साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहर

हात्ती छाप नोटको बदला युरो र डलर लिएर भोट खसाल्न पाइने छ । आठ दश वर्षपछि यता चुनाव लड्ने अधिकांश उम्मेद्वारहरू सात समुन्द्र पारीको ठूलो शहरबाट जहाज चढेर आउनेछन् ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

जिन्दावाद, मुर्दावाद, थरिथरीका प्रर्दशन, व्यानर, पोष्टर र पम्पलेट । ढाँट छल र लुटपाट । किरा सरी मान्छे, चकाचौँध वातावरण, जताततै झिलिमिली, हल्लीखल्ली, गगनचुम्बी भवन, गाडी घोडाको आवतजावतले बाटो मेसो पाइएन भने बुझे हुन्छ त्यो शहर हो । पैसाले पैसा तान्छ भनेजस्तै मान्छेले मान्छे तान्ने रहेछ । त्यसैले सहरको भिडले गाउँका मान्छेहरूलाई तानिरहेको छ ।

सहरमा कोही रहरले तानिन्छन् कोही कहरले । केही मान्छे, वायुमण्डलमा उँडी रहेको पैसा च्याप्प समातेर झोलामा भरि हाल्छु भने झैँ, सुर्ती च्यापेर फुर्ती लगाउँदै गाउँ छोड्छन् । यौवन र उमेर बेचेर कुवेर बन्ने सपना देख्नेहरू देखि मट्टी बिसाउन अस्पतालका शैया र वृद्धाश्रमका आश्रयमा रमाउन बाध्य पारिएकाहरू पनि यही सहरमा बग्रेल्ती पाइने रहेछन् ।

साहित्यकार, कलाकार, पत्रकार, चित्रकारदेखि नेता, अभिनेता र गणतन्त्रका प्रणेतासमेत यही शहरमा भेटिन्छन् । दुराचारी, भ्रष्टाचारी, अत्याचारी, बलात्कारी समेत सहरमा बाक्लै पाइन्छन् । भनिन्छ, सुन विक्रेतादेखि नुन विक्रेता, मान्छेदेखि भान्छे विक्रेता मात्र बस्दैनन् यो शहरमा ! यहाँ त हजारौँ रुप रङ्गका मान्छे पाइन्छन् । यति मात्र होइन, दु;खको पोको बोकेर सुख साट्न हिँडेका आशावादी मनुष्यहरूको लर्को र तिनको उल्टै दुःखको पहाड खडा भएको ह्रृदय विदारक दृश्य पनि सिनेमाको पर्दामा जस्तै यही सहरमा देख्न पाइन्छ । त्यही भिडमा यो बबुरो पनि थपियो ।

उसो त मौसमले घर बाहिर पानी दर्काउँदै गर्दा घरभित्र मुटु थर्काउँदै बस्नेहरूको सङ्ख्या पनि सहरमा कम छैन । गोजी दह्रो भए रोजी छाडि पेट भर्न पाइने शहरमा, गोजी रित्तो भए मिठो मसिनो त के कुरा निस्तो भात पनि पाइँदैन । मनमोजी भएर हिँड्न त परै जाओस्, शहरमा जोगीको जति हैसियत पनि बनाउन कठिन हुनेरहेछ । जोगीले सजिलै मागेर गुजारा गर्छ तर मैले त्यो सुविधा लिन सकिनँ । नपत्याए तपाईं पनि एकदिन दिनभरि मागेर हेर्नुस् त शहरले तपाईंलाई सित्तैमा एक मुठी पानी पनि दिदैँन । भोक र तिर्खाले आकुल व्याकुल बनाउँछ । तपाईंका हात र खुट्टा गल्न थाल्छन् अनि चल्न छोड्ने छन् । बिस्तारै मुख पनि चल्दैन र एकदिन सास पनि चल्न छोड्ने छ ।

मेरो सल्लाह मान्नुहुन्छ भने सहरबासी बन्ने रहर गर्न छोडिदिनुस् । होइन रहर पुरा गरिसकेको भए सहरमा भोग्नु भएको कहर कसैलाई पनि नसुनाउनुस् । किनभने हामी यस्तो युगमा प्रवेश गरिसकेका छौँ कि अर्काको दुःख पीडा सुन्ने सम्म समय शहरसँग हुँदैन । तपाईं हाम्रो पीडामा शहरले मनोरञ्जन मात्र लिन्छ । खिसिट्युरी गर्छ । सरसहयोगको त कुरै छोड्नुस् । तर पनि मान्छेले सहरलाई आफ्नो गन्तव्य बनाउने क्रम भने खै किन पो हो रोकेका छैनन् । सम्झनुस् त कुनै दिन अगेनामा आगोको वीउ चाहियो भने सहरको कुन छिमेकीले तपाईंलाई आगो दिएर मदत गर्छ ? साँच्चै भन्ने हो भने सहरमा सलै, लाइटर नबोके बिँडी सल्काउने आगो पनि पाइन्न ।

