शिव सस्मितआलुगन्थन
आलुको गन्थन गरिनसक्नु छ । आलुमान्छेको अगाडि परिनसक्नु छ । के गाउँ, के नगर के सहर, मान्छे बस्ने ठाउँसम्म आलुमान्छेहरूकै बिगबिगी छ । कुरी कुरी भन्नुपर्ने गरी तिनकै चुरीफुरी छ ।

शिव सस्मित :
‘आलु’ दुनियाँको मुखमा झुन्डिएको शब्द हो । अझ भनौँ चुइँगमे शब्द । आजकलका स्कुले केटाकेटीहरूको मुखमा दिनरात झुण्डिएको चुइँगम जस्तो । भुसुनादेखि लिएर ठालुसम्म, कालुदेखि लालुसम्म, केश-खौरन देखि लिएर तालुखुइले सम्मका मनुवाहरूमा बिहान परेला उक्किएदेखि राति परेला नढप्किने बेलासम्मको चालु शब्द आलु त हो नि । घरकी गृहिणी, भोजभतेरका भान्से, अरू अरू मान्छे, विद्यालयका गुरु सबैको मुखबाट खुरुखुरु निस्कने शब्द हो आलु । अरू कुरो किन चाहियो ? मान्छे भन्ने जात हुने जति सबैका मुखभित्र र दिमागभित्र आलु छिरेर सोही मार्गबाट बाहिर निस्किएको रहेनछ भने खुत्रुक्क मार्दिनू ।
“एउटो गेडो आलु छैन । आज के तरकारी पकाउनी ?” एकाबिहानै घरकी गृहणी गुन्गुनाउँछिन् । आलुको जोहो गर्दिएनन् भनेर पतिदेवसित टुन्टुनाउँछिन् । अरू चिज भएर नहुने, त्यही आलु चाहिने रे । हुन त आलुलाई तरकारीको राजा पनि भन्छन् मान्छेहरू । कानुनले नदिए पनि अझै झुक्किएर त्यसै भन्छन् किनकि देशमा गणतन्त्र आइसकेपछि आलुलाई तरकारीको राष्ट्रपति भन्ने बानी लागिसकेको छैन होला सायद । नभनून् पनि किन ? निजी क्षेत्र होस् या सरकारी क्षेत्र होस् तरकारीको क्षेत्र सबै आलुले त ढाकेको छ नि, आलुकै त हैकम छ नि ? के आलुले अरू तरकारीलाई तरकारी भन्छ र उसको स्थान राष्ट्रपतिको नहोस् ? आलुकै तरकारी, आलुकै अचार, आलुकै चटनी, आलुकै पास्ता, आलुकै खानानास्ता, आलुकै चिप्स-लेयर्स के के हो के के ।
थिचेर खाए नि हुने, उसिनेर कोप्ल्याए नि हुने । अझ उनीसित आलु, तिमीसित आलु, सिमीसित आलु, घिरौँलासित आलु, पिँडालुसित आलु, गेडासित आलु, अरू टेढामेडासित आलु अरू के के सित आलु । बाबै नि ! सम्झेर ल्याउँदा नि यो आलु दिमाग फुट्ला जस्तै हुन्छ । आलुसितको सम्बन्ध टुट्ला जस्तै हुन्छ ।
यसो स्कुलतिर नियाल्यो, सानो छँदा मास्टर भन्थे— “तैँले गतिलो पढेनस् भने जाँचमा आलु ल्याउँछस् ।” छक्क परिन्थ्यो । “हैन के भनेका होलान् यी मास्टरले ?” मैले नपढ्नु र परीक्षामा आलु ल्याउनुबीच के सम्बन्ध हुन्छ हँ ? चाहिने कुरो गर्नु नि ? आलु ले भने त मैले भोलि नै घरबाट पाथीएक आलु ल्याउँदो हुँ, मेरा गुरुदेवलाई चढाउँदो हुँ नि किन परीक्षा-सरीक्षा कुर्नुपर्यो ? एक मन त मास्टरदेखि भाउन्न छुट्थ्यो । आफ्नो घरमा आलु नभएर यिनले विद्यार्थी सबैलाई आलु ल्याउन लगाएर वर्षभरिलाई आलुको जोहो गर्न यसो भन्ने ? तर पछि साँच्चै परीक्षा पनि आयो, दिइयो पनि । एक दुई विषयमा नम्बरै ल्याइएको रहेनछ ।
यो कुरा मास्टरले आफ्नै अगाडि कापी देखाएर “ल हेर, मैले पहिले नै भनेको होइन ? पढिनस् भने जाँचमा आलु ल्याउँछस् भनेर ? अहिले ल्याइस् कि ल्याइनस् भन्दा पो झसङ्ग भइयो । आफ्नै अगाडि आलु आकारको बडेमाको गोलो देख्दा विद्यार्थीले नपढेमा ल्याउने आलु त यस्तो पो रैछ भन्ने कुरा पाखुरामा सुई घोचेझैँ च्वास्स गर्दै दिमागभित्र गढ्यो । गुरुदेवलाई लगाएको मिथ्यारोप सम्झेर कैयौँ दिन निद्रा नि भङ्ग भयो, भनिसाध्यै छैन ।
हेर्नुस् त ! गणित पढ्यो उही आलुकै हालीमुहाली छ । अङ्कगणितमा आलु मात्रैको केही अस्तित्व छैन तर अरू अङ्कसित मिसिएपछि त्यही आलुको चुरीफुरी कति हुन्छ कति । नेपाली पढ्यो आलु विना कतिपय शब्दहरूकै अस्तित्व नै नहुँदो रहेछ । नपत्याए हेर्नुस् न प्रत्ययको नाउँमा आलुको राज । मायामा आलु जोडेपछि मायालु हुने, दुःखमा आलु जोडे दुखालु, सुखमा जोडे सुखालु । त्यस्तै गरेर दयालु, इखालु, घृणालु, बिर्खालु, तिर्खालु के के हुन् के के ? आलुले तरकारीको बजार त खायो खायो अङ्क र भाषामा पनि उसकै साम्राज्य देख्दा झट्ट अम्रिका भन्ने देशको याद आउँछ भन्या ।
