ठाकुरप्रसाद अधिकारीखेलमा झेल
यहाँ गरिब र धनी टाउकाहरू पनि खेलको झेलमा अलमलिएका छन् । तर झेल गर्दैमा घेरोको कानले सेल पाक्ने होइन । अस्तिसम्म झेल गरेर कति फुटपाथेहरु कुर्सीमा पुगेका महाराज र मन्त्री बनेकालाई के भन्ने ?
ठाकुरप्रसाद अधिकारी :
आमा पट्टीको मामा न त बाबु पट्टीको काका नाता नभए नि खेल खेलनै हुँदोरहेछ । ढाँटेर भन्दा खेलमा झेल र झमेला नपरेको खेल हुँदैन । झेलमा कसलाई दोष दिने । झेलमा बग्रेती चल्लाहरू जन्मेका हुन्छन् । झेलको खेल पनि एउटा राजनीति हो । डण्डीबियो र कर्पदीको झेलको खेलले टोल छिमेक थर्किएको सुनेको छु । बरू हलो कोदालो फाँटको लागि गतिलो हुन्छ । तर झेलको खेलमा के सेल पाक्छ थाहा भएन । एकछिन सोचाईमा डुबे । एउटा उखान सम्झे । खेल न सेल उसै भयो मेल ।
यहाँ चर्चा गर्न खोजेको विषय सेल होइन । झेमला र झगडामा कसैलाई ज्वरो आउँछ । कसैलाई गफ आउँछ । यतिका कुरा किन आयो मनले आत्तिँदै सोध्यो । झेलमा सेलको के सम्बन्ध छ । झेलमा अंश बण्डा गर्ने पनि छन् । यति बेला मेरो सोचाईको गैह्री खेतका शब्दहरू परमधाम भइसकेको छ । झेलको खेलमा खाई सार कि लाई सार भन्छन् । जिन्दगी आज छ भोलि छैन मरेपछि के लानु छ र… ? कोही अधीनमा नभएको खेलमा मुन्टो बर्टाछन् । कमिशनको खेल । भ्रष्टाचारको खेल । सुनको खेल । संसदको खेल । तस्करको खेल । खेलको झेलमा खै देशले मुक्त पाएको । भीमसेन जस्तो सांसदको पनि खेल छ । संसद भनेको नून बनाउने थलो हो । कसैलाई मारेर आउने खेल । कसैलाई पगरी दिनेमा पनि झेलको खेल हुन्छ । कसैको सम्पत्ति झ्वाम पारेर क्वाम पार्ने खेल । अतः खेलको झेलमा महत्व बुझेकाले कहिल्यै खेल छाड्दैनन् । खेलको झेलमा हजारौँ लाखौँ फूलहरू मार्न पाएका छन् । झेल खेलले संस्कृति परम्परा र संस्कार पनि बिथोलिएको छ ।
कोही झुसिँदै गएको हात झेलमा उठाई बन्दै गएको शान्तिलाई उत्तानो पार्छन् अनि सन्तोष गर्छन् । मृत्युले घाटमा पुगेका टाउकाहरूले पनि झेलको खेल गर्न पाएर हाँसेका गीत गाएका छन् । अनि सयको गतिमा गलेको सत्यको सेल पनि मूल्यहीन हुन पुगेका छन् । बेकारमा कसैलाई खिल्ली उडाउँदै झेलको खेलले किन उडाउँछन् । खेलमा कस्को सङ्गत गर्ने कसो नगर्ने । एउटा धोकोको पोको लिएर आएको छु । म सम्झन्छु झेलको वातावरणमा लैवरीमै कहाँ दुख्छ घाउ । झेलको खेलमा जिउडाल लाम्चो अनुहार भरिलो छात्ती गम्भीर आखा चन्चल ओठ हुनु पर्छ भन्ने छैन ।
झेलको खेलमा हिँडाइको थकाईले मान्छे गाल्दैन । एक बिसौलीको टाउको पनि दुख्दैन । यसैले झेलको खेल विकास भएको बुझाउँछ । लम्फुहरूको खेलमा अरुको जुत्ता लाएर खेल पस्कने पनि छन् । कसले कुन बाटो बिराए थाहा भएन । मान्छेले आकाश पाताल हेर्दा हेर्दै हण्डर खाँदाखाँदा सभ्यको वारिमा भव्यको फेसबुक र टिकटक मात्र बनाएका छैनन् । यस्लाई के नामाकरण गर्ने । विज्ञानको गिदीले मुगलान जान छोडेर चन्द्रलोक जाने रकेट बनाए । यो अविनाशी संसारमा कुनै सामान्य दिनमा मेवा चाट्दा घाम झुल्कने उज्यालो जूनले डाँडो काटेको हुदैन । खेलको झेल जीवनमा यस्तै उस्तै कस्सिएका बोधार्थहरु पाइन्छ ।
