्’ ले भ्रम निवारण गर्‍यो । जस्तोसुकै भए पनि ‘चम्’बाट शिक्षा मिल्दो रहेछ । कसलाई के थाहा ? यस्तो शिक्षाप्रद विषयका बारेमा । ‘चम्’को शिक्षाप्रद कुरा पनि मैले अहिले थाहा पाएँ । क्याम्पसमा पढाउन थाल्नुभन्दा पहिला अन्तर्वार्ता दिंदाका समयमा चम्चाको अगाडिको भाग अर्थात् चम् भागको ज्ञान आर्जन गरेको मलाई अहिले चम्चाको उत्तराद्र्ध भाग अर्थात् ‘चा’ भागको ज्ञान आर्जन गर्ने मौका मिल्यो । विश्वविद्यालयमा ‘चम्’ र ‘चा’ सम्बन्धी पढाइ नभए पनि कतिपय साथीहरूले यसको प्रशिक्षण प्रविधिलाई पचाइ सकेका पनि रहेछन् भन्ने कुरा अहिले छर्लङ्ग हुने गरी देख्न पाएँ । म यहाँ तपाईंहरूलाई ‘चम्’ र ‘चा’ अर्थात् चम्चाको संरचना र विशेषता बारे केही जानकारी गराउँदै छु ।

हेर्दा र सुन्दा मूल शब्दजस्तो लागे पनि यो चम् + चा मिलेर बनेको निर्मित शब्द हो ‘चम्चा’ । जस्तो कि चम्जुम्रो । चम्चाको बेलीबिस्तार बुझ्नुभन्दा पहिला चम्चाका नालीबेली थाहा पाउनु आवश्यक छ । चम्जुम्रो यसमा दुईवटा शब्दको समास भएको छ । जस्तै- चम्+जुम्रो = चम्जुम्रो । जुम्रा दुई किसिमका हुँदा रहेछन् भन्ने कुरा स्पष्टै छ । एउटा जुम्रो टाउकोमा वा लुगा कपडा आदिमा बसेर टोक्छ र त्यसलाई सजिलैसँग झिकेर पिटिक्क पार्न सकिन्छ । तर त्यो अर्को खाले जुम्रो प्राय काखीमा या अरु यस्तै अप्ठेरो ठाउँमा छालाजस्तै मिलेर, लिपिस्स लागेर रगत चुसि चुसिकन सताउँदो रहेछ । त्यसलाई हम्मेसी झिकेर पिटिक्क पार्न सकिंदो रहेनछ । यो कुरा त यहाँहरूलाई कण्ठै होला । तर यसबाट लिनु पर्ने शिक्षामा भने अधिकांशलाई थाहा नहुन पनि सक्छ । त्यसैले यही रहस्यमय कुराको भव्य तर सूत्रात्मक शैलीमा पाठकहरूलाई यहाँ जानकारी दिन लागिएको हो । कुरो के भने यदि कुनै काम कसैबाट पट्याउनु छ भने अथवा जागिर खानु छ भने खास खास व्यक्तिलाई समातेर आफू कतै पनि नदेखिएर ऊसँग लिपिस्स टाँसिएर उसैको जीउजस्तो भएर हिड्नु पर्दो रहेछ । त्यसो गर्न सके काम फत्ते । अर्थात् खास मान्छे, फेला परेपछि काम लिनका लागि त्यसलाई छोड्नु हुँदैन । खुट्टामा ढोगेर होस् या ढोगाउन लगाएर होस्, बोकेर होस् या बोकाएर, धोकेर वा धोकाएर, उसको भित्री अङ्गवस्त्र धोएर होस् अथवा जीउनै लम्पसार पारेर होस् वा सिमाङ्का सिमाङ् घिउ पुर्‍याएर होस् । जे जसरी हुन्छ उसलाई छोड्न हुन्न, ऊसँग टासिएको टासियै हुनुपर्दछ ।

