नगिता लेप्चा राईगढ्यौली चमेली
यस्ताहरू समाजका भाइरसहरूलाई तपाईं हामी मिलेर निमिट्यान्नै पार्नुपर्ने केही असल निर्णय लिनु सक्नुपर्छ । हाम्रो आउँदा पिड़ीहरूलाई यस्ता मानिसहरूको छाँया पनि पर्न दिनुहुन्न ।

नगिता राई लेप्चा :
हुन त गाउँ सहरमा यस्ता मान्छेहरूको कमि छैन जसले आफ्नो एक पेट भर्नलाई अर्काकै खोइरो खनेर, अरुकै घरमा ढुकेर आफ्नो काम बनाइ छाड़्छन् । मेरो अनुमानमा यस्ता पिपलपातेहरू गाँउघरमा ज्यादा मात्रामा देखिन्छन् । हाम्रो गाउँमा पनि छिन् एउटी दिदी जसलाई सबैले चमेलीदी…चमेलीदी भनी बोलाउऩे गरे पनि गाउँ घरमा धेरैले नै उनलाई गढ़्यौलीदी वा गढ़्यौली चमेली नै भनेको सुनिन्छ । किनभने उनको स्वाभाव गढ़्यौँलाभन्दा कम्ति छैन ।
उनी सबैको घरमा पुग्न भ्याउँछिन् गढ़्यौली चमेली । उनको कामै त्यति हो एउटा घरमा बसेर किसिम गफ गर्यो, अर्काको कुरा काट्यो अनि दिँउसोको खाना उतै खाएर डम्म भई निस्कियो । अनि अब ३ बज्यो है भनेपछि निस्केर अर्को घरतिर लाग्यो । जुन घरबाट डम्म भएर आएकी छिन् त्यो घरमा पुगी भएभरको कुरा सुनाउँदै गफ हाँक्छिन् । हामी मान्छे भन्ने जातै यस्तो हो । अर्काको बदख्वाइँ सुन्न मज्जा लाग्छ । त्यहाँ पनि गर्नुसम्म बदख्वाइँ गरेपछि बेलुकीको डिनर नगरी निस्किने त कुरै गर्दिनन् । घरकाले जानुहोस् अब भन्न सक्दैनन् । त्यस घरमा मात्रै दुईवटा रोटी डम्काएर मात्रै विदा हुने गढ़्यौली चमेलीको अचम्भैको स्वाभाव छ । चमेली दिदीलाई सम्झिँदा अचम्म लाग्छ । सबैकी प्यारी हुनलाई यताको कुरा उता उताको कुरा यत गर्दै हिँड्छिन् तर आजसम्म गढ़्यौली चमेली कसैकी प्यारी हुन सकेकी छैनन् ।
अस्ति भर्खरैको त कुरा हो । तल्लो घरकी काकीले उनको नानीको जन्मदिन मनाउने भनेर बोलाउनु भएकी रहिछन् । यस्तो बिहेबटुल, जन्मदिन, भात खुवाइ, न्वारानमा हाम्री गढ़्यौली चमेलीलाई निम्तो नदिए पनि एकाबिहानै पुगेर काम सघाउने निहुँमा हुसुर्नुसम्म हुसुर्छिन् । तर त्यस दिन धेरै बेरसम्म पनि चमेलीदी नआउँदा काकीले भनिन्, यो चमेलीलाई आज के भयो हँ ? अहिलेसम्म पनि आएकी छैनन्..मैले झन् हिजो बजारमा भेटेर बोलाएकी । तर जे भए पनि हाम्री चमेलीदीको नाइटो चाहिँ चूल्हो मै गाडिएको छ भन्ने त्यसैदिन प्रमाणित भयो । काकीले गढ्यौली चमेलीको नाम मात्र के लिएकी थिइन् उनी टुप्पलुक्कै आइपुगिन् ।
जे भने पनि, जस्तो सुकै कुरा लाए पनि गढ्यौली चमेली काम गर्नमा चाहिँ कहिल्यै अल्छी, दिकमिक गर्दिनन् । यो उनको खूबी नै हो । चमेलीदि आउने बित्तिकै काकीले सोधिन् – ढिला गर्यौ त चमेली आज । हामीले त केक काटेर खाइसक्यौ भनेर जिस्काई दिएकीथिन् कम्ति होइन रिसाएकी आम्माम्मा ।
अझै उल्टा के भनिन् सुन्नुहुन्छ…तिमीहरू परैले केक खाइसक्यौ भने मलाई चैँ के यहाँ जूठा भाँडाकुँडा उठाउनु निम्ताएको ? गरिब छु भनेर हेपेको मलाई तिमीतहरूले ?
