डा. हरिप्रसाद भण्डारीमित्रता !
“ल हेर्नोस् ।” यसो भन्दै सर्पले भ्यागुतालाई पछाडिपट्टिबाट मुखमा हाल्यो र कुदायो । पर पुगेर भन्यो, “देख्नुभयो त ?” भ्यागुतोले आश्चर्य मान्दै थियो, खेतको आलीमा बसेको फट्याङ्ग्रो देखाउँदै सर्पले भन्यो, “ऊ त्याँ फट्याङ्ग्रो छ खानोस् ।”

हरिप्रसाद भण्डारी :
हरियो पहाडको तल उब्जाउ भूमि थियो । त्यहाँ साना-ठुला अनेकौं जीव थिए । एकदिन त्यहाँ एउटा सर्प र एउटा भ्यागुताको जम्काभेट भयो ।
भ्यागुतो डराएर भाग्न खोज्दै थियो, सर्पले भन्यो, “नडराऊ, म तिमीलाई केही पनि गर्दिनँ । हेर, मेरो घाँटी तिम्रो शरीरभन्दा सानो छ । चाहेर पनि म तिमीलाई खान सक्दिनँ । बरु मित्रता गरौँ । दुवैलाई फाइदा हुन्छ ।”
भ्यागुतोले सर्पको घाँटी हेर्यो अनि मनमनै विचार गर्यो, ‘हो त नि, सर्प ठुलो भए पनि उसको घाँटी सानो छ । मलाई खान सक्दैन । बलियोसँग मित्रता गाँस्यो भने फाइदा नै हुन्छ ।’
दुवै बीच मित्रताको सम्बन्ध गाँसियो । दुवै सँगै बस्न थाले । भ्यागुताले साना कीराफट्याङ्ग्रा खाने भयो । भ्यागुताले खान नसकेका ठूला किराकीरी सर्पले खाने भयो ।
सर्प बोल्दैनथ्यो, भ्यागुतोचाहिँ ट्वाँरट्वाँर गरिरहन्थ्यो । ऊ कराएको सुनेपछि अरू भ्यागुताहरू नजिक आउँथे । सर्पले झुक्याएर खान्थ्यो ।
केही समयपछि त्यस क्षेत्रका भ्यागुता र कीराफट्याङ्ग्रा सकिँदै गए । सर्प र भ्यागुतो भोकै परे ।
एकदिन रुखको छहारीमा बसेको समयमा सर्पले भन्यो, “मितज्यू, तपाईंलाई म मेरो यो मुखले बोकेर पनि हिँडाउन सक्छु ।”
“अँ होला !” भ्यागुताले पत्याएन ।
“ल हेर्नोस् ।” यसो भन्दै सर्पले भ्यागुतालाई पछाडिपट्टिबाट मुखमा हाल्यो र कुदायो । पर पुगेर भन्यो, “देख्नुभयो त ?”
भ्यागुतोले आश्चर्य मान्दै थियो, खेतको आलीमा बसेको फट्याङ्ग्रो देखाउँदै सर्पले भन्यो, “ऊ त्याँ फट्याङ्ग्रो छ खानोस् ।”
सर्पको सहयोग र सदाशयता देखेर भ्यागुतो दङ्ग पर्यो । जिब्रो फड्कारेर फट्याङ्ग्रो समात्यो ।
भ्यागुताले फट्याङ्ग्रो निल्दै थियो, सर्पले भ्यागुतालाई लुपुक्क निल्यो ।
०००
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest








































