देव भट्टराई (२)प्रवृत्ति
सुनाएर गाथा पढाएर भालु- कुहेमा कुनै काम लाग्दैन आलु ॥ विनाकाम झूटो भयो हेर कालु । खुवाएर बाख्रा रुँदै ठोक्छ तालु ॥

देव भट्टराई :
जगत् हेर्छु भन्ने भए ज्ञान साथ ।
किरो माथि उठ्नेथियो नर्कबाट ॥
जहाँ जो रमाई बसेको छ हाँसी ।
कुवा सिन्धु-संसार हो ठान्छ प्यासी ॥०१
कसैको छ गन्तव्य खाने र बाँच्ने ।
कसैको छ चाहा हँसाएर हाँस्ने ॥
उसैमा खुशी हुन्छ बाधा नदेऊ ।
सके साथ टेवा र आधार देऊ ॥०२
नराम्रो नहेरौँ नराम्रो नदेखौँ ।
नराम्रो नलेखौँ नराम्रो नभेटौँ ॥
यही मन्त्र बोकी हिडौँ साथसाथ ।
मिलाई सधैँ हातमा स्वच्छ हात ॥०३
तिमीले बुझेका र मैले बुझेका ।
सबै सत्य हुन्छन् नठान्नू सुनेका ॥
गरे तर्क व्यर्थै नजाँची नहेरी ।
लजाई स्वयं सत्य हाँस्नेछ फेरि ॥०४
सुनाएर गाथा पढाएर भालु-
कुहेमा कुनै काम लाग्दैन आलु ॥
विनाकाम झूटो भयो हेर कालु ।
खुवाएर बाख्रा रुँदै ठोक्छ तालु ॥०५
यहाँ राख्छ केले ? दुरुस्तै हिसाब ।
कुनै काल माछा परी हाल्छ जाल ॥
ठगी मख्ख पर्दैनपर्नू बिहान ।
कतै बेलुकी आउँनेगर्छ काल ॥०६
०००
भोजपुर, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