निकै ध्यान दृष्टिले हेरियो, शहर कहिले कपटी बन्दोरहेछ, कहिले पापी र झेली । सहरले अरुलाई पनि आफूजस्तै बनाउने कोशिश गरिरहन्छ । जो शहर जस्तो बन्न तयार हुँदैन, पक्का छ उसले सजाय पाउँछ । त्यसैले होला शहरले मलाई पनि सहर निकाला गर्‍यो । मेरो सहर बस्ने रहर पूरा हुन सकेन ।

जब असल र इमान्दार ठानेर गाउँबाट छनौट गरेर सहर पठाएको मान्छे नेता बनेर सहर छिर्छ, सहरको नुन पेटमा पर्नासाथ बेइमान बनेर निस्कन्छ । अनगिन्ती बेइमान हरूलाई प्रत्यक्ष्य देख्न पाइयो । यही बेइमान शहरले तिनलाई नेताबाट विक्रेता बनाइदिन्छ । जसरी कविता बिग्रिए रमिता बन्छ । व्यङ्ग्य बिग्रिए नाङ्गै बन्छ । गाउँ बिग्रिए खाडी जाउँ भन्छ । यसरी नै बिग्रिएको नेता नामी विक्रेता बनेर निक्लने रहेछ । जब ती विक्रेता हुन्छन्, जनताको प्रतिनिधि भएको कुरा भुसुक्कै बिर्सन्छन् । तिनीहरूसँग कसैसँग बोल्ने फुर्सद पनि हुँदैन । तिनको काम कताबाट झर्छ, त्यतै पोल्टो थाप्दै हिँड्नु मात्र हुने गरेको छ ।

शहर बेइमान मात्र छैन । कहिलेकाहीँ यो निकै उदार पनि बनिदिन्छ । सहरले बिना टिकट निःशुल्क सिनेमा देखाएर सहरवासीको मन बहलाउने गरेको छ । केही समय अघि अपार भिडका साथ ‘बालुवाटार’ नामको फिल्म प्रदर्शनमा थियो । यसको समीक्षा पनि हुन पाएको थिएन ‘भुटानी शरणार्थी’ नामको चलचित्र प्रदर्शनमा आयो । केहीदिन चल्न पाएको भए यो सुपरहिट हुनेवाला थियो । तुरुन्त ‘स्वणर् क्विन्टल’ नामको चलचित्र प्रदर्शन भयो । आधा शहरवासीले पनि अवलोकन गर्न नपाइ पुनः ‘जलारी’ चलचित्रले ठाउँ पायो । अचेल ‘एनसेल -८०’ नामको चलचित्र चलिरहेको छ । इतिहासमै सबैभन्दा बढी लगानीमा बनेको यो फिल्म सुपर डुपर हिट हुने आंकलन गरिएको छ । शत प्रतिशत विश्वास गरे हुन्छ, यसले पनि रजत जयन्ती मनाउन पाउँदैन । किनकि अर्को कुनै फिल्म तुरुन्त प्रदर्शनमा ल्याइने छ । यसरी सहरवासीले निशुल्क फिल्म अवलोकन गर्न पाउनुलाई कसरी चानचुने कुरा भन्न सकिन्छ ? गाउँतिर भने यी फिल्मका चर्चा परिचर्चा मात्र हुन्छन् । आँखाले देखेर मनोरञ्जन लिन पाइँदैन ।

शहर प्रायजसो डुङ्डुङ्ती गन्हाउने गरेको छ । यही शहर कहिलेकाहीँ निकै निरिह देखिन्छ भने कहिले छोइ नसक्नुको हुन्छ । हुनत यसमा सहरको मात्र पनि दोष छैन क्यारे । मदहोस भएर जोश देखाउँदै हिँड्ने केही बोसहरूले होस गुमाएपछि अचेल सहर स्वयं पीडित बन्ने गरेको पाइयो । बाहिरबाट हेर्दा झिलिक्क देखिने सहरको आफ्नै दुःखदायी कथा र व्यथाहरू पनि रहेछन् । सहरले चिसो, स्वादिलो र ताजा पानी अञ्जुलीमा थापेर धित मरुञ्जेल पिउन नपाएको निकै वर्ष भएछ । सायद सहरलाई ताजा र स्वादिष्ट परिकारले पेट भर्न पनि लेखेको छैन । सधैँ बासी र नक्कली खाद्यान्नमा निर्भर हुनुपर्ने सहरको सबैभन्दा दुखद बाध्यता यही हुनुपर्छ ।

