साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दालको मुद्दा !!

बाक्लो दाल खानेले आफ्ना सन्तान दरसन्तानलाई मात्र बाक्लो दाल जोहो गर्ने होइन, अहिलेकालाई पनि पिउन दिनुपर्छ । अनि मात्र दालको मुद्दा छिनोफानो हुन्छ । नत्र कि दाल कि हामी नै स्वाहा हुने छौँ ।

Nepal Telecom ad

ह्यारी- ८० :

दाल भान्छासँग सम्बन्धित झोलिलो खाद्य पदार्थ हो । दाल शब्द सुन्नेबित्तिक्कै भात, रोटीसँग खाइने तरल पदार्थ भनेर जसले पनि बुझेकै छन् । जाँतो वा सिलौटा वा कलमा वा ग्राइन्डरमा हल्का पाराले दलिएर बनेको मास, रहर, मुगी, चना आदिको फग्ल्याँटा नै दाल हो ता पनि यसको जिन्दगी नेपालीसँग तुलना गर्न नसकिने होइन । तपाईँलाई कस्तो दाल मन पर्छ कुन्नि मलाई चाहिँ बाक्लै दाल मनपर्छ ।

बाक्लो दाल मन नपराएर पनि के गर्नु ? गृहलक्ष्मीले ‘बाक्लो दाल खानुपर्च बुढ्ढा’ भन्नेबित्तिक्कै कुम्लोकुटुरो बोकेर डेरा खोज्न दौडेकालाई यो मन नपर्ने त कुरै भएन । मैले पनि चुपचाप बाक्लो दाल लिनै पर्ने भयो नत्र दालको सट्टा डाडुकै वर्षा हुने थियो भन्ने मलाई ज्ञात थियो । सासू र बुहारीको घराघुरले दाल बाक्लो कि पातलो भन्ने निर्धारण हुने रहेछ ।

दाल पनि मानिसलाई गिज्याउने गरी थरीथरी वणर्का भेटिन्छन् : कालो, खैरो, पहेँलो, रातो, गहुँगोरो आदि । कालो दालले आफूलाई अरूबाट भिन्न रहेको महसुस गर्दछ । हुन त यो अन्य दालबाट हेपिएको देखिन्छ तापनि भित्र सेतो भएको हुँदा यो नेल्सन मन्डेलाजस्तो हितकारी पनि छ । कालो भएकैले भूतप्रेत मन्छनदेखि मस्यौरा बनाउने कार्यमा समेत यसको प्रयोग गरिने हुँदा यसले अति दुःख पनि पाएको छ तर महत्ताको पनि छ । धानलाई खेतका गरामा रोपेर मलजल गरे पनि कालो मासलाई हेपेर विभेद गरेको पाइन्छ । खेतका डिलमा रोपेर न पानी न मल केही पनि दिइँदैन । मोफसलको गरिब नै बनेको छ मास । यसरी नै खैरो, रातो, पहेँलो दालका आआफ्नै कथा छन् । मस्याङ, सिमी आदिका पनि दाल बन्छन् तर यिनीहरू प्रदेश र सङ्घीय सांसद् जस्तै छन् भन्दा पनि हुन्छन् । यिनीहरूबाट क्वाँटी पनि बन्छ । आलुदेखि पिँडालुसम्म, कर्कलोदेखि प्याजसम्म दाल जेमा पनि ठिक्क परिदिन्छ जुन व्यवस्था आए पनि सोझो नेपाली जस्तो ।

अकबरी सुनलाई कसी लाउन पर्दैन भनेझैँ साँच्चैको दाललाई कुनै रङ लगाउनुपर्दैन । अड्कोपड्को तेलको धूप भनेझैँ एक मुठी दालमा एकपाथी पानी हालेर भोजमा मोज गर भनेर भद्रगोल मान्छेलाई झोल पुर्‍याउने दानवीरकी पत्नी हुन् वा दालैदालको खिचडी बनाएर कोमलबहादुर दाहाललाई भोजमा मोज गराउने द्यालबाबु हुन् सबैमा दाल ठिक्क परिदिन्छ । बहुल रङमा पाइने दाल मासबाट, रहरबाट, मुगीबाट, चनाबाट, खेसरीबाट के के हो के केबाट बनिदिन्छ र भान्छा सजाइदिन्छ ।

कयौँ सुदामाका घरमा मिठो दाल खानु भनेको आकाशको फल आँखा तरी मर भनेझैँ हुन्छ तापनि तिनै सम्भ्रान्त भनाउँदाले बाक्लो दाल घुड्क्याउन दिनका दिन ङार्रङुर्र गरिरहन्छन् । पाउरोटीका लागि झगडा गर्ने बिरालाहरूको भाग बाँदरले जिप्ट्याएजस्तै बाक्लो दाल खान घर छोडेकाहरूलाई वरपरका लाउकेहरूले फाइदा उठाएर हरिकङ्गाल बनाइदिन्छन् । पार्टी फुटाएर बाक्लो दाल खान गएकाहरूलाई कठैबरा बाहेक के भन्न सकिएको छ र ? आफू नमरी स्वर्ग देखिन्न भन्नेहरूले दल विभाजन गरी बाक्लो दाल खान गएको फतुरे काका टुलुटुलु हेरिरहेका थिए । माउ दल, बाच्छा दल, पुरानादेखि नयाँसम्मकाले भान्छामा पाकेको दाल आफैँ र आफ्नैलाई घोप्ट्याउन पल्केका छन् । आफ्नो दिऊँ त मै मरिजाऊँ, अर्काको पाए तीन माना खाऊँ गरी जति दाल पनि आफैँ पिउने प्रवृत्तिले आज हामी नेपाली जन्मनै नपाई हजारौँ हजारको ऋणले उठ्नै नसकी निसास्एिर मर्न लागेका छौँ ।