मैले थम्थमाउदै भनेँ, होइन दि तपाईंलाई जिस्काएको मात्र हुन् काकीले । नरिसाउनु होस् न । तपार्इंलाई हामीले भाँड़ा उठाउनु बोलाएका होइनौँ । तपाईं बस्नू म तपाईको लागि खाना लिएर आउँछु ।
मलाई चाहिँ ती दिदीले अचम्मै माया गर्छिन् । दिदी मकहाँ आइन् अनि भनिन्, बुहारी खाना भन्दा पहिले यसो स्पेशल खानेकुरा केही छैन ? मैले उनको कुरै बुझ्न सकेकी थिइन । भने, ‘के दिदी भनेर सोध्दा उनले हातले ईसारा गर्दै, एक पेक जस्तो खानु पाए हुन्थ्यो बुहारी । आज पूरै थाकेकी छु…जीऩभरि कसैले लौरोले कुटेजस्तो दुःखिरहेछन् । राती एक-दुइ पेक मुखमा नहाले राति निँद्रै लाग्दैन ।’
बल्ल बुझेँ गढ़्यौली चमेलीले रक्सी मागेकी रहिछन् । मैले काकीलाई सोधेर एक ग्लास रक्सी दिइहालेँ । कुखुराको भित्र्याँशसित जिब्रो पड्काउँदै पाँच-छ पेक सोड़्कयाइन् । निकै भेटेछ कि क्यो हो कोनि भनिन्, बुहारी अब खाना देऊ । फेरि नि बुहारी मैले यसरी खाएपछि नाँच्नु मन लागिहाल्छ । खाएर म “बादल वर्षा बिजुली” भन्ने गीतमा नाँच्छु । मैले खाना दिएँ…खाना पनि बिरालोले नाँघ्न नसक्ने । खाइनँ मज्जाले अनि गीत बजाउने आग्रह गरिन् । गढ़्यौली चमेलीको आग्रहमा अपरेटर भाइले गीत बजाए । गीत बजिरहेको छ, नाँच्दै नाँच्दै काकीको छेउमा गएर के भन्छिन् भनेको त मलाई त मेरो चोइजको खाना नै भएन हौ काइँली डिनर गर्नुभन्दा अगाडी अलिकति हल्का चिरिप खानु पाको भा’पो !
मलाई काकीले बोलाएर उनलाई एक दुइ पेक रक्सी दिनु त बुहारी, भनिन् । अरे, मैले अघि पाँच पेकभन्दा बेसी नै दिइसकेकी छु । रिस त टुप्पीमै पुग्यो । मेरो पालो पनि मुखमै भन्दिएँ, अहिले भर्खरै दिएकी होइन चमेलीदी तपार्इंलाई?
