साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फिताकटान समारोहको तयारी गरिराखौं

नेपालमा पानी किन पर्दैन भन्ने विषयमा सगरमाथामा मन्त्रीगोष्ठी गरिन्छ भने नेपालमा किन सुख्खा लाग्यो भन्ने विषयमा वासिङ्टनमा मन्त्री भेला आयोजन गर्न कुनै संस्थाहरू तयार पर्नुहोस्, नेपालीलाई किन भोक लाग्छ भन्ने विषयमा जेनेभामा गोष्ठी गर्न तयार पर्नुहोस् ।

Nepal Telecom ad

होम सुवेदी :

के चाल परेर हो कुन्नि मन्त्रीहरू फेरिन यसपालि अलिक ढिलो भइसक्यो । दुईदुई महिनामा फेरिनु पर्ने हो । खै किन ढिलो भएको हो कोनि । यसपालिका कुकुर समेत बियाइसके के चालले हो कुन्नि मन्त्री फेरिएनन् । लाटाले पनि लङ्गौटी फेरि सक्यो कनि ढिलो भो, अचम्म लाग्छ । जनताहरूलाई बढो खल्लो लागिरहेको छ । अरु भन्दा पनि अबिर, फिता, दोसल्ला, दोलाइँ आदिका बेपारीहरूका भने अलिक मन्दीका दिन आएका छन् ।

मन्त्री नफेरिँदा विक्रीबट्टामा मन्दी छ । चुनाव आउँन बाँकी छ । चुनावमा पर्चा छापेर केही कमाइधमाइ गरी खाएका प्रेसहरूले चुनाव नआउने देखेपछि फिता, कैँची, थाली आदिको बेपार गरेर केही भए पनि खायोजियोको बाटो गर्दै आएका थिए त्यसमा पनि यता केही दिनदेखि मन्त्रीहरूको कार्यक्रममा कमी आएकाले उनीहरूको बेपारमा घाटो पडेको छ । तर नआत्तिनुहोला, अब फेरि मन्त्रीहरू फेरिने हल्ला आएका छन्, मन्त्री फेरिनु भनेको बिहे र वर्तमानको लगन जस्तो होइन क्यारे । मौका पर्नासाथ फेरिइहाल्छन् ।

उनीहरू फेरिएपछि सचिव, महाप्रबन्धक, हाकिम लगायतका सबै झोले चम्चे हुक्के बैठके आदि फेरिइहाल्छन् । अनि उनीहरूको काम उद्घाटन, शिलान्यास, विमोचन, भासन र फिता कटान न हुन्छ । लगनका लागि सुन स सिन्दुरपोतेको बेपार भएझैं मन्त्री फेरिएको बेलाका लागि मजाका रिबिन, कैँची, दोलाइँ, दोसल्ला, ममबत्ती, सलाई आदिको राम्रै बेपार हुने मौका आइहाल्छ ।

यसैले आत्तिने काम छैन । बेपारमा कहिले मन्दी कहिले चढ्ती हुनु ता जायजै न हो । बरू अब फेरि नयाँ मन्त्रीहरू आएपछि पहिले मन्त्री क्वाटर सिँगार पेटार गर्नेले तयार हुनुहोला । नयाँ नयाँ स्वकीय सचिवका दाबेदारहरू तयार हुनुहोला । प्रेस सल्लाहकारहरूले पनि लगन हुन आँटेको बुझेर तयारी गरिराख्नु होला । मन्त्री फेरिन ढिला हुने छाँट आयो भने तयार पारिराखेका बन्दकर्ताको कोटामा बन्दकर्ताहरू भर्ना गरिराख्नुहोला । ढिलो हुन लागे उनीहरूलाई केही टायर र केही लढ्ठी जस्ता बन्दोबस्तीका साधनको बन्दबस्त गरेर काम फत्ते गराउनु होला । उनीहरूलाई उक्साएपछि मन्त्री फेरिन के बेर ! सुतली बमबारे आफैँ सोच्नुहोला ।

केही लठ्ठैतरूपी भ्रातृसङ्गठनलाई पनि तयारी पारिराख्नुपर्छ । गाउँ नगरमा मेरो पकड छ भन्ने कुराको देखावाका लागि केही मुन्द्रेहरू भर्ना गरिराख्नु राम्रो होला । एन.जी.ओ.हरूले पनि मन्त्री फेरिएको मौकाको सदुपयोग गर्न सचेत हुनु राम्रो हो । लगन हुनै आँटेको छ । लगन आउँछ, पर्खँदैन, बगेको खोला फर्कँदैन । कविहरूले कविताको पुस्तक विमोचनका लागि तयार हुनुपर्‍यो, अनि गजलकारले पनि । पुरस्कारदाताहरूले पनि पुरस्कार बाँड्न तयार परेर बस्नुहोला । हतार गर्नु छैन । नयाँ मन्त्रीको हातबाट फिता कटाएर, विमोचन गराएर, उद्घाटन गराएर आफ्नो अनुहार टेलिभिजनमा हेर्नु मात्र होइन लभलाभ हासिल गर्नु छ । एनजीओहरू छलफलका लागि विषय तयार पारिराख्नुहोला । गोष्ठीको उद्घाटन गरेर लाभ लिन पल्केकाहरूले पनि नयाँ मन्त्री सचिबका हातबाट त्यो उद्घाटन गराएर केही न केही हासिल गर्न सहज पर्नेछ । प्रायोजन गर्ने रक्सीका तुङ्बा पार्नेहरूले पनि रक्सी जाँड तयार पारिराख्नुहोला ।

