साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठनक्कै भाँचिएपछि … !!

यिनलाई लुटको धन फुपूको श्राद्ध भएको छ, बोकाको मुखको कुभिन्डो भएको छ, भिरमा फलेको फर्सी भएको छ, बाँदरको हातको नरिवल भएको छ, बुढेसकालको ठनक्कै भाँचिएको लट्ठी भएको छ ।

Nepal Telecom ad

ह्यारी- ८० :

बुढेसकालमा कसले आड भरोसा दिन्छ हँ अब ? फाटेको धर्मले भाँचिएको लट्ठी जोडिदिऊँ न त भनेर बुद्धि पलाउन दिँदैन । बुढेसकालको सहारा जन्म्यो भनेर कतिलाई भनियो । जुँगामा कहिले मुसार्दै कहिले ताउ लाउँदै चिया पसलमा गएर लडाएका गफ अझै त्यतै रिँग्दै होलान् । बैसट्ठी त्रिसट्ठी सालको यो सहारा लठ्ठीको बखान कति गरियो कति ! कुनै पनि माइकललालले लेखाजोखा गर्न सक्तैनन् ।

कुँडेको बाक्लो तर काढेर उसकै थालमा सबै दिँदा मठिो मानी मानी स्वाप्राक्क स्वाप्राक्क खाइदिँदा कम्ती खुसी हुँदैनथेँ । तरको जमेको दहीको माथिल्लो भागको ढिका उसलाई नै दिँदा खुसीको सीमा नाघ्थ्यो । घिउ उसैलाई खन्याइन्थ्यो । माया गर्ने कोही थियो भने उही थियो जसलाई सबै खन्याइयो । खसी काटे उसैलाई, बिगौती दुध उसैलाई, मिठोचोखो जे तयार हुन्थ्यो, ऊ तृप्त नभई अरूले पाउँदैनथे । हुन त माया ओरालो बग्छ भन्छन् । आमाबाबुको मन छोराछोरी माथि नै खनिँदो रहेछ । पुत्रमोहले अन्धो भएपछि दुर्योधनलाई धृतराष्ट्रले कति गरेका छन् भन्ने कुरा वणर्न गरिरहनु नपर्ला नै । बैतर्नी तारिदिएर स्वर्गको ढोका खोलिदिन यस लोकबाट परलोकसम्म पुग्न छोरो चाहिन्छ भन्ने आमाको सपना पूरा गरिदिने समाजको एक सदस्य भएका नाताले मैले पनि रहरले जन्मिएको बुढेसकालको पुत्रलाई पालनपोषणका नाममा अलि बढी नै गरेँछु कि क्या हो, मात्तिएर सधैँ मलाई हट् घोडा हट् भन्दै बुइ चढेर र काँधै काँधमा हुर्केको थियो ।

टोलछरछिमेकमा फतुरेका सन्तानलाई खिज्याउने, जिस्काउने हिम्मत कसैको थिएन । मैले आँखाले नदेख्नेसम्मको जग्गा जोडिदिएको थिएँ । घर सबैभन्दा उम्दाको थियो । के खाऊँ र के लाऊँको रोजीछानी हुँदा दुःखको अनुभूति किञ्चित मात्रामा उसलाई थिएन । उसको आगमनले सबैमा आशाको दियो जगाएको थियो । आफूले साँचेका सपना पूरा हुने भयो भनेर सबै निश्चिन्त थिए । आमा पनि खुसी थिइन् । अब भने वैरीहरू तह लाग्छन्, घरको आर्थिक पक्ष सबल भई दरिद्रता दूर हुन्छ र समृद्व बनिने छ भन्ने कुराले सबैले उल्लसित बनेका थिए । के फतफताएको होला भन्ने तपाईलाई लागेको हो ?

वास्तवमा फतुरे काकाले गनगन गरेकाले यो विषय उठान गरेको सम्म हुँ । विकृति जहाँ पनि हुन्छन् तर स्वीकृति दिइएका विकृतिको चर्चा गर्दा स्वीकृति दिनेलाई कन्पारा तात्नु स्वाभाविकै हो । बुढेसकालमा छोरो नपाऊँ भन्दा रहरै रहरले होस् न त भनियो । बाउले पाँचओटासम्म हुन्छ भनिदिएकाले अहिले पाँच पाण्डवहरू कौरव भएर बसेका छौँ । सेरु, माधु, खड्गु, बाबु र म यसरी मिलेका थियौँ तर विरुलाई घरबाट निकालेपछि अीहले घर कुरुक्षेत्र बनेको छ सम्पत्तिका लागि । जता धन त्यतै मन भएका आमाबाबुले पनि मेलमिलापकै नीति ल्याएका छैनन् । उही बेलाबेला एकोहोरो सुइयँ गरेको सुनिन्छ । बुहारी भित्रिएकी छन् पँैत्तिस लक्षणले युक्त । एउटै लक्षण छ सासू ससुराको वास्ता नगर्ने । उसलाई हामीले न पालनपोषण गरेका छौँ, न संस्कृति र संस्कार सिकाएका छौँ । जति सिकेकी छन् उतैबाट सिकेकी छन् । एकल परिवारमा लाडप्यारमा हुर्केकी, बुहार्तन खप्न नसक्ने, बाबुको माया खोइ कता हो, आमाको माया पनि कुन्नि, नोकरचााकरले के कसरी हुर्काए, जे होस् अभाव कहिल्यै झेल्नुपरेन हुर्किन् र आइन् बुहारी बनेर खान्दानी कुटुम्ब जोडिएकामा म दङ्ग थिएँ । दिनचर्या यस्तै चल्दै थियो ।