यति गर्न सके आप्mनो काम फत्ते । सजिलोसँग काम लिनु छ भने सबभन्दा पहिला उसका विरोधीहरूको नाम लिएर ‘हेर्नुस् हजुर त्यो फलानो छ नि फलानो त्यसले हजुरको बारेमा चाहिदो नचाहिदो कुरा गर्छ’ भन्नुहोस् अनि यसो हात मल्दै एक हात अगाडि सर्नुस् र आशीर्वाद लिने शैलीमा प्रस्तुत हुनुहोस् । ‘मेरा बारेमा ककसले के के भन्दछन्’ भन्दै आप्mनो जिज्ञासा समाधान गराइदिने जिम्मेवारी हाकिमले तपाइँलाई सुम्पन्छ । यो तपाइँको लागि सुनौला मौका हो । त्यसबेला ठाउँ भए अलि अगाडि सर्नुस्, एकदम टाँस्सिन पुग्नुस् र फूलबुट्टे कुराले मख्ख पारिदिनुस् । बस् यति भनेपछि उसमा रिसको पारो चढिहाल्छ र राता राता आँखा पारेर हेर्न थाल्दछ । त्यसबेला तपाइँ उसको मनोविज्ञानको अध्ययन गर्न थाल्नुहोस् । यदि उसले चुरोट तान्दैछ तर चुरोटमा थुरै नआएको भए पनि ऊ ठोस्न तयार हुन्छ । त्यसबेला तँपाईं हातमा एस्टे्र लिएर नजिकै उभिनु होस्, यदि सुपारी वा पान खाएको रहेछ भने उसलाई खसखस लाग्छ, खकार थुकूँ थुकूँ लाग्छ त्यसबेला तपाइँले थुक्दानी तेस्र्याउनु होस् । ठान्नुस् यसो गर्नसके तपाइँको काम पुरा भयो । जागिर नभएको भए जागिर, जागिर भएर पनि तल्लो तहको भए प्रमोशन, उपल्लो तहकै भए तपाइँ पक्कै पनि ‘एसी’ अर्थात ‘एक्टिभ चीफ’ वा ‘एसिस्टेन्ट चीफ’ त भैहाल्नु हुन्छ ।

‘सि एच ए’ चा, चा माने गुच्चा, गुच्चाको साथी फुच्चा, फुच्चाको बाउ लुच्चा । यसरी अन्य शब्दको अन्त्यमा आउने चा र चम्चाको अन्त्यमा आउने चामा गोरु बेचेको साइनुसम्म पनि पर्दैन । तर पर्दैन भनेर गर्ने के नाता लाएरै छाडिदिन्छन् उपबुज्रुकहरूले । यो नाता लाउने वा पुस्तौलीको परिचय लिने चलन जागिर खाने र ख्वाउने चलन सुरु भएपछि आविष्कार भएको हो । त्यसैले जागिरको खोजी गर्नेहरूले सबभन्दा पहिला नातो र साइनोको ऐतिहासिक विकासक्रम थाहा पाउनु नितान्त आवश्यक छ । जस्तो कि ‘म हजुरको सालाको सालो, हजुर र मेरो बाको मामली एउटै थरका एउटै गाउँका’ आदि इत्यादि । पहिला पहिला जागिर खोज्नेले साइनो लगाउँथे तर अहिले त कार्यालय प्रमुख वा क्याम्पस प्रमुखहरूले पनि आफ्नो पक्षमा ल्याउनका लागि मातहतका कर्मचारीसँग नाता र साइनो जोड्दै हिँड्छन् । समयको परिवर्तनसँगै उनीहरू पनि परिवर्तित हुन करै लाग्यो ।

