मुक्तिनाथ शर्माबदाम, दाम र बम
मेरो मतमा बदाम, दाम र बम आएकै हुन्छ । झन् आज त यी तीनै कुरा नजिकै देखिए । बदाम बदामै हो, फोरेर खाने गरेको खाने वस्तु । बम भनेको तोप रहेछ ।

मुक्तिनाथ शर्मा :
दिनको २ बज्दै थियो । म हतार हतार बानेश्वरबाट बागबजार जाँदै थिएँ । बाटोमै एकजना मित्रसँग भेट भयो । मित्र फुटपाथमा बसेर बदाम खाँदै हुनुहुन्थ्यो र भन्नुभयो- “बदाम खाऊँ ।” मैले बदामलाई बदाम मात्र सम्झिनँ । दाम र बमसमेत सम्झन पुगेँ । किनभने ‘ब’ एउटा झिके दाम हुन्थ्यो र ‘दा’ झिके बम हुन्थ्यो । तसर्थ मुसुमुसु हाँसेर अगाडि बढ्दै थिएँ । मित्र पड्कनुभयो र भन्नुभयो- “बदाम खाऊँ भन्दा मान्नुभएन, खानुहोला बम ।”
मेरो सातोपुत्लो उड्यो । किनभने अहिले यहाँ कुनै कुरा ठीक छैन । मित्रले भनेजस्तै बम खान पनि के बेर ? जे भए पनि मलाई पद्मकन्या क्याम्पसको डेनिस हल पुग्नु थियो । त्यहाँ सुनकोसी साहित्य प्रतिष्ठानको वार्षिकोत्सबमा भाग लिन निम्तो थियो । वरिष्ठ साहित्यकार कृष्णप्रसाद पराजुलीले दोहोच्याएरसमेत ‘आउनुस् है’ भन्नु भएको हुँदा म सरासर अघि बढेँ । पद्मकन्या क्याम्पसमा पुग्दा नपुग्दै ‘ड्यामड्याम’ आवाज आयो । मेरो सातोपुत्लो गयो । मनले भन्यो- पक्कै पनि माओवादीले बम पड्काए । के गरु कसो गरुँ भई छटपट-छटपट गर्दै थिएँ, एउटा मित्र आएर भने- “जाऊँ ।” कुरा चलाएँ । उनले हाँसेर भने- “घटस्थापनाको बढाइँ ।” म फेरि भावुक भएँ । घटस्थापनामा पनि त्यस्तो … ।
सुनकोसी साहित्य प्रतिष्ठानको कार्यक्रम भव्य भयो । हास्यव्यङ्ग्यकारसमेत सम्मानित भए । भाषणको क्रममा कृष्णप्रसाद पराजुलीको पालो आइसक्यो । उहाँले दामका पनि कुरा गर्नुभयो । पैसा, मोहर, रुपैयाँ र हजार-हजारका नोटका क्याँटको खेल त राजनीतिको मैदानमा पो हुन्छ त । यहाँ त खालि दामको कुरा । साह्रै थोरै नाम मात्र । यहाँ अझ स्पष्ट नै भनौँ न दाम भनेको त पैसालाई चार भाग लगाउँदा आउने सिक्काको साह्रै सानो एकाइ न हो । कवि साहित्यकारहरूले अरू गर्ने पनि के झन्छन् र भनेर निराशा सान्दै थिए, पराजुलीजीले भन्नुभयो “यो सुनकोसी त मनकोसी पो हो त ।” पराजुलीजी गीतकार पनि भएकाले मैले त्यो वाक्यमा गीत गुन्जेको पाएँ । “सुनकोसी भन्छन् मान्छे, मनकोसी पो हो ।”
कार्यक्रम सकेर घरतिर आउँदा पनि मेरो मनमा आइरह्यो- “बदाम, दाम र बम ।” मनले भन्यो- यी तीनै कुरा एकै एकै हुन् र ? फेरि आफै भनेँ- होइन, बदाम खानेवस्तु हो, दाम सिक्काको साहै सानो एकाइको नाम हो । त्यसको अहिले त प्रचलन पनि छैन । त्यस्तै बम भनेको खतरनाक विस्फोटक पदार्थ हो । यो नाशकारी हुन्छ । मनै त हो, जति तन्द्रा झिके पनि हुन्छ । म यही बदाम, दाम र वमकै कुरामा तर्क-वितर्क- गर्दै घरमा पुगेँ ।
साँझ नेपाल टेलिभिजन र रेडियो नेपालले समाचार दिए – दाम राखी दर्शन गरेको । प्रधानमन्त्रीलगायत ठूलाबडाहरूले दाम राखी सलाम गरेको र त्यही दाम फेरि आफै टिपेर खल्तीमा राख्दै हिँडेको पनि देखियो । त्यो देखेपछि मनमा कुरा आउन थाले- किन दाम राखेर सलाम वा स्वस्ती गर्ने ? के पैसा दुई पैसा, पाँच पैसा, सुका, मोहर, रुपैयाँ वा स्वणर्मुद्रा राख्न सकिदैन : राख्ने र आफै लिएर फर्कने हो भने राख्नुको प्रयोजन के ? जहाँ राख्यो, त्यहाँबाट आफै टिपेर हिँड्ने हो भने तु दसौँ तोला सुनको असर्फी नै राखे पनि के फरक पर्थ्याे ।
यी प्रश्नहरू कसैसमक्ष राखेर जवाफमा उत्तर लिन सकेको छैन । सायद त्यसैले गर्दा होला, मेरो मतमा बदाम, दाम र बम आएकै हुन्छ । झन् आज त यी तीनै कुरा नजिकै देखिए । बदाम बदामै हो, फोरेर खाने गरेको खाने वस्तु । बम भनेको तोप रहेछ, त्यही तोप पड्केको बेलामै रहेछ प्रधानमन्त्रीलगायतका ठूलाबडाले दाम राखी दर्शन गरी दाम टिपेर सुइँकुच्चा ठोकेको । अब पत्ता लगाउनुपरेको छ- त्यो राख्दै र टिप्दै गरेको दाम पैसा हो कि, रुपैयाँ हो कि, ढ्याक हो कि, सिक्को हो कि वा अरु नै कुनै ?
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































