धनराज गिरीएन्टी थेसिस र सामान्यीकरण
यहाँ यस्तै छ । नेपाल नामको सिनेमामा “नायक” छैन । चालकबिहीन बस गुडिरहेछ । कहाँ पुगेर दुर्घटनाग्रस्त हुने हो, थाहा छैन । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला ।

धनराज गिरी :
इतिहास मज्जासित पढियो भने, असत्य बढी लेखिन्छ, यो पनि सत्य हो, इतिहास होस् अथवा व्यक्तिको जीवनी, २०% पनि सत्य कुरा हुन्न । सत्यहरू यति कुरूप हुन्छन् कि न भन्न सकिन्छ, न सुन्न सकिन्छ । इतिहासमा मितिहरू मात्र सही हुन्छन् । इतिहासमा बढीभन्दा बढी “एन्टी थेसिस” प्रयोग भएको हुन्छ । त्यो युगदेखि यो युगसम्म युद्ध, युद्ध, युद्ध मार्ने र मर्ने मात्र ।
एक बुद्ध आए, गए । एक गान्धी आए, मारिए । एन्टी थेसिसको राम्रो प्रयोग काल्पनिक कथा महाभारतमा शकुनिले गरेका छन्, उनी गुफी पेन्टल बनेर बोल्छन्, “मेरे पास हर चीजका काट है लेकिन ये देवकीनन्दन ।” वेद व्यासको कल्पनाशीलताको कमाल, धीरोदत्त चरित्र बनाए, काल्पनिक ईश्वर “श्रीकृष्णलाई” उनले नितिश भारद्वाज बनेर भए पनि कमाल गरे । “धर्म” अचम्मको कुरा हो ।
पदमा पुगेपछि, शक्ति हातमा आएपछि मान्छेले जे पनि गरेजस्तै “धार्मिक” बनेपछि धर्मको आडमा अधर्म गर्न सजिलो हुनेरहेछ, फटाहाहरुलाई ! यो संसारमा, उहिल्यैदेखि फटाहाहरूको कब्जा छ, रहिरहने छ, जति बिरोध गरे पनि । आन्दोलन हुन्छ, मुसाहरू केही समय एक पनि हुन्छन्, बिरालोलाई लखेट्न सफल पनि हुन्छन्, तर तिनै मुसाहरूमध्येबाट केही फटाहा, बाठा मुसाहरू कायाकल्प भएर बिरालो हुन्छन्, र आफ्नै बर्गका मुसाहरूलाई आहारा बनाउने पक्का । देखिएको, भोगिएको कुरा हो ।
शक्ति हातमा आएपछि पात्र भ्रष्ट हुन्छ, हुन्छ, अपवाद बाहेक । “जसको शक्ति उसको भक्ति र जसले हान्यो उसले जान्यो” यो शाश्वत सत्य हो । विवेकीको हातमा शक्ति गएमा मात्र मानव समाजले “सत्यम्–शिवम्–सुन्दरम्” अनुभूत गर्न पाउँछ । तर अति दुर्लभ ।
एन्टी थेसिसको ताजा नमूना “रुस र युक्रेन” “हमास र इजरायल” क्रोनिक बनेको “भारत र पाक” अनि हाम्रो नेपालमा त के केमा उदाहरण दिने, कति सामान्यीकरण गर्ने ? मलाई सकारात्मक कुराहरु मात्र लेख्न मन लाग्छ । तर म एक कणले सकारात्मक कुराहरू गरेर यो दुनियाँ सकारात्मक हुने होइन । कसैले “नेपालमा कुनै समस्या छैन” भनेर समस्याबिहीन हुने होइन यो मुलुक ।
अस्ति स्याञ्जा जाँदा राजमार्गको हालत देख्दा रुन मन लाग्यो । “मेरो देश नरक नै भइसकेको भए पनि यसलाई स्वर्ग बनाउनु मेरो कर्तव्य हो” भनेर एक सर्वहारा धनाढ्य कर्ण शाक्य दाजीले “सोच” किताबमा लेख्न लगाउनुभयो । कुबेरका लागि, द्रव्य शाहका लागि जहाँ पनि झलमल्ल उज्यालो, तर आम नेपालीका लागि ? ती दशजनाको परिवारमा आज के भइरहेको होला ? मान्छेले अकालमा ज्यान गुमाएको समाचार सुन्दा म सय पटक तहसनहस हुन्छु । आफ्नै देशमा नयाँ पुस्ता रमाउने वातावरण बनाउन किन सकिंदैन ? आखिर जहाँ गए पनि, जे जे गरे पनि उही “खाना, नाना र छाना” नै त हुन् आधारभूत आवश्यकताहरू !
