सूर्यबहादुर पिवाविद्वान् सर्वत्र पूज्यते
मेरो एक जना पढ्दै नपढ्ने साथीले चीट गरेर एस्.एल्.सी. पास गरी विद्वान् जस्तो भयो भने मैले अङ्ग्रेजी शब्द र संस्कृत सिलोक प्रयोग गर्दै के विद्वान् जस्तो हुनु हुँदैन र ? यसमा केही फरक छ त, साथी ?

कीर्तिशेष सूर्यबहादुर पिवा :
“स्वदेशे पूज्यते राजा, विद्वान् सर्वत्र पूज्यते“ गुरुले यो श्लोक पढ्नुभो र अथ्र्यायाएर भन्नुभयो- “राजाको आदर आफ्नो देशमा मात्र हुन्छ तर विद्वान्को आदर जताततै हुन्छ ।”
अनि मैले भनें- “म राजाको छोरो होइन, त्यसैले मैले राजा भएर आदर- सत्कार पाउने कुरै भएन । अतः गुरुदेव, मलाई कसरी विद्वान् हुने हो त्यो मन्त्र निगाहपूर्वक बताइदिनुपन्यो ।”
“लाटा, विद्या हासिल गरेर विद्वान् हुने नि । विद्या भएपछि विद्वान् हुन्छ ।”
गुरुले हाँसेर भन्नुभयो । तर आफू भने पढ्छु भनेर किताब अगाडि राख्यो कि नीदले च्याप्ने खालको मान्छे थिएँ । गुरुदेवले “विद्या पढेर विद्वान् हुने नि” भनेदेखि कसरी विद्वान् हुने हो भन्ने धुनमा आफू थिएँ । तर विद्वान् हुने मेलोमेसोचाहिँ भेट्टाउनै सकिन । जस्तो आफू उस्तै च्यापु भनेझैं सङ्गत पनि उस्तै पढेर नखाने लठुवाहरूको सङ्गतमा पर्दै गएँ । पढ्ने काम आकाशेखेती झैं भएर गयो । आफू एक नम्बरको हरिलम्फूमा परिणत हुदै गएँ ।
जमाना एक माना, दुई माना, तीन मानाको नभई पाँच-छ मानाकै भएर आयो । पाँच पास गरेर चाकडी गरेर हाकिम हुन पाइने जमाना खत्तम भएर बी.ए., एम.ए., पीएच. डी., डाक्टर, इन्जिनीयरको पो जमाना आइदियो । म जस्तो ए बी सी डीको मान्छेले बी.ए., एम्.ए. पास गरेर विद्वान् बनेर खाने त सपनाको कुरो भएर गयो ।
मेरो एक जना हरिलठ्ठक साथीले गेसपेपरबाट खुरुखुरु चोरेर सारेर एस्.एल्.सी. पास गरिहाले । अनि उनी क्याम्पसमा कलेजमा पढ्न भर्ना पनि भए । तब मलाई मेरो साथी एक जना विद्वान् मान्छे जस्तो लागेर आयो । अनि साथी न हो भनेर म बी.ए. र एम्.ए. को अर्थ के हो भनी सोध्न गएँ । “बी.ए. को अर्थ के हो ? एम्.ए. को अर्थ के हो ? साथी, बताइदिनुपर्यो ।” मैले भनें ।
“त्यति पनि थाहा छैन तपाईंलाई ? बी.ए. माने व्याचलर अफ आर्ट हो र एम्.ए. माने मास्टर अफ आर्ट हो ।” साथीले भने । अनि मैले साथीभाइहरूलाई भकाभक चिट्ठी लेख्न थालेँ र चिट्ठीको अन्तमा भवदीयको मुनि सूर्यबहादुर बी.ए. भनेर लेख्न पनि शुरू गरें ।
समाजमा साथीभाइहरूको बीचमा गाइँगुईं कुराकानी हुन थाल्यो । ए ! सूर्यबहादुरले कसरी बी.ए. गर्यो है ! उल्ले त एस्.एल्.सी. नै गर्यो भन्ने थाहा छैन । एक जनाले यसो भन्थ्यो भने अर्कोले भन्थ्यो- “आजभोलि जाँचमा पास हुन केही गाह्रो छैन । बस, परीक्षार्थी भएर परीक्षा भवनमा बसिदिनुपर्दछ । को कुन जाँचमा पास हुँदैन र ? सबै जाँचमा सजिलै पास हुन्छन् । तपार्इंलाई थाहा भएन भन्दैमा सूर्यबहादुरले बी.ए. पास गरेकोमा शङ्का गर्नु तपाईंको वाहियात काम हो ।”
त्यसो भन्ने मानिस मेरो लगौंटिया यार थिए । एक दिन मकहाँ अएर उनले सुटुक्क सोधे- “ए साथी ! तपार्इं चिट्ठी लेख्दा सूर्यबहादुर बी.ए. भनेर लेख्नुहुँदोरहेछ । बी.ए. को अर्थ के हो है ? एकपल्ट मलाई बताइदिनुपर्यो ।” अनि मैले भनें- “आजभोलि विद्वानहरूको जमाना छ भाइ । आफू भने एक नम्बरको लठुवा छु । त्यसैले विद्वान् जस्तो भान पार्नलाई मात्र मैले नामको पछाडि बी.ए. भनी लेखेको हुँ । बी.ए. को अर्थ बागमती अञ्चल हो । कसैलाई नबताउनोस् यो कुरो । तपाईंले पनि आफ्नो नामको पछाडि बी.ए. लेखे हुन्छ ।
