साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गफको गुजुल्टो

बजारका धेरै पसल डुलियो तर मनपर्दो कहीँ पाउन सकिएन । बाबु अर्को दिन किनौला भनेको त “तपाईंको भर छैन, आजै किन्ने हो। साइत गरेर हिँडेपछि पनि त्यसै फर्किन मिल्छ” भनेर मरिगए छोरोले मानेन ।

Nepal Telecom ad

राजकुमार लामिछाने :

सधैँ थोत्रो मोटरसाइकलमा खुइँकिने धक्कुराम धमलाले एक दिन नयाँ मोटरसाइकलमा हुइँकिँदै मेरो नजिकै आएर भने, “मोटरसाइकल किन्छु भनेको धेरै भयो बल्ल हिजो किनेँ ।”

आफूले पनि पुरानो मोटरसाइकलको एक्सिलेटर बटार्न थालेको धेरै वर्ष भएको थियो । गाउँ समाजमा ठुलोबडोमा नपरिएला, पिछडातिर झरिएला भन्ने चिन्ताले पुरानो पन्छाउने र साहुजीले किस्ताको रिस्तालाई अनुमोदन गरे भने नयाँ भित्र्याउने मनशायले अत्यन्त उत्सुकतापूर्वक सोधनी गरेँ, “यो मोटर साइकललाई कति पो हजुर ?”

उनले नाकका पोराबाट लामो सासको फोहोरा फाल्दै भने, “हेर्नोस् यो मोटरसाइकलको ठुलो कहानी छ ।” मैले पुनः प्रश्न गरेँ, “कस्तो कहानी हजुर ?”

उनले कहानी सुरू गरे, “छोराले आठ कक्षामा पढ्दादेखि नै मोटरसाइकलको माग गरेको थियो । मैले एस.एल.सी. परीक्षामा डिस्टिङ्सन ल्याइस् भने किनिदिउँला भनेर हौसला बढाएको थिएँ । नभन्दै उसले सोही डिभिजनमा पास गयो । खुसीले मनै खुसी भयो ।

त्यसपछि बधाईको लर्को कति हो कति । फेसबुकको कमेन्टमा ठेस लाएर साध्य भएन । केही दिन त बधाई भित्र्याउँदा भित्र्याउँदै बित्यो । त्यसपछि उसले आफ्नो पुरानै माग तेर्स्याइहाल्यो, बुबा मोटरसाइकल किन्न कहिले जाने ?”

माहोल केही मत्थर गर्ने विचारले, “पहिला क्याम्पस भर्ना हुने, त्यसपछि किनौला नि बाबु’ भनेर टारेँ ।

छोरालाई राम्रो क्याम्पसमा पढाउनुपर्छ भनेर सबै क्याम्पस चहारेँ । बल्लबल्ल ससुराले चिनेको एउटा क्याम्पसमा भनसुन गरेर निःशुल्क साइन्सतर्फ भर्ना गरियो ।

ऊ पढ्दै गयो । तर बेलाबेलामा उही मोटरसाइकलको दशाले दिमागमा ह्याङ्ग गराउँथ्यो । कतिन्जेल झुक्याउनु ? किनिहालौँ भने पनि दमडी छैन । चाहना भए पनि अनेकौँ बहाना बनाउँदै टार्दै र समय सार्दै आएँ ।

क्याम्पसमा गएर बेलाबेलामा उसको पढाइको बारेमा सोधखोज गर्थेँ । सरहरूले उसको पढाइ र चालचलन अत्यन्त राम्रो छ भन्नुहुन्थ्यो । एक दिन घरमा केटी लिएर आएछ । आमाचाहिँको मन न हो नानाथरी शङ्का उपशङ्का गरेर कचकच गर्न थालिन् । यसो बुझ्दा सँगै क्याम्पस पढ्ने साथी रहिछन् । साथी साथीसँगै हिँड्दा केही त हुँदैन थियो । तर उनी रहिछिन् अत्यन्त गरिब परिवारकी । साथी भन्दाभन्दै भोलि तलमाथि पर्यो भने परेन फसाद । न कुलघरान न दाइजो । अनि आफू ताक्छु मुडो, बन्वरो ताक्छ घुँडो भने झै हुन के बेर ? त्यसैले आईएस्सी. सक्ने बित्तिकै छोरालाई काठमाडौँ बि.एस्सी पढाउने विचारले सो क्याम्पसबाट निकालियो भन्दै थिए । त्यति नै बेला तरकारी किन्न गएको मान्छे कहाँ हराएको भनेर श्रीमतीले घरबाट फोन गरेकोले तरकारी पुयाउने बहानामा टाप ठोकँ । उनी ए ! ए ! भन्दै थिए ।