पढाइको अन्तिम सर्टिफिकेट लिएका तर स्वाभिमान नभएका तीनधर्केवाजहरू हाकिम जहाँ भेटिन्छन् त्यहीं ‘चम्’ शैलीमा प्रस्तुत भएर नाता साइनोको फेरो हालेर घेर्न थालिहाल्छन् । त्यसैले यो नाता साइनो भन्ने हतियार ज्यादै अल्ट्रा मोडे्रन टाइपको हो । जेहोस् खाने ख्वाउने जसले भए पनि सबभन्दा पहिला ‘चम्’ हुनु आवश्यक छ । यसरी ‘चम्’को अभ्यास पुरा गर्नुभयो भने तपाइँको लागि जागिर या प्रमोसन त बाले टीका लगाएर दिएजस्तै पक्का भो भनेर सम्झे पनि हुन्छ । तर ‘चम्’ को अभ्यास पूरा भयो भन्दैमा निश्चित चाहिं नहुनुहोस्, किन भने ‘चम्’ आफैमा पूणर् छैन । त्यसैले ‘चम्’को अभ्यासको लगत्तै ‘चा’ को तालिम दिन वा लिन सुुरु गर्नुहोस् ।

‘चा’ साच्चै यो ‘चा’ भन्ने शब्द हो कि अक्षर हो साह्रै मापाको पो हुँदो रहेछ । आधुनिक युगमा यो त एकदम अनिवार्य तत्वको रूपमा महिमाशाली भएर विराजमान छ । यस्तो महिमाशाली तत्व भएकोले नै त होला प्रतिभाशालीलाई पछारेर यो शक्तिशाली बनेको ? यसैको करामत भएर त होला एकधर्केवालालाई पछारेर तीनधर्केहरूले पद, प्रतिष्ठा, जागिर, प्रमोसन या छात्रवृत्ति आदि हात पारेका ! यति शक्तिशाली ‘चा’को बारेमा पहिला नै ज्ञान आर्जन गर्न पाएको भए या तालीम लिन पाएको भए ठाउँ ठाउँमा पछारिनु पर्ने त थिएन भन्ने लाग्छ अहिले मलाई । तर के गर्ने आफ्नो त कर्मै यस्तो भनौं कि के भनौं ? यस्तो महिमाशाली तत्त्वका बारेमा अध्ययन गर्ने मौकै पाइएन । कहिले कहीं त थकथकी लागेर आउँछ । आफूभन्दा पहिलाकाले यसो दुईचार अक्षर कोरेर यसको महिमा जनता सामु ल्याइदिएको भए आज कति मान्छेहरू कृतज्ञ हुने थिए ! खै यस बारेमा न भैरवले लेखे, न भीमनिधिले देखे, न वासुदेवले बके, न त केशवले कोट्याए । बरू यस बारेमा ‘मह’ बन्धुहरूले ‘चम्चे पाउर चम्चे पाउर, माया छँदैछ हल्ला नगर’ भनेर गीत गाउँदे हिडेको देखे सुनेको जस्तो लाग्छ ।

अँ त म कुरा गर्दै थिएँ ‘चम्चे पाउर’ अर्थात् चम्चाको पाउरको बारेमा । कस्तो होला यो चम्चे पाउर ! माथि भनेअनुसार ‘चम्’को कार्य पूणर्तः सफल भएपछि ‘चा’को अभ्यास सुरु गराइ हाल्नु पर्दछ । ‘चम्’लाई भेट हुनासाथ भोलि मेरो घरमा आउनुहोस् भन्नुहोस् ऊ भोलि विहानै तपाइँको घरमा आउँछ, काम र गच्छ्येअनुुसारको कोसेली लिएर । उसले दिएका कोसेली खाँदै गर्नुहोस् र आफूले खाने वस्तु ‘चा’बाट प्राप्त नगरुन्जेल उसलाई भोलिवादको नयाँ नयाँ शैलीको अभ्यास गराई रहनुहोस् । कोसेलीबाट तृप्त नहुँदासम्म ऊ तपाइँकहाँ दिनहुँ आइरहन्छ ।

