देवीप्रसाद चापागाईंनामको चमत्कार
कल्पवृक्ष रियो द जेनेरियोमा । इन्द्रका बडीगार्डहरूलाई उपदानको व्यवस्था गराइदियो पहिलो पटक । अप्सराहरूलाई एक वर्षको घरबिदा स्वीकृत गरी नर्कतर्फ हानियो । जय श्रीराम। अरू आफैँ काम तमाम ।

देवीप्रसाद चापागाईं :
आर्जन गर्न गाह्रो । तत्पश्चात् जोगाउन झन् महाभारत । जेसुकै होस् सबैले मरिहत्ते गर्ने विषय अचेल । उनी देवकोटाकी नातिनी, तिनी भीमनिधिकी भान्जी, ती नारायणगोपालका साला, यी हरिवशका बहिनी ज्वाइँ, ती रिमालका साढुभाइ। उदाहरणले चिनाइहाल्छ यहाँ नामको चुरिफुरी । नामले ओगटेको वर्चस्व । नामले कोतरेको दुनियाँ । नामले दपेटेको अधमरो मानव सभ्यता ।
‘गहत खाने सिँगारी कुटाइखाने कवासी’ भनेझैँ धेरैजसो अपजस मान्छेको टाउकामा मात्र थोपरिदिएको किन होला ? नामरुपि खोल त मान्छेले मात्र भिरेको होइन होला ! कुहुकुहु, ढुकुरकुर, काका गरेर कोइली, ढुकुर र कागले आफ्नो नाम भनिरहेकोतर्फ हाम्रा लेखन्ते र पढन्तेको गिदीमा पस्दै पसेन यो कुरा। मात्र दोषको भारी दुई खुट्टा टेकेर लुखुरलुखुर हिँड्ने सगोत्रीय मनुख्खेको थाप्लामा थोपरेर मान्छे नै स्वजातिको अरी बनेको आरोप सहिरहेको छ ।
नाम राख्ने प्रचलन दैवी तारतम्य हो या मान्छेको लहड ? भरपर्दो उत्तर कोहीसँग छैन । सर्जक जो भए पनि सर्वव्यापी बन्यो नाम । आफ्नो नाम सम्बोधन हुनासाथ फुरुङ्ग बनेर जीहजुरी गर्न तम्सिहाल्यो मान्छे । हरेक मान्छेलाई भीडबाट अलग्याउन नामले कत्रो सहायता दिएको छ । यसरी लोकप्रिय बनाउने नाम राख्ने मानव आज भेट्टायो भने सम्पूर्ण पुरस्कार उसैलाई दिइन्थ्यो होला । ब्युँझिनासाथ उसेको भक्ति गरिन्थ्यो होला । ‘समुद्र वसते देवी’ को मन्त्रोचरण गर्दै त्यही पात्रलाई स्वस्ती गर्थ्यो होला । बाउ, हजुरबाउ र हजुरआमाको श्राद्ध नगरी बरु उसैको गर्दथ्यो होला । अचेल मान्छे अलि छ्याड्कन थाल्यो । उबेला नाम र कर्मबीच सामीप्य वा साइनो अवश्य रहन्थ्यो । काला कालीहरू कृष्ण र कृष्णा हुन्थे । धमिरोसँग नजोडिई वाल्मीकि बन्दैनथ्यें ।
मान्छेलाई अलग्याउन प्रयोग गरिएको नाम अन्य प्राणी वा प्राणहीनले पनि नक्कल गरेको हो कि ? आफैँले राखिदियो कि ? खोज अनुसन्धानको विषय रह्यो । वाघ, भालु, हुँडार, ब्वाँसो जस्ता नाम जुराइए जन्तुलाई । ख्वालख्वाल गर्दै खोलेर बग्ने हुँदा खोलो भनिमाग्यो रे । पतपत गर्दै खस्ने हुँदा पात नाम जुयो । पतरीको विसमीभवन भएर टपरी बोलियो अनि । अब नाम राख्ने आफ्नै आभ्यासिक कर्मबाट मान्छे आफैँ फस्दै गएको पो हो कि ? हतारमा कल्चौडों नहुने चरालाई कल्चौंडे राख्यो । अहिलेसम्म त्यो अद्यापि कायम छ । अब नाम विना संसारको चिनारी अपुरो हुन थाल्यो । आज राति तिम्रो घरमा महाभारत थियो नि भन्दा उखुमाया मुसुक्क हाँस्दै ताली बजाउली । उसको लोग्नेको कृष्णलीला कसले नबुझेको छ र ? भन्दा कलावती भुईंतिर हेर्ली । हाम्रो देशमा रामराज्य छ कहिले भन्न पाइएला भन्दा हाम्रा भाषणवाज प्रधानमन्त्री अर्को भाषणको जोहोमा लाग्लान् । भन्नुस् त नामको छाप कस्तो देखियो ।
