चिरञ्जीवी दाहालशहर
हात्ती छाप नोटको बदला युरो र डलर लिएर भोट खसाल्न पाइने छ । आठ दश वर्षपछि यता चुनाव लड्ने अधिकांश उम्मेद्वारहरू सात समुन्द्र पारीको ठूलो शहरबाट जहाज चढेर आउनेछन् ।

चिरञ्जीवी दाहाल :
जिन्दावाद, मुर्दावाद, थरिथरीका प्रर्दशन, व्यानर, पोष्टर र पम्पलेट । ढाँट छल र लुटपाट । किरा सरी मान्छे, चकाचौँध वातावरण, जताततै झिलिमिली, हल्लीखल्ली, गगनचुम्बी भवन, गाडी घोडाको आवतजावतले बाटो मेसो पाइएन भने बुझे हुन्छ त्यो शहर हो । पैसाले पैसा तान्छ भनेजस्तै मान्छेले मान्छे तान्ने रहेछ । त्यसैले सहरको भिडले गाउँका मान्छेहरूलाई तानिरहेको छ ।
सहरमा कोही रहरले तानिन्छन् कोही कहरले । केही मान्छे, वायुमण्डलमा उँडी रहेको पैसा च्याप्प समातेर झोलामा भरि हाल्छु भने झैँ, सुर्ती च्यापेर फुर्ती लगाउँदै गाउँ छोड्छन् । यौवन र उमेर बेचेर कुवेर बन्ने सपना देख्नेहरू देखि मट्टी बिसाउन अस्पतालका शैया र वृद्धाश्रमका आश्रयमा रमाउन बाध्य पारिएकाहरू पनि यही सहरमा बग्रेल्ती पाइने रहेछन् ।
साहित्यकार, कलाकार, पत्रकार, चित्रकारदेखि नेता, अभिनेता र गणतन्त्रका प्रणेतासमेत यही शहरमा भेटिन्छन् । दुराचारी, भ्रष्टाचारी, अत्याचारी, बलात्कारी समेत सहरमा बाक्लै पाइन्छन् । भनिन्छ, सुन विक्रेतादेखि नुन विक्रेता, मान्छेदेखि भान्छे विक्रेता मात्र बस्दैनन् यो शहरमा ! यहाँ त हजारौँ रुप रङ्गका मान्छे पाइन्छन् । यति मात्र होइन, दु;खको पोको बोकेर सुख साट्न हिँडेका आशावादी मनुष्यहरूको लर्को र तिनको उल्टै दुःखको पहाड खडा भएको ह्रृदय विदारक दृश्य पनि सिनेमाको पर्दामा जस्तै यही सहरमा देख्न पाइन्छ । त्यही भिडमा यो बबुरो पनि थपियो ।
उसो त मौसमले घर बाहिर पानी दर्काउँदै गर्दा घरभित्र मुटु थर्काउँदै बस्नेहरूको सङ्ख्या पनि सहरमा कम छैन । गोजी दह्रो भए रोजी छाडि पेट भर्न पाइने शहरमा, गोजी रित्तो भए मिठो मसिनो त के कुरा निस्तो भात पनि पाइँदैन । मनमोजी भएर हिँड्न त परै जाओस्, शहरमा जोगीको जति हैसियत पनि बनाउन कठिन हुनेरहेछ । जोगीले सजिलै मागेर गुजारा गर्छ तर मैले त्यो सुविधा लिन सकिनँ । नपत्याए तपाईं पनि एकदिन दिनभरि मागेर हेर्नुस् त शहरले तपाईंलाई सित्तैमा एक मुठी पानी पनि दिदैँन । भोक र तिर्खाले आकुल व्याकुल बनाउँछ । तपाईंका हात र खुट्टा गल्न थाल्छन् अनि चल्न छोड्ने छन् । बिस्तारै मुख पनि चल्दैन र एकदिन सास पनि चल्न छोड्ने छ ।
मेरो सल्लाह मान्नुहुन्छ भने सहरबासी बन्ने रहर गर्न छोडिदिनुस् । होइन रहर पुरा गरिसकेको भए सहरमा भोग्नु भएको कहर कसैलाई पनि नसुनाउनुस् । किनभने हामी यस्तो युगमा प्रवेश गरिसकेका छौँ कि अर्काको दुःख पीडा सुन्ने सम्म समय शहरसँग हुँदैन । तपाईं हाम्रो पीडामा शहरले मनोरञ्जन मात्र लिन्छ । खिसिट्युरी गर्छ । सरसहयोगको त कुरै छोड्नुस् । तर पनि मान्छेले सहरलाई आफ्नो गन्तव्य बनाउने क्रम भने खै किन पो हो रोकेका छैनन् । सम्झनुस् त कुनै दिन अगेनामा आगोको वीउ चाहियो भने सहरको कुन छिमेकीले तपाईंलाई आगो दिएर मदत गर्छ ? साँच्चै भन्ने हो भने सहरमा सलै, लाइटर नबोके बिँडी सल्काउने आगो पनि पाइन्न ।
