रामप्रसाद पन्थीमट्याङ्ग्राकाे सत्यानास
जेसुकै भए पनि बेलाबखत फित्काैली खेलाउन छाेडिन्न । हेर्दै जाउँ कुनै दिन मट्याङ्ग्राले कसाे न्याय नपाउला र ? आशा गराैं मट्याङ्ग्राकाे सत्यनाश हुने छैन । फित्काैलीकाे पनि कुनै दिन सम्मान हुनेछ ।

रामप्रसाद पन्थी :
बुझ्नै कठिन बुझ्याे झन कठिन झन झन बुझ्याे झन कठिन भन्ने भनाइलाई मैले शिराेपर गरेकाे छु । त्यसैले आज केही नबुझेकै कुरा बुझ्नेहरूका सामु राख्ने चेष्टा गरेकाे छु ।
याे बज्रस्वाँठलाई जति बुझाए पनि काम छैन । यस्तालाई बुझाउन खाेज्नु भनेकाे अर्थ न वर्थ गाेविन्दी गाई टाउकाे दुःखेकाे ओैषधि नाइटोमा लगाई भनेजस्तै हुन्छ । बुझ्नेलाई पाे श्रीखण्ड ; नबुझ्नेलाई खुर्पाकाे बिंड त्याे पनि नबुझ्नेलाई मुसाकाे लिंड भनेकाे यहीँ हाे । याे बज्रस्वाँठलाई पढाउनु, बुझाउनु भनेकाे बालुवामा पानी खन्याउनु जस्तै हाे । ताेरी पेले पाे तेल आउँछ बालुवा पेलेर के आउँछ ? स्कुल पढ्दा सरले दिएका प्रतिक्रिया हुन् यी ।
वास्तवमा म नबुझ्ने मान्छे नै हुँ । मैले याे संसारका धेरै रीति र थिति बुझ्न सकेकाे छैन । नबुझ्ने मान्छेलाई सरले बज्रस्वाँठ भनेकाेमा आपत्ति पनि छैन । नबुझ्नेमा दरिए पछि बुझें भनेर बुझ पचाउनु पनि छैन ।
रूखकाे टुप्पाेतिर बसेर फेंद काट्ने कालीदास महाकवि बनेकाे कथा स्कुलमा सरले सुनाएका थिए। याे कथा सुनेपछि मलाई पनि महाकवि बन्न मन लाग्याे । मैले पनि बन्चरो लिएर रूखकाे टुप्पातिर बसी फेंद काट्दा रूखबाट खसेर करङ् भाँचियाे तर महाकवि बन्न सकिएन । रत्नाकर डाँकु आदिकवि वाल्मीकि बनेकाे कथाले पनि त्यसैगरी झुक्यायाे । आदिकवि बन्ने धुनमा डाँकु बनेर हिड्दा पुलिसले खाेरमा लगेर उल्टाे धुलाई गर्याे । आदिकवि बन्न सकिएन । तरबार भन्दा कलम बलियाे हुन्छ भनेकाे सुनेर कलम लिएर बाघसित लड्न खाेज्दा झन्डै परमधाम पुग्नु परेकाे कुरा सम्झदा पनि आङ् जिरिङ्ग भएर आउछ । यी त भए बज्रस्वाँठका जीवनका प्रतिनिधि घटना । यस्ता धेरै उपायहरू बज्रस्वाँठले अवलम्बन गर्दा केवल हात लाग्याे शून्य ।
घुम्दै फिर्दे रूम्जाटार भनेझैं कहाँ कताबाट फित्काैलीसित जाेडिन पुगियाे थाहा छैन । आफू परियाे उट्पट्याङ् गरिरहन पर्ने मान्छे । नामै बज्रस्वाँठ । फित्काैली पनि म जस्तै बज्रस्वाँठहरूकाे अखडा रहेछ । उपद्राे लेख्ने । उपद्राे बाेल्ने । साेझाे नदेख्ने । साेझाे नलेख्ने । साेझाे नबुझ्ने । नबुझ्नेहरूकाे मण्डली । काेही चट्याङ मास्टर , काेही लुइँटेल जुँगे काजी । काेही मजस्तै केही नबुझ्ने बज्रस्वाँठ पाजी ।
