नरनाथ लुइँटेलभकुण्डे ‘भ’
भकुण्डो नपाएको झोंकमा टेबिलमाथि टेकाएको मेरो टाउकोलाई नै भकुण्डो बनाएर यसरी सुट हान्न थाल्यो... अविरल एक, दुई, तीन, चार ! ठोकेको ठोक्यै छ छाड्दै छाड्दै न त !

नरनाथ लुइँटेल :
कोठाबाट बाहिर निस्कने बेलामा अचानक छोराले एउटा माग राख्यो “बुवा मलाई एउटा भकुण्डो ल्याइदिनुस् ल !” एकाएक भकुण्डोप्रति उसको मोह कसरी जाग्यो म सोच्न थालेँ । पाँच वर्षीय मेरो छोरोले भकुण्डो खेल्ने भयो । “होइन छोरा, अरु नै केही खेले हुन्न ?” मेरो यो आलटाले कुरा भुइँमा खस्न नपाउँदै उसले प्रचण्ड स्वरमा प्रतिवाद गर्यो- “अहँ हुँदैहुन्न, मलाई भकुण्डो नै चाहिन्छ । हिजो स्कूलमा सरले भन्नु भा’को भकुण्डो खेल लात्तले हान्न पनि हुने, मुड्कीले ठोक्न पनि हुने, गज्जबको हुन्छ रे, हातले बोक्न पनि हुने, टाउकाले ठोक्दा पनि हुने, गुडाउने, लडाउने, उफार्ने, थेचार्ने, उचाल्ने, पछार्ने जुनबेला जे गर्न मन लाग्यो त्यही गर्न हुने ! त्यसकारण मलाई आज भकुण्डो ल्याई दिने कि नदिने ?”,
“ल भैगो, बाबुलाई आज ल्याइदिने ।” उसलाई आश्वस्त बनाएर म बाहिरिएँ । तर मेरो आश्वासनमा भकुण्डो भने थिएन ।
पृथ्वी भकुण्डो जस्तै गोलो छ यो भैरवले लेखेको कुरा भयो । मान्छे भकुण्डो बनाएर खेलिन्छ यो मैले भोगेको कुरा हो । भैरव ठूलाबडाको भकुण्डो वन्न नसक्दा भकुण्डिए । नेपाली सत्ताका पेलेहरूले पेलेर थुप्रै कलमची भकुण्डाहरू यत्रतत्र गुडिरहेका छन् । खेलाडीहरूको पक्ष र विपक्षमा विजय गोल हुन अनगिन्ती भकुण्डाहरू पोल भित्र पसिरहेछन्, ग्राउण्डतिर खसिरहेछन्, पालो नपाएर कुनै बसिरहेछन् । यो पृथ्वी मलाई त फुटवल ग्राउण्ड जस्तो पो लाग्यो- जहाँ बलियोले निर्धो र निम्छरोलाई भकुण्डो बनाएर खेलिरहेका छन् । भकुण्डो नै त हो पलपलमा लात खाएर ग्राउण्डको यो छेउबाट उछेउ हुइँकिदो छ, बजरिँदो छ, उफारिँदो र थेचारिँदो छ, केवल खेलाडीको इच्छा र चाहना बमोजिम, पक्ष र विपक्षको कडा प्रतिष्पर्धा र होड बमोजिम प्रत्येक खेलाडीको खुट्टाको ईशारामा उध्मुन्टिदै दगुर्नु । यो नै भकुण्डोको भाग्य हो, नियति हो र जीवनचर्या हो ।