चमेली दिदी हेरेको हेरेकै भइन् । काकीसँग भक्कु मेरो कुरा गरेकी रहिछन् अनि मैले बोलाएर फेरि दामी ह्विस्की गिलासभरि खन्याइदिएँ । खुसी भएर मलाई सर्काउनुसम्म सर्काइन् अनि मेरो कानैमा मुख जोडेर काकीको कुरा गर्नुसम्म गरिन् । उफ्फ्फ्फ्…. मान्छेहरू पनि थरि छरिका हुँदा रहेछन् भन्ने चमेलीदिको व्यवहारले नै बुझेँ । दिइञ्जेल मात्रै आफ्नु । दिनु छोडेपछि गाउँ-घरमा कुरा गर्दै हिँड्छन् ।
सुन्नुहोस् न, हिजो अचानक मेरो घरमा आएकी थिइन गढ़्यौली चमेली । मैले दिदीलाई भनेँ, सम्झाएँ – चमेलीदी अब यसरी गाउँ गाउँ हिड्नु छोड़्नू । केही काम गर्नू तपाईको निम्ति म काम खोजी दिउँला । हाउस किपिङहरू पनि पाउँछ । हातमा रुपियाँ पैसा हुन्छ ।
चमेलीदीको जवाफ – म यस्तो किपिङ सिपिङको काम गर्न सक्दिनँ है । एक मनले सोचेँ, अरे उनलाई काम किन् गर्नुपर्यो । गाउँ चाहारेर उनको पेटपाला भइहाल्छ । खासमा उनलाई अर्काको कुरा गरेर नै खानु पुगिहाल्छ भने काम किन गर्नुपर्यो र । आ… जे सुकै गरोस् है भनेर भन्नै छोडिदिएँ ।
मज्जाको कुरा, उनको कुरा जसले इण्ट्रेष्ट लाएर सुनिदिन्छन् त्यहीँ उनको रासोबासो हुन्छ ।
यस्ता मान्छेहरू मैले धेरै देखेकी छु । गाउँ घरमा मात्रै किन ? साहित्य क्षेत्रमा पनि कुनै कुनै साहित्यकारहरू यस्ता स्वाभावका देखिन्छन् । एउटा साहित्यिक कार्यक्रम वा लोकापणर्मा जानुपर्यो भने त्यही कार्यक्रमका आयोजकहरूमध्ये एकजनालाई झोलामा हालि हाल्छन् । किनभने त्यहाँ उनको गाँस र बासको व्यवस्था होस् ।
बास बस्छन् खान्छन् भक्कु अन्य साहित्यकारहरूको बद्ख्वाइँ गर्नुसम्म गर्छन् अनि दुई चार दिनपछि पनि जाने कुरै नगर्दा घरकाले नाटक नै गर्नु पर्छ, झगडा परे जस्तो गरेर वा कहीँ घुम्नु जानु छ हामी परिवार भनेर जबरजस्ती लखेट्नु पर्छ ।
कुनै कुनै साहित्यकारहरू (सबै होइनन्) त कार्यक्रमको निम्तो पाएपछि फोनबाट सोध्छन् हामी आउने त हो तर फर्किनु त भ्याइँदैन सायद । कुनै होटेलतिर बस्नुपर्ला कि ? अनि कुनै होटेलहरूको बन्दबस्त छैन भन्ने कुरा सुनेपछि कार्यक्रममा पनि आउँदैनन् । आजकल त दुःख गरेर किताब छापेर कार्यक्रममा बोलाउनु पनि डरसरि नारायण । अस्तिको हप्ता तल्लो घरको एकजना कवि भाइले उनको किताब लोकार्पणमा टाढाबाट अतिथि बोलाएका थिए । विचरा ! ती कवि भाइको किताब लोकार्पण भएको तीन महिना बितिसक्यो अतिथिहरू होटेलमा बसेर खाएका पैसा भाइले अझै तिरिसकेका छैनन् । मोराहरूले जिन्दगीमा नाम नसुनेका ह्विस्की दन्कुनुसम्म दन्काएर गएछ्न् । मामाको घोडा मेरो हिही । फोकटमा हुसर्नु पाए भन्दैमा अलकत्र पनि नछाड्नेहरूलाई चाहिँ मेरो टाढैबाट राम…राम….।