त्यसपछि गोष्ठी उद्घाटन हुनेछन्, मन्त्रीहरूले मन्तव्य प्रकट निहुँमा भासनको विष्टा जनताको कानमा बिस्ट्याउनेछन् । गोष्ठीको ठेक्कापट्टा लिएका क्लवहरूले गोष्ठीका लागि उपयुक्त शीर्षक छानिराख्नुहोला । दोसल्ला ओढाउने काममा लागेर जीविका चलाएकाहरूले पनि फेरिने मन्त्रीहरूका लागि दोसल्लाको जोहो गरिराख्नु होला । दमला, अमला, कमलाजीहरूले नेपालीहरूका थाप्लामा कति न छ, नेपालीहरूलाई कस्तो लङ्गौटी उपयोगी हुन सक्छ, एक नेपालीलाई कति चुस्न सकिन्छ, चन्दाको आतङ्कलाई घरघरानमा कसरी पुर्‍याउन सकिन्छ, नेपालीले सल्लाको खोटो र दियालो कुन मुलुकबाट ल्याउँदा सरकारलाई फाइदा र मन्त्रीलाई कमिसन मिल्छ, अब नेपालीहरूले कस्तो साइजको टुकी बाल्नु पर्ने हो, कुन जलविद्युत आयोजनामालाई नजिकैका बाँदरे सेनाहरू भिडाएर बन्द गर्दा कति फाइदा हुन्छ भन्ने जस्ता विषयहरू तयार पारेर राखिछाड्नुहोला । पछिबाट विषयको कमीले लाभ लिन नसकिएला नि !

यसबाहेक बाँदर अधिकार आयोगमा कार्यरत बाँदर अधिकार कर्मीहरूले पनि मौकाको फाइदा उठाउन बिर्सनुहुँदैन । अब फेरि बटन अन गर्ने बेला आएको छ । अस्ति थुनिएका ज्यानमारा सांसदलाई नयाँ राष्टपतिले बलात्कार र ज्यानमारेको सजाय मिनाहा गर्नुहुनेछ । यसैले उनलाई जेलबाट लिन लावालस्करका साथ बाजागाजा लिएर जानुहोला । रिबन काट्ने बेला आएको छ । टेलरिङ्हाउसहरू, अबका मन्त्रीलाई दौरा सुरुवाल चाँहिंदैछ । त्यस्तो कुरा सिलाएर फजुल खर्च नगर्नु होला । बरू मन्त्रीक्वाटरका पर्दाहरू सिलाइराख्नुहोला । सोफाबेपारीहरूले सोफा तयार गर्नुहोला, पलङ कताबाट ल्याउने हो त्यो कुरा मौकामै बुझिराख्नु होला । मन्त्री फेरिनासाथ तोक आदेश तामेल गराइहाल्ने खालका सचिबलाई पनि चिनिराख्नुहोला ।

नेपालीको आन्द्रो कति सुकेको छ, नेपाली आमाहरूको अस्मिता भारतमा कति दाममा बेचिन्छ कतार र दुबईमा नेपालीको कुन हालत छ भन्ने जस्ता विषयहरूमा सेमिनार गर्न इनघुरेट, सुँगुरेट, बङ्गुरेट, हुरहुरेट, टुरटुरेट जस्ता बाँदर अधिकारकर्मी संस्थाहरूले पनि सम्भव भए विदेशमै नभए पनि सोल्टी, एभरेष्ट, याक एन्ड यति आदि होटलमै कार्यक्रम गर्न तयार परिरहनु होला । दाताहरूको खोजी गरिरहनु होला । नेपालमा पानी किन पर्दैन भन्ने विषयमा सगरमाथामा मन्त्रीगोष्ठी गरिन्छ भने नेपालमा किन सुख्खा लाग्यो भन्ने विषयमा वासिङ्टनमा मन्त्री भेला आयोजन गर्न कुनै संस्थाहरू तयार पर्नुहोस्, नेपालीलाई किन भोक लाग्छ भन्ने विषयमा जेनेभामा गोष्ठी गर्न तयार पर्नुहोस् । नेपालमा किन बच्चा जन्मन्छन् भन्ने विषयमा टोकियोतिर गोष्ठी गराउनुहोस् । अरु अरु अरु मैले यहाँ नसम्झेका कतिपय विषयहरूमा समेत विदेशमा गएर गोष्ठी गर्न तयार पर्नुहोला, अन्यथा पछि परिएला । डलर अरुले कमाउला ! मन्त्रीहरू फेरिने हल्ला छ, सबै थोकको जोहो गरिराख्नुहोला ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x