शम्भु गजुरेलसाहित्य पार्टी
राजनैतिक पार्टी चलायमान र गतिशील हुन्छ त्यहाँ आलोचना र विमर्श स्वीकार गर्न सक्ने राजा युवरा हुन्छन् तर मैले नियालेका सबैजसो साहित्यिक पार्टीका वादशाह आजीवन नायक हुने रहेछन् राणाले श्री ३ बोके जस्तै ।

शम्भु गजुरेल :
कलम र कापी बोकेर शाब्दिक कनिका टिप्दै गर्दा देवको भण्डारदेखि रैतीको कुँडार नियालियो, खोतलियो ! टक्टक्याइयो घटेराको गुन्द्री, निचोरियो माझीको कछाड, फुस्काइयो बाबाको लङ्गौटी, चुडालियो मुखियाको कन्दनी अनि उछालियो महाराजाको पगरी ।
मान्द्रोको सिल्लीदेखि आन्द्रो भित्रको चिल्लीसम्म केलाइयो, भावनाको मट्याङ्ग्रालाई कल्पनाको गुलेलीमा तानेर आस्थाको खुत्रुके पनि फुटाइयो, निर्धालाई कुटेर र निरीह लुटेर दौलत पनि जुटाइयो ।
अर्काको घारी फाँडेर चियोचर्चो गर्दा आफ्नो अनाडी च्यात्तिएर लज्जाको फिर्फिरे भर्भराएको याद नै भएन, नीरको लिँडलाइ निरमसी भनेर बेचेको दमडी र पाउडर दलेर उकासेको चमडी चुम्चुमाउँदै आफ्नै लोहोरे नाक सुम्सुम्याउँदै गर्वको गगनमा गफको गगन यान बनाउँदै थिएँ म तब नियालेर हेर्न मन लाग्यो म अनि म जस्तै शब्दका कनिका टिपेर अर्काको हुर्मत उडाउने कलमका मालिकहरूको कट्टी तल नाङ्गिएको नग्नता खोतल्न निस्किएँ म संस्थागत कनिके पार्टीको पार्टी कार्यालयको परमाणु निरीक्षणमा ।
साहित्य पार्टी चुनाव चिन्ह पनि नचाहिने, मतदाता पनि नचाहिने राजस्वको रसिद र केही वफादारको जन्मकुण्डली धितो राखेर लिईने नामाकरण तथा पञ्जिकरण पुस्तिकाको पात्रो पाए पश्चात् आफूलाई परमात्माको दूत, सरस्वतीको अंश, गणेशको कलम, पिंगल, पाणिनी सबैको अंशद्वारा निर्मित अलौकिक शक्तिको रूपमा परिभाषित गराउन उद्दत सभापति अथवा अध्यक्ष अथवा संयोजक अथवा बा आदि उपाधिधारक ‘गद्दीनसिन’ संस्थाका नरेशमा रहने असीमित शक्तिले मध्ययुगीन राज्य व्यवस्थाको याद दिलाउँछ ।
भारदार सभा रहन्छ एउटा जहाँ हुन्छन् हुक्के बैठके तर आदेशपालक मात्रै, साहित्य पार्टीको लगभग एउटा अघोषित विधान नरेशको मानसपटलमा झाँगिएको हुन्छ, विधानमा निर्वाचन या त गरिनुहुन्न हैन भने जनवादी केन्द्रियता अनुरुप हुनुपर्छ र केन्द्रियताको आशिर्वाद परमात्माको दरबारबाट नरेशको कणर्मा प्रेषित गरिने छ । नियाल्दै जाँदा देखिएका पोका पुन्तुरामा विक्रीका लागि सजाइएका दोसल्ला, गुणगान, प्रशस्तिपत्र,आदिको मूल्य अनुरुप खात लागेका हुन्छन्, छट्पटाउँदै हुन्छन् भित्तामा भानु, लेखनाथ, लक्ष्मी, हरिभक्त, जे बि टुहुरे अनि जीवन शर्मा ! गलबन्दीदेखि दोलाएसम्म बेचिन्छन् सम्मानको खोलमा पोको पारेर, साटिन्छ धेरै प्रमाणपत्र र पुरस्कार एक महिनाको अन्तरालमा । सदस्यता बेच्नु उचित मान्न सकिएला तर साहित्य पार्टीको जिन्दगीभरिको सदस्य पैसाले बेचिन्छ अनि खरिद पनि गरिन्छ एक पाना प्रमाणपत्र र फेसबुक फोटो सजावटको लाँलचमा !
राजनैतिक पार्टी चलायमान र गतिशील हुन्छ त्यहाँ आलोचना र विमर्श स्वीकार गर्न सक्ने राजा युवराज हुन्छन् तर मैले नियालेका सबैजसो साहित्यिक पार्टीका वादशाह आजीवन नायक हुने रहेछन् राणाले श्री ३ बोके जस्तै । पार्टी पञ्जिकरणको सामान्य प्रक्रियामा पनि आवधिक निर्वाचनको वाध्यकारी परिधी कोरेको भएपनि सुपर कमान्डरको लहड वा सपना वा वचनवद्वताले साहित्य पार्टी कार्यालयलाई वाजको नङ्ग्राले कोक्कले च्यापे जस्तै च्यापेको हुन्छ । आर्थिक सूचाङ्क गिरेको बेलामा ग्रामीण यात्रमा वा कसैको पुजनार्थ हुने विशेष अनुष्ठानमा व्याच वितरण र चिया बाँड्नु पदाधिकारीको कार्यक्षेत्र अन्तरगत पर्दछ । अर्थले उकालो चढेको बेलामा नवीन पोसाकधारी सेवक नियुक्ति गरिन्छ र कानुनी रूपमा मान्यता पाएका पार्टी सदस्यलाई देब्रे पाउको पैतालाको किनाराले चरणाशिष दिँदै जुठेल्नो कटाइन्छ भन्ने कथनको यथार्थता परिक्षाको क्रममा सबै सत्य नभएको पाएँ, ९९% पैँचो चलेपनि १% बाकी हुन्छ, अध्यक्षहरू आजीवन हुदैनन् किनभने आजीवन भए भन्न जीवन छँदै भन्न मिल्दैन, विक्री हुने माल धेरै भए पनि चिया सित्तैमा पाइने भएकोले सबै कुरा असत्य भएको निष्कर्ष सहित आगामी दिनहरूमा साहित्य पार्टीको विस्तारिकरण गर्दै अध्यक्षहरू मात्र उपस्थित रहन मिल्ने साहित्य पार्टी मोर्चाको गठन हुनु जरुरी छ र विधानमा राखिएको अधिवेशनको प्रावधान हटाउने आन्दोलनका साथै सम्मान र कदरको दर कानुनी रूपमा निर्धारण गर्ने अधिकार अध्यक्ष , सभापति , नरेश जो भएपनि उहाँकै बाहुलीमा निहित रहनुपर्छ भन्ने तर्फ अगाडि बढ्नुपर्ने आवश्यकता निर्क्यौल गरेर जुन उदाएपछि घर पुगेको भात हिमाल पुगेछ अर्धाङ्गिनी सूर्य जस्तै तातो अनि बल गरेर चिसो भात निलेँ, पल्टेँ अनि भने हाम्रो पार्टी जिन्दावाद ।
०००
नुवाकोट, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