छोरा र छोरी डिभी परेर अमेरिका, अर्को छोरो अस्ट्रेलिया, कान्छो युरोपतिर । घरनजिकैको हुँडारले जति दुःख दिए पनि हामी मिलेर एक जुट हुँदा सास्ती भएको थिएन । अहिले हामी बुढाबुढी यसो समय कटाउने मेलो गर्दै छौँ । दुःख दिइरहेको छ धूर्तले । घुमघाम गर्दै भन्दै मर्निङ वाकमा डुल्दै छौँ । एउटा हातमा कुकुर र अर्को हातमा लट्ठी हुनुपर्ने हो तर बुढेसकालको सहारा यही कुकुर भयो हगि भन्दै खिसी गर्छन् । म सेतै फुलेका जुँगा मुसार्दै सबैका छोराछोरी सधैँ सँगै कहाँ हुन्छन् त भन्दै ओठे जवाफ फर्काउँछु र केहीबेर पछि कसैले नदेख्ने गरी आँसु पुछ्छु ।

बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधै माथि भने झैँ जति सन्तान भए पनि बुढेसकालमा काम सघाउने कोही हुँदैनन् । बर्मा गए नि कर्म सँगै भन्थे, हो रहेछ । सबै काम आफैँ गर्नुपर्छ । एकाधलाई छोडेर सबैको कथा व्यथा एउटै हो । घरभित्रै चोर भएपछि कमाएको के सह हुन्थ्यो र । लुट् सकेसम्म लटेर हामीलाई कङ्गाल बनाए पनि मैले केही भन्न सकिनँ आश मरेको थिएन । उही राम्रो भन्ने र दुःख लुकाउने मात्र फरक । युवा छोरा नाति विदेशिँदै गए आज घर वृद्धाश्रम बन्दै गयो । के यो विकल्प हो र ? सन्ततिको माया एकोहोरो बनेपछि दुःख साथी बन्दो रहेछ । विदेशिएकाले सामाजिक सञ्जालबाट सम्झनसम्म भ्याएका हुँदैनन् । स्वदेशकाले अंश मात्र सम्झेका हुन्छन् । भौतिकताको पराकाष्टा नाघेपछि घरले जा जा र वनले आ आ भन्ने बेला भएको हो तिनका कुरा के सुन्नु भन्छन् । ऋणको भारले थिचिएको अवस्थामा के बोल्नु छ र । भोको पेटले न्याय र नैतिकतालाई मलजल गर्दो रहेनछ । जे गरे पनि आउट डेटेड भइयो । सतीले सरापेकाले यो समय नै बुढेसकाल बनेछ बाबै । भुक्तभोगी भएकाले बताएको हुँ ।

जीवनकाल सबैभन्दा सुखद् भनेकै बाल्यकालको रहेछ जहाँ आशा र विश्वासको भावमय मिर्मिरे देखिन्छ । यो माया पाउने समय रहेछ भने सबैभन्दा घृणाको पात्र बन्ने समय वृद्धावस्था नै हो कि । बालापनजस्तो व्यवहार गर्ने तर वृद्धको वयले काम र माम नपचाउने हुँदा छोरा बुहारी, नाति नातिनाबाट टाढिनु स्वाभाविक हो । यो उमेर आफैँलाई तड्पाउने उमेर हो । तर अनुभवले खारिएको उमेर भए तापनि खुट्टी गल्दै गएपछि जीवन सोचेजस्तो हुँदैन भनेर भन्दा अत्युक्ति हुने छैन । एक्लै पुल्पुल्याएर पाल्ने जमाना आएकाले हिजो बाबुआमा खोज्दै छोराछोरी आउँथे, आज छोराछोरी खोज्दै बाबुआमा हिँड्छन् ।

त्यसैले घरमा बाबुआमा र छोराछोरी दुवैमा नैतिकताको सङ्कट मडारिएको छ । हिजो मेरो घर घरमूलीले चलाउँथ्यो, आज मेरो घर विदेशकाले चलाउँछन् । आधुनिक स्वतन्त्रताका नाममा कृतदास बनेर बाँच्नुपरेको पीडा बुढेसकालको सहारा बन्नेले कहिले बुझ्ला र ? आमा हाँस्ली अनि म मुस्कुराउँला भन्ने सोचेको थिएँ ! अरूले आफेनै छातीमा सुन पिटेर लैजाँदा साँढेको झर्ला र खाउँला भनेर बसेका कपुतलाई हेरेर म धिक्कारिरहेछु आफ्नै विगतका कर्मलाई । यिनलाई लुटको धन फुपूको श्राद्ध भएको छ, बोकाको मुखको कुभिन्डो भएको छ, भिरमा फलेको फर्सी भएको छ, बाँदरको हातको नरिवल भएको छ, बुढेसकालको ठनक्कै भाँचिएको लट्ठी भएको छ । यस्तै यस्तै गनगन गर्दै थिए फतुरे काका । लट्ठीको कहानी सुन्न पछि आउँला है भनेर ‘जदौ !’ भन्दै फुत्त निस्किएँ म त ।

०००
जोरपाटी, गोकर्णेश्वर – ५, काठमाडौँ
२०८० श्रावण २५ गते

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x