हेमराज पाैडेलबैठके काजी
सबैतिर कुरा मिलाएर काम गर्नुपर्ने हुन्छ । नभए “झूटा मुद्दा” वा “देशी-विदेशी षड्यन्त्र” जस्ता शब्द हाम्रो राजनीतिमा चलेकै छन् । त्यस्तै कुराको आडमा “शान्तिपूर्ण” भनिने तोडफोड सहितको आन्दोलन आदि पनि हुनसक्छ ।

हेमराज पौडेल :
हाम्रो टोल (श्रीराम टोल) भन्दा पल्लो टोलको नाम हो हनुमान् टोल । आजकल धेरैले त्यस टोलको नाम केही बिगारेर हनुमन्ते टोल भन्ने गरेका छन् । त्यस टोलका बासिन्दाहरूमध्ये केही रमाइला मान्छे पनि छन् । तिनैमध्येका एक हुन् “बैठके काजी” । उनको असली नाम चतुरमान हो क्यार । तर वरपर सामुपर्दा “काजी साहब” र उनी नभएको बेला “बैठके काजी” वा “चतुरे काजी” भन्ने उनको नाम प्रचलित पहिचान नै बनेको छ । त्यसमा पनि अझ प्रसिद्ध त “बैठके काजी” नै हो । उनको खास देखिने पेशा केही छैन । तर उनी निकै शानदार र प्रभावशाली व्यक्ति मानिन्छन् । उनी अचेल “राजा कामरेड” उपनामले चिनिने धेरै ठूला सर्वहारावादी नेताका बैठकको शोभा बढाउँछन् । त्यो बैठकको साजसज्जा मिलाउने, आउने मान्छेको स्वागत गर्ने र भलाकुसारी गर्ने काम उनको हुन्छ । एक किसिमले “राजा कामरेड” का भित्रिया नै हुन् उनी । मीठो बोलीचालीले मख्ख पार्न सिपालु छन् । भातभान्सा हेर्ने र परिआएका अह्रौटे काम गर्ने त अरू सुसारेमुसारे छँदैछन् नि ! उनले त्यता अल्मलिनु पर्दैन । उनी बेलाबखत आफू पनि सानोतिनो सर्वहारावादी नेता भएको दाबी समेत गर्ने गर्छन् ।
हाम्रा “बैठके काजी”को घरबार सधैँजसो तिनै राज्यसत्ताको शिखरवरिपरि रहने “राजा कामरेड” का कृपाले राम्ररी नै चलेको छ । आफ्नो परिवारका दुइजना सदस्यलाई एउटा निकै राम्रो आम्दानी हुने ठाउँमा नियुक्ति दिलाएका छन् । कुनै ठूलो विकासे अड्डाबाट चाँजोपाँजो मिलाएर उपलब्ध गराइएको एउटा नयाँ मोटरसाइकल चढेर उनी प्रत्येक दिन “राजा कामरेड” को बैठकमा पुग्छन् र उनको भनाइअनुसार त्यहाँ जनताको निःशुल्क सेवा गर्छन् । उनले त्यस्तो सेवालाई जनसेवाकै नाम दिएका छन् । दिनभरि उतै बसेर चियाखाजा खाएर बेलुकी घर फर्किन्छन् । “राजा कामरेड” राजधानीमा भएको बेला उनको दिनचर्या प्रायः यस्तै हुन्छ ।
यी काजीले आफ्नो नातागोताका केही आफन्तलाई कतै सानातिना काममा पनि लगाइदिएका छन् । केही मालदार मान्छेलाई गतिलै ठेक्कापट्टाको काम पनि दिलाइदिएका छन् । त्यस्ता कामबाट उनलाई कति लाभ प्राप्त हुन्छ र त्यसको कति लाभांश “राजा कामरेड”को निजी ढुकुटीमा दाखिला हुन्छ भन्ने कुराचाहिँ रहस्यकै गर्भमा हुन्छ । किनकि उनको दाबी अनुसार त्यो सबै जनसेवा नै त हो ! त्यसो त गफ गर्नुपर्दा उनी रमाइला नै देखिन्छन् ।
हामीजस्ता सामान्य जनतालाई ती काजीको सङ्गतबाट प्राप्त हुने लाभचाहिँ के हो भने यदाकदा शीर्षतहको सत्ताराजनीतिका एकदुइटा गुह्य कुराको रहस्य सीमित मात्रामा उनको श्रीमुखबाट सुन्न पाइन्छ । तर त्यस्तो कुरा उनी फुर्सदमा भएको र उनको मूड राम्रो भएको बेला मात्र सीमित रूपमा उनका मुखबाट चुहिन सक्छ । त्यसैले त हामी कहिलेकाहिँ ती काजीको सङ्गत गर्न लालायित हुन्छौँ ।
