युवराज भण्डारीघामको प्रेरणा
उज्यालो बाँड्दै ओर्लिन्छ घाम हिँड्नेहरूलाई बाटो देखाउन । तर, आँखा भएकाजति सबैले बाटो देख्दैनन् जसले पथ पहिल्याएर देखाउँछ त्यही आँखाको पछि लाग्छन् अरू आँखा ऊ प्रेरणा बन्छ ।

युवराज भण्डारी :
घामको पहिलो किरण
कसलाई पो मन नपर्ला !
पातभरि
चिसो आँसुले भिजेर
न्यानो स्पर्शको प्रतीक्षामा हुन्छन्
रुख–बिरुवाहरू
गरिबीका छेदबाट पसेको स्याँठले
कठाङग्रिएका जिउभरि
असुरक्षाले काँपेका मन लिएर
न्यानो घाम
कुरिरहेका हुन्छन्—
सुकुमबासीका सपनाहरू
अनि, सडकमा हात फैलाइरहेका पेटहरू !
मिरमिरे बिहानी
सबैले पर्खिरहेका हुन्छन्— दैलो उधार्न ।
महलको ढोकाबाट छिर्ने घाम
झुपडीको ढोकाबाट पनि पस्छ
घामका किरणहरू असमानता मान्दैनन्
विभेद मान्दैनन्
सबैलाई समान रूपले स्पर्श गर्छन्
सबैलाई उत्तिकै न्यानो दिन्छन्
उज्यालोको प्रवेशले
आरम्भको आभास सबैलाई दिन्छ ।
उज्यालो बाँड्दै ओर्लिन्छ घाम
हिँड्नेहरूलाई बाटो देखाउन ।
तर, आँखा भएकाजति
सबैले बाटो देख्दैनन्
जसले पथ पहिल्याएर देखाउँछ
त्यही आँखाको पछि लाग्छन् अरू आँखा
ऊ प्रेरणा बन्छ ।
०००
तनहुँ, हाल: क्यानडा
‘अर्को कर्नाली’ कवितासङ्ग्रह (२०८०)
Subscribe
Login
0 Comments
Oldest







































