डा. हरिप्रसाद भण्डारीछोरो
तर, आँपको बोट कतै गएन । हामीसँगै छ । आगँनको डिलमा उभिएर हाम्रो सुख-दुःख हेर्छ, वर्षको एक चोटि मिठा फल र गर्मीको बेला शीतल छहारी दिन्छ ।

डा. हरिप्रसाद भण्डारी :
छोरो जन्मेकै दिन छोराका बुबाले आँगनको डिलमा एउटा आँपको बिरुवा रोप्नुभयो ।
छोरो र आँप सँगसँगै बढ्दै गए । सन्तानबिना बिरानो भएको घर रमाइलो हुँदै गयो । हामी खुसी भयौँ ।
एक दिन त्यही आँपको रुखमुनि बसेर छोराले भन्यो, “देशमा काम भएन, विदेश जान्छु ।”
हामी केही बोलेनौँ मात्र निराश भयौँ ।
केही दिनपछि छोरो घरबाट हिँड्यो । हामी हेरेको हेर्यै भयौँ । रमाइलो घर बत्ती निभेको साँझ जस्तै भयो । आँखाबाट लामो समयसम्म आँसु बगिरहे ।
तर, आँपको बोट कतै गएन । हामीसँगै छ । आगँनको डिलमा उभिएर हाम्रो सुख-दुःख हेर्छ, वर्षको एक चोटि मिठा फल र गर्मीको बेला शीतल छहारी दिन्छ ।
कसैले ‘छोरा कति छन् ?’ भनी सोध्यो भने ‘एक जना मात्रै’ भन्न मलाई अप्ठेरो लाग्छ । सोच्छु— त्यसो भन्दा आँपको बोटले सुन्यो भने के भन्ला ?
०००
तिलोत्तमा-८, रूपन्देही (हाल : गठ्ठाघर, भक्तपुर)






































स्वादिला पात्रले बुनेको मिठो लघुकथा ।