चिरञ्जीवी दाहालकविको चन्द्रमा वर्णन
चन्द्रमाको सुन्दरताको वणर्न गरिएका अनगिन्ती लिखित साक्षी पनि छन् । यति हुँदाहुँदै त चन्द्रमा, न कविको कविता जस्तो रहेछ ! न आफ्नो आँखाले देखेको जस्तो रहेछ ।

चिरञ्जीवी दाहाल :
तिमी जून जस्तै राम्री । तिमी मेरी चाँदनी । तिमी रातको चन्द्रमा जस्तै । शितल चन्द्र हौ तिमी । सुन्दर शशी हौ । चन्द्रमालाई सविता सम्झिएर धेरै कविले कविता लेखे । अत्यन्त सुन्दर देखे, गीत लेखे र भाका हालेर गाए । धेरै कविले आफ्नी प्रेयसीलाई चन्द्रमासँग तुलना गर्दै फुर्क्याउनसम्म फुर्क्याए । प्रेयसी पोलेको मकै जस्तो भएपनि चन्द्रमासँग दाँजे । एेंजेरुले ग्रस्त आलुको दाना सरह भएपनि चन्द्रमाको हारमा उभ्याएर कविता कोरिरहे, भाका फेरिरहे । त्यसपछि त दिमागमा यस्तो छाप बस्यो कि, कतै कुनै सुन्दरी देख्यो कि चन्द्रमासँग साक्षात्कार भए जस्तै लाग्न थाल्यो ।
हामी कविता पढ्ने र गीत सुन्नेलाई लाग्यो, हो न हो, सारा ब्रम्हाण्डमा चन्द्रमाभन्दा सुन्दर वस्तु केही हुनै सक्दैन, कतै छँदै छैन । चन्द्रमाको वणर्न गर्न थालिएको ठ्याम्मै यत्ति वर्ष भयो भन्ने अनुमान त गर्न सकिएन । सबैभन्दा पहिले चन्द्रमा पुग्ने पहिलो कवि को थिए भन्ने पनि थाहा हुन सकेन । तर पनि हामी बुझ्ने भएदेखि र कविता पढ्न थालेदेखि नै चन्द्र वणर्न सुन्ने बानी परिसकेको थियो । यस्तो वणर्न बा हजुरबाले पनि पढे सुने र पटक पटक हामीलाई पनि सुनाए । नढाँटी भन्नुपर्दा चन्द्रमाको सुन्दरताको वणर्न सुन्दै हुर्किएका हौँ हामी ।
वणर्न पढेपछि लाग्थ्यो, यस्तो सुन्दर चन्द्रमामा कति सुन्दर फूल फुलेका होलान् ? त्यहाँ फूलको सुगन्धित वास्ना मगमग चलिरहेको होला । त्यहाँ कहिले पनि रात पर्दैन होला । हरेक दिन रमाइला उत्सव र मेला सञ्चालन हुने गरेको छ होला । धर्तीको तुलनामा चन्द्रमाको शान्ति अविस्मरणीय होला । त्यहाँको उज्यालो पनि विशेष प्रकारको हुनुपर्छ । घुमफिर गर्दा शीतल बस्ने छहारी ठाउँ-ठाउँमा पाइएला । पिउने पानीको उचित बन्दोबस्त होला । पुरै चन्द्रभूमिमा नाना प्रकारका अत्तरको वास्ना आइरहेको हुनुपर्छ । लाग्थ्यो, चन्द्रमाको रङ्गीन फूलबारीको एउटा छेउमा बसेर आफ्नी सखीसँग मुसुक्क मुस्कुराउँदै चन्द्रधर्तीको सौन्दर्यपान गर्ने दिन, हाम्रो पनि कसो नआउला ? कविको कल्पनाले चन्द्रमालाई औधी सुन्दर ठानेर वयान गरेपछि, मैले पनि यो कल्पना गर्ने साहस गरेको हूँ ! कल्पनै त हो । यस्तो कल्पना कयौं पटक गरियो पनि । नचाँहिदो र नपुग्ने कल्पना गर्न पाइदैन भनेर कुनै शास्त्रमा उल्लेख गरिएको पनि छैन । कसैले कल्पना सम्बन्धी नियम कानुन बनाएको पनि आजसम्म सुइँको पाएको छैन । कविले कल्पना गरेर कविता लेखे जस्तै चन्द्रमाको सुन्दरतामाथि मेरो मात्र होइन, अनगिन्ती मान्छेहरूलाई पनि नानाथरी कल्पना पक्कै मनमा आउँदो हो ।