निकै ध्यान दृष्टिले हेरियो, शहर कहिले कपटी बन्दोरहेछ, कहिले पापी र झेली । सहरले अरुलाई पनि आफूजस्तै बनाउने कोशिश गरिरहन्छ । जो शहर जस्तो बन्न तयार हुँदैन, पक्का छ उसले सजाय पाउँछ । त्यसैले होला शहरले मलाई पनि सहर निकाला गर्यो । मेरो सहर बस्ने रहर पूरा हुन सकेन ।
जब असल र इमान्दार ठानेर गाउँबाट छनौट गरेर सहर पठाएको मान्छे नेता बनेर सहर छिर्छ, सहरको नुन पेटमा पर्नासाथ बेइमान बनेर निस्कन्छ । अनगिन्ती बेइमान हरूलाई प्रत्यक्ष्य देख्न पाइयो । यही बेइमान शहरले तिनलाई नेताबाट विक्रेता बनाइदिन्छ । जसरी कविता बिग्रिए रमिता बन्छ । व्यङ्ग्य बिग्रिए नाङ्गै बन्छ । गाउँ बिग्रिए खाडी जाउँ भन्छ । यसरी नै बिग्रिएको नेता नामी विक्रेता बनेर निक्लने रहेछ । जब ती विक्रेता हुन्छन्, जनताको प्रतिनिधि भएको कुरा भुसुक्कै बिर्सन्छन् । तिनीहरूसँग कसैसँग बोल्ने फुर्सद पनि हुँदैन । तिनको काम कताबाट झर्छ, त्यतै पोल्टो थाप्दै हिँड्नु मात्र हुने गरेको छ ।
शहर बेइमान मात्र छैन । कहिलेकाहीँ यो निकै उदार पनि बनिदिन्छ । सहरले बिना टिकट निःशुल्क सिनेमा देखाएर सहरवासीको मन बहलाउने गरेको छ । केही समय अघि अपार भिडका साथ ‘बालुवाटार’ नामको फिल्म प्रदर्शनमा थियो । यसको समीक्षा पनि हुन पाएको थिएन ‘भुटानी शरणार्थी’ नामको चलचित्र प्रदर्शनमा आयो । केहीदिन चल्न पाएको भए यो सुपरहिट हुनेवाला थियो । तुरुन्त ‘स्वणर् क्विन्टल’ नामको चलचित्र प्रदर्शन भयो । आधा शहरवासीले पनि अवलोकन गर्न नपाइ पुनः ‘जलारी’ चलचित्रले ठाउँ पायो । अचेल ‘एनसेल -८०’ नामको चलचित्र चलिरहेको छ । इतिहासमै सबैभन्दा बढी लगानीमा बनेको यो फिल्म सुपर डुपर हिट हुने आंकलन गरिएको छ । शत प्रतिशत विश्वास गरे हुन्छ, यसले पनि रजत जयन्ती मनाउन पाउँदैन । किनकि अर्को कुनै फिल्म तुरुन्त प्रदर्शनमा ल्याइने छ । यसरी सहरवासीले निशुल्क फिल्म अवलोकन गर्न पाउनुलाई कसरी चानचुने कुरा भन्न सकिन्छ ? गाउँतिर भने यी फिल्मका चर्चा परिचर्चा मात्र हुन्छन् । आँखाले देखेर मनोरञ्जन लिन पाइँदैन ।
शहर प्रायजसो डुङ्डुङ्ती गन्हाउने गरेको छ । यही शहर कहिलेकाहीँ निकै निरिह देखिन्छ भने कहिले छोइ नसक्नुको हुन्छ । हुनत यसमा सहरको मात्र पनि दोष छैन क्यारे । मदहोस भएर जोश देखाउँदै हिँड्ने केही बोसहरूले होस गुमाएपछि अचेल सहर स्वयं पीडित बन्ने गरेको पाइयो । बाहिरबाट हेर्दा झिलिक्क देखिने सहरको आफ्नै दुःखदायी कथा र व्यथाहरू पनि रहेछन् । सहरले चिसो, स्वादिलो र ताजा पानी अञ्जुलीमा थापेर धित मरुञ्जेल पिउन नपाएको निकै वर्ष भएछ । सायद सहरलाई ताजा र स्वादिष्ट परिकारले पेट भर्न पनि लेखेको छैन । सधैँ बासी र नक्कली खाद्यान्नमा निर्भर हुनुपर्ने सहरको सबैभन्दा दुखद बाध्यता यही हुनुपर्छ ।