म एक दिन वी.ए. प्रथम वर्षका विद्यार्थीहरूलाई शब्द निर्माण प्रक्रिया पढाउँदै थिएँ । यसै बेला एउटा विद्यार्थीले सोध्यो सर ‘चम्चा’ शब्द मूल हो कि व्युत्पन्न ? अर्कोले सोध्यो तत्सम हो कि तद्भव ? या आगन्तुक हो कि झर्रो ? मलाई झनक्क रीस पनि उठ्यो बी.ए.को क्लास चम्चाको निर्माण प्रक्रियाका बारे सोधिएको प्रश्न सुनेर, तैपनि आफ्नो अहंपन कायम राख्न तुरुन्तै जवाफ दिएँ चम्चा आगन्तुक व्युत्पन्न शब्द हो र ‘चमच्’ शब्दमा आ प्रत्यय लागेर चम्चाको निर्माण भएको हो । मेरो जवाफ एउटा केटालाई चित्त बुझ्दो भएनछ क्यार ओठ लेप्रायो । मैले सोधें के भो चित्त बुझेन ? उसले भन्यो ‘अल्लि बुझेन सर । यो ‘चम्चा’ शब्द नेपाली मौलिक एवं झर्रो शब्दजस्तो लाग्छ मलाई त भन्यो । मैले सोधेँ कसरी उठेर व्याख्या गर्नुहोस् त । वी.ए. मा पढ्ने विद्यार्थी त्यैमाथि फेरि सि.डि.ओ. अफिसको सुब्बा !, अनि हामीजस्तो मास्टरलाई किन गन्थ्यो ?

मैले उठेर सोधें उसले बसेरै जवाफ फर्कायो । ‘सर’ चम्चा शब्द आगन्तुक होइन । नेपाली चम्जुम्राको ‘चम्’ र चाकडीको ‘चा’ बिच सध्धि सम्झौता भएर ‘चम्चा’ शब्दको निर्माण भएको हो ।’ उसको यस्तो भनाइले एक पटक स्नातकको तालिम लिन कस्सिएका समूहहरूमा हाँसोको लहर फैलियो । मलाई मर्म परेको हुनाले शर्म पनि लाग्यो ‘मेरै केटोले मैलाई सिकाउने ?’ बढ्ता जान्ने भई टोपलेको ! शब्द निर्माण र वणर् विन्यासमा पी.एच.डी. गर्नेले त चम्चा शब्दलाई आगन्तु भनेर थेसिस् पेस गरे । एकेडेमीले लाखौं रुपियाँ दान पुण्य गरेर संशोधन गराएको शब्दकोशमा त चम्चा शब्दलाई मौलिक ठानिएको छैन । तर त्यो चाकडी पीडित सुब्बाले चम्चालाई नेपाली मौलिक ठान्यो । कस्सो त्यै बेला ट्याङ्ङ घन्टी बज्यो । अनि मैले भनें ‘यसको जवाफ भोलि अनिवार्य नेपाली शिक्षण निर्देशन पुस्तिका हेरेर बताउँछु’ भनेर फुत्त निस्किहालें ।

चम् + चा = चम्चा । त्यो केटाले भनेको ठीकै लाग्यो । क्याम्पसबाट कोठातर्फ फर्कन लाग्दा मनमा अनेकौं कुराहरू खेले । एउटा विद्यार्थीले शिक्षकलाई नै जितेकोमा झन्डै अपमानित हुनुपरेको । तै नेपाली शिक्षण निर्देशिका पुस्तिकाले शिक्षकलाई झुक्याएजस्तै मैले पनि त्यसैको धाक लगाएर झारा टारें । तैपनि मनमा द्वन्द्व चलिनै रह्यो । क्याम्पसबाट बाहिर निस्केर कोठातिर पाइला बढाउँदै थिएँ कुनाको पान पसलमा एकहल्को सिनियर हाँसो हस्कियो । क्लासबाट पराजित भएर आएको कुरा थाहा पाएछन् क्यारे त्यसैले हाँसे होलान् भन्ने पनि लाग्यो । तैपनि आफूलाई साधु देखाउन एक नजर त्यतै दौडाएँ । त्यहाँ त क्याम्पस प्रमुख, सहायक प्रमुख, शिक्षण समितिका अध्यक्षहरू अनि क्याम्पसका स्तम्भ नै मानिने गरिष्ठ एवं वरिष्ठ शिक्षकहरू दायाँ बायाँ बसेर पानको बुजो मरक् मरक् मक्र्याइ रहेका । मलाई पनि पान खाने हो ? भनेर सोधे । एकछिन अकमक्क परें । आज मलाई पक्कै पनि खिल्लि उडाएर गिल्ला गर्छन् भन्ने पनि लाग्यो । तै पनि एकपटक त बोल्नै पर्‍यो भनेर कस्सिएँ । मुखमा सुर्ती कोचेको हुनाले मुखभरी थुक थियो । एक पिच्का पिच्च पारें अनि मुखमा सुर्ती छ, पान खान्न ‘सोध्नु भएकोमा’ धन्यवाद भनेर कोठातिरै लम्किएँ ।