व्यापारीले झेलमा डण्डा चलाएर लुच्याई र छुच्याई गरेर टुप्पी देखि टोपीसम्म छोप्ने दाम कमाएको हुन्छ, घरवालीको झेलमा र सेल बनाएको हुन्छ, ब्याट्रीमा सेल बढ्नु यसैको कारण हो जस्तो लाग्छ । जागिरेमा माथिल्लो पद पाउन हेलमेल बढ्नु पनि झेल हो । सिकारीको सिकारले बन्दुकसित झेल गरेको हुन्छ । जोगीको झेल र सेल, रोगीलाई इन्जेकशनको झेल, पुलिसलाई पर्दशनीको सेल, खल्ती खँलास हुनेको सेल कति छन् बयान गरेर साध्य छैन । आँखा कान नाक जिब्रो टाउकाको खेल अनुहारमा झुल्किन आइपुग्छ । यस्तो खेदको खेल देखेर हम्पिएको सिठी ओठमा हाम फाल्न आइपुग्छ ।
विवाह भोज बर्थ डे भोजमा पनि खेलको झेलको अनूभूति गरेको छु । ठूला घरवालादेखि चिल्ला गाडी चढ्ने पनि पुगेको देख्ता यो मन अचम्म परेकोछ । निम्तोमा एक सयको खाम राखेर पध्र सयको प्लेट समाएको देखिदा यो मन जलन हुन्छ । मेरो कमलो मन र मुटु हल्लिन पुग्छ । खामको दामले के भन्छ ? खेलको झेल पनि हडबडाउन थाल्छ । सक्कली खेल कहा पाउने । चोखो खेल कहाँ हुर्कने । जहाँ देशको जनसङ्ख्या हेर्ने हो भने कार्यकर्ता भन्दा नेता धेरै छन् । विदेशमा भूमिमा दलिएर बसेर स्वदेशको गफ लाउने धेर छन् । कोही टिकटकमा कोही फुटबलमा भन्दा क्रिकेटमा कम झेल छ भन्छन् । खेलको झेलको कुरै छोडौँ । लाहुरे र दाउरेको भाउ अर्कै छ । सभ्यताको फुटबल हेर्दा हेर्दै गाला चाउरी परिसक्यो । तर पनि क्रिकेटको के भाउ चम्केको छ । यस्ता झेलको कुरै छोडौँ । खुट्टा तान्ने खेल हामी कहाँ बढी प्रचलनमा छ ।
हुन त बिरालोले मुसो उडाउने । चाहे साँढेले पाँडेलाई उडाउने । ठिटाले ठिटी उडाउने । झिँगाले एक थाल भात बजाएर उडाउने । मौरीले फुलको रस उडाउने । कसैले कसैको पाकेट उडाउने । डाइभरले गाडी उडाउने । पुलिसले जुलुसको पुर्पुरो उडाउने । यी सबै हुनु नजिकको दिव्य नातेदार भएर होइन । यी सब विचारणीय गफ हुन् । म पनि मेरो कलमलाई मलम लाएर फटफटाएर सोध्छु यसो किन भयो भनेर । जवाफ हुँदैन ऊ सित । खेलको मजा यही हुन् ।
झेल खेलको सितन हो । यो पूजा आजाको अन्तमा दिइने नैवेद्य भन्दा चर्को हुन्छ । झेल नगरेर मर्ने बेला घाटमा सन्त महाराजझैँ सुत्न पाइँदैन । यसरी गरेको झेलमा आकाशिँदो धुँवामा सुतेर उठे पनि । नोटै नोटको माला भिरे पनि । घाटको रुपरङ्ग बदलिरहेको हुँदैन । व्यापारिले र राजनीतिको लुँच्याई गर्नु के अनौठो भयो र ? झेल एक प्रकारको झापड हो । यो कहिल्यै पुरानो हुँदैन । खिया पनि लाग्दैन । थोत्रो छाताझैँ बदलिँदैन । पानीजस्तो बाङ्गो पनि हुँदैन । आकाशमा अडिने प्ललेन र चराझैँ उड्ने जन्तु र तन्तु हो । आजको जमानामा झेलको खेल नखेल्ने कोही छैन । सरकारी र काम काजमा मात्र होइन तरकारीमा पनि झेल हुन्छ । झुुपडीदेखि खुपडीसम्म बिना दाममा पाइने हुन्छ । यो पाइला पाइलामा पाइन्छ । यो कम्मरको ढाल झै ढल्ेको हुन्छ ।
खेल चउरमा देखिन पर्ने । समाचार खण्ड खण्डमा सुन्ने गरेको छु तर घर भित्र भित्रै दुलो खनेर गरेको हुन्छ किन । हुनत स्यालको छालामा बाघको दाई भन्ने सुनेको छु । खेलमा पनि झेल चानचुने नहुदो रैछ । जस्तो मान्छे खोज्यो उस्तै मान्छे झै झेलमा खेल्ने खेल पाइन्छ । दाउरा बोक्नेको दाउरेको खेल गालामा चाउरी पारेर पारपाचुके गर्ने चाउरेको खेल सभ्यताको खेल हेर्दा हेर्दै झ्याउरे म पनि भएको छु । टौवामा कौवा वस्ने खेल बुझ्न नसकिएला कि भन्ने डर लाग्छ । खेलमा झेलको कुरै नगरौँ । हुन त खेल खेल्नेहरू सबै सिपालु हुन्छन् । मनोरन्जन पनि गर्न पाइने आनामा मिल्ने दाना पनि मिल्ने । आजकलको व्यापारि खेलमा पाइने सेलको गफ नझिकौँ । मर्ने बेलामा हरियो काक्रो खोज्नु, चिप्लो स्वरमा कोइली जस्तो बोल्नु पनि झेलको खेल हो । जिन्दगी भरि किन झेलको खेल किन ?
