साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यस वर्ष पनि लक्ष्मीकोे कृपा भएन

यस्तै काम न काजको मान्छे कहाँ मलाई लिएर आउँछस् । आइन्दा यस्तो गरिस् भने तँमाथि कडा कारबाही हुन सक्छ । यहाँसम्म कि तेरो सफाया पनि हुन सक्छ ।

Nepal Telecom ad

योगीश कृष्ण :

तीस वर्षपछि देखियो । यस अवधिमा उल्लूमा आएको परिवर्तन देखेर म चकित परेँ । टिलिक्क टल्केको सूटमा सजिएको ऊ आकर्षक उल्लू देखिन्थ्यो । उल्लूपूर्ण आँखा छोप्न उसले कालो चश्मा भिरेको थियो । सुकेको अनुहारमा रौनक थपिएको थियो । उसले मलाई चिनेर पनि नचिनेको झैँ गर्‍यो । म उसको बलेरो गाडी अघिल्तिर उभिएपछि ऊ लाचार भयो ।

तैपनि उसले मलाई चिनेको स्वीकार गरेन, भन्यो, “कता कता देखे जस्तो लाग्छ ।”
बिलकुल त्यसै गरी जसरी चुनाव जितेको नेताले गाउँका कार्यकर्तालाई भेटेपछि भन्ने गर्छन् ।
मैले बुँझे, मलाई परिचितको श्रेणीमा राखेर ऊ आफ्नो स्तर तल झार्न चाहन्न थियो । मैले तीसौँ वर्ष अघि भएको हाम्रो भेटघाटको स्मरण गराएँ । बल्लबल्ल उसले सम्झिएको भान पार्‍यो , “अच्छा, हो त नि, त्यही त कस्तो चिनेको जस्तो लागिराख्या अवस्था हो ।”
मैले बिन्ति गरेँ, “हे उल्लू, एक पटक लक्ष्मीजीलाई मेरो झोपडीमा ल्याइदेऊ ।”

ऊ चिन्तित भएजस्तो मुद्रामा देखा पर्‍यो “कुनै समय थियो, म उल्लू थिएँ । आज मेरो हैसियत धेरै माथि उठिसकेको अवस्था हो । तापनि वर्तमान परिस्थितिको वैज्ञानिक तवरले विश्लेषण गर्नुपर्दा मैले के भन्नु पर्छ भने मेरो खातिरदारी गर्ने धेरै छन् । उद्योगी, व्यापारी, थरिथरिका तस्कर, (उसले कानमा भन्यो -आजकल रक्तचन्दनको तस्करी जोडतोडले चलिरहेको छ । हतियारको कारोबार पनि फस्टाएको छ) । तिमीले तीस वर्षअघि भनेका थियौ -यदि मेरो बुता चल्यो भने प्रत्येक विद्यालयमा उल्लूको पूजा अर्चना गराउने व्यवस्था गर्नेछु । तिम्रो त्यो भक्तिप्रति म साह्रै खुसी छु । म लक्ष्मीलाई तिमी कहाँ ल्याउने प्रयास गर्नेछु ।

ऊ त्यत्तिकै खुसी भयो, जसरी कुनै नेतालाई आजीवन तपाईं यो देशको राष्ट्रपति वा प्रधानमन्त्री हुनुहुन्छ भनिदियो भने खुसी हुन्छन् । राँगो, कुखुरा जे को पनि, मतलब मूल्य, मान्यता, दर्शन, नैतिकता, साथी भाइ, कार्यकर्ताको बलि दिन तयार हुन्छन् ।

मलाई उल्लूप्रति ईर्ष्या लाग्यो । यो उल्लू हो, म मानिस । योसँग जे छ, त्यसको एकांश पनि मसँग छैन । आफैलाई सम्झाएँ- म त सामान्य मानिस हुँ । यो त उल्लू भए पनि लक्ष्मीको उल्लू पो हो त ।
म दियो बालेर लक्ष्मीको प्रतीक्षामा बसेँ । बिहान मिर्मिरे बेलामा लक्ष्मीको आगमन भयो । लक्ष्मी थकित देखिन्थिन् । आँखा खुम्चाएर उनले मतिर हेर्दै उल्लूलाई भनिन् “त्यसै उल्लू भनेको हो तँलाई । यस्ता कहाँ मलाई ल्याएर । म भोट माग्न हिँडेकी हुँ र ?”

