नन्दलाल आचार्यसन्तोष
हत्तपत्त दीपकले भन्यो; “म दुःख भगाउन चाहन्छु, त्यसैले असन्तोष त्यागेँ । म सुख डाक्न चाहन्छु; त्यसैले सन्तोषी बन्ने प्रयत्न गर्दै छु ।”

नन्दलाल आचार्य :
“हप्ता दिनको अघिपछि बाबुआमा खस्दा पनि तेरा आँखा रसाएनन् ।” रामबहादुरले गुनासो राखे । दीपक चुपचाप रह्यो ।
“अझ दुई महिना नपुग्दै छोरीले जिब्रो टोक्दा तँ त हाँस्न थालिस् ।“ उनले अगाडि थप्दा भने दीपकले भन्यो; “म लुकाउने कुरो लुकाउँदै छु । नभएको कुरो खोज्दै छु ।”
“दुःखमा हाँस्दा सुखमा रुँदा सिल्ली भइन्छ ।” सम्झाउने नियतले रामबहादुरले यथार्थ ओकले ।
“आमाबाबु र छोरी मेरा थिए । मैले आदरभाव र मायामा रत्तिभर कमि गरेकै थिइनँ । तापनि उनीहरू मसँग सम्बन्धविच्छेद गरेर गए । म शोकाकुल हुँदा उनीहरू फर्कन्छन् र ?” दीपकले कडा प्रश्न तेर्सायो ।
जवाफमा के बोल्ने भनेर रामबहादुर घोत्लेकै दाउमा दीपकले थप्यो; “मलाई माया मार्दा उनीहरूलाई मज्जा आएछ । मैले पनि उनीहरूको माया मार्न सके मज्जा नआउने कुरै छैन ।”
आश्चर्यमा पर्दै रामबहादुरले क्रोधित मन खोले; “तँजस्तो निर्दयी मान्छे कोही छैन र कोही हुँदैन पनि !”
हत्तपत्त दीपकले भन्यो; “म दुःख भगाउन चाहन्छु, त्यसैले असन्तोष त्यागेँ । म सुख डाक्न चाहन्छु; त्यसैले सन्तोषी बन्ने प्रयत्न गर्दै छु ।”
०००
२०८०-०४-१४ सिद्धार्थटोल, उदयपुर ।
हाल- सिर्जनाकुटी, सिरहा ।
Subscribe
Login
0 Comments
Oldest








































