चिरञ्जीवी दाहालवरिष्ठताको भुत
हत्तेरी त्यति विधि नआत्तिनुस् न, यो रोग होइन, यसलाई त भुत लागेको भनिन्छ, वरिष्ठताको भुत । अनि यो तपाईंलाई मात्र लागेको हो र ? यो त अचेल धेरै नेपालीहरूलाई लाग्ने गरेको छ ।

चिरञ्जीवी दाहाल :
डाक्टरसँग जचाउन गएको भए उहिल्यै मेरो रोगको निदान हुन्थ्यो होला । तर किन पो हो, मान्छेहरू डाक्टरको अस्पताल, पुलिसको चौकी र न्यायाधीशको अदालत सकेसम्म जानु नपरोस् भन्छन् । त्यसै भएर मलाई पनि हतपत त्यतातिर जान मन लाग्दैन किनकि हतपतमा गरेको काम लतपत हुन्छ भन्ने जनविश्वास छ । खासमा मलाई त्यहाँ जानुपर्ने भयो भने जिउ सिरिङ्ग हुनेगरि डर लाग्छ । हुन त सबैले यसै भनिदिए ती संस्था पो किन चाहिन्थ्यो र ? आखिर भन्नेले भन्दै गर्छन्, त्यहाँ जानेहरू गइरहेकै छन् । फेरि त्यहाँ जानेहरूको संख्या कम छ र ? कुरै गर्ने हो भने अहिले मान्छेहरू मठमन्दिर र तीर्थयात्रा भन्दा यिनै उल्लेखित अड्डा र अदालत धाउनेहरू अत्यधिक देखिने गरेका छन् ।
लागेको थियो, रोग छिट्टै पत्ता लागेर बेलैमा उपचार पाए सजिलै शारीरिक र मानसिक राहत पाउन सकिन्थ्यो । त्यसकारण जतिसक्दो चाँडो डाक्टरको अस्पताल त जानु नै छ । किनकि मलाई अनौठो रोग लागेको छ । मेरो विचारमा यो रोगको उपचार निकै नाम चलेका र सक्कली डाक्टरहरूले मात्र गर्न सक्नेछन् । तर दुःखको कुरा अचेल जताततै नक्कली डाक्टरहरूको बिगबिगी छ । झ्याप्पै जाउँ नक्कली डाक्टरको फेला परिएला भन्ने डर ! नजाउँ रोगले अझै च्याप्ला भन्ने डर ।
तर युग नै नक्कली भएपछि सक्कली के पो पाइन्छ र यहाँ ? हामीले भन्ने गरेको र सुन्ने गरेको जस्तै यो कलियुग पनि कलियुग होइन रहेछ कि के हो ? हुनसक्छ यो युग पनि नक्कली हुनुपर्छ । साँच्चै कलियुग भएको भए संसार रङ्गिबिरङ्गी फूलको कलि जस्तै सुन्दर देखिन्थ्यो । जताततै फूलै फूलले शोभायमान पारेको हुन्थ्यो । सायद लेख्दा नक्कलीयुगको न र आधा क मेटिएर कलियुग भन्ने गरिएको त होइन ? खै किन हो मलाई यस्तै लाग्न थालेको छ । एकदिन दुई चार जना ठुला ठुला राजनीतिका पण्डितहरूले आपसमा कुरा गरेको मेरै कानले सुनेको हुँ । उनीहरू पनि यस्तै तर्क गरिरहेका थिए ।
जता हेर्यो, जे हेर्यो, सबै नक्कली नै नक्कली छन् । मित्रता नक्कली, जोइपोई नक्कली, राजनीति नक्कली, नेता नक्कली, कर्मचारी नक्कली, पुलिस नक्कली, सर्टिफिकेट नक्कली, विवाह नक्कली, सुन, चाँदी, पैसा र हुँदाहुँदै भात खाने चामल पनि नक्कलीको हल्ला त सुन्नु भएकै होला । आजभोलि सक्कली भन्ने वस्तु केही पनि पाइन्न । सक्कली चिज पाइने भनेको त उहिले सत्य, त्रेतायुगमा मात्र हो रे । ती राजनीतिका पण्डितहरूले मात्र होइन, पछि त अरुहरूको मुखबाट पनि यस्तै कुरा सुन्न थालेको छु ।
खैर जेसुकै होस्, मैले त म मेरो रोगको विषयमा कुरा गर्दैथिएँ । मलाई लागेको रोगको नाम त डाक्टरले घोषणा नगरि म कसरी भन्न सक्छु र ! यथार्थमा मलाई दृष्टिभ्रम हुने गरेको छ, मनमा अनौठो विचार आउने गरेको छ । अचेल म जसलाई देख्छु, आफ्नै चेलाचपेटा हुन् जस्तो लाग्छ । त्यो पनि अनुशासनहीन । मैले चेलाचपेटा सम्झिएपछि उनीहरूले पनि मलाई गुरुको रुपमा हेर्नु पर्थ्यो । मान सम्मान गर्नु पर्थ्यो । मैले जे भन्यो, जसो गर भन्यो त्यसै अनुरुप गर्नु पर्थ्यो । अहँ कसैले टेरे त मरिजाम ! फिटिक्कै टेर्दैनन् । हो मलाई लागेको रोग यही हो ।