लक्ष्मीको क्रोध साम्य पार्न मैले नै पहल गरेँ “प्रभो, हजुरलाई धेरै थकाइ लागे जस्तो छ ।”
“हो” उनले खुइय्य गरिन् “पहिले दरबार र उनका आसेपासे कहाँ गए पुग्थ्यो । अहिले कति ठाउँ जानु पर्छ । सबै दलका ठूला नेता , तिनका चमचा, तिनका प्रिय व्यापारी, ठेकदार , तस्करको घरदैलो चहार । त्यसपछि जिल्लातिर ।”
मैले हात जोडेँ “तीस वर्षअघि हजुरको दर्शन जुरेको थियो । उल्लू साहेबको कृपाले । हजुरको निगाह भए म गरिबको केही हुन्थ्यो कि ।”

लक्ष्मीले जबाफ दिइन् “हेर, यस तीस वर्षको अवस्थामा धेरै परिवर्तन भइसकेको छ । मतलब जो छ कि वर्तमान परिप्रेक्ष्यमा माने तिम्रो अवस्थामा कुनै आमूल परिवर्तन हुने सम्भावना देखिराख्या छैन ।”

मैले लक्ष्मीको भाषामा आएको परिवर्तन भने महसुस गरिरहेको थिएँ, मानौँ उनी चार ठूला दलकी संयुक्त रूप हुन् । उनले सोधिन् “यो तीस वर्षको अवधिमा तिमीले के के गर्‍यौ ? नेता वा नेताका चम्चा वा दलाल केही हुन सक्यौ ?”

“सकिनँ” म आफ्नो अयोग्यता सम्झँदै खिस्रिक्क परेँ ”एकपटक भोट हाल्न पर्‍यो भनेर मतदान केन्द्र त गएको थिएँ, एउटा गुण्डा आएर मेरो मतपत्र खोसेर लग्यो । आखिर गुण्डा बदमासको बदमासीले जनप्रतिनिधि चुनिन्छन् भने त्यसपछि त मेरो केही काम नै रहेन । निर्वाचनमा मेरो योगदान यति मात्र हो ।”

उनको मूड अलि खराब देखियो “यस बीचमा जनतालाई मुक्ति दिलाउने भनेर बैंक लुटने, अर्काको कमाइ खाने, जबरजस्ती चन्दा माग्ने जस्ता सुकर्म गर्‍यौ ?”
“छैन ।”
“ठीक छ । त्यसो भए अपहरण गरेर फिरौती कत्तिको कुम्लाउन सक्यौ ?”
“छैन हजुर ।”
“रक्त चन्दनको तस्करी सस्करीमा संलग्न भएका छौ वा तिनको दलाली गरेर तस्कर छुटाउने काम गरेका छौँ ?”
“छैन ।”
उनी मुसुक्क हाँसिन्, “त्यसो भए मुलुकलाई अर्को मुलुकमा मर्ज गराउने अभियानम लागेका हुँदा हौँ ।”
“यस्तो राष्ट्रघाती कामको त म कल्पना पनि गर्न सक्दिन, प्रभु ।”
भृकुटी खुम्च्याएर उल्लूतिर हेर्दै उनले मसँग सोधिन् “तिमी पागल हौ कि के हो ?”
“होइन प्रभु, साधारण नेपाली नागरिक हुँ ।” तीस वर्षअघि पनि मैले यही उत्तर दिएको थिएँ ।
उनले उल्लूलाई हपारिन् “उल्लू कहिँको । यस्तै काम न काजको मान्छे कहाँ मलाई लिएर आउँछस् । आइन्दा यस्तो गरिस् भने तँमाथि कडा कारबाही हुन सक्छ । यहाँसम्म कि तेरो सफाया पनि हुन सक्छ ।”

उनले फोन गरेर हेलिकप्टर मगाइन् । उल्लूले मेरो कानमा भन्यो “उहाँको एक भक्तको हेलिकप्टर सेवा कम्पनी छ । उसैले उपलब्ध गराएको । यही हेलिकप्टर चढेर लक्ष्मीजी भक्तहरूलाई भेट्न जानुहुन्छ । शान्ति सम्झौता भएपछि उहाँले मेरो सवारी गर्न छाडिदिनु भयो ।”
मतिर हेर्दै नहेरी लक्ष्मीजी हेलिप्याडतिर प्रस्थान गरिन् ।
यस वर्ष पनि लक्ष्मीको कृपा भएन ।

०००
११ नोभेम्भर, २०१५

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x