साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म नर्कबाट बोल्दै छु

मानिसहरूले त मलाई साह्रै निराश पो बनाए छि ! अब भने म कुकुरै कुकुर निर्माण गर्ने विचार गर्दै छु । तिमीहरूजस्ता अकर्मण्य, कायर, भीरु अनि मूर्खहरूले नर्क नपाएर के इन्द्रासन पाउँछौ त ?

Nepal Telecom ad

हरिशङ्कर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

हे पत्थर पुज्नेहरू हो ! तिमीहरूलाई जिउँदा मान्छेका कुरा सुन्ने बानी छैन; त्यसैले म मरेर बोल्दै छु । जीवित अवस्थामा तिमीहरूले जसलाई आँखा उठाएर पनि हेर्दैनौ त्यसैको सडेगलेको लासका पछि जुलुस बनाएर हिँड्छौँ । जिन्दगीभरि तिमीले जससित घृणा गरिरह्यौ त्यसैको चिहानमा चिराग जलाउन जान्छौ । मर्ने वेलासम्म जसलाई तिमीले एक अञ्जुली पानीसम्म दिएनौ त्यसका हाड गंगाजीमा सेलाउन लैजान्छौ । अरे ! तिमीहरू त जीवनको तिरस्कार र मरणको सत्कार गर्छाैँ। त्यसैले म मरेर बोल्दै छु । म नर्कबाट बोल्दै छु ।

तर मलाई पो किन जीवनभरि मौन बसेर अहिले यो नर्कको कुनाबाट बोल्ने खाँचो परेको छ र ! तर यहाँ एउटा कस्तो कुरो सुने भने म अभागीको मृत्युलाई लिएर तिमीहरूकहाँ ठुलाबडा भनिनेहरूका बिचमा निकै भनाभन भयो रे ! मैले के सुनें भने तिमीहरूकहाँ एउटा मन्त्रीले मेरो मृत्यु भोकको कारणले भएको होइन भनेर भनेछ । मैले आत्महत्या गरेको थिएँ रे ! मारियूँ पनि र आफ्नो मृत्युको जिम्मेवार पनि आफै ठहरियूँ ? भोकले मरूँ अनि भोकलाई मलाई मार्ने श्रेय पनि प्राप्त नहोस् ? ‘अन्न ! अन्न !’ जपेर मरूँ अनि मेरो मर्ने कारणमा अन्नको नामै नआओस् ? तर जे होस्, म यी सारा कुरालाई पनि सहिदिन्थें । जीवनभरि तिरस्कारको स्वाद लिँदा लिँदा सहानुभूति मलाई त्यस्तै अरुचिकर भएको छ जस्तो सहरियाहरूका निम्ति गाउँको शुद्ध घिउ । तर आजै यस लोकमा एउटा अर्को घटना घट्यो ।

भयो के भने जुन पर्खालले स्वर्ग र नर्कलाई विभाजित गर्छ त्यसको प्वालबाट आज बिहान मेरो कुकुरले मलाई देखेर ‘घुर घुर’ गरेर माया देखाउन थाल्यो । अनि मलाई यहाँ नर्कमा र मेरो कुकुरलाई त्यहाँ स्वर्गमा देखेर त मेरो आश्चर्य र क्षोभको सीमा नै रहेन । म नर्कमा र त्यो स्वर्गमा ! यो कुकुर मेरो निकै प्यारो कुकुर; युधिष्ठिरको कुकुरभन्दा पनि बढी ! जति वेला मेरी स्वास्नी एउटा धनीसित भागेकी थिई त्यसै वेलादेखि यो कुकुर मेरो कस्तो सँगी रह्यो भने मर्दा पनि सँगै मर्‍यो । यसले कहिल्यै छोडेन । छिमेकी साहु यसलाई पाल्न चाहन्थ्यो र साहुनीले यसलाई असाध्यै माया गर्र्थी । तर यो मलाई छोडेर गएन, लोभिएन । यसरी मलाई त यो स्वर्गमा पुगेकामा निकै सन्तोष छ तर म आफैप्रति भएको अन्यायलाई भने बिर्सिन सकिन्न । अनि भाइ, यो तिम्रो मृत्युलोक त होइन जहाँ प्रार्थना पनि सुनिँदैन; जहाँ प्रार्थीलाई नै दण्ड दिइन्छ; जहाँ लालफिताका (कर्मचारीतन्त्र) कारण आगो लागेको एक वर्षपछि मात्र आगो निभाउने आदेश दिइन्छ । यहाँ त प्रार्थनाको तुरुन्त सुनुवाइ हुन्छ । अनि मैले पनि भगवान्का समक्ष गएँ र प्रार्थना गरेँ, ‘हे भगवन् ! पृथ्वीमा अन्याय भोगेर यहाँ न्याय पाउने आशामा आएँ तर मेरो कुकुर स्वर्गमा र म नर्कमा ? यो के हो ? जीवभरि कुनै नराम्रो काम गरिनँ । भोकले मरें तर चोरी गरिनँ । कसैका सामु हात पसारिनँ । अनि यो कुकुर, जस्तो कुकुर हुन्छ त्यस्तै त छ नि यो कुकुर पनि ! कैयौं पटक त तपाईंकै भोग खाइरहेको वेलामा पिटियो ! अनि तपाईंले यसलाई स्वर्गमा राखिदिनुभयो !’

