आतुर
“यसपटक आफू बजार जान पाइन र बुढालाई पठाएको महँगो चिज किनेछ्न् । घाटा पर्ने भयो । हाम्रा दाइले बुझेर पछि थप्ने होइनन् ।”
ढाकामोहन बराल :
“पहिला पानी लिएर घुम त्यसपछि दुबोले तेल चुहाउदै घुम ।”
आमाले पिंडीमा बसेर सिकाउनु भयो ।
“प्रत्येक वर्ष उहीँ काम गरे पनि कसो हो कसो मेसो नपाइने ।” मन्जुले भनिन् ।
“मनमा आँखा हुनुपर्छ त नि ।” आमाले छोरीलाई हल्का थर्काउनु भयो ।
बिमिरो पुजनदेखि ओखर फोर्ने काम सकिएर भाइटिका लगाउने क्रम क्रमश सकियो ।
मन्जुले आफूले दाइलाई ल्याएको उपहार दिइन् । अघिबाट मन्जुले भने मनमनै “यसपटक आफू बजार जान पाइन र बुढालाई पठाएको महँगो चिज किनेछ्न् । घाटा पर्ने भयो । हाम्रा दाइले बुझेर पछि थप्ने होइनन् ।” भन्ने कुरा खेलाइरहेकी थिइन ।
“ल यो नानी फेरि कता गएकी हो । पहिला दाइलाई खानेकुरा दे त ।” आमाले चिच्याउनु भयो ।
मन्जुलाई भने भित्र गएर भर्खरै दाइले दिएको दक्षिणाको खाम खोलेर सुटुक्क हेर्न आतुर भइसकेको थियो ।
०००
पोखरा ७ मासबार, कास्की ।