साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पैसाकाे खेल

अतृप्ट केटाले भन्यो, ‘आमा ! अरू !’ आमाले भनिन्, ‘बाबु, अब पैसा छैन । हिँड, घर जाऊँ ।’ अनि त्यो केटो, त्यो केटी र तिनका आमाबाबु त्यस कारदेवीमाथि अन्तिम लोभी आँखाले हेरेर गए ।

Nepal Telecom ad

हरिशङ्कर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

घरमा त एउटा कागजमा आफ्नो ऋणको हिसाब लेखेर त्यसैको पूजा गरेँ । आफूसँग त लक्ष्मीको नाउँमा यही कहिल्यै नछुट्ने ऋण छ । फेरि सोचेँ, जाऊँ, केही अरुको हाल पनि हेरेर आऊँ । चोकबाटै हिँडेँ । दुवैतिर सजाइएका पसलहरूको लहर, जगमग गरिरहेका राता हरिया बल्ब, अनि बिचमा उत्ताउला लुगाु लगाएर अगाडिबाट गइरहेको भिँडमाथि गर्वदृष्टि लगाएर बसेका थिए पसलेहरू । सडक दर्शकहरूले भरिभराउ थियो । यति धेरै मानिसहरू आफ्नो घरको दीपावलीलाई तुच्छ ठानेर अरूको दीपावली हेर्न निस्केका थिए ।

फवारानिर विशेष भिड थियो । एउटा ठुलो र राम्रो पसल थियो जसमा एकसे एक राम्रा र बासनादार लुगा लगाएका साहूहरू धनकी देवीको पूजाको आयोजनामा व्यस्त थिए । कसैको प्रतीक्षा थियो । अचानक एउटा कार पों पों गर्दै आयो र रोकियो । आकाशै झिलमिल पारिरहेको त्यस नयाँ गाडीले आँखा नै तिरमिर्‍याइदिन्थ्यो र त्यसमा दृष्टि अडिँदैनथ्यो । मानौं कुनै सुन्दर नक्षत्र धर्तीमा उत्रेर आएको होस् । भित्र हल्लीखल्ली भयो, ‘साहुजी आउनुभयो ! साहुजी आउनुभयो !’ मैले सोचेँ, होला कुनै पहेंलो फेटा बेरेको, कानमा कण्ठी लगाएको, मुखमा फोहरी जुँगाको झ्याङ उमारेको मारवाडी साहू । तर ओहो ! उनी त खद्दरधारी थिए । उसो भए के नेता हुन् त यिनी ? हजुर, उनी नेता पनि थिए र साहुजी पनि । जन्म र कर्मले साहुजी थिए र दुनियाँका आँखामा धुलो छ्याप्न चन्दारूपी दक्षिणा दिएर भर्खरभर्खरै नेतागिरीको गुरुमन्त्र पनि लिइटोपलेका थिए । अँ त, उनी नेतारूपी साहुजी भित्र गए अनि पूजा आरम्भ भयो ।

त्यस सुन्दर चम्किलो कारलाई देखेर त कसको मन नजिक पुग्न नचाहँदो हो र ? कुनै उर्दू कविकी नायिकाजस्तै त्यो आफ्नै ठाउँमा रोकिएको थियो र टसमस भएको थिएन । फेरि पनि कति राम्रो लागिरहेको थियो ! मैले स्वयम् नै पनि त्यसको नजिकै गएर हेर्ने लोभ संवरण गर्न सकिनँ । फेरि यी विचरा त अनपढ र गरिब मजदुर थिए । त्यो एउटा सिङ्गो परिवार थियो, आमाबाबु, तेह्रचौध वर्षकी छोरी अनि नौदश वर्षको एउटा केटो कौतूहलले आँखा च्यातेर यस विश्वविमोही कारलाई हेरिरहेका थिए । केटो डराउँदै कारको नजिक पुग्यो अनि उल्लास तथा आश्चर्य भरिएका आँखाले हेरेर उसले आफ्नो बुढी औँलो मात्र डराउँदै कारमा राखिदियो । अनि ड्राइभर जो अहिलेसम्म जँुगा मुसार्दै थियो अधिकारपूर्वक चिच्यायो, ‘ए ! हट् त्यहाँबाट । हात किन लगाउँछस् ?’ केटाले एक्कासि औंलो तानिहाल्यो, मानौँ उसले आगाको कोइलालाई छोएर हात थुतेको होस् ।

