डा. हरिप्रसाद भण्डारीन्याय
उता सिंहले ब्वाँसोको काननिर आफ्नो मुख जोडेर साउती गर्यो, “धूर्त ब्वाँसा, मृग र जरायोको मासु तँ मात्र एक्लै खाने ? मेरो भाग खै ?”

हरिप्रसाद भण्डारी :
ब्वाँसोले अचाक्ली गर्यो । वन्यजन्तुका पाठापाठी खाएर बस्नै नसक्ने बनायो ।
मृग, जरायो, खरायो आदि शाकाहारी जनावर बसेर छलफल गरे । ब्वाँसोविरुद्धमा वनका राजा सिंहकहाँ उजुरी गर्ने सहमति भयो ।
“प्रभु ! ब्वाँसोले अचाक्ली गर्यो । हाम्रो त वंशै नाश हुने भयो । कारबाही गर्नुपर्यो !” सबैले एक स्वरमा बिन्ती गरे ।
जनावरहरूका कुरो सुनेपछि रिसाउँदै सिंहले भन्यो, “ए ! त्यसको त्यत्रो हिम्मत ? पख्, त्यसलाई ठेगान लाउँछु ।”
सिंहको कुरा सुनेर जनावरहरू खुसी भए । आपसमा कुरो गरे, “राजा भनेका राजै हुन् ।”
त्यसपछि सिंह डुक्रियो, “त्यो दुष्ट ब्वाँसोलाई तुरून्त हाजिर गराउनू ।”
सिंहले दुष्ट ब्वाँसोलाई कडा कारवाही गर्छन् भन्ने कुरामा जनावरहरू आशावादी भएका थिए । त्यै बेला टाँगमुनि पुच्छर लुकाउँदै ब्वाँसो हाजिर भयो ।
उपस्थित जनावरहरूले आँखा झिमिक्क नपारी त्यो दृश्य हेरिरहे ।
ब्वाँसो उपस्थित भएपछि रिसले आगो हुँदै सिंहले ब्वाँसोलाई आफ्नो नजिक बोलायो । जनावरहरू झन् उत्साहित भए । उता सिंहले ब्वाँसोको काननिर आफ्नो मुख जोडेर साउती गर्यो, “धूर्त ब्वाँसा, मृग र जरायोको मासु तँ मात्र एक्लै खाने ? मेरो भाग खै ?”
०००
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest








