छोराको भकुण्डो मागले सम्वेदित भएर म बाटो नापिरहेकै थिएँ । झ्वास्स भेट भो एउटा पुरानो मित्रसँग । तीन वर्षको अविरल प्रयत्नपछि उसले जागिर पाएको थियो खेलकुद परिषद्मा । सानैदेखि खेलप्रिय ऊ जुनसुकै बेला पनि हँसमुख देखिन्थ्यो । खेलकुदको खरिदार खाएर परिवारको गाडा मुश्किलसँग तान्दै थियो । कागती निचोरेको खोस्टा जस्तो अनुहार लाएर ऊ मेरो अघि उभिएको देखेँ । पक्कै केही गड्बडी छ, मलाई लाग्यो । “के भो ? के छ तिम्रो हाल- खबर ?” मेरो सोधाईसँग ऊ अझ निचोरियो र मेरो प्रश्न जस्तै छोटो जवाफ दियो “भर्खरैको पजनीमा… जागिर खलास !” गज्जबसँग ऊ भकुण्डिएछ । कस्ता कस्ता विभाग र परिषदबाट बाह्रवर्षे, पन्ध्रवर्षे स्थाईलाई लात्तिभकुण्डो खेलाइँदै गरेको वेला खेलकुदबाट तीन वर्षे अस्थाई खरिदार भकुण्डिनु कुन ठूलो कुरो हो र ? तै पनि केही सहानुभूतिका शब्द ओकली दिउँ भन्ठान्दै थिएँ, घोसेमुन्टो लाएर लाग्यो बाटो ।
भकुण्डो खेलको सृष्टिकर्ता कुन उल्लु होला । मलाई लाग्छ यो खेल राम्रो नियतले शुरु गरिएको पक्कै होइन । तर जुन कुराले मान्छेलाई पीडा र मर्म पार्छ त्यतैतिर झन् होसिई हौसिई किन लाग्दछन् होला भकुण्डे मान्छेहरू ! खेलमा झेल नहोस् भनी नियम विनियमहरू बनेका हुन्छन् । तर अहिले आमरुपमा खेलिँदै गरेको जुन फुटवल छ यहाँ न कुनै नियम छ, न कुनै अनुशासन, न कुनै विवेक छ, न कुनै छ्यानविचार ! जहाँसुकै जो सुकैलाई जतिखेर दाउ पर्यो, भकुण्डो बनाएर ठोक्यो लात ! भकुण्डो बन्ने बिचरा भीरबाट गुल्टियोस् कि, भड्खारामा परोस् या भुँडी फुटेर ब्लाडरसहित लादिगुदी नै बाहिर उछिट्टियोस् त्यसको पर्वाह छैन ।
आज फेरि कुन कुसाइतमा निस्किएछु बाहिर ! भेट भो अर्को मुसाकाने । झर्को नमानि भलाकुसारी गर्दै “कहिले आयौ यता, मास्टरी चल्दै होला नि गाउँतिर ! अनि भान्टाङ भुन्टुङ सञ्चै छन् ?” मुसाकाने मास्टर त पिलपिल रुन पो थाल्यो । सुँक सुँकसँगै फुस्फुसाए अनुसार, उसको पञ्चायती कालमा समेत फुस्कन नभ्याएको १३ वर्षे मास्टरी फुस्किएछ । तीन दिनकी सुत्केरी श्रीमतीलाई घरमा छोडेर सातवर्षे साइँली छोरीलाई उपचार गर्न अस्पताल आएको रहेछ । विचरा मुसाकाने मास्टर पनि मास्टरीबाट भकुण्डिएछ । अलापविलाप गर्दै थिए, उनको सुँकसुँक त्यो व्यस्त बाटोमा डाँकै बन्ने छाँटकाँट देखेर “हवस्त फेरि भेट गरौंला है” भन्दै छट्किएँ म ।
‘घरै पिँडालु वनै पिँडालु दिक्क लागेर ससुराल गाको झन् बाह्र हातको पिँडालु’ भने झैँ भकुण्डे ‘भ’ ले आजित भएर रन्थना- उँदै डेरा पुग्छु त अर्को भकुण्डो जम्लाहात गर्दै ङिच्च दाँत देखाउँछ । लुइरे राउत ०१७ साल अघिदेखिको कांग्रेस हो । सत्रसाले पर्वमा अलपत्र परेर तीन वर्ष वनारस बसी नेपाल फर्केर आएपछि पनि निकै पटक पक्राउ पर्यो ऊ । तर आफूलाई कांग्रेस भन्न छोडेन । पञ्चायतले