ह्यारी- ८०झोला खोतल्दा … !
....तर झनझन टन्किरहेकाले सहन नसकेर पलायन भएका युवाको जमात अनि माटो चिथोर्न आएका पराइहरूको विचित्रको लिला देखेर फतुरे काका पनि अवाक् भइसकेको कुरा च्यातिएको झोला बोक्नेको झोला खोतल्दा भेटिएको छ ।

ह्यारी- ८० :
भैँसी चराउन जाँदा हजुरआमाले मलाई भन्नुहुन्थ्यो, बाबु नाति, भैँसी चरिरहन्छ, आफू त्यसै बस्नु हुन्न । यसो भैँसीको रगत चुसेर खाइरहेका किर्नु हेर्नुपर्छ है । खुट्टातिर अनि नाकका प्वाल ओरपर कतै जुकाले रगत चुसिरहेको छ कि नियाल्नु है । किर्ना छन् भने टिपेर फालिहाल्नुपर्छ बाबै नत्र यी दुध दिने भैँसीको गोठालो बनेको के अर्थ हुन्छ र ? हजुरआमा बित्नुभएको बैसट्ठी त्रिसट्ठी सालतिर हो कि क्या हो । त्यतिवेला भैँसी घाँस खान्थ्यो, भैँसीको रगतलाई किर्नुले खान्थ्यो । गोठालो बनेर म टुलुटुलु त्यो हेरेर बस्न सक्दैनथेँ । यो त सानो छँदाको कुरा भयो । अहिले त किर्नु टिपी टिपी रक्षा गरेको त्यो भैँसीको ममः बनाएर खाइसके होलान् । अब आफू ठुलो भइयो । ठुलो भएपछि भैँसीको होइन, देश खाने किर्नालाई टिपेर फाल्नुपर्ने हो, खै किर्नाको सङ्ख्या बढेका बढ्यै छन् तर टिपेर फाल्न सकिएन ।
ए बाबा ठाकुरे, देशका किर्नाले यसरी यो देश चुसिसकेका छन्, भनी साध्यै छ र भन्या ! कसलाई भन्नु खै ? व्यवस्था परिवर्तन भयो तर आफ्नो अवस्था परिवर्तन भएन । चप्पल च्यातिएका छन्, दौरादेखि चप्पलका तुनासम्म चुँडिएका, झोला च्यातिएको, कमिजको खल्ती प्वाल परेको, टोपी उध्रेको, सुरुवाल टालेको अनि खोलेफाँडोको जोहो गर्न नसकिएको पीडा मैले कसैलाई भनेको छैन । मैले विद्रोहको ज्वाला शमन गर्दै खुरुखुरु भोट मात्रै हालेको छु तर मेरा च्यातिएका तन, मन र पहिरन टाल्न सकेको छैन । यिनै किर्ना टिपेर फाल्न सकेको भए आज पुर्खाले सुम्पेको यो मैले टेकेको माटो पवित्र पारिरहन सक्थेँ कि ? च्यातिएकै झोला लिएरै किन नहोस् गुरु बन्थेँ कि !
हुन त गुरु भन्न सजिलो तर बन्न फलामको चिउरा चपाउनुजत्तिकै छ । झोला भिरेर आएका नकचराहरूले ‘कुन र कसको झोला बोकेका छौँ’ भन्ने हेक्का राखेमा झोलामा के होला भन्न सकिने अवस्था रहन्छ । झोला पनि रातो हरियो, गेरु, वैजनी, प्याजी, सुन्तले, कालो, खैरो कति छन् कति । अझ गोठालेको झोला र साहुको झोला फरक हुने नै भयो । गोठालेका झोलामा साहुका ऋणका तमसुक होला, एकमुठी खरपाखाको काँसेगोली र यसो चुत्रो र ऐँसेलुका टोप्रा होलान् । साहुका झोलामा उपर मुखियाबाका आदेशका चाङदेखि कुचाल र महाजालका पोकापन्तेरा कोचिएका ती झोलामा के के छन्, ती सब फुकाउन जटिल छ ।
चुनाउका बेला पर्चा र पाम्पलेट अनि यसो मुख बुजो लाइदिन र हातमा दक्षिण थमाइदिन झोलाभित्रका झोला खोलिने विषय उठान गरिरहनुनपर्ला । प्ले ग्रुप र नर्सरीमा पढ्न जानेको झोला जस्तो किताब र कापीले अनि पानी र टिफिन भरिएका पक्कै होओइनन् । मेरा शिष्य शिष्यालाई बल्ल बल्ल बोक्न सक्ने गरी बोकाइएका झोला भाषण गर्ने नेताले किन बोक्थे र ? प्रायः सबै नेताका झोला बोकिदिने अरू झोलेहरू तँछाडमछाड गरेर लागेका हुन्छन् । झोला बोक्नका लागि सडकका भोका कुकुर जस्तो गरी ङारङार र ङुरङुर गरी लडिरहेका हामी प्रत्यक्षदर्शीलाई थाहा नै छ । झोला बोक्न पाउँदा गौरवबोधले छाती फुलाएर हिँड्ने यी छेपाराहरूले नै मुलुकलाई खग्रास पारेका हुन् ।
