साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाम छोट्याउने रहर

होइन जेठाबा, तपाईं हामीलाई गाउँखाने कथा सुनाउन बस्नुभएको भए पनि यी देशै खाने खालका नेताका कुरा सुनाएर अल्झाउनुहुँदो रहेछ, अनि हाम्रो जवाफ कसरी मिलोस् त ?

Nepal Telecom ad

हेमराज पौडेल :

हाम्रा कतिपय ठूला नेताहरू छोटकरी नामबाट बढी प्रसिद्ध हुनुभएको देख्ता कुनैबेला मलाई पनि नाम छोट्याउने रहर लागेको थियो । वी पी कोइराला, जी पी कोइराला, सी के प्रसाईं, आर के मैनाली, सी पी मैनाली, सी पी गजुरेल, एन पी साउद, के पी ओली, सी के राउत जस्ता त ठूलै नाम भए । खोज्दै जाने हो भने त्यस्ता नाम छोट्याएर काम चलाउने छोटे नेता गाउँघरमा पनि भेटिन्छन् । हुन पनि अहिलेको नयाँ जमानामा कुनै खाडी मुलुकका राजकुमारको जस्तो तीन बित्ता लामो नाम घोक्ने फुर्सद कसलाई हुन्छ र ! सबैतिर सर्टकटबाटै काम चलाउनु राम्रो हो ।

यस प्रसङ्गमा मैले नबुझेका कुराका लहरमा अर्को एउटा कुरा पनि थपिएको छ । त्यो हो कुनै नाम छोट्याउँदा अंग्रेजी अक्षर नै रोज्नुपर्ने किन होला ? अंग्रेजीमा भन्दा अक्षर त नेपाली अर्थात् देवनागरी लिपिमा नै बढी छन् नि ! एकजना मित्रले तर्क गर्थे कि हाम्रा चर्चित नेताजीहरूको छोटकरी नाम नेपालीमै राखे कसो होला ? जस्तैः गि प्र को, पु क दा, ख प्र ओ, शे ब दे, आ रा दे, मा कु ने, बा रा भ, च का रा, आदि । तर नेपाली राजनीतिमा अंग्रेजी छोडेर नेपाली अक्षरतिर लाग्दा त्यो शान नरहने ठानिएकोले उनको तर्क काम लाग्ने देखिएन । हुनत हाम्रा केही लोकप्रिय लेखक, सहित्यकारहरू छोटकरी नेपाली नामबाट पनि सुपरिचित भएकै हुन् । जस्तै ता ना सर्मा (तारानाथ शर्मा), ध च गोतामे (धनुषचन्द्र गौतम), के रा (केशवराज) पिँडाली, चूमरे (चूडामणि रेग्मी) आदि । तर नेपाली राजनीतिको क्षेत्र त अंग्रेजी अक्षर जस्तै अन्तर्राष्ट्रिय स्तरको पर्‍यो र पो !

केही दिन पहिले कामविशेषले आफ्नो गाउँमा पुग्दा गाउँका “जेठाबा” चौतारीमा बसेर तीनचार जना गाउँले केटालाई गाउँखाने कथा सुनाउँदै हुनुहुँदो रहेछ । उहाँको खास नाउँ गोवर्द्धन बहादुर बुढाथोकी भएपनि उहाँ आफूलाई छोटकरीमा “जी बी बी” भनाउन रुचाउनुहुन्छ । त्यसै पनि उहाँ गाउँघरका “छोटे नेता” त हुँदै हो । ठूला नेताको जस्तै नाम छोटो पार्ने रहर उहाँलाई पनि किन नलागोस् त ! तर गाउँका बुढापाका र जेठाबाठामा गनिने हुँदा सबै केटाकेटी उहाँलाई “जेठाबा” नै भन्छन्, हामी पनि त्यसैमा सही थाप्छौँ ।

अँ त त्यसबेला जेठाबा भन्दैहुनुहुन्थ्यो “हेर केटाहो, म हाम्रा केही ठूला नेताको छोटकरी नाम भन्छु । तर जबाफमा तिमीहरूले उनीहरूको पूरा नाम भन्नुपर्छ । सबै नाम ठ्याक्कै मिलायौ भने राम्रै इनाम पाउँछौ, नभए तिमीहरूले मलाई गाउँ खान दिनुपर्नेछ । केटाहरूले “हुन्छ” भनेपछि जेठाबाले चारवटा नाम लहरै भन्नुभयो “जी पी के, पी के डी, एस बी डी, र के पी ओ ।

केटाहरू एकछिन घोरिए, तर सबैको पूरा नाम मिलाउन सकेनन् । अनि चारवटै गाउँका नाम भने, “ माङदिङ, हुत्तिखिम, चुङखुरुङ, घोर्लिखर्क“ । त्यो सुनेर जेठाबा जङ्गिनुभयो, “के यस्ता पछौटे गाउँ दिएको ? यस्ताको विकास गर्न थाल्दा त जुग बित्छ जुग । ल भैगो, तिमीहरूसँग गतिला गतिला गाउँ नै छैनन् क्यार । त्यो जवाफ पनि मै दिन्छु, लहरै सुन – गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, शेरबहादुर देउवा र खड्गप्रसाद ओली । बुझ्यौ त ? आफ्ना गतिला नेताका नाम पनि कण्ठ नपार्ने कस्ता भुच्चुक तिमीहरू ?

यस्तैमा तीमध्ये अलिक ठूलो, बाठो केटो उठ्यो र उसले प्वाक्क भनिदियो, “होइन जेठाबा, तपाईं हामीलाई गाउँखाने कथा सुनाउन बस्नुभएको भए पनि यी देशै खाने खालका नेताका कुरा सुनाएर अल्झाउनुहुँदो रहेछ, अनि हाम्रो जवाफ कसरी मिलोस् त ?”

केटाका कुरा सुनेर जेठाबा त अवाक् हुनुभो । अनि म पनि नाम छोट्याउने नेताको सिको गर्ने विचार छोडेर घरतिर लागें ।

घरतिर लाग्दै गर्दा यसो… सम्झेँ हाम्रा कुनै टाढाका बन्धु मणिराज पौडेलले आफ्नो नाम छोट्याउने रहर पूरा गर्न एम आर पी लेख्ने गर्दा उनकै कुनै लगौंटिया साथीले एकदिन “हलो, म्याक्सिमम रिटेल प्राइस” भनिदिएछ र झगडै परेको थियो रे । त्यसैले यो नाम छोट्याउने रहर पूरा गर्दा कुनैबेला अर्थको अनर्थ पर्ने रहेछ भन्ने निष्कर्षमा पुगेको छु ।

०००
जोरपाटी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राष्ट्रियता र टोपी

राष्ट्रियता र टोपी

हेमराज पाैडेल
बैठके काजी

बैठके काजी

हेमराज पाैडेल
छड्के गफ

छड्के गफ

हेमराज पाैडेल
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x