ह्यारी- ८०डाक्डरको आवश्यकता !
चिकित्सकबाट जसरी रोगका लक्षण हेरेर कतिपय उपचारसम्भव भएको छ, त्यस्तै घर, परिवार र देश खाने भाइरस जताततै भएकाले भ्यक्सिन र भ्याक्सिन लगाउने डाक्डरको आवश्यकता परेको छ ।

ह्यारी ८० :
कसैको जे हुँदैन भन्यो त्यही गर्ने बानी हुन्छ । अहिले त युगान्तरण भइसकेको छ भन्नुहोला तर प्रायः सबैको बानी जुन हुँदैन भन्यो, त्यही चाहिँ गर्दा के हुन्छ र भन्ने जिज्ञासा उत्पन्न हुँदो रहेछ । यो स्वाभाविकै पनि हो । डाक्टरले सुगर भएका बिरामीलाई तपाईं रोटी खानुहोस् है भन्दा भातभन्दा अघि खाने कि भात खाइसकेपछि रोटी खाने भनेर सोध्छन् रे ! भाइरसले सताएको छ भने तपाईंलाई पनि कुनै लेख नपढ्नहोस् है भन्यो भने पढिसकेपछि नपढ्ने भनेको हो भनी सोध्नुहन्छ कि !
यो देशमा भ्रष्टाचारीको निर्मूल नगरी विकास हुने छैन भन्ने नेताले नै भ्रष्टाचार गर्दै ढाँटेको कुरा सर्वविदितै छ । भ्रष्टाचार नगरौँ भन्नेले नै कुन कुन छिद्रबाट लामो हात पार्न र हिसाब मिलाउन सकिन्छ भनी भाइरस छिराउँछन् र आफैँ खाने प्रणालीको विकास गर्छन् । यो सबै मौका पाउनेबितिक्कै हुने गरेको छ । बुद्धिमा भाइरस लागेपछि मान्छे कसरी सहीसँग चल्न सक्छ र ? भाइरसको प्रवेश कुन नाकाबाट हुन्छ थाहै हुँदैन । अख्तियार भएको सामान्य मास्कबाट भाइरस नछिर्ने कुरै भएन ।
शाब्दिक रूपमा भाइरसलाई निफन्दा कम्प्युटर प्रणालीको सञ्चालन प्रविधिलाई बिगार्ने एक सङक्रमणात्मक सफ्टवेयर हो भने अर्को सरुवा रोगको एक कीटाणु वा जीवाणु वा विषाणु हो भन्ने निस्कन्छ । तर यो मेडिकल भाइरस सामाजिक भाइरसभन्दा फरक छ । हाम्रो देशमा भने भाइरसले यति रूप बदलेको छ कि सरकार र मन्त्री विदेशतिर हुइँकिएझैँ भाइरसको पनि जम्बो टोली पनि गाउँसहर बस्ती बस्ती छिरेका छन् । देशी विदेशी भाइरसले यहाँ केही गर्न खोजे भने आक्रमण गरिहाल्छन् ।
केही भाइरस काम लाग्ने पनि छन् तर पनि हामी भाइरसबाट पीडित भएकैले होला भाइरसको नाम सुन्नेबितिक्कै तर्सिहाल्छौँ । हाम्रा देशमा कम्प्युटर मात्र होइन हरेक सरकारी कार्जेमा ह्याक गर्ने भाइरस कति छन् कति ! सरकारी कामकाजै ठप्प पार्ने गरी ह्याक गर्ने ह्याकरहरू नयाँ नयाँ भाइरस हुन् । अहिले धेरै जसो कार्य कम्प्युटरबाट गनुपर्ने तर आधुनिक युगका हाकिमहरू रिटायर्ड हुन आँटेका अधिकांश पाका उमेरका बा अनि हजुरबाहरू कुन कम्प्युटरमा कस्तो भाइरस लागेको छ भन्ने कुरा पत्तै पाउँदैनन् । हुन पनि हो लट्ठी टेकेका र रोगले डेरा जमाएर बसेका पाका उमेरका तर युवा भनिएकाका हातमा शक्ति भइन्जेल देशमा भाइरसको आव्रmमण भइ नै रहने छ भन्ने भविष्यवाणी फतुरे काकाले गर्दै छन् ।
भाइरस यसरी मौलाएको छ कि दुर्व्यसनीझैँ अझ भनौँ मलखादको मुलाजस्तै हलक्क बढेको छ । सरकारी संस्थानतिर, एअरपोर्टतिर, धर्मतिर, जातजातितिर, प्रदेशतिर, विद्युततिर, दूरसञ्चारतिर, शरणार्थीतिर, विश्वविद्यालयतिर, अस्पतालतिर, अड्डाअदालतदेखि हर तह र तप्काभित्र भाइरस छिरेर यसले रजाइँ गरी भाइरल भएको छ ।