फित्काैलीसित लभ परेकाे धेरैले थाहा पाएछन् । पाए पाऊन् मलाई बाल भएन । बाल नभएकाे सम्म त ठिकै थियाे । धेरैले अर्थ नबुझ्दा बबाल भएछ । धेरैले अर्थ खाेज्दा मेराे भने कपाल दुःखाइकाे विषय भयाे । शब्दकाेशहरू पल्टाएर हेरें । हेर्दा हेरेकाे हेरै भएँ । लेखेकाे रहेछ :` फुत्+क+ओैली ( फुत्क+ ओैली) = फित्काैली । ´ गाेबरले भरिएकाे गिदीले केही भेउ पाउन सकेन । फुत्क+ ओैली = फुत्काैली हुनु पर्ने कसरी फित्काैली भयाे ? बज्रस्वाँठ केही नबुझ्ने ल्वाँठले शब्द कसरी बन्छन् र तिनले के भन्छन् भन्ने कुरा के स्वाद ! तपाईंलाई थाहै छ । म त हलेदाे न परें । त्यसैले यस विषयमा काेट्याएर मेरै कित्तामा नआइदिनु हाेला ।
ढुङ्गा ,मट्याङ्ग्रा आदि हान्न हुने बाँसकाे लचिलाे चेप्टो खालकाे कप्टेराेलाई फित्काैली भन्दा रहेछन् । केटाकेटीहरूले फित्काैलीले ढुङ्गा हान्दा रहेछन् । आफू केटाकेटी छँदा फित्काैलीले हानिएन । गुलेलीले हानियाे । त्यसैले गुलेली जानियाे । फित्काैली जानिएन । नजानेकाे कुरा जानेकाे थिएँ भन्न पनि मनले मानेन । कुरा यत्ति हाे । बुझ्नेलाई इशारा काफी छ । नबुझ्नेलाई बज्रस्वाँठ साथी छ ।
उमेर जति बुढाे हुँदै गयाे मन भने केटाकेटी हुँदै जाँदाेरहेछ । त्यसैले त जन्मदा केटाकेटी अवस्थामा रहेकाे मान्छे तन्नेरी , बुढाे हुँदै पुनः केटाकेटी भएर जाँदाे रहेछ । केटाकेटीमा मलमुत्रमा डुबेर हुर्केको जीवन बुढ्याैलीमा पुनः मलमुत्रमै डुबेर परमधाम लाग्दाेरहेछ । बज्रस्वाँठले यहीं बुझ्याे । बुझ्नेहरूकाे बुझाइ केही छ कि ?
बज्रस्वाँठ बुढाे भएपछि फित्काैलीकाे सङ्गत गरेकाे हुँदा केटाकेटीपनामा रमाउने गरेकाे थियाे । त्यसैले बेलाबखत फित्काैली समाउने गरेकाे थियाे । फित्काैली दिन कटाउने माध्यम बनेकाे थियाे । दिनप्रतिदिन फित्काैलीप्रतिकाे माेहमा भुल्न थालेपछि गाउँलेहरूले आँखा तर्न थालेका छन् । ठाउँ न कुठाउँ फित्काैलीले हान्याे भनेर आराेप लगाउनेहरूकाे संख्या बढ्दै गएकाे छ । अस्तिभर्खर मात्रै एकजनाले टाउकाेमा उठेकाे टुटिल्काे देखाउदै क्षतिपूर्तिको माग गर्दै थियाे । फित्काैलीकाे काम नै मट्याङ्ग्राले हान्ने हाे । मट्याङ्ग्राले कता कसकाे टाउकाेमा टुटिल्काे उठाइदिन्छ त फित्काैलीकाे के दाेष ? दाेष त आफ्नाे टाउकाे जाेगाउन नसक्नेकाे हाे । हाेइन र ?
