साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झोले सरको नयाँ पार्टी

सांसद् भएपछि संसद् चल्न नदिन अर्काको बुइ चढ्ने, माइकको झटारो हान्ने, तोडफोड गर्ने, हुलदङ्गा गर्ने जस्ता राजनैतिक कर्म गर्न हामीलाई छुट भइहाल्छ । त्यति गरेर पनि हाम्रो भत्ता र सुविधाको रकम कहीँ जाँदैन ।

Nepal Telecom ad

हेमराज पौडेल :

हिजो दिउँसोको न्यानो घाममा डुलेर फर्केपछि हाम्रा टोलबाहिरको फलैँचामा विश्राम गर्न बसेको थिएँ । पल्लो टोलका “झोले सर” टुप्लुक्क आइपुग्नुभयो । उहाँ सबैका साझा सर हुनुहुन्छ । उहाँलाई अगाडि सबैले “सर” अथवा “मेहता सर” भनेपनि पछाडि चाहिँ पल्लो टोलकाले “टोले सर” र यो टोलकाले “झोले सर” भन्ने चलन छ । उहाँको काँधमा सधैँ एउटा झोला हुन्छ । त्यसभित्र मार्क्सवादी किताब हुँदाहुन् । उहाँ देखाउन नरुचाउने, कसैले हेर्न पनि नचाहने हुँदा किताब सधैं झोलाभित्रै हुने । उहाँका गफचाहिँ निकै रमाइला । अग्लो खाइलाग्दो ज्यान, सम्पन्न जस्ता देखिने, मोटो चस्मा भिर्ने, तराईतिरका जमिनदार जस्ता ती सरलाई हेप्न कसैले नसक्ने । काठमाडौंमा उहाँका घरको काम नोकरको भरमा चल्छ । तराईको घर, परिवारबारे यताकालाई जानकारी छैन । जे भएपनि उहाँ निकै रमाइला सर हुनुहुन्छ । भाषण गर्न र कुराले ठिक्क पार्न सिपालु ।

“यो सुङ्वादी भनेको के नि सर ?” भन्नासाथ उहाँले फेरि आफ्नो बुज्रुक्याइँ देखाउन थाल्नुभयो “ल हेर आजकल शिक्षित हुँ भन्नेलाई पनि यत्ति कुरा थाहा नहुने रहेछ । कोरियाली नेता किम इल सुङ्को नाम सुन्नु भएको छैन ? उहाँभन्दा गतिलो जनवादी नेता को जन्मेको छ संसारमा ? अझै पनि उहाँकै वंशजले देश थामेका छन् । अचेल ती मार्क्स, लेलिन, माओका विचारहरू थोत्रा भइसके । अब हाम्रै देशका नेताको नाम लिँदा कसैले पत्याउँदैन । यहाँ कोही पुष्पलालवादी, मदनवादी, मनमोहनवादी भएको सुन्नुभएको छ ? बरू अरु पुराना खोज्नै परे स्टालिन आदि खोजौंला । यतिबेला सुङ नै ठीक देखिए । अब क्रान्तिकारी परिवर्तन नगरे न यहाँको व्यवस्था बदलिन्छ, न यो देशै उँभो लाग्छ ।

अनि नयाँ व्यवस्था ल्याउन पहिले चुनाव लडेर जित्नुपर्‍यो नि त, त्यो कसरी गर्नुहुन्छ ? त्यसको लागि धेरै पैसा र मान्छे चाहिन्छ, भन्ने जिज्ञासामा उहाँले लामै लेक्चर दिन थाल्नुभ्यो “नेपालमा चुनाव जित्न धेरै पैसा, थुप्रै गुन्डा, धेरै कार्यकर्ता आदिको जोहो गर्नुपर्ने कुरा हामीलाई पनि थाहा छ । त्यसैले सबै कुराको व्यवस्था मिलाएर राखेका छौं । ठूला तस्कर, कालोबजरिया व्यापारी, दुईनम्बरी टाइपका उद्योगपति, ठूला भ्रष्टाचारी नेता, त्यस्तै भ्रष्ट ठूला कर्मचारी आदि धनाढ्य व्यक्तिको लिस्ट बनाएर चन्दा असुल्ने काम गर्दैछौँ ।

त्यसैबाट डन, गुन्डा, तिघ्रे, पाखुरे, चुल्ठे, मुन्द्रे आदि फटाहा खालका होहल्ला गर्न, लड्न र भिड्न सक्ने केटा र त्यस्तै केटीको जमात तयार गर्न लागेका छौं । हाम्रा युवादस्ता, युवतीदस्ता, तरुणदस्ता, तरुणीदस्ता आदि नामका टोली सधैं फील्डमा तैनाथ हुनेछन् । सबै तहका विद्यार्थीहरूको सङ्गठन पनि तयार छ । ती सबका लागि बेलामौकामा यथेष्ट मासुलगायत जाँडपानीको व्यवस्था समेत गरेकै छौं । यति भएपछि जनतालाई खुवाएर, फकाएर, फुक्र्याएर, टुटाएर, फुटाएर, लछारेर, पछरेर, केही नलागे बुथ लुटेरै भए पनि भोट आफ्नै पोल्टामा पार्ने कुरा हामी जान्दछौँ । अरू दलका ठूला नेताले पनि गर्ने यहीँ हो, हामी मात्र के कम ! यस्ता हत्कन्डाले नपुगे सीमापारी बस्ने अपराधकर्मी भाइहरूको सहयोग लिन्छौँ । उनीहरू तयारै छन् । यति भएपछि त हाम्रो जीत पक्का ।

तर यति गर्दा पनि केही गरी हाम्रो पक्षमा दुइतिहाइ बहुमत आएन छ र ५०/६० सीट मात्र आएछ भने पनि हामीले कुनै कोग्ल्याँटो माग तेस्र्याएर, कुनै अत्तो थापेर सधैँ रोष्टम घेराउ, नाराबाजी आदि गरी संसद चल्नै नदिने काम गर्न जानेका छौं । सांसद् भएपछि संसद् चल्न नदिन अर्काको बुइ चढ्ने, माइकको झटारो हान्ने, तोडफोड गर्ने, हुलदङ्गा गर्ने जस्ता राजनैतिक कर्म गर्न हामीलाई छुट भइहाल्छ । त्यति गरेर पनि हाम्रो भत्ता र सुविधाको रकम कहीँ जाँदैन । त्यो हामीले नै पाउने हो । सधैँ यस्ता कर्मकाण्ड गरेर संसद चल्नै नदिएपछि यो व्यवस्था नै अफाप सिद्ध भयो भनेर विघटन गर्न करै लाग्छ । अनि त्यसपछि हाम्रा क्रान्तिकारी व्यवस्थाको जग बस्नेछ । कुरा बुझ्नुभो ? “जय सुङ्वाद !”

झोले सरका यस्ता हावादारी भाषणबाट बोर हुँदै गएको बेला उहाँका कार्यकर्ता टाइपका केही चेलाको आगमन भएको देखेर मौका छोपी म त्यहाँबाट सुरुक्क निस्केर खुरुक्क घरतिर लागेँ । नभए झोले सरले उहाँको पार्टी (सुङ्वादी) को सदस्यता भिडाउनुहोला भन्ने डर थियो ।

०००
नारायणटार, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम छोट्याउने रहर

नाम छोट्याउने रहर

हेमराज पाैडेल
राष्ट्रियता र टोपी

राष्ट्रियता र टोपी

हेमराज पाैडेल
बैठके काजी

बैठके काजी

हेमराज पाैडेल
छड्के गफ

छड्के गफ

हेमराज पाैडेल
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x