शिव सस्मितदस्तापुराण
यस्ता दस्ताहरुदेखि सतर्क हुनू, जोशमा होश नगुमाउनू । कुनै दस्ताले आफूसितै जाउँ भन्लान्, बाउहरुको चारो खाउँ भन्लान् । दुईचारजनालाई मुन्ट्याएर तोरीको फूल देखाउँ भन्लान् त्यसैले तिनका पछि नलाग्नू ।
शिव सस्मित :
लौ आउनुहोस् भक्तजनहरु ! आजको खण्ड दस्तापुराणको खण्ड हो । यो कथा ध्यानसित सुन्नुहोला तर मनमनै गुन्नुहोला । कसैलाई नभन्नुहोला । भन्नुभो भने कि त बत्तीसै दाँत खल्तीमा हालेर हिँड्नुपर्ने हुन्छ, त्यहाँभन्दा उँभो लागे यमलोकको सपना देख्नुपर्ने हुन्छ ।“श्रीगणेशाय नम : ‘अनिकालमा बिउ जोगाउनु हुलमुलमा जिउ जोगाउनु’ मही खाएर घिउ जोगाउनु । जोगाए जोगाउनु नत्र रोगाउनु, शोकाउनु । जमाना खराब छ । कतिबेला यमलोकतिर रमाना होइने हो पत्तै छैन । वहाना बनाएर हिँड्नुपर्ने । चोचोमोचो मिलाए बाँचियो नत्र ढाड भाँचियो । भनेर पनि नहुने नभनी पनि नहुने । अचेल सहरदेखि गाउँसम्म, मान्छे बस्ने ठाउँसम्म विभिन्न प्रकारका दस्ताहरु देखिन्छन् । दस्ताहरूका अगाडि कस्ताकस्ता त सस्ता भए, तपाईं हामीका के कुरा ? पत्रकार, पत्रुकार, सञ्चारकर्मी, भन्सारकर्मी, धर्मी, अधर्मी, कुर्मी, दस्ताले कोही भन्दैनन्, कसैलाई गन्दैनन् । विभिन्न रुप र रङमा निस्किएका, ढङ्ग र बेढङ्गमा निस्किएका, जिस्क्याइएका, जिस्किएका दस्ताहरु असरल्लै छन् । चाल एउटै छ, ढाल एउटै छ, खाल एउटै छ, हालबेहाल उस्तै छ, सालनाल एउटै छ, ताल समान छ तर न्वारन चाहिँ भिन्नभिन्न गरिएको छ । गाँठी कुरो यहाँनेर छ । उपरवाला हरिनारनलाई थाहा नभएको कुरो तपाईंहामी काइतेहरुलाई के थाहा ?
कोही दाइ बनेर दार्ईं गरिरहेका छन्, कोही भाइ बनेर रजाइँ गरिरहेका छन् । कहिले भाइ दाइ हुन्छ, कहिले दाइ भाइको पगरी गुथेर बस्छ । जेठो, माइलो, साइँलो, कान्छो…अन्तरे, पानीमन्तरे, आदिआदि । फुर्ति ‘तँभन्दा म के कम ?’ छ । तँ जेठो भए म पनि जेठो, तँ माइलो भए म पनि माइलो, काइँलो भए काइँलो, राइँलो भए राइँलो । व्यवहार सौतेनी आमाका छोराहरु जस्तै छ । कुकुर र बिराला जस्ता, एकले अर्कालाई देखी नसहने । एकाबिहानै रेडियो खोल्यो, फलानो दस्ताद्वारा ढिस्कानो दस्ता कुटियो, कतै भुटियो, सर्वस्व लुटियो । अखबारमा आँखा तानेर हेर्यो, दस्तापुराण त्यहाँ पनि छ । टेलिभिजन खोल्यो, दस्ताहरुको मारामार छ, हार त त्यहाँ बेकार छ ।
पुत्रले सीता हरण गर्छ, आफ्नै काल निम्त्याउँछ भन्ने थाहा भएका भए, पुलस्त्यका छोरा विश्रवाले पहिल्यै भ्यासेक्टोमी गर्थे होला । आजका हंस नभएका पिताहरुलाई पनि कंस जन्मन्छ भन्ने के थाहा ? जन्माउनु जन्माइहाले, अहिले रमिता हेरेर बसेका छन् । कम टाउको खाएको छ र तिनीहरुको ? कस्ता कुपुत्र जन्मेछन्, भनेको मान्दैनन्, आफैले जान्दैनन् । राम्रा काम गर्लान्, बुढेसकालका बाउआमालाई सुख देलान् भन्दा, धम्क्याउने, लम्काउने, चम्काउने, कुट्ने कुटाउने, आफू आफू बीच टाउको फुटाउने, हड्डी टुटाउने काम सिवाय केही नगरेपछि बाउको टाउको खाने नै भयो । लौ न भगवान् कतै छौ भने, दस्तापिताहरुलाई भ्यासेक्टोमी गर्ने सद्बुद्धि देऊ ।
प्यारा भक्तजनहरु ! दस्ताहरू कहिले बाउको इसारामा नाच्छन् कहिले बाउलाई आफ्नो इसारामा नचाउँछन् । रडाको मच्चाउँछन् । कसैको ढाड खुस्काउनुपर्यो भने, कसैको दिमाग फुस्काउनुपर्यो भने दस्ताहरु अगाडि सर्छन् । दस्ताहररू एकमानेमा असल छन्, आफ्ना बाउका करतुत विरुद्ध उनीहरु चुँसम्म बोल्दैनन् । ‘आफू भलो त जगतै भलो’ भनेझैं गर्छन् । तिनका बाउहरू पनि कम मापाका छैनन् । जारजारको जस्तो व्यवहार तिनीहरुको छ । मुलुकलाई पार लगाउन भनेर कारमा चढेर हिँड्छन् । अहङ्कार गर्छन्, मत्ता हात्तीझैं हुँकार निकाल्छन् । एउटाले अर्काको खुट्टा तान्छन् । आफू पनि नगर्ने अर्कालाई पनि गर्न नदिने बाँदरको चाल गर्छन् । शान्तिका कुरा गर्छन्, अशान्ति र विपत्ति मच्चाउने पुत्र उत्पत्ति गर्छन् । यस्ता बेतालका बाउहरुका पुत्रहरु केको गतिला हुन्थे ? त्यसैले बाउहरुले अब भ्यासेक्टोमी गर्नैपर्छ, कुपुत्रहरुलाई थान्कामा लगाउनै पर्छ भनेर महर्षि देवनाराण बताउनुहुन्छ ।
भक्तजनहरु ! बाउहरुले दिएको चारो खाएर, दुनियाँको आँखामा छारो हालेर हिँड्ने यस्ता दस्ताहरुदेखि सतर्क हुनू, जोशमा होश नगुमाउनू । कुनै दस्ताले आफूसितै जाउँ भन्लान्, बाउहरुको चारो खाउँ भन्लान् । दुईचारजनालाई मुन्ट्याएर तोरीको फूल देखाउँ भन्लान् त्यसैले तिनका पछि नलाग्नू । लाग्नैपरे पनि सत्य के हो, वास्तविकता के हो ? तिनका पछाडि लागेर आफ्नो र समाजको गति के हुन्छ ? दिमागी क्याल्कुलेटरमा हिसाबकिताब गरेर मात्र लाग्नुहोला ।”
इतिश्री दस्तापुराणे, दस्तादि खण्डे, भ्यासेक्टोमीमहात्म्य नम :
०००
फागुन, २०६५
डायरीमा टाउकेहरू हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह- (२०६९)
Subscribe
Login
0 Comments
Oldest







