यी सबै खेलका झेल कुरा हुन् । झेल पनि गर्नाको हुन्छ । पर्दा अगाडी आउने खेल भन्दा पर्दा पछाडि झुल्कने अमेरिकन रसियन बेलायती जापानी खेल खतरा हुन्छ । यहाँ एक सेकेण्डमा मीठो पिठो लड्डू पेडा ज्यूनार गर्नेले मात्र खेल खेल्छ भन्न खोजेको होइन । झेलको खेल नछोड्नु होस एक पलमा विश्व ध्वस्त हुने खेल यहा हुन सक्छ । झेलको कारण कतै भोजनमा स्वजन र ओजन पनि हुन्छ । झेलको खेल नगरे दिन दुगुना रात चौगुना सम्पत्ति पनि बढ्दैन । कोही सम्पत्तिलाई झेलको उपमा दिन्छ कोहि स्त्रीजातिलाई दिन्छन् कोही रक्सीलाई पिएर झेल दिन्छन् । कोही भट्टीको भटमासलाई दिन्छन् । कोही नमाज पढ्ने समाजलाई दिन्छन् ।
खेलको झेलमा के के विकल्प हुन सक्छन् । शहरतिर पाच सय जन्तीलाई पुग्ने भाग एक सय जनाले बुत्याए भने के हुन्छ । यसमा प्रश्न उठ्न सक्छ । यस्लाई भनिन्छ खेलमा राष्ट्रिय झेल । जब झेलमा ढाट्ने र लुट्ने कला लङगडो भयो तब झेलको सेल पाक्यो भन्छन् । यो सेरोफेरो चौतारीको चौघेरामा झेलको खेलको कुरा गर्दा कसैलाई अराष्ट्रिय डण्डाको झेल कसैलाई झण्डाको झेल कसैलाई खेतीको झेल कसैलाई सुरा सुन्दरीको झेल कसैलाई संगठनको झेल कसैलाई कुराको झेल कसैलाई नूनको झेल कसैलाई सुनको झेल कसैलाई केटीको झेल कसैलाई घरवारीको तिहुनको झेल । तस्करको सुन समाएर हेर्दा तामा बन्ने देशमा हामी जन्मिन पुगेका छौँ । हुदाँ हुँदै जात्रामा झेलको खेलमा झेल हुन्छ भन्ने कुरा सुनको छु । कसरी खेल खेले खै के भनूँ ?
यहाँ गरिब र धनी टाउकाहरू पनि खेलको झेलमा अलमलिएका छन् । तर झेल गर्दैमा घेरोको कानले सेल पाक्ने होइन । अस्तिसम्म झेल गरेर कति फुटपाथेहरु कुर्सीमा पुगेका महाराज र मन्त्री बनेकालाई के भन्ने ? काममा तात्तिएर भएको खेल खेलेर कोही महाराज भए । कोही कोही महारानी भए । कोही दल बदल भए । यो फुर्का गुँथेको भरियालाई भकुरेको कुरा होइन । खेलको झेलको खेलले हाम्रो नालापानीको युद्धले वीरहरूको टाउको निहुराउ परेको इतिहास हामी सामु छ । सबै कुरा खोतल्दै जाने हो भने सात पत्रै भुँडी देखिन बेर छैन । नपत्याए एक पटक तपाईं पनि खेलको झेल गरि हेर्नुहोस् ख्याल मजा हुँदैन । मूल्यहीन खेलमा नजिते पनि हार भने पक्का तपाईंले पाउने हुनेछ । जे कुरामा पनि राजनीतिको झेल खेल धपक्कै बलेको छ । किनबेचको खेल अचम्म नमाने हुन्छ । झेलको खेलको बयान धेरै नगरौँ । धत्तेरीका बुद्धि विनोदको चर्चा कहाँबाट बटुलियो धेरै नगरौँ । जय झेल, जय खेल ।
०००
काठमाडौं १५ , हाल सिड्नी
Subscribe
Login
0 Comments
Oldest




































