केशवराज आमोदीपखेंटा
त्यसमा जुन रङ घोल्यो त्यही रङमा परिवर्तित हुने हुँदा लोकतन्त्रको प्रकार पनि नेताको बुद्धि-विवेक र स्वार्थ-लिप्साअनुकूल नै बन्दै जाने हुँदा सत्ता र शक्तिका भरका उडुवा नेताहरूकै कारण आजको लोकतन्त्र गलेका पखेटाले उडिरहेछ ।

केशवराज आमोदी :
साहित्यमा कत्ति पनि रुचि नभएका अभय र द्रोण साह्रै मिल्ने प्रोफेसर हुन् । यिनीहरूकै छायाँ बनेर अरु पाँचजना प्रोफेसरहरू पच्छ्याइरहन्छन् । गफैगफमा एकदिन द्रोणले भन्यो-
‘माटोको रङ्ग कस्तो हुन्छ ?’
‘माटो-विशेषज्ञलाई सोध्नुपर्ने प्रश्न मलाई सोध्छ’ प्रोफेसर खरले भन्यो । जे होस् तैले लोकतन्त्रको कुनै एक विशेषताको बारेमा भनिस् भने रातो, सेतो, कालो वा फुस्रो जे जस्तो होला खोतलेर माटाको रङ्ग भनूँला नि ।’
खर र दूषणको सवाल-जवाफको दोहरीलाई चर्काउन अरु पाँचजना प्रोफेसरहरू टाठिए । पढ्नमा साह्रै तेज भएका र रहरले इच्छाधीन गणित लिएर पढेका विद्यार्थीहरूले जाँचमा शत-प्रतिशत अङ्क ल्याउँदा मैले पढाएर ल्याएको हो भनेर फुटानी छोड्ने प्रोफेसर बिफल सुटुक्क खर र द्रोणको सवाल-जवाफ दोहोरीबाट लुसुक्क बाहिरिएझैँ भू-गर्भविद् रहेको प्रोफेसर सुन्दर चैँ पृथ्वी, जल, वायु, अग्नि र आकाशको रङ्ग सोध्ने हुन् कि भनी त्यहाँबाट लाप्सिएपछि हिजोसम्मका हिज्जेहरू रातभरिमा रूप बदलेर विरूप भई हाँसिरहेका देखी नेपाली विषयका प्रमुख पनि सभास्थलबाट अन्तरध्यान भइसकेका थिए ।
‘यस्ता जाबा लोकतन्त्रको रङ्ग भन्न सक्दैनन् । कसरी प्रोफेसर भयो होलान् ? अचम्म !’ भन्दै द्रोणले प्रश्नको गाँठो फुकाउँदै भन्यो- तिमीहरूबाट कुनै प्रश्नको सही उत्तर आउँछजस्तो लागेन र म आफैँ भन्दै छु ।
‘सुन ! माटोमा किसानले खनजोत गरेर बिउ छर्छ । छरेको बिउ फुटेर पहेंलो रूप लिएर बाहिर प्रकट हुने हुँदा माटो रङ्ग दशैँको जमराजस्तै पहेंलो हुन्छ तर पहेंलोमा बिरुवामा घामको राप परेपछि हरियो बन्दै जान्छ र सूर्यको किरण परेपछि हरियो हुने हुँदा सूर्यको रङ्ग हरियो हुने प्रष्ट हुन्छ । यता पानीको कुनै रङ्ग हुँदैन, त्यसमा जुन रङ घोल्यो त्यही रङमा परिवर्तित हुने हुँदा लोकतन्त्रको प्रकार पनि नेताको बुद्धि-विवेक र स्वार्थ-लिप्साअनुकूल नै बन्दै जाने हुँदा सत्ता र शक्तिका भरका उडुवा नेताहरूकै कारण आजको लोकतन्त्र गलेका पखेटाले उडिरहेछ ।’
द्रोणका मनगढन्ते तर्क सुनिरहेका बाँकी प्रोफेसरहरू आकाशमा बतासिएको चङ्गा समात्न बालकहरू दौडिएझैँ उडिरहेको लोकतन्त्रको पखेटा समाउने प्रयासमा सलबलाउन थाले ।
०००
सुखौरा, तनहूँ हाल रत्ननगर चितवन
Subscribe
Login
0 Comments
Oldest







































