साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रियता र टोपी

अनुत्पादक देखावटी कामका साथै विदेश भ्रमणको नाममा ठूलो टोली बनाएर जथाभावी बढी खर्च गर्ने र जनतालाई ढाँटी आफन्त तथा कार्यकर्ताहरूलाई मात्र पोस्ने बुद्धि नपलाओस् ।

Nepal Telecom ad

हेमराज पौडेल :

गत साल असारको अन्त्यतिर बिहान पानी परेर उघ्रेको दिन थियो । कामविशेषले काठमाडौं उपत्पत्यकाभित्रकै एउटा नगरपालिकाको निकै व्यस्त वडा कार्यालयसा पुगियो । त्यहाँका सरल र जनप्रिय्य अध्य्क्षज्यू तल्लो टोलका जनताले बनाएको शानदार सार्वजनिक शौचालय उद्घाटन गर्ने निम्तो पाएर उतै जानुभएको रहेछ । जनताका मान्छे, जनताले बोलाएपछि त जानैपर्‍यो नि ! मेरो काम सानै थियो। कुरा मिलेमा तलका कर्मचारीले नै त्यो काम गरिदिन सक्छन् भन्ने बुझेपछि म सम्बन्धित कर्मचारीका कोठातिर लागें । उनको कुर्सी खाली नै रहेछ । नजिकैको टेबलका कर्मचारीले कुरा मिलाएर भनिहाले “उहाँ त भर्खरै चियानास्ता गर्न बाहिर निस्कनुभएको छ । यहाँ काम धेरै, कर्मचारी थोरै छौँ । यसो फुर्सद मिलाएर पालैपालो चिया खान जान्छौँ । एकछिन पर्खिंदै गर्नोस् । एक घन्टा जतिमा उहाँ आउनुहोला ,अनि तपाईंको काम होला” ।

भित्र बस्ने ठाउँ थिएन । त्यस्सैले बाहिरको दृश्य हेर्नतिर लागियो । भवनको भुइँतलाको छेउको कोठा ठूलै रहेछ । त्यसको ढोकादेखि आँगनको पल्लो छेउसम्म लामै लाइन लागेको रहेछ । त्यसमा धेरै त ७० वर्ष नाघेका वृद्धवृद्धा र अरु युवायुवती (खाडीतिर श्रम गर्न विदेशिने सुरमा रहेजस्ता) उभिएका द्देखिन्थे । ती सबै राष्ट्रिय परिचपत्रको फारम दर्ता गराउन लाइन लागेका रे ! त्यो नभए साउनदेखि पेन्सन, वृद्धभत्ता, अनुदान आदि केही नपाइने र पासपोर्ट समेत बन्न नसक्ने भएको छ रे ! हल्लै न हो, मान्छे नजानिदो त्रास बोकेर लाइनमा उभिएकै थिए । मचाहिँ भित्र के हुँदैहोला, जान्ने उत्सुकतावश “अर्कै काम छ” भन्ने बहाना बनाई लुसुक्क त्यो कोठाभित्र छिरेर कुनामा उभिएँ ।

त्यहाँ एकजनाः ८० वर्ष पुगेजस्ता देखिने वृद्ध र वडाका सचिव जस्ता देखिने कर्मचारीबीच भएको संवादको ब्यहोरा यस्तो थियोः-

वृद्ध – बाबु, धेरै भयो धाएको, अब त लाइनमा उभिने शक्ति पनि छैन । आज त काम सकिदिनै पर्‍यो । नत्र साउनादेखि मेरो पेन्सन र बुढीको बृद्धभत्ता रोकिन्छ रे । मैले त पेन्सन पाउने हुँदा वृद्धभत्ता लिने कुरै भएन । तर बुढीले त्यो भत्ता लिन्छिन् । हाम्रो गुजारा चलाउने साधन यी दुईथोक मात्र हुन् । औषधि उपचार पनि गर्नैपर्‍यो । छोराहरू छुट्टै बस्छन् । हाम्रो स्याहारसुसार गर्ने फुर्सद छैन उनीहरूलाई ।

कर्मचारी – काम त भैहाल्छ नि बा ! यत्रो भीड छ, हामीले पनि भ्याएसम्म गर्ने हो, नभ्याएदेखि भोलि आउनोस् भन्नैपर्छ । फारममा सबै ब्यहोरा मिलाएर भर्नुभएको छ कि छैन, हेर्नुपर्छ । फारम ठीकसँग भर्नुभएको छ त ?