फित्काैलीले त्यहाँ मट्याङ्ग्राले हान्छ जहाँ धूर्त ब्वाँसा र स्यालहरूले र्याल काढेकाे हुन्छ । विकृति र विसङ्गतिका हुँडारलाई मट्याङ्ग्राले हान्दा किन कसैकाे टाउकाे दुःख्छ कुन्नि ? बज्रस्वाँठले बुझ्न सकेकाे छैन । हुनत : रक्षक नै भक्षक भएकाे मुलुकमा जनताकाे रखबार गर्ने सरकार नै तक्षक बनेपछि कसकाे के लाग्दाे रहेछ र ? निरङ्कुशताका उपर मट्याङ्ग्रा चलाउँदा हिजाे फित्काैलीप्रेमीहरू जेलमा जाकिनु अनाैठाे विषय थिएन । जनताले ज्यान फालेर ल्याएकाे गणतन्त्रमा स्वतन्त्रतापूर्वक फित्काैली खेलाउन पाइन्छ कि भन्ने थियाे । हाेइन रहेछ । गणतन्त्रको खाेल भिरेर आएकाे याे गाँडतन्त्रमा झाेले नबनेसम्म खाेले खान नपाइदाे रहेछ । त्यसैले केही दिन अघि झाेले बाले सार्वजनिक रूपमै घाेषणा गरिदिए “म झाेले हूँ ।” तब स्याल हुइ्इ्ँया चल्याे “म झाेले हूँ ।”
झाेलेहरूले आफूलाई झाेले भनेर घाेषणा गर्दा टाेलेहरू किन टाेलाउनु पर्याे ? झाेलेहरूका झाेलाभित्र लाउडा, धमिजा, गिरिबन्धु , भुटानी, भिजिट भिसा, क्यान्टोनमेन्ट, सहकारी, शीत्तल निवास , टिकापुर आदि अनेकौं सुर्के थैलीका गाँठाहरूमा गाँठका कुटुराहरू रहेकाे सत्य र तथ्य घाम र जुन जत्तिकै छर्लङ्ग छ । तर याे बज्रस्वाँठले नबुझेकाे एउटै मात्रै कुरा छ । किन काेही झाेलेहरू अझै पनि बा, दाइ र भाउजूहरूका झाेला बाेकेर हिडिरहेका हाेलान् ?
हिजाे साँझ खाना खाने बेलामा बुढाबुढीकाे दाेहाेरी जम्याे । लाइभ प्रसारण गर्ने सुद्धी आएन । गरेकाे भए लाइक, कमेन्ट र भ्युजकाे सुनामी नै आउथ्याे हाेला ! भाइरल बनेर नाम र दाम कमाइदाे हाे ! बेलैमा बुद्धि नपुर्याउने बज्रस्वाँठ न परियाे । लाइभ नभएपनि केही छैन । सारसंक्षेप बताउँछु । बुढीकाे डाइलग थियाे- “गाेरू बुढाे भएपछि भीर खाेज्छ मान्छे बुढाे भएपछि निहुँ खाेज्छ भनेकाे साँचाे रहेछ । बुढाे भएर केटाकेटीलेझैं फित्काैली लिएर डुल्दा लाज लाग्दैन ? ढुङ्गा र मट्याङ्ग्रा बटुलेर हिँड्याे । फित्काैली खेलायाे । ठाउँ न कुठाउँ हान्दै हिड्याे । हैन के पारा हाे तपाईंको ? हेर्नुहाेस् है मैले भन्दिएकी छु मर्ने बेलामा खाेरमा जाकिएकाे देख्ने मन छैन । हिजाे सुन्नुभएन समाचार ? ठूलाघरे भाउजूकाे छाेराका बारेमा अन्टासन्टा लेख्दा त्याे कलमजीवी भाइलाई के भयाे ? तपाईंको फित्काैली नभाँची त कहाँ छाेड्छु र ! खाेइ ती ढुङ्गा र मट्याङ्ग्राहरू ?”
कहिलेकाहीँ नबाेलेरै पनि जितिँदाे रहेछ । अघि मैले दाेहाेरी भने पनि त्याे एकाेहाेरीमा सीमित थियाे । मैले फित्काैलीका सामग्री ढुङ्गा र मट्याङ्ग्रा लुकाइसकेकाे हुनाले धन्न बचियाे । यस घटनाले एउटा प्रश्न उब्जिएको छ । बाबुभन्दा छाेराे जान्ने नाति पेटबाटै मट्याङ्ग्राे हान्ने ठाउँमा हामीजस्ता चाउरी परेका बुढाले फित्काैली खेलाउनु भनेकाे कतै केटाकेटी आए गुलेली खेलाए मट्याङ्ग्राकाे सत्यनाश त भएकाे छैन ? आss जेसुकै हाेस् । नलाग्नु थियाे बानी लागि हाल्याे । जेसुकै भए पनि बेलाबखत फित्काैली खेलाउन छाेडिन्न । हेर्दै जाउँ कुनै दिन मट्याङ्ग्राले कसाे न्याय नपाउला र ? आशा गराैं मट्याङ्ग्राकाे सत्यनाश हुने छैन । फित्काैलीकाे पनि कुनै दिन सम्मान हुनेछ ।
०००
२०८२।०२।३०
रेसुङ्गा न पा २ गुल्मी
Subscribe
Login
0 Comments
Oldest








