वास्तवमा सोध्ने शैली जस्तो भए पनि विद्यार्थी बाबुले भनेको कुरा ठीकै हो जस्तो लाग्यो । चम्चा शब्द नेपाली मौलिक शब्द हो । हुन त प्रत्येक देशमा चम्चाको हुन्छ नै र त्यस चम्चालाई आआफ्नै भाषा र व्यवहारमा मौलिकता झल्कने गरी प्रयोग गरिएको हुन्छ । नेपालमा पनि ‘चम्चा’ नवआधुनिकता झल्काउने वस्तुको रूपमा यसले पहिचान बनाएको छ र यो मौलिक शब्दको रूपमा स्थापित हुन पुगेको छ । पहिला पहिला नेपालमा चम्चाको चलन थिएन, पछि विदेशीहरूसँगै चम्चा पनि भित्रिन थाल्यो । चम्चाभन्दा पहिला थुर्मीले नै काम चलाइन्थ्यो । आजभोलि थुर्मीको के काम ! अब म्युजियममा लगेर राखे हुन्छ । भविष्यको लागि अतीतको चिनो । जब नयाँ प्रविधि र प्रवृत्ति भित्रियो चम्चाको प्रयोग र महिमाले पनि सगरमाथाको उचाइलाई पनि उछिन्यो । दुनियाका अरू मुलुकमाजस्तै नेपालमा पनि चम्चे शैलीले महत्त्व नपाउने कुरै भएन । जताततै चम्चै चम्चा । नाम थाहा नभएको अनाम कविको कविता जस्तै :

-चंचों कि दुनिया मे चंचे हि चंचे हैं
मोटे हैं छोटे हैं लंवे और तगडें हैं ।
हो त जहाँ तहीं चम्चै चम्चा हुन्छन् भने नेपाल किन नहुनु ? नेपालका चम्चा झन् तगडा, लम्बरी पण्डितजस्ता । त्यही चम्चाकै कारणले त यहाँ सँधै झगडै झगडा छ । तल चम्चा माथि चम्चा, मोटो चम्चा दुब्लो चम्चा, लामो चम्चा छोटो चम्चा ! प्रत्येक ठाउँका प्रत्येक चम्चा तर भिन्दाभिन्दै चम्चा । झर्रो नेपाली चम्चा, मौलिक नेपाली चम्चा !

मानिसहरू अहिलेको युगलाई वैज्ञानिक युग भन्दछन् तर मलाई वैज्ञानिक युग भन्न पटक्कै मन लाग्दैन । मलाई मन नलागेर के गर्ने ? ंकतिपयले अहिलेको यो युगलाई चम्चे प्रविधिको युग हो पनि भन्दछन् । जहाँ गयो त्यहीं चम्चाको प्रयोग । खाना खान होस् वा ख्वाउन, जागिर खान होस् वा ख्वाउन सबै ठाउँमा चम्चे शैली, अनि यो युगलाई विज्ञान प्रविधिको युग कसरी भन्ने ? होटेल, वार, रेस्टुरेन्ट जहाँ जानुस् जेसुकै खानुस् विना चम्चा कामै छैन । चम्चा भएपछि हातले गिजोलेर हसुर्न पर्दैन । चट्ट चम्चाले उठायो मुखमा पुर्‍यायो, ज्यूनार गर्‍यो । त्यसपछि हात चुठ्न पानी चाहिएन, जुठेल्नोको आवश्यकता नै परेन । सरासर आयो कपाकप खायो फटाफट फर्कियो । चाडोको ठाउँमा चाडो, सजिलोको ठाउँमा सजिलो अनि विकसित र सभ्य पनि कहलिने ! वास्तवमा चम्चाको आविष्कार वैज्ञानिक नै हो । यसलाई शैली या प्रविधि जे भन्न मन लाग्छ भन्नुहोस् त्यो तपाईंको कुरा हो ।