वृद्ध – पहिले आफैले भर्दा मिलेन भनिदिए । अनि यस कार्यालय बाहिरको टहरामा ४/५ जना केटा ल्यापटप लिएर फारम भरिदिन बसेका छन् भन्ने सुनेर तिनैमध्येका एकजनालाई फारम भरिदिन लगाएको हो । उनले “मेरो रेट त जनही रु ३०० हो, तर तपाई बुढाबुढी दुवैको गरेर रु ४०० मात्रमा भरिदिउँला” भनेर त्यति नै लिए । पासपोर्टको लागि आउनेसँग त जनही ३०० नै लिन्छन् रे । उनले फारम राम्ररी भरिदिएका छन् । उनलाई सबैले गणेश गोर्खाली भन्दा रहेछन् । उनको घर काभ्रेतिर भए पनि उनका बाबुआमा गोर्खा गएको बेला उतै जन्माएर ल्याएकोले गोर्खाली भन्ने नाम चलेको रे !

कर्मचारी – ए, त्यो गोर्खालीले फारम भरिदिएको भए त ठीकै होला । त्यो मान्छे पक्का छ । (उनका भनाइको टोन हेर्दा त्यो गोर्खाली कमिसन बुझाउने कुरामा पनि उस्तै पक्का होला भन्ने अड्कल काट्न सकिन्थ्यो) यहाँ त्यो फारम दर्ता गराउन पैसा लाग्दैन । बाहिर तपाईं कसलाई कति दिनुहुन्छ, त्यो हामी जान्दैनौँ । खै अब तपाईं त्यो टोपी फुकालेर, अनि आमै त्यो टल्किने फुली फुकालेर उतातातिर फोटो खिचाउन बस्नोस् ।

वृद्ध – मैले ५ वर्षको उमेरदेखि अहिलेसम्म सधैँ लगाइआएको टोपी र मेरी बुढीले ८/९ वर्षको उमेरमा गुन्युँचोली पाएको दिनदेखि लगाइआएको फुली नफुकाली त्यो राष्ट्रिय परिचयपत्र लिनै नपाइने हो र ? पहिले नागरिकताको प्रामाणपत्र लिनको लागि टोपी लगाउनु अनिवार्य थियो । मेरा शैक्षिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, ज्येष्ठ नागरिक परिचयपत्र, निवृत्तभरण अधिकारपत्र (पेन्सन पट्टा) आदि सबै प्रमाणपत्रमा टोपी लगाएकै फोटो छ । तिनैका आधारमा गत २२ वर्षदेखि पेन्सन बुझ्दैछु । बरू अबचाहिँ यो टोपीबिनाको राष्ट्रिय परिचयपत्र लिएर जाँदा पहिलेका फोटासँग नमिल्ने तालुखुइले, चाउरे बनुहार देखेर बैंकवालाले पेन्सन दिन आनाकानी गर्ने होलान् । फेरि यो त्यही मान्छे हो भनेर प्रमाणित गरिदिन यतै पठाउलान् भने डर पनि छ । त्यसैले त्यो राष्ट्रिय परिचयपत्रको लागि टोपी लगाएरै फोटो खिचाउन पाउँ ।

कर्मचारी – बढी कुरा नगर्नोस् बा ! माथिको आदेश त्यस्तै छ त हामी के गरौं । तपाईंको गनगन धेरै सुन्ने फुर्सद हामीलाई छैन । राष्ट्रिय परिचयपत्र लिने मन भए खुरुक्क त्यो टोपी फुकालेर फोटो खिचाउन बस्नोस् । नत्र लाइनबाट बाहिर गएर अरुलाई मौका दिनोस् ।

यति सुनेपछि ती वृद्ध व्यक्ति र उनकी श्रीमती बाध्य भएर रातो मुख लाउँदै क्रमशः टोपी र फुली झिकी फोटो खिचाउन बसे । म पनि अमिलो मन लिएर आफ्नो काम गर्ने कर्मचारी फर्के होलान् भन्ने ठान्दै अर्को कोठातिर लागें । हुन त त्यसबेला मलाई पनि ती वृद्ध व्यक्तिको समर्थनमा आवाज उठाउनुको साथै नेपालको राष्ट्रिय परिचयपत्र लिनको लागि नेपालीले टोपी फुकाल्नैपर्ने भन्ने आदेशको जोडदार विरोध गर्न मन लागेको थियो । तर पन्चायतकालमा व्यवस्थाको विरोध गर्नेलाई अराष्ट्रिय तत्त्व धोषित गरिए जस्तै गणतन्त्रकालमा टोपीनिषेधको विरोध गरेवापत माथिको आदेश नमानेको बहानामा मलाई कार्यालयभित्रको अनुशासन भङ्ग गर्ने अराजक तत्त्व घोषित गरी सदर खोरतिर चलान गरिदेलान् र आफ्नो सानो काम पनि नबन्ला भन्ने डरले त्यसो गर्न सकिएन ।