उनीहरू भन्दा त मलाई हाम्रै गाँउकी चमेलीदी पो ठिक लाग्यो । एक मग रक्सीमा भएभरको काम सँगसँगै अर्काको बदख्वाइँ सुन्न पाइने ।
तर घरिघरि त गढ़्यौली चमेलीले पनि यताको कुरा उता, उताको कुरा यता गरेर गाउँमा झगडा लगाइ दिन्छिनन् । कसैको प्यारो हुनलाई उन्ले जे पनि गर्छिन्, जे पनि भन्छिन् । एक जनासँग मात्र मिलेर बस्नु उनको मनको शब्दकोशमा देखिनँ मैले ।
मैले यी आँखाले यस्ता यस्ता मान्छे देखेकी छु नि अचम्म लाग्छ । गढ़्यौली चमेलीभन्दा खतरनाक हाम्रो छिमेकी गाउँमा धनमाया नाम गरेकी आइमाई छिन् । उनको व्यवहार देख्दा तीन छक्क पर्छु म । कसैले प्रगति गरेको हेर्नै सक्दिनन् । कसैको उन्नति, प्रगति गरेको उनसे थाहा पाइन् भने रिसले के गरुम् कसो गरुम् हुँदोरहेछ विचरालाई । फेसबुकमा दुनियाँ लेख्छन् । उन्नति प्रगति गरेको देखेर उनको विरुद्धमा दुनियाँ लेख्छिन् । किसिम लेखिसकेर अन्तमा बधाई पनि दिइ पो टोपल्छन् । आफू भने केही गर्नु सक्दैनिन् अर्काको खोइरो खनेर-खनेर आज उनी कुवाको भ्यागुता कुवामै भएजस्तो भ्यागुताकै रुप लिएर जीवन बिताइ रहिछन् ।
हाई क्वालिफाइड भए पनि उनको व्यवहार वा एटिट्यूड देख्दा उनको बुद्घि भने अनपढ़् गँवार भन्दा गयल गुज्रेको छ । कसैलाई राम्रो भन्दैनन् । उनको नजरमा सबै नराम्रा…सबै खराब । फेरि चाहिँ आफू भयङ्कर…राम्री । अर्काको रिस आह्रिस तथा डाहाले नै उनको अनुहार गोल मरिच जस्तै चाउरिएर पहिरो गएको अम्बटेको भित्ताजस्तो देखिन थालेको छ । तरै पनि रिस आह्रिस डाहा गर्न भने पटक्कै छोडेकी छैनन् । यसकारण, यिनलाई त अचेल ‘मरिचदी’ भनेर बोलाउऩे गर्छु । ‘मरिचदी’भन्दा सबैले बुझ्दैनन् कि जस्तो लागेर ‘एमडी’ भनी सबैलाई हल्ला गरिसकेकी छु । किन चाउरिस् मरिच आफ्नै रागले भन्ने उखान यिनै धनमाया म्यामसित मिल्छ ।
यस्ता व्यक्तिहरूले हाम्रो समाजमा विकृति फैलाइरहेका छन् । यस्ताहरू समाजका भाइरसहरूलाई तपाईं हामी मिलेर निमिट्यान्नै पार्नुपर्ने केही असल निर्णय लिनु सक्नुपर्छ । हाम्रो आउँदा पिड़ीहरूलाई यस्ता मानिसहरूको छाँया पनि पर्न दिनुहुन्न । तपाईहरूका गाउँ घरमा पनि यस्ता ‘मरिचदी’ वा ‘एमडी’ उफ् धनमाया, चमेली अनि फोकटमा अलकत्र पनि खानेहरू होलान् । यस्ताहरूबाट आजैदेखि नाता सम्बन्ध मास्नु मात्र होइन हामी हाम्रा बालबच्चालाई सुरक्षित राखौँ अनि समाजलाई पनि सचेतन गरौँ आफू पनि सचेत रहौं ।
बोरामा एउटै पनि कुहेको आलु छ भने बोराभित्रका जम्मै आलु नै सखाप पार्छ ।
०००
खोलाचन्द फाप्री, जलपाईगुडी, भारत ।
Subscribe
Login
0 Comments
Oldest







