अनि भगवान्ले एउटा एमानको बहीखातामा हेरेर भने, ‘यसमा तिमीले आत्महत्या गरेको भनेर लेखिएको छ ।’ मैले भनेँ, ‘हैन महाराज, म त भोकले मरेको हुँ । मैले आत्महत्या गरेको होइन ।’ तर उनले भने, ‘तिमी ढाँट्दै छौ । तिम्रो देशको अन्नमन्त्रीले तिमीले आत्महत्या गरेको भनेर लेखेको छ । तिम्रो शरीरको पोस्टमार्टमबाट यो प्रमाणित भएको छ ।’ अनि जब मैले महाराज ! यो रिपोर्ट नै झुट्टा हो, मेरो पोस्टमार्टम नै भएको छैन, मलाई त जलाइएको थियो र त्यसको दस दिनपछि संसद्मा प्रश्नोत्तर भएको थियो भने के मेरो खरानीको पोस्टमार्टम भएको थियो ? भनें, भगवान् त झन्डै आकाशबाट खस्दाखस्दै बचे । अनि मैले उनलाइै पुरै कुरा विस्तारपूर्वक सुनाएँ ।

लौ, तिमी पनि सुन । म कसरी बाँचेँ, कहाँ बसेँ र कहाँ मरेँ भन्ने तिमीलाई थाहा छैन । संसार यति ठुलो छ कि त्यहाँ कसैले कसैको हिसाब राख्दैन ।

अनि तिमीलाई के थाहा जब मेरो सास चल्दै थियो तब पनि म जिउँदै थिएँ भन्ने कुरो ? म कुन अर्थमा जीवित थिएँ भने म दिनदिनै मृत्युलाई पन्छाउँदै जान्थेँ । वास्तवमा म त जन्मेपछि एक क्षण मात्र जीवित थिएँ, दोस्रो क्षणदेखि त मेरो मृत्यु आरम्भ भयो । अनि बजारको त्यो आलिसान अट्टालिका त चिन्छौ नि ! हो, त्यसैको पछाडि एकापट्टि त शौचालय सफा गर्ने ढोका छ र अर्कोपट्टि गारासितै टाँसिएको मेरो झुप्रो छ । अट्टालिकाको मालिक मेरो झुप्रो पनि भत्काएर त्यहाँ पनि शौचालय बनाउन चाहन्थ्यो । यदि म मरेको हुन्नथें भने गरिब मान्छेको झुप्रामाथि अमिर मान्छेको शौचालयको विजय पनि यिनै आँखाले देख्ने थिएँ । अब त तिमीलाई मेरो स्थानबारे थाहा भयो होला ! अनि मान्छेलाई भन्दा बढी त तिमी अट्टालिकालाई चिन्छौ । अट्टालिकाको माध्यमबाट मान्छे चिन्न त तिमीले खुबै जानेका छौ ।

हो, त्यसै झुप्रामा बसेँ म । मेरो वरिपरि अन्नैअन्न थियो । पर्खालको पल्लोपट्टिबाट जुन मुसा यता आउँथे ती दिनदिनै मोटाउँदै जान्थे । दुई दिनसम्म त ती यता किन आएनन् भने ती निस्किने बाटो बनाउँदै थिए पहिलेको बाटो साँगुरो भएर । तर पनि म भोकै बसेँ । बेकार थिएँ । एक सेर अन्नलाई दस रुपैयाँ पथ्र्यो । योभन्दा त मेरा लागि मृत्यु सस्तो थियो ।

आखिर मेरो मृत्यु भयो । जुन दिन भयो त्यस दिन अट्टालिकाको पल्लोपट्टि जुन रइस थियो त्यसको छोराको विवाह थियो । निकै अमिर थियो । उससँग हजारौँ बोरा खाद्यान्न छ भन्ने कुरो पुरै गाउँलाई थाहा थियो । तर कसैले केही भन्दैनथे । पुलिस उसैको रक्षा गथ्र्यो । अनि त्यस दिन मेरो काल बिस्तारै काला पन्जा फिँजाउँदै आउँदै थियो । मेरो पेट बटारियो । आँखा धमिलिए । पर्खालको पल्लोपट्टिबाट पक्वान्नहरूको सुगन्ध आइरहेको थियो । सन्तोष के भयो भने मेरो मृत्यु पक्वान्नहरूको बिचमा भयो !

