दया लागेर आउँछ
यी उनको कुरा काटेर नथाक्नेहरू उनैलाई अगुवा बनाएर उत्सव मनाउँछन् मलाई यी महाजनको अक्टोपस प्रवृत्तिभन्दा बेसी दहीचिउरे जमातको दया लागेर आउँछ ।
युवराज भण्डारी :
मास्टर दृष्टान्त दिँदै पढाउँथे
पण्डित शास्त्र सम्झँदै अर्थ्याउँथे
बुबा हरेक दिन संस्कार सिकाउँथे
दया, करुणाको पाठ बारम्बार घोकाउँथे ।
सायद त्यही कारण होला
मभित्र दयासागर नै उर्लेको छ
मानिस भएपछि
दया सबै जीवको बराबर लाग्नुपर्ने हो
तर मलाई
मानवीय प्रवृत्ति अद्भूत लाग्छ
त्यसैले सबैभन्दा बेसी
मानिसकै दया लागेर आउँछ ।
देख्यौ नि उनलाई ?
यो समाजको नजरमा
उनी ठूला समाजसेवी हुन्
दिनभरि समाजसेवा
रातभरि काठ तस्करी गर्छन् ।
उनी सबै जीव-जीवात्माको साझा संसारलाई
आफ्नो पेवा ठानेर दिनहुँ
वातावरणलाई बलि चढाउँछन्
तर
जब दुनियाँ
उनलाई सम्मानित गर्दै
सहअस्तित्व र पर्यावरण संरक्षणको महत्त्व
उनीबाट बुझ्छ
मलाई उनको भन्दा ज्यादा
उनलाई खादा पहिराउनेको
दया लागेर आउँछ ।
उनलाई हेर
यो शहरको एक अरबपति
फोहोरको डङ्गुर खोतल्दै छन्
अवकाशको कमाइ भन्दै
फोहोरमा मोहोर खोज्दै हिँड्छन्
बोतल र कागज बेच्न पसल पसल चहार्छन्
यो उनको रोग हो या लोभ भगवान् नै जानून्
मलाई भने उनको भन्दा बेसी
वातावरणप्रति गैरजिम्मेदार समाजको
दया लागेर आउँछ ।
ऊ उता हेर
एक धनाढ्य बजारतिर जाँदै छन्
जब त्यो चोकमा पुग्छन्
सधैँ त्यो भिखारीसँग
खर्चको समस्या देखाउँछन्
त्यो बेला मलाई भिखारीको भन्दा बढी
ती महाजनको दया लागेर आउँछ ।
पर्तिर हेर
मास्टर्नी नानी
सजिसजाउ त्यो गरिब बस्तीतिर जाँदै छिन्
जब चौतारोमा
झुत्रेझाम्रे भोकले पिल्सिएका अनुहार देख्छिन्
मासुभात, भोज र मोजको गफ चुट्न थाल्छिन्
मलाई ती भोका पेटलाई
‘कठै’ मात्र भन्न मन लाग्छ
मास्टर्नी नानीको भने साह्रै दया लागेर आउँछ ।
उनको चाला हेर
उनी नवधनाढ्य हुन्
शहरमा उनका दशौँ घर छन्
हरतरहका दलालीले नपुगेर
मानव-तस्करी गर्छन्
अनि, दुनियाँको मुखेन्जी
सेवा र सत्सङ्ग रट्छन्
तर, जब अरू बेला
यी उनको कुरा काटेर नथाक्नेहरू
उनैलाई अगुवा बनाएर
उत्सव मनाउँछन्
मलाई यी महाजनको
अक्टोपस प्रवृत्तिभन्दा बेसी
दहीचिउरे जमातको दया लागेर आउँछ ।
०००
हालै प्रकाशित कवितासङ्ग्रह ‘अर्को कर्नाली’ बाट