अनगिन्ती भातमाराहरूको बोझ, तिनैका महल, तिनकै दरबार र तिनका विकृति बोक्दा पनि हलुका ठान्ने गरेको शहरले केही थान भ्रष्टाचारी, अपराधी र तस्करलाई बोक्नु पर्दा भने निकै गुनासो गर्ने गरेको रहेछ । चिन्ता लाग्छ, यही बोझको पिरले सहर एकदिन खण्डहर बन्नसक्छ । भनिन्छ, यिनै पीडाबाट आजित भएको सहरले कहिलेकाहीँ त बरू गाउँ बनेर आनन्द लिने विचार पनि गर्दोरहेछ । तर यो सहरको दिवासप्न मात्र हो । गाउँ बरु सजिलैसँग शहरमा परिणत हुनसक्ला तर सहर कुनै पनि हालतमा गाउँ बन्न सक्दैन । एकछिन सोच्नुस् त ! सहरले गाउँ बन्ने कोशिस गर्यो भने मिल्छ ? बरू खण्डहर बन्छ , गाउँ त मरिगए पनि बन्न सक्दैन । शहरको अस्तित्व रहिरहन सातै दिन चोक र गल्लीमा ठडिएका घरका सटर खुल्ला हुनुपर्छ । संयोगले कुनै दिन सटर बन्द हुन थाल्यो भने सम्झनुस् त्यो शहर रहिरहन सक्दैन । त्यो गाउँमा परिणत पनि हुन सक्दैन । त्यो त मात्र खण्डहर बन्ने हो । दिउँसै भुतले तर्साउने खण्डहर । भुताहा चलचित्रमा जस्तै माकुराको जालो, चमेराहरूको राज्य र पुरातात्विक महत्वका अलपत्र सामाग्रीहरू यत्रतत्र छरिएर रहेका हुनसक्छन् । जहाँ छट्टु स्यालहरूको राज्य हुनेछ र उनीहरूकै दबदबा हुनेछ ।
जसले बचेखुचेका मान्छेहरूलाई बेला न कुबेला तर्साउन सक्छन् । अहिले राजा, राणा र पञ्चायतको भुतले तर्साइरहेको जस्तो । भुत अर्थात् पहिलेको वस्तु । जसको अस्तित्व वर्तमानमा छँदै छैन तर पनि यसले केही मान्छेलाई तर्साउन भने छोड्दैन । केही मान्छेहरू यस्तै भुतको डरले थर्थर काँपिरहेका देखिन्छन् । हो सहरले पनि कुनैदिन यिनै भुतले जस्तै तर्साउन सक्छ ।
अहिले पनि थोरै मान्छेहरू गाउँमा र धेरै जसो शहरमा जीवन बिताइरहेका छन् । कतिपय मानिसहरू गाउँमा बस्न चाहन्छन् र शहरबाट गाउँमा बसाई सर्ने सोचमा छन् होलान् । कतिपयले उल्टो सोच्छन् । शहरमा बसेर खुसी हुनेहरू पनि छन्, हुँदै नभएका होइनन् । गाउँको जीवनमा बानी परेका मानिसहरूलाई शहरको बसाई धेरै साह्रो र गाह्रो लाग्न सक्छ । हामीले त्यस्ता परिदृश्यहरूको बारेमा कुरा गर्दा, पक्कै पनि गाउँ र शहरमा बस्ने बीच प्रशस्त भिन्नता हुने गरेको पाइयो । गाउँमा भएको इमान्दारिता सहर छिर्न मान्दैन । सहरको बेइमानीपन गाउँ पस्न मान्दैन ।
जब देशमा चुनाव हुन्छ, सहरको बेइमानी प्रष्टसँग देखिन्छ । चुनावको बेला सहर टिकट बोकेर चुनाव लड्न गाउँ जान पल्केको छ । त्यसबेला गाउँमा पसिना बगाएर गाउँको रखवारी गर्नेहरू मासुभातको भरमा भोट खसाल्न मात्र विवश हुन्छन् । जब चुनावको नतिजा आउँछ, हार्ने र जित्ने सँगै सहर फर्कन्छन् । गाउँमा भोट खसाल्ने मात्र बाँकी रहन्छन् ।
अब यो सिलसिला झन् लम्बिने सङ्केत देखिन्छ । यही अवस्थामा मुलुकमा रहिरह्यो भने हामी निकै भाग्यमानी साबित हुनेछौँ । चुनावमा पुरानै परिकार मासु भात मात्र होइन अबदेखि दह्रो खाजा खान पाइने छ । हात्ती छाप नोटको बदला युरो र डलर लिएर भोट खसाल्न पाइने छ । आठ दश वर्षपछि यता चुनाव लड्ने अधिकांश उम्मेद्वारहरू सात समुन्द्र पारीको ठूलो शहरबाट जहाज चढेर आउनेछन् । अब हामीले चुनावमा उम्मेद्वारी दिने झन्झट व्यहोर्नु पर्दैन । झुक्किएर केही थान गाउँलेले चुनाव लडेर जितिहाल्यो भने ती पनि अब शहरिया बने भनेर बुझे हुन्छ । चिन्ता नलिनुस् भोट दिने चाहिँ तपाईं हामी सधैँ गाउँमा बस्नेहरूले नै हो । हाम्रो गाउँलाई चुनावमा जित्नु हार्नु नभएपछि भएन त हाइ सन्चो ? शहरले ठगेर, लुटेर खाए पनि गाउँलाई गुनासो छैन । शहरको जय होस् । शहरियाहरूको जयहोस् ।
०००
कालिका- ६, चितवन ।
Subscribe
Login
0 Comments
Oldest







































