रमेशचन्द्र घिमिरेसेवा
देख्ने क्रममा ढोकाकै आडमा लेखिएको अर्को कुरा पनि देख्यो । जसमा लेखिएको थियो - सेवा नै ठूलो धर्म हो ।

रमेशचन्द्र घिमिरे :
‘सेवा नै ठूलो धर्म हो’ भन्ने मन्त्रलाई आधार मानेर ऊ अफिसमा कुर्लन्थ्यो, सामाजिक कार्यहरूमा देखिन्थ्यो अनि भाषणमा पनि यसैलाई विषयवस्तु बनाएर दुईचारवटा बढी कुराहरू ओकल्थ्यो । उसको सेवासम्बन्धी यस्तो भावनाबाट प्रभावित भएर उसलाई गाउँमा रेडक्रसको राम्रै पद पनि दिइयो । कतै हिँड्नु पर्दा रेडक्रसको आजीवन सदस्यको लोगो देखिने गरी लगाएर हिँड्ने गर्थ्यो ।
कुनै एक दिनको कुरा हो, अफिसको काममा उसलाई कतै जानु थियो । गाडीमा चढ्यो, मुस्किलले एउटा सिट भेट्टायो र त्यही सिटमा बस्यो ।
गाडी हिँड्यो । केही समयपछि अर्को स्टेसनमा पुगेर रोकियो । एउटी वृद्ध महिला लट्ठी टेक्दै गाडीभित्र पसिन् र सिट पाइन्छ कि भनेर यात्रुहरूसँग अनुनय विनय गर्न थालिन् । अब भने उसलाई समस्या पर्यो । सिट दिऊँ भने कति दुःखले पाएको सिट, नदिऊँ भने आफूले छाँटेको आदर्शको महत्त्व नै नहुने ।
उसले भनाइसँग गराइको सम्बन्ध नै हुन नदिन एक्कासी कमिजमा टाँसिएको लोगो छोप्न पुग्यो र निहुरेर त्यसलाई बिस्तारै निकालेर खल्तीमा राख्यो अनि निदाएको स्वाङ पार्न थाल्यो । पछि गाडीबाट झर्ने बेलामा पो उसले देख्यो – ती वृद्धाभन्दा केही वर्ष कम उमेरकी अर्की वृद्धाले उनलाई ठाउँ छोडिदिएर आफूचाहिँ उभिएर यात्रा गर्दै रहिछन् ।
देख्ने क्रममा ढोकाकै आडमा लेखिएको अर्को कुरा पनि देख्यो । जसमा लेखिएको थियो – सेवा नै ठूलो धर्म हो । उसलाई औडाहा भयो अनि छिटो छिटो गन्तव्यतर्फ लम्कियो ।
०००
रचना कालः २०५२/०७/३०
भोर्लेटार लमजुङ
Subscribe
Login
0 Comments
Oldest







































