साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नामको चमत्कार

कल्पवृक्ष रियो द जेनेरियोमा । इन्द्रका बडीगार्डहरूलाई उपदानको व्यवस्था गराइदियो पहिलो पटक । अप्सराहरूलाई एक वर्षको घरबिदा स्वीकृत गरी नर्कतर्फ हानियो । जय श्रीराम। अरू आफैँ काम तमाम ।

Nepal Telecom ad

देवीप्रसाद चापागाईं :

आर्जन गर्न गाह्रो । तत्पश्चात् जोगाउन झन् महाभारत । जेसुकै होस् सबैले मरिहत्ते गर्ने विषय अचेल । उनी देवकोटाकी नातिनी, तिनी भीमनिधिकी भान्जी, ती नारायणगोपालका साला, यी हरिवशका बहिनी ज्वाइँ, ती रिमालका साढुभाइ। उदाहरणले चिनाइहाल्छ यहाँ नामको चुरिफुरी । नामले ओगटेको वर्चस्व । नामले कोतरेको दुनियाँ । नामले दपेटेको अधमरो मानव सभ्यता ।

‘गहत खाने सिँगारी कुटाइखाने कवासी’ भनेझैँ धेरैजसो अपजस मान्छेको टाउकामा मात्र थोपरिदिएको किन होला ? नामरुपि खोल त मान्छेले मात्र भिरेको होइन होला ! कुहुकुहु, ढुकुरकुर, काका गरेर कोइली, ढुकुर र कागले आफ्नो नाम भनिरहेकोतर्फ हाम्रा लेखन्ते र पढन्तेको गिदीमा पस्दै पसेन यो कुरा। मात्र दोषको भारी दुई खुट्टा टेकेर लुखुरलुखुर हिँड्ने सगोत्रीय मनुख्खेको थाप्लामा थोपरेर मान्छे नै स्वजातिको अरी बनेको आरोप सहिरहेको छ ।

नाम राख्ने प्रचलन दैवी तारतम्य हो या मान्छेको लहड ? भरपर्दो उत्तर कोहीसँग छैन । सर्जक जो भए पनि सर्वव्यापी बन्यो नाम । आफ्नो नाम सम्बोधन हुनासाथ फुरुङ्ग बनेर जीहजुरी गर्न तम्सिहाल्यो मान्छे । हरेक मान्छेलाई भीडबाट अलग्याउन नामले कत्रो सहायता दिएको छ । यसरी लोकप्रिय बनाउने नाम राख्ने मानव आज भेट्टायो भने सम्पूर्ण पुरस्कार उसैलाई दिइन्थ्यो होला । ब्युँझिनासाथ उसेको भक्ति गरिन्थ्यो होला । ‘समुद्र वसते देवी’ को मन्त्रोचरण गर्दै त्यही पात्रलाई स्वस्ती गर्थ्यो होला । बाउ, हजुरबाउ र हजुरआमाको श्राद्ध नगरी बरु उसैको गर्दथ्यो होला । अचेल मान्छे अलि छ्याड्कन थाल्यो । उबेला नाम र कर्मबीच सामीप्य वा साइनो अवश्य रहन्थ्यो । काला कालीहरू कृष्ण र कृष्णा हुन्थे । धमिरोसँग नजोडिई वाल्मीकि बन्दैनथ्यें ।

मान्छेलाई अलग्याउन प्रयोग गरिएको नाम अन्य प्राणी वा प्राणहीनले पनि नक्कल गरेको हो कि ? आफैँले राखिदियो कि ? खोज अनुसन्धानको विषय रह्यो । वाघ, भालु, हुँडार, ब्वाँसो जस्ता नाम जुराइए जन्तुलाई । ख्वालख्वाल गर्दै खोलेर बग्ने हुँदा खोलो भनिमाग्यो रे । पतपत गर्दै खस्ने हुँदा पात नाम जुयो । पतरीको विसमीभवन भएर टपरी बोलियो अनि । अब नाम राख्ने आफ्नै आभ्यासिक कर्मबाट मान्छे आफैँ फस्दै गएको पो हो कि ? हतारमा कल्चौडों नहुने चरालाई कल्चौंडे राख्यो । अहिलेसम्म त्यो अद्यापि कायम छ । अब नाम विना संसारको चिनारी अपुरो हुन थाल्यो । आज राति तिम्रो घरमा महाभारत थियो नि भन्दा उखुमाया मुसुक्क हाँस्दै ताली बजाउली । उसको लोग्नेको कृष्णलीला कसले नबुझेको छ र ? भन्दा कलावती भुईंतिर हेर्ली । हाम्रो देशमा रामराज्य छ कहिले भन्न पाइएला भन्दा हाम्रा भाषणवाज प्रधानमन्त्री अर्को भाषणको जोहोमा लाग्लान् । भन्नुस् त नामको छाप कस्तो देखियो ।