हिँजो मात्रको कुरा हो, म एकाबिहानै बाग्मती नदीका किनारको शुद्ध हावा खान निस्केको थिएँ । तर त्यहाँको हावा पनि हाम्रा देशको राजनीति जस्तै दूषित भइसकेको रहेछ । कतै ढलको भँगालो र कतै गन्हाउने फोहोरको राश बोकेको वाग्मतीबाट स्वच्छ हावाआउने आशा के गर्न सकिन्थ्यो र ! त्यसैले कतै नाकमुख छोप्ने टालो (मास्क) भिर्दै र कतै खोल्दै गरेर फर्किन लाग्दा बाटैमा ट्वाक्क “बैठके काजी” सँग जम्काभेट भयो । मैले “नमस्ते काजीसाहब” भनेपछि उनले पनि नमस्ते फर्काएर हालखबर सोधे । उनी फुर्सदिला रहेछन् र उनको मूड पनि राम्रै रहेछ । उनीसँग राम्रै हिमचिम भएकोले एकछिन त्यतै सडकछेउको कान्छी साहुनीको चियापसलमा बसेर गफ गर्दै चिया खाने कुरा भयो । त्यहाँ भीडभाड थिएन । ती साहुनी ताजा, सफा र मीठो चिया बनाउँछिन् । काजीसँग चिया खान बसेपछि कुरा राजनीतितिरै मोडियो ।
“होइन, काजीसाहब, यो नक्कली सुकुम्बासी काण्डमा त ठ्लै नेता पनि मुछिएका छन् रे । त्यस्तै कुनै ठूलै नेतालाई कुनै टाढाको जिल्लाको कार्यक्रममा भेटेर प्रहरीले “तपाईंको नाममा पक्राउपुर्जी छ” भन्दा “म अनुसन्धानमा सहयोग गर्छु” भनेछन् र विश्वासमा छोडिएछ । उनको ठाउँमा कुनै ठूलै प्रतिष्ठित कर्मचारी, बुद्धिजीवी वा समाजसेवी आदि जो भेटिएको भए पनि प्रहरीले कर्याप्च्याप पारिहाल्थ्यो, तर ठूलै पार्टीका ठूलै नेता, त्यसमा पनि अझ धेरै ठूला नेताले काँध हालेका भनेपछि समात्ने कुरै भएन रे । त्यसपछि उनी चढेको गाडी मात्र ड्राइभर सहित काठमाडौं आइपुगेको र नेताजी “फरार“ रहेकोे भन्ने सुनियो । असली कुरा के हो काजीसाहब ?” मेरो सीधा प्रश्न थियो ।
काजीसाहबले संक्षिप्त उत्तर दिए “यो त देश चलाउने ठूला नेताजीहरूबीचको कुरा पर्यो । यहाँ वाइडबोडी जहाज काण्ड, बालुवाटार काण्ड, एनसेल काण्ड, यति समूह, ओम्नी समूह, बतास समूह, आदिसँगको ठेक्का काण्ड, आयल निगमको ठूलो जग्गा खरिद काण्ड, ७० करोडको घूस डील गर्ने काण्ड, ठूला राजस्व हिनामिना काण्ड, ठूला सुनतस्करी काण्ड, माओवादी क्यान्टोन्मेटको रकम हिनामिना काण्ड, गिरिबन्धु टी इस्टेट काण्ड आदि सबै मिलाएर अरबौँ अरबौँका अनगिन्ती घोटालाहरू भएकै हुन्, तर खास कारबाही भएको देखिएन । यो त मात्र जम्मा २३/२४ करोडको कुरा हो । यसमा त्यसरी लागिपरेका यी पत्रकार भन्ने छुच्चा प्राणीले स्यालहुइँयाँ नमच्चाइदिएको भए यत्रो हल्ला हुने नै थिएन । तर जेजस्तो भए पनि शीर्ष तहमा कुरा मिल्यो भने केस धेरै जटिल नहोला । यसमा अरू ठूला पार्टीका ठूला माछा पनि होलान् । सबैतिर कुरा मिलाएर काम गर्नुपर्ने हुन्छ । नभए “झूटा मुद्दा” वा “देशी-विदेशी षड्यन्त्र” जस्ता शब्द हाम्रो राजनीतिमा चलेकै छन् । त्यस्तै कुराको आडमा “शान्तिपूर्ण” भनिने तोडफोड सहितको आन्दोलन आदि पनि हुनसक्छ । जे भएपनि कुनै बलियो राजनैतिक तिकडम चलेन भने कुरा मिलिहाल्ला । अहिले भने छोड्नोस् यस्ता कुरा । देशको चिन्ता गर्ने ठूला नेताहरू यस्ता झिनामसिना कुरामा अल्झेर बसिरहन्छन् र ? समाधानको कुनै उपयुक्त बाटो निकालिहाल्छन् नि ! अब हामी चिया खाइसकेर आफ्नो बाटो लागौँ ।
“बैठके काजी” बाट यस्तो ज्ञान प्राप्त भएपछि म उनीसँग बिदा भएर आफ्नो घरतिर लागें ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