भित्र लक्ष्मीको पूजा हुँदै थियो -‘लक्ष्मीको जय !’- अनि मसँगै उभिएको एउटा केटो जाडाले गर्दा सिउसिउ गर्दै कराइरहेको थियो, ‘एक एक आनामा सलाई एक एक आनामा !’ अनि त्यो श्रमिक परिवार कहिले कारलाई त कहिले भिडलाई हेर्दै थियो । विचरो केटो भोको थियो । अगाडि मिठाइ देखेर रुन थाल्यो- ‘आमा, भोक लाग्यो । मिठाइ किनिदिनुस् न !’ विचरी आमाले दुई पैसाको लैया (भुजाको लड्डु) लिएर केटाका हातमा दिइन् । केटाले मग्न भएर त्यो मिठाइ खान थाल्यो । तर उसका आँखा भने त्यसै कारमा थिए । कैयौँ पटक कारलाई छुन उसले हात लम्कायो तर प्रत्येक पटक ड्राइभरलाई देखेर त्यो तर्सिन्थ्यो ।

ड्राइभरले भित्रको दृश्य हेरिरहेको थियो । केटाले यस अवसरको पुरै फाइदा उठाउन खोज्यो । उसले फुर्तिसाथ आफ्नो हात मडगार्डमा घुमायो । ड्राइभरले अझै पनि उतै हेरिरहेको थियो । केटाको साहस बढ्यो । उसले कारमा लागेको धुलो बडो श्रद्धा र सावधानीपूर्वक पुछ्न थाल्यो । धुलोरहित त्यो कार अझै चम्क्यो । केटाका आँखा पनि उल्लासले चम्के । उसले हातको लैया खानै बिर्स्याे ।

त्यसै वेला ड्राइभरका आँखा घुमे । त्यो करायो, ‘ए, मान्दैनस् ? पख् …’ अनि झम्टेर उसले केटाको हात समातेर झट्कार्‍यो । बिचरो केटो लड्यो अनि उसको लैया पनि भुइँमा खसेर छिरलियो । त्यो रुन थाल्यो तर चोट लागेर नभई लैया खसेकाले । बिचराले आधा मात्रै त खान भ्याएको थियो नि ! आमाले उसका आँसु पुछिन् र धुलो भरिएको लैयाका सितासिता टिपेर उसलाई खुवाउन थालिन् । केटाका आमाबाबु कसैले पनि ड्राइभरको यस कामको प्रतिवाद गरेनन् । उनीहरूले त त्यस कारलाई, त्यसको मालिकलाई र त्यसको ड्राइभरलाई नै अलौकिक मानिसकेका थिए । त्यसैले त उनीहरू यिनीहरूभन्दा यति भिन्न थिए नि !

यता केटो कुर्ताले आँसु पुछ्दै धुलामा मुछिएको लैयाका टुक्रा खाँदै थियो । भित्र भने स्वादिष्ट प्रसाद बाँडिँदै थियो । अतृप्ट केटाले भन्यो, ‘आमा ! अरू !’ आमाले भनिन्, ‘बाबु, अब पैसा छैन । हिँड, घर जाऊँ ।’ अनि त्यो केटो, त्यो केटी र तिनका आमाबाबु त्यस कारदेवीमाथि अन्तिम लोभी आँखाले हेरेर गए ।

उता गजरा (एक प्रकारको सेतो फूलबाट बनाइएको हार) ले लादिएका मालिक साहू, चञ्चल लक्ष्मीका कृपापात्र त्यस चञ्चल कारमा सवार भएर गए । एकजना बुढाले भने, ‘बाबु, सबै पैसाको खेल हो ।’ छाँटिँदै गएको भिडमा त्यो केटो फेरि करायो, ‘एक एक आनामा सलाई, एक एक आनामा !’

म पनि फर्केर हिँडेँ । लक्ष्मीपूजाको त्यस घडीमा पनि मेरो दिमागमा त्यही कार, उही साहू, त्यही श्रमिक परिवार र त्यो सलाई बेच्ने केटो घुमिरहेका थिए । तर म भने यिनमा कुनै सम्बन्ध देखिरहेको थिइनँ ।

०००
परसाईं रचनावली भाग २ , ‘पैंसे का खेल’ बाट नेपाली अनुवाद ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
लडाइँ

लडाइँ

हरिशंकर परसाईं
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x