अब नाम राख्ने प्रचलनको वैरी बन्नु बेकार होला कि ? ठीक बेठीक जे भए पनि प्रचलन बसिहाल्यो । विकल्प खोज्दा अर्को महाभारत आरम्भ हुन्छ । बरु त्यता नफर्किएकै वेश हैन त ? नाम राख्ने प्रचलनलाई सबैले स्विकारिसकेपछि जसरी सम्बोधन गरे पनि हुने भयो । उल्टो अब त लामा नामलाई छोट्याउने परम्परा पो मौलाउन थालिसक्यो । नामको टुपी वा पुच्छर काटिए पनि फिक्री नाइँ । नाम राख्ने नराख्ने विषय नै अप्रासङ्गिक हुने भयो । केशवलाई ‘केशु’, नरेन्द्रलाई ‘नरु’, मनोजलाई ‘मनु’, फुलनदेवीलाई ‘फुसु’ र सुशीलालाई ‘सुसु’ भन्दाको आत्मियता अवर्णनीय होला । अब नामको विकल्प खोज्नु थुप्रै कालिदास जन्माउने धन्दा मात्र हुने हो कि ?
चिनारीकै लागि मान्छेले राज्य बनायो । राज्य, पेसा, व्यवसाय, जापिरमा नाम जोडिन थाल्यो । पुरस्कार र दण्ड नामसँगै हाजिर हुन थाल्यो । नाममा तलमाथि हुँदा सारा सिस्टम ह्याङ हुने भयो । मर्त्यलोकको यो प्रचलन अन्य लोकका लागि पनि पाठशाला बनेछ । केही जानिफकारहरू मर्त्यलोकको यो प्रचलनलाई यमलोकले अनुमोदन गरेको गुड्डी हाँक्छन् । यमराजको नाम आफ्नै पुरोहितले जुराइदिएको भन्ने पुर्खाको उत्तराधिकारी हामी हौं भन्नेहरूको धुइरो पनि फेला परिहाल्छ ।
कुनै बेला चार जना व्यक्तिलाई यमदूतहरूले चित्रगुप्तको अगाड हाजिर गराइए तापनि तीन जनाको नाम दुवै लोकमा एउटै थियो । चौथो व्यक्तिको हकमा भने समस्या आयो रे । उसले आफ्नो नाम बताउन अन्कनायो । राजनीतिक पार्टीको सदस्यतामा ‘ज्वालासिं’, लेखक सङ्घमा ‘कुसुम’, नागरिकतामा ‘भोजबहादुर’, वैष्णवी सेवा समाजमा ‘कृष्णमुरारी’। उसले आफ्नो ओरिजिनल नाम बताउन सकेन । समस्या आएपछि यमराजको खोपडीमा एउटा जुक्ति फुरेछ। उल्टो सोधें उसलाई- ‘तेरी आमा उतै छे कि तै आइसकी’ भनी सोध्दा स्वर्गीय भइसकेको वृत्तान्त बताएछ । उसलाई २/४ घण्टाका लागि त्यत्तिकै घुम्न छोडिएछ, यमलोकमा शौचालयबाट निस्केकी एक महिलाले मेरो जुठे भन्दै अँगालो हाल्दै रुन्छे ।
जुठबहादुरको खाता पल्टाउँदा बल्ल समस्याको समाधान निस्किएछ । एक घण्टाको इन्द्रासन त्यसपछि पूरै नर्कवास । उसले पहिलोपटक इन्द्रासन नै रोज्यो । एक घण्टाको इन्द्रासनको सदुपयोग गर्यो जुठेले । कामधेनुलाई मर्त्यलोकको हिमवतखण्डको सुकुमबासी बस्तीमा पठाइदियो। कल्पवृक्ष रियो द जेनेरियोमा । इन्द्रका बडीगार्डहरूलाई उपदानको व्यवस्था गराइदियो पहिलो पटक । अप्सराहरूलाई एक वर्षको घरबिदा स्वीकृत गरी नर्कतर्फ हानियो । जय श्रीराम। अरू आफैँ काम तमाम ।
०००
सिन्धुपाल्चोक
Subscribe
Login
0 Comments
Oldest









