निजी क्षेत्रमा हत्तपत्त भाइरस छिर्दैनन् । सरकारी क्षेत्रमा जहाँ घाम पनि छिरिहाल्छ तापिरहन्छन्, हिटर पनि छिरिहाल्छ तापिरहन्छन्, आगो पनि त्यहीँ बल्छ तापिरहन्छन् तर भाइरस चाहिँ ताप्न नमिल्ने भएर कहिले घुस बनेर छिर्छ, कहिले भोलि भोलि भन्दै आजै सकिने काम पनि पछि सार्ने बनाइदिन्छ, बलात्कारीलाई संरक्षण गरी कतै मिलापत्र गराउने यो भाइरस मुलासनेसँग नजिक रहन्छ र प्रभुत्व जमाइरहन्छ । नत्र लाखौँ सवारी चालक अनुमतिका लागि परीक्षणमा उत्तीर्ण हुनेले महिनौँ कुर्दा पनि एउटा पुलिन्दाका भरमा हिँड्नुपर्थ्याे होला त ! भाइरसलाई पन्छाउन नसक्ने मेलम्चीको बाढी मेलम्चीमै छिरेको देख्नेसुन्नेलाई ज्ञात नै छ । भर्खर पाँचपटक मात्र भयो उद्घाटन भएको, अझै सम्भव छ है । काम गर्नभन्दा साख लिन हतारिने अगुवा भाइरस भएसम्म देशमा यस्तै विद्वेष फैलने नै भयो ।
आधुनिक हनुमानहरूले हनुमान चालिसा पढिन्जेल यहाँ भाइरसको सङ्ख्या बढी नै रहन्छ । राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रभाव जमाइरहेको भाइरस अब हाम्रै मुन्छेको बुद्धिमा पनि छिरेको छ । आफूले जे गरे पनि ठिक ठान्ने यो भाइरस अब प्रवृत्तिको रूपमा अवतरित भएको छ । शक्तिशालीका शरीरमा पाइने यी भाइरस खोला नभए पनि पुल हाल्न, मान्छे नभए पनि हुल बाँध्न, हिजो बनेको सडकमा पुनः भत्काएर फेरि बाटो बनाउन बजेट छुट्याउन उद्यत हुन्छन् । कृषकका लागि दिइएको अनुदान पनि भाइरसका कार्जेकर्ताले जुस बनाएर मिलोमतोमा खाएकाले यी भाइरस बहुआयामिक मानिन्छन् ।
विदेशी दूतावास धाएर आफ्ना छोराछोरीका लागि छात्रावृत्ति हात पार्ने भाइरसको अर्को दर्जा पनि छ । यी आफू र आफ्नालाई टेन्डर पार्ने राजनीति अरूका निम्ति लाजनीति भइरहोस् भन्छन् । यिनलाई त गाँडतन्त्र फापेकै छ क्यारे । भाइरस स्क्यान गर्न केही स्क्यानर हाजिर भएका छन् तर भाइरसका धेरै सङ्ख्या र प्रकार भएकाले सबै फाइल स्क्यान गर्न बर्सौँ लाग्ने देखिन्छ । भाइरसबाट असुरक्षित महसुस गर्नेहरू विदेशतिर गएका छन् । तेल भिसाबाट तपाईं हामी सबै अछुत छैनौँ भन्ने कुराको पुष्टि सामाजिक सञ्जालमा पोस्ट्याएको कुराले पुष्टि गर्दछ । भाइरसकै कारण आज कोही बाकसमा त कोही विशेष क्षमताका बनेर फर्कँदै छन् । एक छाक खान पुग्नेहरू पातालतिर शरणागत भएका छन् । रेमिट्यान्स हसुर्ने तथा राष्ट्रिय ढुकटी अनि चुरे तथा प्राकृतिक स्रोत र साधनहको दोहन गर्ने भाइरसको औषधीको खोजी गर्न धेरै क्रान्ति र भ्रान्ति छरिइसक्दा पनि हातमा लाग्यो शून्य भएको छ । हिजो डाडुपनिउँ लिनेहरू आज खड्कौँला नै बोकेर ताण्डव नृत्य गर्दै छन् । प्रदेशमा पनि यस्ता भगौडा भाइरसको प्रवेशले आज माटो बिटुलो र विभाजित बनेको छ ।
भाइरसको पूरै उन्मूलन असम्भव छ । नयाँनयाँ भेरियन्टका भाइरसको आगमन भइरहने हुँदा यसको नकारात्मक प्रभाव कम गर्न नेमुनिका देशाँ चिकित्सकको खोजी जारी छ । मौलिक भाइरस स्क्यानिङ प्रोग्राम ल्याउन सके भाइरस निष्क्रिय पार्न सकिन्थ्यो कि ! चिकित्सकबाट जसरी रोगका लक्षण हेरेर कतिपय उपचारसम्भव भएको छ, त्यस्तै घर, परिवार र देश खाने भाइरस जताततै भएकाले भ्यक्सिन र भ्याक्सिन लगाउने डाक्डरको आवश्यकता परेको छ । छिटो गर्नुहोस्, समयमै भ्याक्सिन लगाउन नसके परिवर्तनकारी जहाज नडुब्ला भन्न सकिन्न है !
०००
गोकर्णेश्वर ५, काठमाडौं
२०८० साल पुस ६ गते शनिबार
Subscribe
Login
0 Comments
Oldest












