जब म मनुष्यको भिडमा पुग्छु, आफूलाई सबैभन्दा वरिष्ठ व्यक्ति सम्झन्छु । लाग्छ सबैभन्दा टाठोबाठो, सिपालु र हरेक क्षेत्रमा पोख्त मनुष्य मैमात्र हुँ । अरु त झारपात नै हुन् । त्यसपछि के चाहियो, म सबैलाई अर्ति र उपदेश दिन कत्ति पनि ढिलो गर्दिन । राजनैतिक दलका कार्यकर्तालाई देख्छु, आफूलाई पार्टीको सबैभन्दा ठूलो नेता सम्झने गर्छु । कलेजको विद्यार्थी देखे आफू प्रोफेसर हुँ जस्तो लाग्छ । स्कूले केटाकेटी देख्दा आफूलाई बहालवाला मास्टर सम्झन्छु । अस्ति भर्खर केही सरकारी कर्मचारी भेट भएका थिए । जब यिनीहरूले मलाई नमस्कार गरेनन्, मलाई लाग्यो कति चढेका रहेछन् । लाग्यो, म हाकिम जस्तो मान्छेसँग भेट्दा पनि यिनीहरूले किन मान मर्यादा राख्दैनन् हँ ? अझै मैले कतै बिरामी देख्नै हुन्न, एकाएक म भित्रको डाक्टर बाहिरै प्रकट भएर बिरामी जाँच्न सुरु गरिहाल्छ ।
एकदिन चौतारीमा बसिरहेका केही मनुष्य देख्नासाथ मैले आफूलाई बुद्ध सम्झिएर प्रवचन दिन सुरु गरेँ । कहिले म अमेरिकी राष्ट्रपति जो बाइडेन भएको सम्झन्छु । कहिले मोदी र कहिले पुटिन भनेको मै हुँ जस्तो लाग्छ । ठाउँ अनुसार म रामदेव र ओसो त कैयौं पटक भएको छु । म ठाउँ पाए ज्योतिष र पण्डित पनि बनिदिन्छु ।
एकदिन म चिया पसलमा चिया पिउँदै थिएँ । कसैले भारतले छोडेको चन्द्रयान इसरोको प्रसङ्ग के उठाएको थियो, म एकाएक अन्तरिक्ष वैज्ञानिक बनेर इसरोको बारेमा लामो व्याख्या गर्न सुरु गरिहालेँ । म त्यस विषयमा यति डुबेर व्याख्या गरिरहेको थिएँ कि मानौं म इसरोसँगै चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्दैछु ।
जब म घरबाट बाहिर निस्कन्छु, मलाई यो रोगले निकै धड्न थाल्छ । तर आश्चर्यको कुरा जब म आफ्नो घरभित्र पसेर अर्धाङ्गिनीको अनुहार हेर्छु, मेरो रोग शतप्रतिशत निको भएजस्तो लाग्छ । किनभने उनको अगाडि म ढाँट्न र फुर्ती लगाउन फिटिक्कै सक्दिन । घरमा रहँदा निको भएजस्तो लागे पनि यथार्थमा म रोगमुक्त भने भएको छैन । किनकि घरबाहिर निस्कदा मेरो रोग पुनः उस्तै भएको पाउँछु । म एक्कासि उत्तेजक बन्छु, त्यहाँ कोही भए नभएको पनि मलाई होस हुँदैन । जब म घरमा हुन्छु, कताकता मलाई आकाशवाणी भएजस्तो लाग्छ “छिटो जँचाउनू, तँलाई गम्भीर रोग लागेको छ ।” यो मेरो भ्रम मात्र हो अथवा साच्चै आकाशवाणी नै त्यो भने बुझ्न सकेको छैन ।
जे होस्, एकदिन मन र मुटु दह्रो बनाएर म डाक्टरको अस्पतालमा पुगेँ । जब डाक्टरलाई मेरो रोगको लक्षण बताएँ, डाक्टर मरिमरि हाँसे । उनले भने “हत्तेरी त्यति विधि नआत्तिनुस् न, यो रोग होइन, यसलाई त भुत लागेको भनिन्छ, वरिष्ठताको भुत । अनि यो तपाईंलाई मात्र लागेको हो र ? यो त अचेल धेरै नेपालीहरूलाई लाग्ने गरेको छ । सबैमा तपाईंको जस्तै लक्षण देखिन्छ, हुबहु उस्तै । तपाईंलाई के ढाँट्नु म पनि यही भुतले ग्रस्त छु । यसको उपचार नै छैन ।”
डाक्टरको कुरा सुनेपछि म जिल्ल परेँ । उपचार नहुने भुत लागेको भन्ने बुझेपछि एक मन त औधी डराएको थियो । जब डाक्टरले मलाई सान्त्वना दिँदै नआत्तिने सल्लाह दिएपछि भने म ढुक्क भएँ । म त पुङ् न पुच्छरको मान्छे भएर मात्र आफ्नो रोगको विषयमा खुलेर कुरा गरेको रहेछु, चिन्ता गरेको रहेछु । अरुले त यस भुत्याहा रोगलाई रोग नै मान्दा रहेनछन् । अस्पतालबाट म निस्कन लाग्दा डाक्टर भन्दै थिए, “यो रोगको उपचार गर्न आउने तपाईं पहिलो मनुष्य हुनुपर्छ ।”
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest






