अनगिन्ती भातमाराहरूको बोझ, तिनैका महल, तिनकै दरबार र तिनका विकृति बोक्दा पनि हलुका ठान्ने गरेको शहरले केही थान भ्रष्टाचारी, अपराधी र तस्करलाई बोक्नु पर्दा भने निकै गुनासो गर्ने गरेको रहेछ । चिन्ता लाग्छ, यही बोझको पिरले सहर एकदिन खण्डहर बन्नसक्छ । भनिन्छ, यिनै पीडाबाट आजित भएको सहरले कहिलेकाहीँ त बरू गाउँ बनेर आनन्द लिने विचार पनि गर्दोरहेछ । तर यो सहरको दिवासप्न मात्र हो । गाउँ बरु सजिलैसँग शहरमा परिणत हुनसक्ला तर सहर कुनै पनि हालतमा गाउँ बन्न सक्दैन । एकछिन सोच्नुस् त ! सहरले गाउँ बन्ने कोशिस गर्‍यो भने मिल्छ ? बरू खण्डहर बन्छ , गाउँ त मरिगए पनि बन्न सक्दैन । शहरको अस्तित्व रहिरहन सातै दिन चोक र गल्लीमा ठडिएका घरका सटर खुल्ला हुनुपर्छ । संयोगले कुनै दिन सटर बन्द हुन थाल्यो भने सम्झनुस् त्यो शहर रहिरहन सक्दैन । त्यो गाउँमा परिणत पनि हुन सक्दैन । त्यो त मात्र खण्डहर बन्ने हो । दिउँसै भुतले तर्साउने खण्डहर । भुताहा चलचित्रमा जस्तै माकुराको जालो, चमेराहरूको राज्य र पुरातात्विक महत्वका अलपत्र सामाग्रीहरू यत्रतत्र छरिएर रहेका हुनसक्छन् । जहाँ छट्टु स्यालहरूको राज्य हुनेछ र उनीहरूकै दबदबा हुनेछ ।

जसले बचेखुचेका मान्छेहरूलाई बेला न कुबेला तर्साउन सक्छन् । अहिले राजा, राणा र पञ्चायतको भुतले तर्साइरहेको जस्तो । भुत अर्थात् पहिलेको वस्तु । जसको अस्तित्व वर्तमानमा छँदै छैन तर पनि यसले केही मान्छेलाई तर्साउन भने छोड्दैन । केही मान्छेहरू यस्तै भुतको डरले थर्थर काँपिरहेका देखिन्छन् । हो सहरले पनि कुनैदिन यिनै भुतले जस्तै तर्साउन सक्छ ।

अहिले पनि थोरै मान्छेहरू गाउँमा र धेरै जसो शहरमा जीवन बिताइरहेका छन् । कतिपय मानिसहरू गाउँमा बस्न चाहन्छन् र शहरबाट गाउँमा बसाई सर्ने सोचमा छन् होलान् । कतिपयले उल्टो सोच्छन् । शहरमा बसेर खुसी हुनेहरू पनि छन्, हुँदै नभएका होइनन् । गाउँको जीवनमा बानी परेका मानिसहरूलाई शहरको बसाई धेरै साह्रो र गाह्रो लाग्न सक्छ । हामीले त्यस्ता परिदृश्यहरूको बारेमा कुरा गर्दा, पक्कै पनि गाउँ र शहरमा बस्ने बीच प्रशस्त भिन्नता हुने गरेको पाइयो । गाउँमा भएको इमान्दारिता सहर छिर्न मान्दैन । सहरको बेइमानीपन गाउँ पस्न मान्दैन ।

जब देशमा चुनाव हुन्छ, सहरको बेइमानी प्रष्टसँग देखिन्छ । चुनावको बेला सहर टिकट बोकेर चुनाव लड्न गाउँ जान पल्केको छ । त्यसबेला गाउँमा पसिना बगाएर गाउँको रखवारी गर्नेहरू मासुभातको भरमा भोट खसाल्न मात्र विवश हुन्छन् । जब चुनावको नतिजा आउँछ, हार्ने र जित्ने सँगै सहर फर्कन्छन् । गाउँमा भोट खसाल्ने मात्र बाँकी रहन्छन् ।

अब यो सिलसिला झन् लम्बिने सङ्केत देखिन्छ । यही अवस्थामा मुलुकमा रहिरह्यो भने हामी निकै भाग्यमानी साबित हुनेछौँ । चुनावमा पुरानै परिकार मासु भात मात्र होइन अबदेखि दह्रो खाजा खान पाइने छ । हात्ती छाप नोटको बदला युरो र डलर लिएर भोट खसाल्न पाइने छ । आठ दश वर्षपछि यता चुनाव लड्ने अधिकांश उम्मेद्वारहरू सात समुन्द्र पारीको ठूलो शहरबाट जहाज चढेर आउनेछन् । अब हामीले चुनावमा उम्मेद्वारी दिने झन्झट व्यहोर्नु पर्दैन । झुक्किएर केही थान गाउँलेले चुनाव लडेर जितिहाल्यो भने ती पनि अब शहरिया बने भनेर बुझे हुन्छ । चिन्ता नलिनुस् भोट दिने चाहिँ तपाईं हामी सधैँ गाउँमा बस्नेहरूले नै हो । हाम्रो गाउँलाई चुनावमा जित्नु हार्नु नभएपछि भएन त हाइ सन्चो ? शहरले ठगेर, लुटेर खाए पनि गाउँलाई गुनासो छैन । शहरको जय होस् । शहरियाहरूको जयहोस् ।

०००
कालिका- ६, चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x