आजभोलि अफिस, मन्त्रालय, संस्थान जहाँसुकै जानुस् छनौट प्रविधिका लागि चम्चे प्रविधिलाई महत्व दिइएको । सचिव कहाँ सिफारिस लिन जानोस् वा मन्त्रीलाई निमन्त्रणा गर्न जानुहोस्, खाद्य संस्थानमा चामल लिन जानुहोस् वा आयल निगममा तेल लिन जानोस्, परराष्ट्र भिसा लिन जानोस् वा शिक्षा मन्त्रालयमा शिक्षा लिन जानोस्, इन्धन संस्थानमा दाउरा लिन जानोस् वा सांस्कृतिक संस्थानमा नाच्न जानोस् अथवा अन्तर्वार्ताका लागि लोकसेवा आयोगमा जानुहोस् वा न्यायसेवा आयोगमा जानोस्, कृषि सेवामा जानोस् वा हुलाक सेवामा जहाँ गए पनि चम्चासँगै लान नभुल्नु होस् । चम्चा लान भुल्नुभयो भने मजस्तै तपाई पनि तीन बल्ड्याङ् । त्यसैले पहिला ‘चम्’ बनेर सम्पर्क स्थापित गर्नुहोस् अनि ‘चा’ बनेर चाकडी गर्नुहोस्, चम्चे प्रविधि सफल !

कोठामा बत्ती झ्याप्प झ्याप्प हुँदै बल्ने निभ्ने गरिरहेको थियो । म त्यसै टोलाएर झ्यालबाट बाहिर हेरिरहेको थिएँ । यसैबेला श्रीमतीजीका ‘खाना ल्याएँ’ भन्ने सुरिलो बोली कानमा ठोकियो । हत्त न पत्त हात धोएर आएर खाना खान बसें । किन हो किन आज मलाई हातले भात खान लागेन र सँगै बसेकी श्रीमतीलाई एउटा चम्चा देउन भनें पनि । मेरो फरक चाला नियालेकी श्रीमतीजीले ‘सरको मूड ठिक छैन कि क्या हो’ भन्दै चम्चा राख्ने बट्टा भएतिर इसारा गरिन् ।

आफ्नै अगाडि रहेको नेपोथिन प्लास्टिक उद्योगबाट उत्पादन गरिएको टिफिन बक्स खोलेर चम्चा र काँटा झिकें । दुवै हातमा चम्चा काँटा लिएर ट्याक्र्या टुक्रुक पार्दै भात खादै थिएँ । फेरि घिउ खान मन लाग्यो र एक चम्चा घिउ देउन भनें । मुसुक्क गर्दै श्रीमतीले एक चम्चा घिउ दिइन् । भात खाइ सिध्याएँ अनि राम्रोसँग चुठ्तै नचुठी सुतें । कता न कता विद्यावारिधिको शोध प्रस्तावका लागि चम्चालाई नै विषयवस्तु बनाउँ कि जस्तो पनि लाग्यो !

नेपोथिनको प्लास्टिकको बट्टामा पञ्च महापञ्चजस्तै विभिन्न स्रोत र शैलीबाट जम्मा भएका चम्चा महाचम्चाहरू थिए १५/२० वटा जति । नेपाली मौलिक चम्चा, जता लच्काए पनि लच्किने र सस्तो पनि भएकाले आफ्नै देशमा बनेको भनेर एउटा प्लास्टिकको चम्चा किनेको थिएँ । कुनै हर्लिक्स किन्दा, कुनै ग्लुकोज किन्दा सित्तैमा उपहार स्वरूप पाएका चम्चाहरू पनि थिए । आआफ्नै विशेषता भएका थरिथरिका चम्चाहरू थिए । सबै चम्चाहरू आफूलाई ठूलो ठालू नै ठान्थे ।