जब भारतीय खगोल विज्ञान संस्था इसरोको चन्द्रयान,चन्द्रमाको धर्तीमा ओर्लने क्रममा थियो । म सबैकाम छोडेर टेलिभिजनको लाइभ प्रसारण हेर्न बसें । त्यो चन्द्रयान झ्याप्प फूलबारीमा बस्दा दस आठवटा फूलका बिरुवा मात्र नाश गर्यो भने त खासै फरक पर्दैनथ्यो । तर सिधै चौतारीको वरपिपलको रुखमा ठोकियो भने त बरबाद नै पो हुन्छ त ! कता न त्यो मानव निर्मित यन्त्रले चन्द्रमाको सुन्दरता नै ध्वस्त पारिदियो भने ? वा चन्द्रयान दुर्घटनामा परिहाल्यो भने वर्षौ देखिको मेरो चन्द्रमाको सौन्दर्यपान गर्ने धोको पुरा नहुन सक्थ्यो । जति जति इसरोको ल्याण्डर चन्द्रमाको धर्ती नजिक पुग्थ्यो, मेरो मुटुको ढुकढुकी अप्रत्यासित रुपमा बढ्न थाल्यो । जे त होला ! मैले चिन्ता गरे पनि आखिर के नै हुनेवाला थियो र ? न त्यसलाई म रोक्न सक्थेँ, न छेक्न सक्थेँ ! न त नियन्त्रण गरेर सुरक्षित अवतरण गराउन सक्थेँ ! त्यसदिन मेरो भाग्य बलियो रहेछ । संजोगले चन्द्रयान सुरक्षित अवतरण भयो । रुसले पठाएको लुना यान जस्तै बाटोमै विस्फोट भएर ध्वस्त भएको भए यो जुनीमा चन्द्रमाको सुन्दरताको रसास्वादन गर्न कसरी पाइन्थ्यो ? जे होस् मैले प्रत्यक्ष हेर्दाहेर्दै चन्द्रमाको धर्तीमा चन्द्रयान सुरक्षित अवतरण भयो । चन्द्रयानले न त फूलका बोट नोक्सान गर्यो, न वरपीपलको हाँगाबिँगा नै लछार्यो ! फूल भए पो नोक्सान गर्नु , वरपीपल भए पो लछार्नु ?
अचानक मेरो कल्पनाको संसारमा अप्रत्यासित रुपमा पहिरो गए जस्तो लाग्यो । विशाल बाढी पसे जस्तो लाग्यो । मेरो विश्वासमा डँढेलो लाग्यो । म एकोहोरो हेरेको हेर्यै भएँ । न मैले भारतीय अगुवा वैज्ञानिक सोमनाथ प्रसन्न भएर ताली ठोकिरहेको देखेँ, न भारतका प्रधानमन्त्रीले अफ्रिका भ्रमणबाट कुर्लदँै “चन्दा मामा दूर के” भन्ने पुरानो भनाई परिवर्तन गरेर “चन्दा मामा टुर के” भनेको सुनेँ ! यो रहस्य त मैले दुई दिनपछि मात्रै थाहापाएको थिएँ ।
म त्यतिबेला सुन्दर भनेर कवितामा प्रशस्ति गाइने गरेको चन्द्रमाको रुखासुख्खा र उजाड लाग्दो उवडखावड भूमि दृश्यावलोकन गरिरहेको थिएँ । त्यहाँ हाम्रो सगरमाथाको उचाई बराबरका गहिरा खाडलहरू रहेछन् भनिँदै थियो । वैज्ञानिकहरू चन्द्रमाको अधिकांश भूमिमा मसिनो धुलो माटो र जमेको ग्लेसियर जस्तो वस्तु मात्र भएको वयान गरिरहेका थिए । उनीहरू पत्रकारले सोधेका प्रश्नको जबाफ दिदैं थिए । मेरो मनभित्रको सुन्दर चन्द्रमामा १५ दिन पछि मात्र उज्यालो हुने रहेछ । बाँकी १५ दिन चुक घोप्ट्याएको जस्तो अन्धकार रात । बरु उनीहरू चन्द्रमाबाट देखिने पृथ्वीको दृश्य भने अत्यन्त सुन्दर देख्न सक्ने वणर्न गरिरहेका थिए ।
सायद उहिले कुनै एकजना कवि अत्यन्त सुन्दर पार्कमा पुगेछन् । कविको कल्पना न हो । उनले ठाने, चन्द्र वणर्न गरेर कविता लेख्ने उपयुक्त अवसर यो भन्दा अर्को हुनै सक्तैन । उनले चन्द्रमाको वणर्न गरेर सायद एउटा कविता लेखे । अनि त श्राद्धमा बिरालो बाँध्नु पर्ने कथामा जस्तै सबै कविले चन्द्र वणर्नको कविता लेख्न आरम्भ गरे । अनि के चाहियो र ? आजसम्म बाँकी सबै कविले कविताको माध्यमबाट चन्द्रमाको वणर्न गरिरहेका छन् । चन्द्रमासँग तुलना गर्दै मनपरेकी युवतीको वणर्न नगर्ने व्यक्तिलाई के आधारमा कवि भन्ने ? जसले तिमी चन्द्रमा जस्ती राम्री, यस्ती र उस्ती भनेर आफ्नी प्रेयसीका बारेमा कविता लेख्दैन ऊ कवि हुनै सक्दैन । त्यसपछि चन्द्रवणर्नको अविछिन्न सिलसिला जारीरह्यो । यो लहरले निकै राम्रो बजार पनि पायो । सायद यसपछि यही प्रचलनले मान्यता पाएको हुनुपर्छ ।
