हेमराज पाैडेल‘डे प्रेमी’हरू
तर त्यसपछि टोलछिमेकका उरन्ठेउला ठिठाठिटीको ‘भ्यालेन्टाइन डे’ को निम्तो टार्न पो कुन जुक्ति गरुँ, सोझै इन्कार गरे ती हिसी परेकी पल्लाघरे नानीसँग पनि बोलचालै बन्द होला भन्ने पीर छ ।

हेमराज पौडेल :
प्रसङ्ग थियो मेरो आफ्नै जन्मदिनको । त्यसको अघिल्लो दिन भोलिपल्टको जन्मदिनको लागि पुरेत बोलाएर अष्टचिरञ्जीवीको पूजा गराएर प्रसाद र आशीर्वाद लिने सोच बनाएको थिएँ । त्यसै दिन कुन्नि कुन सम्प्रदायको पर्व भनेर स्कूलले पनि छुट्टी दिएको रहेछ । अचानक घरकै केटाकेटी, भतिजाभतिजी र छिमेकीका केटाकेटी समेत जम्मा भएर मेरा वरिपरि घेरा लागे । त्यो जमघट देख्ता मलाई शङ्का त लाग्दै थियो कि यिनीहरूले कुनै कोग्ल्याँटो कुरो निकाल्ने होलान् । नभन्दै छोरीले मुख खोलिहाली, “बाबा भोलि हजुरको ‘बड्डे’ धुमधामसँग मनाउने भनेर हाम्रो फुच्चे पार्टीले निधो गरेको छ । त्यसको लागि केक, मोमबत्ती, मासु र अरु सामान किन्न अहिले रु छ हजार जति दिइस्योस् । किनमेल आजै गर्नुपर्छ । पैसा त अहिले नै चाहियो ।”
केटाकेटीको मागको भाषा र तरिका अचेलका कुनै राजनैतिक आन्दोलनकारीको भन्दा कम जोसिलो थिएन । सोझै इन्कार गर्न पनि नमिल्ने ! अहिलेका केटाकेटी हाम्रो पालाका जस्ता मान्यजनले भनेपछि लुरुक्क परेर खुरुक्क मानिहाल्ने कहाँ छन् र ! कुरा मिलेन भने भोलिदेखि नै स्कुलहड्तालको धम्कीसँगै अरु विभिन्न बाल अधिकारका कुरा उठाएर आफैँलाई हायलकायल पार्लान् भन्ने डर !
मैले बिस्तारै भनेँ, “हेर यो ‘बड्डे पार्टी’ भनेको हामी नेपालीको संस्कृतिभित्र पर्ने कुरै होइन । त्यसैले मैले भोलि बिहानैको लागि पुरेत बाजेलाई खबर गरेको छु । भोलि बिहान अष्टचिरञ्जीवीको पूजा गरेर प्रसाद र आशीर्वाद लिनुपर्छ । तिमीहरूले पनि त्यही पूजामा सामेल भएर जन्मोत्सव मनाउने र शुभकामना दिने काम गरे राम्रो हुन्छ नि !”
तर उनीहरू किन मान्थे । झन् ठूलो स्वरमा भने, “अँ, त्यसो भनेर कहाँ हुन्छ र ! हजुरको बाजेवाला पूजा बिहानै गरिसेला । हाम्रो पार्टी त रात परेपछि गर्ने हो नि ! त्यसबेला विश गर्ने, हजुरलाई नै हिरो बनाउने, फोटो खिच्ने अनि भोज गरेर मोजमस्ती गरेपछि पो हाम्रो ‘बड्डे पार्टी’ सकिन्छ त ! सबै साथीकोमा त्यसै गर्छन् । त्यो पूजापाठको पाखे चलन चलाएर ‘जन्मसो’ मनाउने जमाना गैसक्यो । अब हामीले भनेजस्तो पार्टी नगरे हजुरको नाम टोलका कन्जुसहरूको लिस्टमा दर्ता होला र हाम्रो पनि साथीभाइबीच इज्जत खुस्केला भन्ने डर छ नि !”