अब नाम राख्ने प्रचलनको वैरी बन्नु बेकार होला कि ? ठीक बेठीक जे भए पनि प्रचलन बसिहाल्यो । विकल्प खोज्दा अर्को महाभारत आरम्भ हुन्छ । बरु त्यता नफर्किएकै वेश हैन त ? नाम राख्ने प्रचलनलाई सबैले स्विकारिसकेपछि जसरी सम्बोधन गरे पनि हुने भयो । उल्टो अब त लामा नामलाई छोट्याउने परम्परा पो मौलाउन थालिसक्यो । नामको टुपी वा पुच्छर काटिए पनि फिक्री नाइँ । नाम राख्ने नराख्ने विषय नै अप्रासङ्गिक हुने भयो । केशवलाई ‘केशु’, नरेन्द्रलाई ‘नरु’, मनोजलाई ‘मनु’, फुलनदेवीलाई ‘फुसु’ र सुशीलालाई ‘सुसु’ भन्दाको आत्मियता अवर्णनीय होला । अब नामको विकल्प खोज्नु थुप्रै कालिदास जन्माउने धन्दा मात्र हुने हो कि ?

चिनारीकै लागि मान्छेले राज्य बनायो । राज्य, पेसा, व्यवसाय, जापिरमा नाम जोडिन थाल्यो । पुरस्कार र दण्ड नामसँगै हाजिर हुन थाल्यो । नाममा तलमाथि हुँदा सारा सिस्टम ह्याङ हुने भयो । मर्त्यलोकको यो प्रचलन अन्य लोकका लागि पनि पाठशाला बनेछ । केही जानिफकारहरू मर्त्यलोकको यो प्रचलनलाई यमलोकले अनुमोदन गरेको गुड्डी हाँक्छन् । यमराजको नाम आफ्नै पुरोहितले जुराइदिएको भन्ने पुर्खाको उत्तराधिकारी हामी हौं भन्नेहरूको धुइरो पनि फेला परिहाल्छ ।

कुनै बेला चार जना व्यक्तिलाई यमदूतहरूले चित्रगुप्तको अगाड हाजिर गराइए तापनि तीन जनाको नाम दुवै लोकमा एउटै थियो । चौथो व्यक्तिको हकमा भने समस्या आयो रे । उसले आफ्नो नाम बताउन अन्कनायो । राजनीतिक पार्टीको सदस्यतामा ‘ज्वालासिं’, लेखक सङ्घमा ‘कुसुम’, नागरिकतामा ‘भोजबहादुर’, वैष्णवी सेवा समाजमा ‘कृष्णमुरारी’। उसले आफ्नो ओरिजिनल नाम बताउन सकेन । समस्या आएपछि यमराजको खोपडीमा एउटा जुक्ति फुरेछ। उल्टो सोधें उसलाई- ‘तेरी आमा उतै छे कि तै आइसकी’ भनी सोध्दा स्वर्गीय भइसकेको वृत्तान्त बताएछ । उसलाई २/४ घण्टाका लागि त्यत्तिकै घुम्न छोडिएछ, यमलोकमा शौचालयबाट निस्केकी एक महिलाले मेरो जुठे भन्दै अँगालो हाल्दै रुन्छे ।

जुठबहादुरको खाता पल्टाउँदा बल्ल समस्याको समाधान निस्किएछ । एक घण्टाको इन्द्रासन त्यसपछि पूरै नर्कवास । उसले पहिलोपटक इन्द्रासन नै रोज्यो । एक घण्टाको इन्द्रासनको सदुपयोग गर्यो जुठेले । कामधेनुलाई मर्त्यलोकको हिमवतखण्डको सुकुमबासी बस्तीमा पठाइदियो। कल्पवृक्ष रियो द जेनेरियोमा । इन्द्रका बडीगार्डहरूलाई उपदानको व्यवस्था गराइदियो पहिलो पटक । अप्सराहरूलाई एक वर्षको घरबिदा स्वीकृत गरी नर्कतर्फ हानियो । जय श्रीराम। अरू आफैँ काम तमाम ।

०००
सिन्धुपाल्चोक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टाउकेहरूको देवाली

टाउकेहरूको देवाली

देवीप्रसाद चापागाईं
मामा ! अब हाम्रो पालो

मामा ! अब हाम्रो...

देवीप्रसाद चापागाईं
भकुण्डो र मुखुण्डोको वार्ता

भकुण्डो र मुखुण्डोको वार्ता

देवीप्रसाद चापागाईं
अपवाद

अपवाद

देवीप्रसाद चापागाईं
नेताको कुरो

नेताको कुरो

देवीप्रसाद चापागाईं
कुरा खेलाउने बानी

कुरा खेलाउने बानी

देवीप्रसाद चापागाईं
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x