ज-जसले त्यसबेलासम्म चन्द्रमाको प्रत्यक्ष भिडियो अवलोकन गर्ने अवसर पाएका थिएनन् ती सबै कविले चन्द्रमाको वणर्न गर्दै कविता लेखे र नामी कविको सूचीमा आफ्नो नाम लेखाए । जब इसरोले चन्द्रमाको प्रत्यक्ष अवलोकन गरायो, यसपछि अबको पुस्ताले चन्द्र वणर्न गरेर कसरी कविता लेख्छन् होला ? हामी पनि हेरौंला । चन्द्रमाको बयान गरेर लेखौं आँखाले खुरिखण्ड देखिसक्यो । होइन नलेखौं भने यो जुनीमा कसैगरे पनि कवि बन्न नसकिने भयो । किनकि इसरोको सफल चन्द्र अभियानपछि चन्द्रमाको सुन्दरता बयान गर्ने आधार केही पनि देखिएन ।
एकमन लाग्छ- “जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छ कवि” भन्ने भनाइ छ । त्यो चन्द्रमाको दक्षिणी ध्रुवमा पनि सितिमिति रवी पुग्दैन भन्ने बुझिन्थ्यो । त्यहाँका बडेमानका खाडलले त आजसम्म घामको मुख पनि देख्न पाएको छैन भन्छन् । त्यसो हो भने त्यो रवी पुग्न नसकेको ठाउँमा पक्कै कविको कल्पना पुगेको हुनुपर्छ । ती कल्पना पनि अलिकति भएपनि मेलखाने खालका भैदिएको भए झनै कति गजब हुन्थ्यो होला ।
त्यहाँको खाल्डा-खुल्डीको बयान, उत्पात चिसोको वणर्न, रुखपात बिनाको चन्द्रभूमि, पानीको अभाव र मरुभूमिको जस्तै व्याख्या गरिदिएर चन्द्रमामा मसिनो धुलो मात्र छ । जताततै खुरिखण्ड छ भन्दै कविता लेखिदिएको भए, कमसेकम यत्रो समयसम्म हामी भ्रममा रहनु पर्ने थिएन । मेरो मनमा लागेको मुख्य खुलदुली यही हो ।
कविहरूको चन्द्र कल्पना र नेताले भाषण गर्दा देशका कुना काप्चामा रेल दौडिएको कल्पना, विकासको मूल फुटेको कल्पना, देशको मुहार फेरिएर तीन वर्ष भित्र देश सिङ्गापुर बनाउने कल्पना पनि हात्ती र हात्ती छाप चप्पल उस्तै उस्तै हो भनेजस्तो भएन र ?
यो घटनापछि मैले आँखाले देखेका वस्तुमाथि विश्वास गर्न छोडिदिएँ । त्यो चन्द्रमालाई मैले केटाकेटी बेलादेखि आफ्नै आँखाले देख्ने गरेको हो । पूर्वबाट उदाएर पश्चिममा अस्ताउने गरेको देखेको छु । मैले पनि सुन्दर ठानेर हेर्ने गरेको थिएँ । कविले कविता मार्फत त्यसको सुन्दरताको बयान गरेर कविता लेखेको पनि देखेको छु र पढेको पनि छु । चन्द्रमाको सुन्दरताको वणर्न गरिएका अनगिन्ती लिखित साक्षी पनि छन् । यति हुँदाहुँदै त चन्द्रमा, न कविको कविता जस्तो रहेछ ! न आफ्नो आँखाले देखेको जस्तो रहेछ । त्यसैले अचेल मलाई आफ्नै आँखाले देखेको र कसैले लेखेको लिखतमााथि फिटिक्कै विश्वास लाग्दैन । अनि खास कुरो, पृथ्वीले प्राणी, वनस्पति र किराफट्याङ्रा लाई जन्म दिने भएकोले धर्तीमाता मानेर स्त्री लिङ्गी मानियो ठिकै थियो । तर चन्द्रमालाई स्त्री लिङ्ग मान्नुपर्ने कुनै कारण पनि देखिएन । अबको कवितामा चन्द्रमालाई सुन्दरी युवतीसँग होइन, कुनै युवकसँग तुलना गरियोस्, तर त्यो युवक सुन्दर भने किमार्थ नहोस् ।
०००
चितवन ।
Subscribe
Login
0 Comments
Oldest







