एकछिन पछि चम्चाहरूको गोप्य मिटिङ्ग सुरु भयो । सभाको अध्यक्ष को हुने ? भन्ने कुरामा झगडा भयो । दुई तीनवटा परस्पर विरोधी चम्चाहरू बटारिन थाले, अध्यक्ष म हुन्छु भन्दै । यत्तिकैमा नेपाली प्लास्टिकको चम्चाले आफूलाई मुख्य सभापति वा चिफ चम्चाको रूपमा उभ्यायो । विरोधी २/४ चम्चा बाहेक अरुले एकै मतमा सहमत हुँदै ट्याक्र्‍याक् ट्याक्र्‍याक् गरेर सहमति जनाए । केही समय विरोधी चम्चाले विरोध पनि गरे तर मुख्य मानिएको चम्चाले नम्र हुँदै विनम्र स्वरमा भन्यो – ‘नरिसाउनु होस् न बरु के चाहिएको छ भन्नुहोस् न’ भन्यो । नजिकै टाँसिएर बसेको मुख्य विरोधी चम्चाले ‘हामीलाई फलानो फलानो चीज चाहिन्छ दिनुहुन्छ भने मिल्न मात्र होइन ज्यादिन समेत तयार छौं, तर यो काम अहिले नै हुनुपर्छ’ भन्यो । आफूलाई मुख्य चम्चाको निकट सहयोगी ठान्नेहरूले विरोधी चम्चाहरूले चाहेको कुरा दिएमा फरक नपर्ने कुरा व्यक्त गरे । त्यसपछि त के चाहियो र ? नेपोथिन प्लास्टिकको लचकदार विशेषता भएको मुख्य चम्चाले विरोधीतिर बाँस नुहेझैं नुहेर भन्यो- ‘हस्’ । एक छिन एकता हुनुपर्नेमा छलफल चल्यो र पछि सबै एकतामा पुगे । सबैले सहमतिमै ताली पड्काए- ‘ट्याक्र्‍या टुक्र्‍या, ट्याक्र्‍या टुक्र्‍या….. ।’ सुरैसुरमा मैले पनि निद्रामै ताली बजाउन पुगेछु … टररर ..। ‘के गर्‍या हो यो बरबराएर ?’ भन्दै श्रीमतीजीले घच्घच्याएपछि यो झल्याँस्स भएँ । पछि पो थाहा भयो स्वप्नमा ताली बजाउँदा एकहातले श्रीमतीजीको गालामा पो ताली बजाएछु मैले !

स्वप्नभङ्ग भएपछि हत्त न पत्त उठेर टेबुलमा राखेको एक गिलास पानी पिएँ मैले । ओहो कस्तो सपना देखेछु मैले भन्ने कुरा सोच्दै, मनमा कुरा खेलाउँदै, नित्यकर्म गर्नतिर लागें । बिहानको चिया नास्ता गरेर क्याम्पसतिर लागें । क्याम्पस जाँदा पनि बाटाभरि त्यही चम्चा शब्दको स्रोत र संरचना बारे नै सोचें ।

बिहान ६ बजेको पहिलो पिरियड थियो, स्नातक तहका विद्यार्थीहरूलाई नेपाली शब्दनिर्माण प्रक्रिया पढाउने क्रममा नै थिएँ म । अघिल्लो दिन पढाएको चम्चा शब्दको निर्माण प्रक्रियाका बारेमा विद्यार्थीहरूले राखेको जिज्ञासा निराकरण गर्नु नै थियो मलाई । यस्तै कुरा सोच्दै क्याम्पस पुगें र सरासर कक्षा कोठामा पसें ।