बागमती अञ्चलमा बस्ने सबैले आफ्नो नामको पछिल्तिर बी.ए. लेखे हुन्छ ।
साथी मुसुमुसु हाँस्न थाले । अनि फेरि मैले भन्दै गएँ- “हेर्नोस् साथी । संस्कृतको सिलोकै सिलोक भएको एउटा पुस्तक किन्नुहोस् । त्यो पुस्तक दिनदिनै पाठ गरेर कण्ठ गर्ने गर्नुहोस् । अनि फेरि एउटा वर्ड बुक (अङ्ग्रेजी शब्दको अर्थ दिइएको पुस्तक किन्नुहोस् । त्यो पुस्तक पनि रामायण, गीता, महाभारत पाठ गरेझैं पाठ गर्नुहोस् । आजभोलि मैले त्यही संस्कृतको सिलोकको पुस्तक र वर्ड बुक पाठ गर्ने काम गर्दैछु । आजभोलि हामी जस्ता लठ्याङ्ग्र्रा भूसतिघ्रेहरूले विद्वान् बन्नलाई गर्ने सजिलो तरीका नै यही हो । हामी जस्ता मानिसहरूको महफिलमा कुरा गर्दा अङ्ग्रेजी शब्द र संस्कृत सिलोक घुसार्दै कुरा गरे विद्वान् ठहरिन आउँछ । अनि कल्ले हामीलाई विद्वान् होइन भन्ने आँट गर्न सक्ला ए ! हेर्नोस् ! बाटोमा कोही चिनजानको मान्छे भेट भो भने नेपाली भाषामा कुरा गर्न छाडेर “ए साथी ! हाउ आर यू ?” भन्ने गर्नुहोस् । आधा नेपाली र आधा अङ्ग्रेजी भाषामा बोलेपछि हामीलाई कल्ले बेपासवाला भन्ने आँट गर्ला र ? आजभोलि जो पनि मानिसहरू कुरा गर्दा बीच-बीचमा अङ्ग्रेजी शब्द घुसारेर कुरा गर्दछन् । यो त तपाईंलाई याद छ हगि ? कुराकानी गर्दा वाक्यको एक ठाउँमा अङ्ग्रेजी शब्द घुसारेर कुरा गर्नोस् । तपाईलाई मानिसहरूले अवश्य पनि विद्वान् ठान्नेछन् । विद्वान् सम्झेर तपाईंलाई आदर-सत्कार पनि गर्नेछन् । लबेदा सुरुवाल, टोपी लगाएर त्यही ठेट कांठे नेपाली भाषामा मात्र कुरा गरे आजभोलि तपाईंलाई एक नम्बर पूर्वको या एक नम्बर पश्चिमको कोर्काली नेपाली ठान्नेछन् मानिसहरूले ।
ए साथी ! एउटा कुरामा तपाईंसँग कन्सल्ट गर्नु थियो । एकपल्ट म तपाईंको होममा आउँछु है, तपाईंले जुन मानिसलाई यसो भन्नुभएको हो त्यसले तपाईलाई एक जना अङ्ग्र्रेजी धेरै पढेको मानिस ठान्नेछन् । त्यस्तै तपाईंले चिया खान कतै रेष्टुरामा बस्दा चिया ल्याउने ब्वाइलाई भन्न नबिर्सनोस् ‘ए भाइ मलाई चिया विथ सुगर ल्याउनुहोला ।’ तातो पानी माग्नुपर्यो भने ‘हट वाटर’ भनेर माग्नोस् । चिया ल्याउँदा बाइलाई ‘थैंक्यू’ भन्न नबिर्सनोस् । कोही चिनेको मान्छेसित जम्काभेट भो भने ‘हलो’ भन्न नबिर्सनोस् । कतै कुराकानी गर्दा विद्या भनेको पढ्नुपर्दछ भनेर उपदेश दिनलाई ‘विद्याददाति विनय’ भन्ने सिलोक कण्ठ सुनाउन नचुक्नुहोस् । तब तपाईंलाई अङ्ग्रेजी र संस्कृत पढेको विद्वान् ठानिने छ । अनि तपाईंलाई सबैले आदर-सत्कार गर्नेछन् ।
त्यसैले आजभोलि जो-कोहीको घरमा पनि आमा भनेर बोलाउदैनन्, ‘मम्मी’ भनेर बोलाउँछन् । बा भनेर बोलाउदैनन्, ‘डैडी’ भनेर बोलाउँछन् । ए ‘डार्लिङ्ग’ आज पिकनिकमा ‘डान्स’ गरेर ‘इन्ज्वाइ’ गर्न जाने भनेपछि श्रीमतीले तपाईंलाई किस गर्न आउन बेर छैन । केटाकेटी छँदै आमा मरिन्, बाबु मरे पढ्ने चानसे मिलेन । उसमाथि आफू एक नम्बरको लठ्ठक भएर पढ्नमा होशै गएन । अब वाक्यमा अङ्ग्रेजी शब्दहरू घुसारेर र कुरा गरेर र संस्कृत सिलोकहरू कण्ठ भन्ने विद्वान् जस्तो हुनेसिवाय अरू उपाय नै छैन ।
मेरो एक जना पढ्दै नपढ्ने साथीले चीट गरेर एस्.एल्.सी. पास गरी विद्वान् जस्तो भयो भने मैले अङ्ग्रेजी शब्द र संस्कृत सिलोक प्रयोग गर्दै के विद्वान् जस्तो हुनु हुँदैन र ? यसमा केही फरक छ त, साथी ?” यसो भन्दाखेरि मेरो साथीले लाटोले झैं मेरो कुरा मात्रै सुनिरह्यो ।
०००
‘घुएँत्रो’ हास्यव्यङ्ग्य सङ्ग्रह
Subscribe
Login
0 Comments
Oldest






