त्यस घटनाबाट मलाई अहिलेको प्रगतिशील उन्नत शासन व्यवस्थामा नेपाल्को राष्ट्रिय परिचयपत्र पाउन नेपालीले टोपी फुकाउनैपर्ने भएछ भन्ने तत्त्वज्ञान प्राप्त भयो । अनि म पनि समय खुस्केला भन्ने डरले त्यसको भोलिपल्टै उसैगरी टोपी झिकेर राष्ट्रिय परिचयपत्रको लागि आफ्नो वडामा लाइन बस्न गएँ । अहिलेको नयाँ नेपालको राष्ट्रियताभित्र टोपी अट्ने ठाउँ हराएछ क्यार जस्तो लाग्यो । आफू परियो सधैँ टोपी लगाउने र राष्ट्रिय टोपी दिवस मनाउने मान्छे । उसैपनि त्यसबेला मैले हाम्रो देश हाँक्ने महान् प्राणीहरूसँग राष्ट्रिय परिचयपत्रको लागि टोपी लगाउन पाउनुपर्ने जिद्दी गर्दै विरोध गरेको भए मलाई राज्यको आदेश, निर्देशन नमान्ने भनेर अराष्ट्रिय घोषित गरिदेलान् कि भन्ने डर थियो ।

त्यस समयमा राष्ट्रिय परिचयपत्र लिन चाहने टोपीधारीहरूमध्ये अन्दाजी ९५ प्रतिशातले वाध्यतावश टोपी फुकालेरै सोको लागि आवेदन दिनुपरेको थियो। तर पछि आएर धेरैले गुनासो गरेकाले अब त राष्ट्रिय परिचयपत्रको लागि टोपी नफुकाले पनि हुन्छ भन्ने टोपीफुकुवाको आदेश जारी भएको खबर सुनेको छु । त्यसो हो भने अझै राष्ट्रिय परिचयपत्रको लागि आवेदन दिन छुटेका कोही टोपीधारी जनता बाँकी छन् भने अबउप्रान्त टोपी झिक्नुपर्ने बाध्यता हटेको सन्देश उनीहरूसम्म पनि पुर्‍याउनुपर्ने भयो ।

यस्तो सुखद खबर सुनेपछि म पनि ढुक्क भएर टोपी नफुकाली राष्ट्रदेव भगवान् श्रीपशुपतिनाथकहाँ बिन्ती बिसाउन जाँदैछु । भगवानसँग गरिने मेरो प्रार्थनाको ब्यहोरा यस्तो हुनेछः-
“हे प्रभु ! मेरो देशका यभाग्यविधाता हौं भन्ने यी ठूला नेताहरूका दिमागमा देशको अर्थतन्त्र ओरालो लागेको बेला देशलाई अनावश्यक ऋणको बोझ बोकाएर त्यो ऋणको रकम नचाहिँदा काममा खर्च गर्ने, आफ्ना स्वार्थपूर्तिको लागि राष्ट्रहित विपरीतका सन्धिसम्झौता गर्ने, मितव्ययी नबनेर आफ्ना मान्छे भर्ती गर्न अनावश्यक आयोग, कार्यालय आदि खडा गर्ने, भागबन्डा मिलाउन आवश्यकताभन्दा बढी मन्त्रालय तथा मन्त्री थप्ने, अनुत्पादक देखावटी कामका साथै विदेश भ्रमणको नाममा ठूलो टोली बनाएर जथाभावी बढी खर्च गर्ने र जनतालाई ढाँटी आफन्त तथा कार्यकर्ताहरूलाई मात्र पोस्ने बुद्धि नपलाओस् । उनीहरूका सद्द्बुद्धिका भाँडामा बिर्को नलागोस्, अनि सधैँ निष्पक्ष तथा स्वार्थरहित भएर देशविकासको काम गर्ने गरी उनीहरूका घैंटामा झलमल्ल घाम लागोस् । जय भोलेनाथ !”

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम छोट्याउने रहर

नाम छोट्याउने रहर

हेमराज पाैडेल
बैठके काजी

बैठके काजी

हेमराज पाैडेल
छड्के गफ

छड्के गफ

हेमराज पाैडेल
0
Would love your thoughts, please comment.x
()
x