इलमीका भागमा माछा र मासु पर्नुपर्ने हो तर जसको बिहे उसलाई देख्न नदे गर्ने प्रवृत्तिले उत्पादन गर्ने किसानकै पेट दाम्रो हुने अवस्था सिर्जिएको देखिन्छ । दालको डाडु हातमा नपरिन्जेल पनपच्छे नगरी भाग लगाउँछु भन्दै विश्वास जित्ने र भान्छे भएपछि भने कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गाको बाङ्गै भएको देखिन्छ । पटक पटक भान्छे बन्न पठाउँदा पनि बाक्लो दाल खान पल्केका ढाडेहरूले गर्दा खोलाको किनारमा पनि तिर्खाएर बस्ने गरेका फतुरे काकाहरूले सुशासनका लागि लड्दा लड्दै पनि आज काम गर्ने कालु मकै खाने भालु भएको गाँडलीलाको दृश्य देख्नुपरेको छ ।

गाई मारी गधा पोस्ने अगुवा भइन्जेल हामीले चिप्ला मुखको धमिलो पेट भएकाको व्यवहार भोगिरहनुपर्छ नै । दुःख छ भनेर चिनेको चोरले चिनेकैको मुटु चिरेर दुःख दिएको छ । जुन थालमा खायो त्यही थालमा चुठ्ने अगुवा चुनेर पठाउनु नै अभिशाप भएको छ । हिजो साँपलाई दुध खुवाएर पाल्ने पनि हामी अनि आज केही भएन भनेर अलाप्ने पनि हामी भएका छौँ । जनताका लागि काम गर्नुपरे तैँ रानी मै रानी कसले भर्ला कुवाको पानी भन्ने अवसरवादीहरू भोट माग्न आउने बेला भयो भनेपछि वैशाखी बनिदिने प्रण गर्न दैलामै सोझाको सहाय दैव जसरी वचन दिन आइपुग्छन् । लुटको धन फुपूको सराद गर्ने मान्छे आज सत्तोन्मादले मह काढेको बहानामा आफ्नो मात्र होइन अर्काको हात पनि चाट्न पुगेका छन् । झानेको दाल खान माहिरहरू दल अदलबदल गरिरहन्छन् । निभ्ने वेलाको बत्ती उज्यालो भएझैँ केही अगुवाहरू टर्च लिएर दाल खोजिरहेछन् । चुरे, लिपुलेक, सुस्ता, कालीगण्डकी, कोशी, गण्डक बाँध आदि जतातिर दाल पाक्छ, त्यतैबाट डाडु आफैँतिर घोप्ट्याइरहन्छन् । आखिर बाक्लो दाल खाने र पातलो दाल खाने वर्गको खाडल झन् फराकिलो हुँदै गएको छ । यो सबै दालकै दोष हो ।

दालको सृष्टि नभएको भए सायद मान्छेले बाक्लो र पातलो गरी भेद गर्दैनथ्यो होला । कसैलाई घिउ हालेको, बाक्लो, लसुन, प्याज, जिम्बु, टिम्मुर आदि झानेको दाल, फ्राइ गरेको मिक्स दाल अनि कसैलाई खै के जस्तो के जस्तो, कुन्नि कसले भन्थ्यो घोडाको पिसाबजस्तो दाल पनि नहुने खल्लो, अलिनो, के के हो के के गरेर तहानुसारको दाल यसरी बन्दैनथ्यो होला ।

सबै मानिसलाई समानस्तरको दाल पिउने वातावरणका लागि कार्लमाक्र्स, माओदेखि अहिलेका खाओसम्मकाले नीति तथा वाद ल्याए । क्रान्तिको भ्रान्ति र सत्ताका दाल र प्रतिपक्षका दाल एक ठाउँमा आए गए तर पनि बाक्लो र पातलो दालले मसला, नुन सबै समान किसिमका हुनुपर्छ भन्दै गर्जिरहे । अहँ, संसारभरिका दालले गल्न मानेन् । गरिबले त सिस्नु खालान्, खोलेफाँडो खालान् बडेमाका खल्ती हुने गोदालो लगाउनेले के खालान् भनेर फतुरे काका घोरिएर बसेको देख्ता कसौँडीका, डेक्चीका, कुकुरका, ताप्केका अनि कचौरा कचौरका दालहरू बैठक बसिरहेछन् । बाक्लो दाल खानेले आफ्ना सन्तान दरसन्तानलाई मात्र बाक्लो दाल जोहो गर्ने होइन, अहिलेकालाई पनि पिउन दिनुपर्छ । अनि मात्र दालको मुद्दा छिनोफानो हुन्छ । नत्र कि दाल कि हामी नै स्वाहा हुने छौँ ।

०००
गोकर्णेश्वर-  ५, काठमाडौँ
२०८० साल माघ १३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x