केही दिनपछि म दाउन्ने देवीको दर्शन गर्न गएको थिएँ । उनी पनि मोटरसाइकल पूजा गर्न सोही मन्दिरमा गएका रहेछन् । मलाई देख्ने बित्तिकै बोलाई हाले, कतै तर्किने मौका पनि पाइनँ । नाकको डाँडी खुम्च्याउँदै “ए हजुर । पनि यता” भनेको थिएँ, हातमा प्रसाद थमाउँदै उहाँ मोटरसाइकल महिमा सुरू गरे, “पहिलाको क्याम्पसबाट छोरालाई निकालेपछि काठमाडौँको त्रिचन्द्र क्याम्पसतिर लागियो । सो क्याम्पसमा इन्ट्रान्समा नाम निकाल्न पर्दो रहेछ । बल्लबल्ल नाम त निकाल्यो तर समस्या आइपर्‍यो भर्ना कसरी गर्ने ? छात्रवृत्तिका लागि केही कोटा त छुट्याइएको हुँदोरहेछ तर सबै पार्टीको सोर्सफोर्स चल्ने । फेरि चक्कर चल्यो कुनचाहिँ नेताको पाउमा पर्ने भनेर ।”

दियोमा तेल थपे झैँ उनी थप्दै थिए, “हेर्नोस् ! चिनेका नेता नभएका होइनन् । तर यस्तोमा सस्तो पावरले हुँदैन । रूपैयाँको बिटो खर्च गर्नुभन्दा नेताको भिटो लगाउनु नै बेस भन्ने कुरालाई गेस गरी लागेँ चिनजानका नेताजीको निवासतर्फ ।”

खाली हात के जानु भनेर हल्का कोसेलीपात टक्राउँदै नेताजीलाई अभिभादन गरेँ । “अरू इष्टले ल्याइदिएको त टेस्ट गरेको छैन, यत्रो किन ल्याउनु पथ्र्यो ?” भन्दै विभिन्न ब्रान्डका मालहरू देखाउनुभयो । राति सँगै बसेर हल्का चियर्स पनि गरियो । भोलिपल्टै नेताजीले शिक्षा मन्त्रीकोमा लिएर जानुभयो ।

मन्त्रीजीले क्याम्पस प्रमुखलाई गरिदिनुभएको फोनले गजबको काम गर्‍यो । छोरालाई निःशुल्क बि.एस्सी. पढाउने सङ्कटचाहिँ टर्‍यो । तर भनेर कुरालाई अझ पर तन्काउँदै थिए । उनले आफ्नो छड्डु आसामी पनि मन्दिरमा देखेकोले उनी आसामीतिर भिडे, म आफ्नो बाटो हिडेँ ।

एक हप्तापछि बिजुली अड्डामा बिल तिर्न कुपन लिएर बसिरहेको थिएँ । धमलाजी पनि नयाँ मोटरसाइकलमा हुइँकिँदै त्यहाँ आए । नदेखे पनि हुन्थ्यो भन्दै थिएँ; कताकताबाट देखिहाले । “ए ! तपाईं पनि यहाँ ?” भन्दै हातमा कुपन तेस्र्याउँदै मेरै छेउमा आएर टुसुक्क बसे ।

“लिसाबाट उम्कियो पासामा, पासाबाट उम्कियो लिसामा भने झैँ नसुनौँ आफैले मोटरसाइकलको दाम कति पर्‍यो भनेर कुरा कोट्याएको, सुनौँ भने कहिल्यै नटुङ्गिने उनको भट्याइँ कतिञ्जेल सुन्नु ?”