म कक्षा कोठामा पस्ने बित्तिकै विद्यार्थीहरूले उही कुरा दोहोर्‍याए ‘सर चम्चा शब्द मूल हो कि व्युत्पन्न, मौलिक कि आगन्तुक ?’ म दुविधामै थिएँ तैपनि निर्णय  दिनु नै थियो । त्यसैले मैले चम्चाको निर्माण र शुद्धताका बारेमा भन्न थालें ‘हेर भाइ बहिनीहरू हो ! पहिला पहिला या पौराणिक युगका ऋषि महर्षिहरूले सोमरस झिक्न या पान गर्न बनाइएको डाडु आकारको पात्र या वस्तु ‘चमस’ संस्कृत शब्दको अपभ्रंश भई बनेको ‘चमच’मा आ प्रत्यय लागि बनेको शब्द हो ‘चम्चा’ या ‘चमचा’ भनें । भन्न त भनें तर पनि आफैलाई चित्त बुझिरहेको थिएन । पटना, लखनउ, बनारस आदितिर घुम्न जाँदा साथीहरू ‘चमच ठाडी चाय’ पिउने भन्थे र मलाई पनि जोड गर्थे । मैले त्यसबेला त्यही ‘चमच ठाडी चाय’को ‘चमच्’ शब्दलाई सम्झें र फ्याट्ट भनिदिएँ यो चम्चा शब्द ‘चमच्’मा आ प्रत्यय लागेर आगन्तुक नेपाली शब्द हो । तराईतिरका विद्यार्थी भएको हुनाले बुझेजस्तो गरे तर यसमा म आफैलाई अझै चित्त बुझेको थिएन ।

आफैले भनेको कुरामा चित्त नबुझेपछि एकैछिन भए पनि घोत्लिने पुर्ख्याैली  रोग छ ममा । त्यसैले एकैछिन घोत्लिएँ र ठोस निणर्यसहित विद्यार्थीहरूलाई भनें ‘यो चम्चा शब्द ठेट या झर्रो खाँटी मौलिक नेपाली शब्द हो र यो समास भई बनेको निर्मित शब्द हो । यो चम्जुम्रो शब्दको अगाडिको ‘चम्’ र चाकडी/चाकरी शब्दको पनि अगाडिको ‘चा’ भाग मिलेर बनेको शब्द हो ‘चम्चा’ । अब त स्पष्ट भयो होला नि चम् + चा = चम्चा शब्दका बारेमा । खाँटी नेपाली पहिचान बुझाउने, नेपालीहरूको खुबी योग्यताको मापदण्डको आधार भनेकै यही ‘चम्चा’ न हो !

पाठक मित्रहरू ! एकधर्के सर्टिफिकेट छ भन्दैमा ढुक्क नहुनु होस्, मख्ख नपर्नु होस् है । मेरो सल्लाह छ यथाशीघ्र चम् प्लस चाको दरो अभ्यास गर्नुहोस् । भात खान होस् या जागिर खान, यो चम्चाबाट पैदा हुने पावर या चम्चे पाउर भयो भने तीनधर्केवालाले पनि सजिलैसँग पछार्न सक्छ, अब भन्नोस् त यो चम्चा र यसबाट सिर्जित पावरको कति महत्त्व छ भन्ने कुरा !
जय चम्चा !

०००
लेखन समय : २०४३, नेपालगन्ज
हाल : नागार्जुन न.पा.- ६, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुइङ्गम थुक्ने भित्तो !

चुइङ्गम थुक्ने भित्तो !

डा. पशुपति नाथ तिमल्सेना
गलाभरि माला क्रान्तिकारी चाला

गलाभरि माला क्रान्तिकारी चाला

डा. पशुपति नाथ तिमल्सेना
सङ्क्रमण काल उर्फ ललिपप ?

सङ्क्रमण काल उर्फ ललिपप...

डा. पशुपति नाथ तिमल्सेना
मन्दिरमा दलाल

मन्दिरमा दलाल

डा. पशुपति नाथ तिमल्सेना
अतिरिक्त श्रमको मूल्य ?

अतिरिक्त श्रमको मूल्य ?

डा. पशुपति नाथ तिमल्सेना
शिर ठाडो पार्ने कि झुकाउने ?

शिर ठाडो पार्ने कि...

डा. पशुपति नाथ तिमल्सेना
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x