केही नलागेपछि बल्लतल्ल रु. ५,०००/- मा कुरा मिलाएर ती आफ्ना ‘डे प्रेमी’हरूलाई पन्छाइयो । अनि अब त फुर्सद भयो भनेर ढुक्क परेको त पल्लो घरकी कान्छी नानी मुसुक्क हाँस्तै “अङ्कल नमस्ते” भन्दै आइपुगिन् । कुरा के रहेछ भने पर्सी उनका मम्मी ड्याडीको पचपन्नौँ ‘म्यारिज डे’ पर्छ रे, त्यसमा हामी दुवै बुढाबुढीको उपस्थिति अनिवार्य गरिएको छ रे ! उनले थप कुरा के सुनाइन् भने “अर्को हप्ता नजिकैको गजल रेस्टुरेन्टमा भव्य रूपमा मनाइने ‘भ्यालेन्टाइन डे’मा पनि अङ्कल-आन्टी दुवैजना आएर हामी नयाँ युवा युवतीलाई हौसला प्रदान गर्नैपर्छ भनेर हाम्रा साथीभाइबीच कुरा चलेको छ, त्यसमा हामीलाई निराश नपार्नुहोला ।”यति भनेर उनी हिँडिहालिन् ।
उनका कुरा सुनेर म त अक्क न बक्क भएँ । उतिबेलै प्रतिवाद गरिहाल्ने होस पनि भएनछ । जन्मदिनको उत्सव मनाउने कुरासम्म त ठीकै थियो । कुनैबेला आफ्नै नेपाली पाराले ‘फादर्स डे’, ‘मदर्स डे’, ‘टिचर्स डे’ वा त्यस्तै कसैका जयन्ती उत्सवको रूपमा मनाउने गर्दा पनि रमाइलै हुन्थ्यो । तर अब बुढेसकालमा कसैको ‘म्यारिज डे’ र ‘भ्यालेन्टाइन डे’ मनाउन यताउतिका पार्टीतिर डुली हिँड्ने कुरा मैले पचाउन सकिरहेको थिइँन । अझ अब अलिक हुनेखाने घुस्याहा टाइपका साथीहरूले ‘सर्भिस ज्वाइन डे’, ‘प्रमोशन डे’ जस्ता थप फर्माइसी ‘डे’हरूको पनि कुरा चलाउन थालेका छन् रे ! म सोझो मान्छेलाई जसले पनि फँसाइहाल्छन् । अब त महिनैपिच्छे एकदुइटाका दरले आइलाग्ने यस्ता अनेकथरिका ‘डे’हरूका लागि पनि बजेटको जोहो गर्नैपर्ने भो ! बाहिरको जाँडरक्सीसहितको भोजभतेर भनेपछि पहिलेदेखि नै तर्सिने, तर कसैलाई पनि सोझै नकारेर पन्छाउन नसक्ने एकमजोरी भएको मान्छे हुँ म ।
यसरी नै यस्ता ‘डे प्रेमी’हरूदेखि दिक्क भएको बेला दुइ दशकअघि “पर्यावरण” पत्रिकामा छापिएको मेरो आफ्नै व्यङ्ग्यलेखको सम्झना आयो । धेरैले मन पराएको त्यस लेखको शीर्षक थियो “डे प्रेमीहरूको चुरीफुरी” । त्यतिबेला म अरु केही साथीहरूका घरमा भएका घटनाद्वारा बढी प्रभावित थिएँ, त्यसमा आफ्ना कल्पनाको मसला नै बढी थियो । हास्यरस त भरिएकै थियो । तर यतिबेला बल्ल थाहा पाइयो कि उतिबेलाका भन्दा चर्का ‘डे प्रेमी’हरू आफ्नै घरमा तयार भैसकेका रहेछन् । त्यसैले अहिलेको जमानाअनुसार पल्लाघरे रामदाइको विवाहको वार्षिकी मनाउनलाई उपहार किन्न त जानैपर्नेभो ! तर त्यसपछि टोलछिमेकका उरन्ठेउला ठिठाठिटीको ‘भ्यालेन्टाइन डे’ को निम्तो टार्न पो कुन जुक्ति गरुँ, सोझै इन्कार गरे ती हिसी परेकी पल्लाघरे नानीसँग पनि बोलचालै बन्द होला भन्ने पीर छ । त्यसैले अहिले त्यो निम्तो टार्ने कुनै पत्यारलाग्दो उपाय पत्ता लाउने प्रयास गर्दैछु ।
०००
नारायणटार, जोरपाटी ।
Subscribe
Login
0 Comments
Oldest







