पुल्टुङबाजी खानु भन्दा अघिल्लो दिनसम्म कांग्रेस र कम्युनिष्टलाई धारे हात लगाएर सराप्ने आधा दर्जन जति पञ्चहरूलाई जिल्ला सदरमुकाममा कांग्रेस प्रवेश समारोह बीच सदस्यता दिने लुइरे राउत नै थियो । दुई महिना अघि गठित जिल्ला समितिमा लुइरे त परेनछ- नामै कट । आफू कसरी भकुण्डिएँ भन्ने कुरा चाल पाएर बड्का नेतासँग पुकारा गरूँ भन्दै राजधानी आएको रहेछ लुइरे राउत ।
अनि “भेट्नु भो त बड्का नेताजीलाई ?” मेरो सोधाईपछि लामो श्वास छोडेर उनले बेलिबिस्तार लाए “भेटियो भन्नु कि भेटिनँ भनु खै ! बल्ल बल्ल दुई घण्टा कुरेर भित्र पसेको थिएँ, नेताजीलाई जय नेपाल गर्दा नगर्दै लौ मिटिङ छ भन्दै द्वारपालहरूले भकुण्ड्याउँदै बाहिर निकाली हाले, कुरोे केही गर्न पाइया होइन ।”
हिजो आज मुलुकको राजनीतिमा पनि भकुण्डे ‘भ’ ले बेजोडको कमाल गर्न थालेको छ । दामपन्थीदेखि घामपन्थीसम्मका सबै दलहरूमा यसले समान प्रवेश पाएको छ । पञ्चायती कालमा निर्दलीय प्रहरीद्वारा निर्मम तरिकाले भकुण्ड्याइएका थुप्रै कार्यकर्ताहरू अहिले आफ्नै टीमका मोटा खेलाडीहरूद्वारा अनौठोसँग भकुण्डो खेलिँदै छन् । बुद्धिविवेक र आदर्श समेतलाई विर्सिंदै आफ्नो पक्षमा गोल गर्न भकुण्डे ‘भ’ तिर लहसिनु अनौठो र आश्चर्यजनक त हुँदै हो । अन्ततः यसले कसलाई फाइदा पुर्याउला ? बाह्र पन्ध्र वर्षदेखि टीममा संलग्न भएर खेलमा अटुट लागिरहेका दुब्ला भए पनि निष्ठामा बाँचेका खेलाडी नै आफ्नै कप्तानद्वारा खेलमैदानको बीचमा “किक” खानु पर्ने स्थिति कसरी आयो ?
यी सब कुरा एउटा बडेमानको भकुण्डो बनेर मेरो मानसपटलमा गुड्किरहेको थियो । म टेबुलमा टाउको अड्याएर भकुण्डे ‘भ’ को सातपुस्तालाई मनमनले सत्तो सराप गरिरहेको थिएँ । सानो छोरो लुसुक्क भित्र पस्यो । “खोई बुवा भकुण्डो ?”, ए ज्या भुसुक्कै, मैले त उसलाई भकुण्डो ल्याइदिनै बिर्सिएछु । हत्त न पत्त छोरो सिरानीततिरको बाटो भएर खाटमाथि उक्लियो । भकुण्डो नपाएको झोंकमा टेबिलमाथि टेकाएको मेरो टाउकोलाई नै भकुण्डो बनाएर यसरी सुट हान्न थाल्यो… अविरल एक, दुई, तीन, चार ! ठोकेको ठोक्यै छ छाड्दै छाड्दै न त ! मानौ मेरो टाउको नै उसले खेल्न चाहेको भकुण्डो हो । धत्तेरिका !
०००
२०४६ माघ १६ गते लेखिएको यो निबन्ध
मेरो पहिलो हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘छेपन’ (२०५१) बाट जस्ताको तस्तै
Subscribe
Login
0 Comments
Oldest








