“बुझ्नु भो लामिछानेजी ! त्यो मेरो आसामी महाको फटाहा । सुत्केरी उतार्न सकिनँ, पाँच महिनामा तिर्छु हजुर भनेर पाँच हजार लगेको पाँच वर्ष भयो । आजभोलि तिर्छु भन्छ, तर कहिल्यै तिर्दैन । अस्ति मन्दिरमा सातो बोलाएको, फेरि एक महिनाको भाखा सारेर सुइँकुच्चा ठोक्यो । यस्ता लुच्चाको पछि कति लाग्नु ? पैसा दिने माम्लोमा चाहिँ अलि छुच्चो नै हुनुपर्ने रहेछ । आफूलाई यस्तो समस्या परेको बेलामा त्यति भए पनि थपथाप हुन्थ्यो नि ।” उनले पुरानै प्रसङ्ग तेर्स्याइहाले ।

बाले मलाई मोटरसाइकल किन नकिनिदिएको भनेर आमासँग पनि गुनासो गरेछ । उसै त कुन कानमा सुन आमाचाहिँ गर्दन फुलाएर बसिसाध्य भएन । “अरूका छोरालाई बाउले जे भन्यो त्यही पुऱ्याइदिन्छन् । तर हाम्रो छोरालाई जाबो एउटा मोटरसाइकल किनिदिने भनेर भाखा राखेको पनि बसौं बितिसक्यो । बिचराको मनमा केको हर्ष होला र पढ्नु ?” भन्दै रातदिन कचकच गर्न थालिन् ।

हे फसाद ! कतिञ्जेल यसरी बहानबाजी बनाएर हिँड्ने । अबचाहिँ मोटरसाइकल नकिनी धर नपाइने देखेर रूपैयाँको भर गर्न लागेँ ।

एउटा साथीसँग केही महिनाको लागि पचास हजार सापट मागेको थिएँ । उसले पुग्यो भने विचार गरौँला भनेको थियो । उसलाई फोन लगाएँ तर पच्चीस हजारभन्दा पुगेन भन्यो । परेन फसाद । यसै ऋण उसै ऋण, ठुलै खसी किन् सम्झेर फेरि अर्को साथीसँग बिलौना गाएँ र रूपैयाँको बन्दोबस्त मिलाएँ ।

त्यसपछि मोटरसाइकल किन्न भनेर छोरो र म घरबाट निस्कियौँ । बजार पुगेपछि मात्र थाहा भयो, त्यो दिन शनिबार रहेछ । आफूले चिनेको मोटरसाइकल सोरूम नै बन्द ।

त्यस्ता मोटरसाइकल पसल बजारमा हजार नभएका होइनन् । तर उसलाई पहिलादेखि चिनेकोले अलि मिलाएर दिनुपर्छ है भनेको थिएँ । उसले आउनोस् न विचार गरौँला भनेर आश्वासन दिएको थियो । त्यो आसले पनि डाँडाँबास लायो ।

बजारका धेरै पसल डुलियो तर मनपर्दो कहीँ पाउन सकिएन । बाबु अर्को दिन किनौला भनेको त “तपाईंको भर छैन, आजै किन्ने हो। साइत गरेर हिँडेपछि पनि त्यसै फर्किन मिल्छ” भनेर मरिगए छोरोले मानेन ।

लौ त नि भनेर सोधखोज गर्दै हिँडेको बल्लबल्ल एउटा सोरूम फेला पर्यो । त्यहाँ धेरै प्रकारका मोटरसाइकलहरू पाइँदा रहेछन् । छोरालाई कुन किन्ने हो छान् भनेको उसले हेबीमा पनि रातो कलरको छान्यो । आफ्नो मनले पनि ठिकै मान्यो । साहुजीसँग थोरै बार्गेनिङ गरेपछि मोल पनि मिल्यो । यो मोटरसाइकलले ठ्याम्मै दुई लाख रूपैयाँ निल्यो भनेर तीन दिनको बकम्फुसे बहसपछि बल्ल दाम बताउने काम भयो ।

धेरैपछि उनलाई एउटा होटलमा दुई चार जना वरिपरि राखेर नास्ता खाइरहेको देखेँ । “ओहो ! हजुर कता ? भनेर सोधौँ कि जस्तो लागेको थियो । झल्याँस्स उही पुरानो कहानी सम्झेँ र हत्त न पत्त नमस्कार ठोकेर टाप कसेँ ।

तपाईं पनि कसैसँग केही कुरा कोट्याउँदा ख्याल गर्नोस् है ! नत्र उही मेरै जस्तो हाल पर्ला ।

०००
बुद्धिपुराण (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सहमति

सहमति

राजकुमार लामिछाने
साँढे पुराण

साँढे पुराण

राजकुमार लामिछाने
खाईजात्रे बजेट भाषण

खाईजात्रे बजेट भाषण

राजकुमार लामिछाने
नाग देवताय नमोनम:

नाग देवताय नमोनम:

राजकुमार लामिछाने
उस्तै उस्तै

उस्तै उस्तै

राजकुमार लामिछाने
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x