यति मन्थन मात्रैले आलुको गन्थन कहाँ सकिन्छ र हजुर ? तरकारीका लागि आलुले जति दुःख दियो, गुणन र भागका नाउँमा अङ्कहरूलाई आलुले जति भस्म बनायो, जोड र घटाउका नाममा अङ्कहरूको त्यति नै इज्जत बचायो । अनि त्यही आलुले अङ्कहरूलाई प्रेमी-प्रेमीकाले एक अर्कालाई खाएजसरी म्वाइँ खान जाँदा अङ्कहरूको भाउ उति नै बढायो । बुझ्नुभएन ? एकलाई चुम्बन खान जाँदा दस भएको ? त्यति मात्र हो र ? नेपाली भाषाका शब्दहरूलाई आलुले जति माया गर्यो अरुलाई भने त्यति नै आँखा तर्यो । कुनैसित जोडिएर उसैलाई जति राम्रो बनायो, कुनैलाई आपूmसित जोडेर त्यति नै चाम्रो बनायो, कुनैलाई हाम्रो बनायो, आलुको यही विशेषता बुझेर होला, बुझेका मान्छेहरूले मान्छेलाई नि आलुसित जोडेर बोल्दा पो त्यति नै तालु रन्केर आँउछ नाइँ ।
मान्छेले मान्छेलाई “तेरो दिमाग आलु जस्तो छ । तँ आलु जस्तो छस् ।” भनेर भन्दा रिसको पारो कुन मनुवामा चढ्दैन ? आँखा माथि उचालेर यसो गम्ने हो भने कुरो त निकै रोचक र घोचक पनि छ नि । मन नै अस्थिर बनाउने खालको गम्भीर पनि छ । तिनले कस्तो खालको आलुसित जोडेर त्यसो भने ? सायद बुद्धिको कुनै गुदी नभएकाको जिरो दिमागलाई भनेका हुन् कि ? तरकारीको आलुजस्तो जता पनि मिल्ने विशेषता बोक्ने भएर त्यसो भनेका हुन् ? देख्ने र बुझ्नेलाई दिक्क पारेर कैले यता ठिक्क कैले उता ठिक्क हुने भएर हो कि ? आफ्नै खालको स्वाद केही नभएका, अर्काले नुन मसला लगाइदिए अनेकका मिठा हुने भएर हो ? आलुमान्छेसँग जोडिएका यस्ता कुरा बुझ्न बडो कठिन छ ।
हुन पनि त्यस्तै छ भन्या, आलुकै विभिन्न विशेषता बोकेका मान्छेहरूलाई आलुमान्छे नभनेर के भन्ने ? मैले त अरू कुनै शब्द नै पाइन है तिनलाई सम्बोधन गर्ने । तपाईंसँग केही भए भन्नुहोस् नभए सुन्नुहोस् ! यहाँ कोही आलुमान्छे अरूलाई नि आफूजस्तै बनाउन तल्लीन छन्, एउटा कुहिएको आलुको सङ्गतले अरु सद्दे आलु पनि कुहिएजस्तो । अङ्कको आलुले बडे बडे अङ्कलाई गुणन गर्दा गुणनफल निस्किएजस्तो, आफूलाई भाग गर्न लगाएर भागफल निस्किएजस्तो ।
कोही आलु अन्य ठालुसित मिलेर बडो दयालु बन्न तँछाडमछाड गरिरहेका छन्, शब्दमा आलु प्रत्यय जोडिएर बन्ने शब्दजस्तो । आफ्नै चेतनाका हातगोडा नभएका मूढ आलुहरू भने अलि सक्नेहरूले जता गुल्ट्याइदियो त्यतै गुल्टिएका छन् । यसो हुँदा कोही सुल्टिएका छन् भने कोही उल्टिएका छन् । स्कुलको परीक्षामा जाँच दिँदा आलु ल्याएर गुल्टिनेहरू जिन्दगीको परीक्षामा सुल्टिएजस्तो । आजको असही भोलि सही र आजको सही भोलि असहीतिर उल्टिएजस्तो ।
आलुको गन्थन गरिनसक्नु छ । आलुमान्छेको अगाडि परिनसक्नु छ । के गाउँ, के नगर के सहर, मान्छे बस्ने ठाउँसम्म आलुमान्छेहरूकै बिगबिगी छ । कुरी कुरी भन्नुपर्ने गरी तिनकै चुरीफुरी छ । अझ भन्ने हो भने यो समाज र यो देश नै तिनै आलुमान्छेहरूले त चलाइरहेका छन् नि । त्यसैले आलुमान्छेसित जोगिएर नहिँड्ने हो भने आफू पनि रोगिएर बस्नुको विकल्प छैन । फेरि सङ्गतै नगर्ने हो भने पनि अप्ठ्यारो त छ नि बाँच्न । आलुविना तरकारी मरेतुल्य भएजस्तो । लौ न के गर्ने होला ? आलुसित प्रेमगाँठो अझै कसौँ कि ? डिभोर्स गरेर बसौँ ? सल्लाह सुझाव पाऊँ ? जय आलु ।
०००
शिव सस्मितकाे भरखरै लाेकार्पित हास्यव्यङ्ग्य कृति “कुरैकुराकाे खेती” (२०८०) बाट
Subscribe
Login
0 Comments
Oldest








