देशका लागि केही गर्न नसके पनि रुपियाँ पैसाले आफ्नो परिवारको हैसियत ह्वात्तै माथि उठाएर आत्मस्वाभिमान अझ भनौँ सर्वस्व नै प्रभुलाई सुम्पिन्छन् । प्रभुअनुसारको रङ बदल्ने यी छेपाराले पाँच पाँच वर्षपछि आउने हुन् वा होइनन् भनी प्रभुसहित आफूले बजेट हसुरेपछि झुसिलो डकारेको थाहै पाउँदैनन् । सिसीदेखि एमसिसीसम्मका लहरा रोपेका प्रभुहरूको कर्तुत लुकाउन माहिर दुनो सोझ्याउन आवश्यक सेटिङको खाका बनाएकाले दुई चार अङ्क यताउता गरिदिएपछि मात्र आफू बन्ने हुन् ।
ल्वाँठ तर पढनदासेले अनि लाजनीतिका हिमायतीकहाँ हजारपल्ट धाउँदा र तेल लाउँदा लाउँदा झोलेहरूको झोला कुनै निश्चित रङको बनेको हुँदैन । यिनका प्रभु फेरिँदा झोला स्वतः फेरिने नै भयो । सेयर, बोराका बोरा पैसा, सुनका ठुन्का आदि तह लगाउँदा लगाउँदै प्रभुहरूका हत्केलाका छालामा ठेला परेका देख्ने केही निचानुभावहरूको भित्र भित्र घुसपैठ हुँदा आज धनतान्त्रिक युगमा अझै लठैतको बिगबिगी बढेको छ । कुन ब्रान्डको झोला बोकेको छ सोहीअनुसारको सम्मान पाउने वा भन्सारमा चेकजाँचको सुविधा पनि त्यहीअनुसारको हुने हुँदा यिनको रातो पासपोर्ट, नीलो पासपोर्ट, हरियो पासपोर्ट केही पनि एअरपोर्टले चेकजाँच गर्दैन । प्रभुलाई ठेस लाग्दा यिनको मुटुमा चोट पुगेको अभिनय गर्ने यस्ता झोलेका झोलाभित्र कसलाई सिंहासनमा आसीन गराउँदा कुन झोला बोक्ने भन्ने उन्नत चेत हुन्छ । त्यसैले गुरुको हैसियतमा यिनका झोला चेक गर्नु विद्यार्थीको जस्तो सजिलो कहाँ छ र ?
खाँटी कुरा के भने च्यातिएका झोला बोक्ने ठन्डारामहरू चाहिँ जसले जे भनिदिए पनि पत्याउने खालका हुन्छन् । यिनको अथाह शक्ति हुन्छ । कस्तूरी मृगले वीणा नचिनेझैँ यिनीहरू जसले जता जे भन्यो त्यतै भौँतारिन्छन् एकछाक पेट कता भरिदिन्छन् भनी । यी आशामुखी ठन्डारामहरू बोकेका झोला च्यातिएका हुँदा पनि अर्काको झोला बोक्दैनन् बरु विपन्नताको परिचयपत्र बोकी आफू बिचल्लीमा परेर पनि सधैँ आशैआशमा साहुहरूलाई भोट चाहिँ दिइरहन्छन् । नराधमलाई भोट मात्र दिन जानेका यी च्यातिएका झोलेलाई कठैः भन्दै दुनियाँ हुँडार झोलेहरूले मस्ती लुटिरहेछन् । यी देशको इज्जत र प्रतिष्ठालाई धरौटीमा राखेर जनताको छाती चर्चरी चिर्छन्, आँसुको भेल बगाइदिन्छन् । फतुरे काका हृदय भत्भती पोलेको सहन नसकी च्यातिएको झोलाले आँसु पुछिरहेछन् ।
बलात्कारी, हत्यारा, फटाहा, ढँटुवा, गुन्डा, चोर, शैतानहरूको नाङ्गो नाचको यो दृश्य आँखाभरि बिझाएर मुटुको शूललाई निको पार्न खोजेका तर झनझन टन्किरहेकाले सहन नसकेर पलायन भएका युवाको जमात अनि माटो चिथोर्न आएका पराइहरूको विचित्रको लिला देखेर फतुरे काका पनि अवाक् भइसकेको कुरा च्यातिएको झोला बोक्नेको झोला खोतल्दा भेटिएको छ । गुरु बनेर अरूको झोला खोतल्न पनि गारो हुँदो रहेछ । अझै खोतलखातलको क्रम आगामी अध्यायमा हुने नै छ । इति श्री हँस्यौली ठोक्तव्य पुराणे, फतुरे काकासहितं ह्यारी – ८० संवादे, झोला खण्डे फित्कौली महात्म्य श्री जनताजनार्दनाय नमः ।
०००
गोकर्णेश्वर – ५, जोरपाटी, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest












