सामाजिक संजालमा रमाइलो गरेका तस्वीरहरू राखेर भित्र भित्र रुने नेपालीका सन्तानहरू कति होलान् ? ज–जसले जसरी, जसरी व्याख्या गरे पनि वैदेशिक रोजगारी रहर होइन, एक बाध्यता हो, झिलिमिलि बाध्यता । रुपमा रमाइलो लागे पनि सारमा पीडा छ, वेदना छ । अनुभूत तथ्य । तर, यहाँको संपूर्ण अराजकताहरूलाई मध्येनजर गर्दा राहदानी बोक्नेहरूले बेठीक गरेजस्तो लाग्दैन । “एन्टीथेसिस” यहाँ पनि लागु हुन्छ ।
आज, २०८० साल असोज २६ गते शुक्रबार म यो लेख लेख्दैछु । बिहान आत्मीय मित्र, कमरेड काशीनाथ अधिकारीजीसित भलाकुसारी भयो । मैले ठाडै भनें, “काशीजी, अब राणहरूलाई के गाली गर्ने, पंचेहरू फटाहा भनेर बहुदलको पक्षमा लागियो । जनताका मान्छेहरू नीला र राता मसिहाहरू हुन् भनेर समर्थन गरियो । पंचेहरूभन्दा बढी फटाहा चारतारेहरू, सुम्निमा दिदीका भतिजा, भतिजीहरू भए, त्यसपछि वृक्षनगरबाट मन सूर्यपुर पुग्यो । घाम लाग्दा उज्यालो हुन्छ भन्ने आशा गरियो । धरतीका सूर्यनारायणहरू पलायन भए । सत्ता र शक्तिको वरिपरि खुराफातीहरूको रजगज भयो । काशीजी, यहीं रत्ननगरमा यति भ्रष्ट सूर्यमुखी फूलहरू फुले छन् कि अब त सूर्यग्रहणको कामना गर्न थाले आम नागरिकले ।
तेस्रो विकल्प आयो गाढा रातो फूल, स्वच्छ छवि भएका “छविलाल” हरूले यो हिलोमा “कमल” पुष्प फुलाउने आस गरियो । प्रचण्ड प्रगतिको कामना गरियो । ज्या ! नयाँ नयाँ “सुजाता कोइरालाहरूको” जन्म भयो । हरेक विकल्पबाट जनताहरू निराश भए, तेस्रो पुस्ता अन्तै गए । डाक्टरहरूले पिटाइ खान थाले । “राजा आऊ देश बचाऊ” घन्कियो । गणतन्त्र बिचौलियाहरुको बीचमा थन्कियो । बिरोध, बिरोध, बिरोध । अब यो सामाजिक संजालमा जति माथापच्ची गरे पनि केही लाग्दैन । लाग्ला ?
काशीनाथ अधिकारीजीको अनुहारमा नै सूर्यग्रहण अनुभूत गरी म लागें आचार्य नीलाम्बर चक्र गुरुदेवतिर ! हरेक दिन मुहार पुस्तिकामा अभिवादन आदान–प्रदान हुन्छ । मलाई माया गर्नुहुन्छ । म हृदयत: सम्मान गर्दछु । आज भनियो, “गुरुदेव, कसैको पारा पनि चित्त बुझ्दो भएन । म त सधैं दलबिहीन भएँ । स्वाधीन नागरिक बनेर “धनराजीयन” शैलीदेखि आज आएर “प्रोफेसर जगमोहन आजाद” बनी “आजदीयन” शैलीमा लागेका कुराहरू भनिरहेको छु । ईश्वरको राज्यमा बसेर ईश्वरलाई नै उसको अस्तित्वमाथि नै नेपाली “नित्से” बनेर चुनौती दिइरहेको छु । केही आफन्तहरूको नजरमा घोर नास्तिक भएको छु ।
आस्तिकहरूको नास्तिकता देख्दा रुन मन लाग्छ । यहाँ अझै ३०० बर्ष केही होला जस्तो लाग्दैन गुरुदेव ! आशावाद पनि एउटा भ्रम मात्र हुने भयो । शिव भोलाले केही देलान् भन्ने आशा कत्ति पनि छैन ।”
गुरुदेव बोल्नुभयो, “धनराजजी, २०४८ सालपछि म पनि दलबिहिन नै छु । लागेको कुरा भन्छु, लेख्छु । यहाँ यस्तै छ । नेपाल नामको सिनेमामा “नायक” छैन । चालकबिहीन बस गुडिरहेछ । कहाँ पुगेर दुर्घटनाग्रस्त हुने हो, थाहा छैन । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला । “शुभ दिन !” गुरुदेवसितको वार्तापछि अनेक सोच्न थालेँ । सामाजिक संजाल हेर्यो, मन रमाउने खुराक केही पनि पाइन्न । अनि आदरणीय दाजी रामशरण पाठकज्यूसित “छोई दिल्लगी” गर्दछु, समय त कटेकै छ । मन रमाएको छैन ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest








