मर्नुभन्दा केही पहिले मेरो प्यारो कुकुर जबरदस्ती पर्खालको पल्लोपट्टि छिर्‍यो र खानेकुरो खायो । मालिकले उसलाई कसेर एक लौरो हिर्कायो अनि त्यो कुकुर कराउँदै कराउँदै मेरो नजिकमा आएर फालियो । कराइरह्यो, कराइरह्यो । मेरो पनि प्राण निस्किँदै थियो । तर मलाई त्यस जनावरका अघि चिच्याउन पनि लाज लाग्यो । यता मेरो पेट अन्तिम पटक निमोठियो र पन्छीले पिन्जरा छोडिदियो । उता मेरो कुकुरको पनि सास रोकियो । लौराको चोट निकै मर्ममा परेको रहेछ । दुवै मर्‍यौँ र सँगसँगै मर्‍यौँ । फरक कति मात्र छ भने त्यो खाएर मर्‍यो, तर म नखाएरै मरेँ ।

उता जन्ती हिँडे । यता पोडेहरूले मलाई टिनको गाडीमा हालेर लतारे । सडकको उतातिरबाट अमिरको छोराका जन्ती जाँदै थिए भने यतातिरबाट मेरो यो सरकारी अर्थी ! सरकारले खाने व्यवस्था त गरेको थिएन तर मरेकाहरूको शवव्यवस्थापनको काम भने निकै व्यवस्थित रूपले गरेको थियो । उता जन्तीको पछिपछि मङ्गलगान भइरहेको थियो भने मेरो लासका पछाडि रोइदिने एउटा मान्छेसम्म पनि थिएन । यस्तो सजिलोसित मरेँ कि कसैलाई कुनै कष्ट भएन । कुकुरलाई पनि भएन । जन्ती पुगिसकेको थियो । पटाकाका गोलाहरू पड्किरहेका थिए भने यता जलाउने दाउराको अपर्याप्तताका कारण मेरा हाडहरू चड्किरहेका थिए ।

यसरी मरेँ । अनि मरेर जब यहाँ आएँ र मलाई नर्कमा पठाइयो तब पनि मलाई कुनै दुःख लागेन । मैले प्रतिवाद गर्न सिकेको पनि थिइनँ र यो ठाउँ पनि म जिन्दगीभर बसेको त्यो ठाउँभन्दा कुनै अर्थमा खराब थिएन ।

भगवान्ले कथा सुने अनि भने, ‘तिमी भोकले मरेका हौ नि ! फेरि पनि तिमी नर्कमा नै बस्नेछौ । अनि यो कुकुर स्वर्गैमा बस्नेछ । अनि यो तिम्रो छेउको कोठो त्यो असती मन्त्रीका निम्ति खाली गरिने छ ।’

मैले पाउ समातेँ र भनेँ, ‘यो कस्तो न्याय हो भगवान् !’
उनले भने, ‘मूर्ख ! कायर !! तँ त कुकुरभन्दा पनि तुच्छ रहेछस् ! बिचरो कुकुर त पर्खाल नाघेर भए पनि गयो र खाना खाएर आयो । अनि तँ मान्छे भनिने छाती पिटेरै मरिस् ? के तैँले पर्खाल नाघ्न सक्दैनथिस् ? पर्खाल भत्काउन सक्दैनथिस् ?’

‘तर भगवन्.. !’ मैले भनेँ, ‘..मैले त्यो पर्खाल कसरी नाघूँ ? कसरी भत्काऊँ ? के त्यसो गरेको भए पाप हुँदैनथ्यो ?’
भगवान्ले रिसाएर भने, ‘पापपुण्यको अल्झामा अल्झिने पानीमरुवा ! त्यो पर्खाल के मैले बनाएको हो र ? सारा पर्खालहरू मान्छेले नै ठड्याएका हुन् । अनि तँ ती पर्खाल भत्काउने कुरामा पापपुण्य हेर्छस् ? मूर्ख ! तेरो कुकुर बरू तँभन्दा बढी बुद्धिमान् रहेछ । त्यो पस्यो, खाना खायो बरु पछि लौराको पिटाइले मरेर यहाँ आयो । त्यसमा त मनुष्यत्व रहेछ तर तँमा त पशुत्व पनि रहेनछ । मैले तँलाई बुद्धि दिएको छु , हातखुट्टा दिएको छु र कार्यशक्ति दिएको छु । तर तँ अकर्मण्य ! लाछी ! किराभुसुनाझैँ मरिस् । मानिसहरूले त मलाई साह्रै निराश पो बनाए छि ! अब भने म कुकुरै कुकुर निर्माण गर्ने विचार गर्दै छु । तिमीहरूजस्ता अकर्मण्य, कायर, भीरु अनि मूर्खहरूले नर्क नपाएर के इन्द्रासन पाउँछौ त ?’

मलाई नर्कमा घचेटियो । अनि म यस कुनाबाट तिमीलाई भन्दै छु कि हे देशवासीहो ! मजस्तो गरी नमर्नू, मेरो कुकुरजस्तै गरेर मर्नू ।

०००
भैरहवा
परसाईं रचनावली २, ‘मै नर्क से बाेल रहा हूँ ’बाट नेपाली अनुवाद

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x