सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जसरी हुन्छ सोहोर !

गफडी भन्छ- चाहे पञ्च भएर भाषण गरी हिँडोस् चाहे अपञ्च भएर इतिहास लेखिबसोस् ऊ कमाउनमा थियो । जनता भनी भन्ने मै हुँहरूले भारतका गान्धीवादीले जति पनि यहाँ गरेका छैनन् । ब्याङ्क ब्यालेन्स नहुने कम्ती छन्, जनताका कुरा गर्ने भद्रहरू ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

Chudamani Regmiपूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालाई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलाई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

आँप झार् ! आँप झार् !

गफडीको कुरा केटा-केटीको जस्तो छ है, त्यसैले उसलाई सानाको हेक्का के आउँछ भने केटा-केटीलाई गाउँका बूढीहरू दुवै हातका हत्केला घोप्ट्याउन र दशै औँलालाई टम्म होइन, फराकिलो ढङ्गले जोड्न लाएर आँप झार ! आँप झार ! भन्दथे र त्यसो भन्दा त्यस्तो हातले पड्खाले हम्केझैँ गर्नुपर्ने, वर-पिपलका पात हावाले हल्लाएझैँ गर्नुपर्ने । त्यो धामी नाचेको जस्तो दृश्य केटा-केटी थाकेको तर आँप झार्ने उसको उत्सुकता रमाइलो देखिन्थ्यो । यस कुरामा मनोविज्ञान के रहेछ भने मान्छेले ‘जवतक सास तवतक आस’ राख्नुपर्दो रहेछ ! आँप झारिरहनुपर्ने रहेछ जीवनभरि । त्यसैले गफडी के देख्छ भने यत्रो हल्लखल्ल भयो, के-के भयो, तर पत्नि २८ जनाको हुल भयो मन्त्रिपरिषद् ! निर्विरोध निर्वाचन गर्नेहरूको ‘बाँदर ब्राँड’ ले गफडीलाई ‘आँप झार’ मन्त्र नै सम्झना आउँछ । मौकातौका जिन्दावाद ! काम के रे । भन्दा उही गफ कथुर्ने ! उही जिम्मेवारी ! धन्य होस् ‘आँप झार् को !’

मौकावाद जिन्दावाद !

गफ हो हजुर, । मौकाको कुरा आयो त ‘मौकावाद जिन्दावाद !’ गरौँ । हेर्नोस् ते मण्डलको मैँ हूँ सल्लाहकार ‘मण्डले’ भन्ने शब्द माझै मुखले भन्न थाले । हिजो आफूले गाली गर्ने भाषा आज आफूलाई अर्काले कतै नगरोस् भनी पहिले नै सम्पूर्ण हिजोका बिराउनी अर्काका टाउकामा थोपर्नेको भिड यहाँ छ । हिजोका पञ्च आज सन्चसँग दलीयवाला हुँदैछन् । हिजोसम्म मजाले कमाएकाहरू ‘वी.पी. बाबु बडो वीर नेता’ भनी आज माझै मुखले भन्न थालेका छन् । यता सकेसम्म गोजी भर्नेको कमी पनि भएको छैन । कमाउन पाएसम्म सकेसम्म गोजी भर्नेमा छन् हाकिमहरू ।

दीपावलीका कुरा गुन्दैछु- यता पनि दीपावली र उता पनि दीपावली गर्नेहरू भएको देश हो यो । मङ्गल लोकेहरूले खाएको यो देश हिजो पनि शोषित थियो भने भोलि पनि शोषित हुनेछ- किनभने मौकावाद लिई पैसाका पोकाले पैसाका भोकालाई रक्सी पार्नेहरूको जगजगी छ यहाँ । गफडी छक्क पर्छ- धा.चा.क. मा पसेर मोज गर्नेहरू र ‘सब ठिक छ’ भन्नेहरू धा. चा. कं. का विरोधी मात्र भएनन् करको विरोध गर्ने पनि भए । धन्य होस् मौकावादीहरूको । जे, गफडीले पनि ’मौकावाद जिन्दावाद !’ गरी मुक्त कण्ठले गफ भने गर्ने भएको छ ।

भाषणको खेती

यो कृषिप्रधान देश हो, तेसैले यहाँ जीविका गर्न कृषि कार्य गर्नुपर्दछ । नुन खान नपाए पनि र सुन लाउन नपाए पनि, पढ्न नपाए पनि र गाँस बास नपाए पनि कृषकहरूले हलो जोतेर यो भुइँ हरियो परियो पारिन्छ, त्यसैले हजुर यस्ता जनताको समर्थनमा यहाँ भाषणको खेती गर्ने महापुरुषहरू छन्, हिजो जति थिए, आज झन् डब्लिने स्थिति छ । त्यस्ता कृषकका समर्थक लिफापुत्रहरू ठेक्कावालाहरू, कालावजारियाहरू, डेढा व्याज खानेहरू, पूँजीपतिहरू, सामन्तीहरू भएका छन् । माइकको चर्को आवाज सुन्नोस्- ‘यसले यति ठग्यो, उसले उति ठग्यो । तर त्यसो भन्नेलाई प्रश्न नगर्नोस्- ‘तपाईं दुधले धोएको हुनुहुन्छ ? किरिया खाएर भन्नोस्, तपाई कतिको इमान्दार हुनुहुन्छ ? तपाईंलाई पदको आशा छ कि छैन ? आफू र आफन्त उठाउने दाउ छ कि छैन ? शोषण र ठगीको कुरा गर्नुहुन्छ, तपाई शोषक र ठग हो कि होइन? तपाईं जो भाषणको खेती गर्नुहुन्छ- अविकसित देश पछि परेको देश, बी.बी. सी. र विदेशी नेताले ‘ठिक’ भन्दा ठिक मानिने र भनिने र ठिक भन्दा बेठिक मान्न खोज्नेहरू पनि भएको यो देशका तपाई भाषणको खेती गर्नुहुन्छ । रुस र अमेरिका, चिन, ब्रिटेन, भारतमा पानी पर्यो भने यहाँ छाता ओढ्नेमध्येको तपाईं हुनहुन्छ कि हुनहुन्न ?’

जनताका कुरा

‘युगज्ञान’ कै एक पातामा ‘क’ ‘ख’ कै कुरा आएथे । ‘क’ र ‘ख’ ले जनताका कुरा गर्छन् । गफडी भन्छ- चाहे पञ्च भएर भाषण गरी हिँडोस् चाहे अपञ्च भएर इतिहास लेखिबसोस् ऊ कमाउनमा थियो । जनता भनी भन्ने मै हुँहरूले भारतका गान्धीवादीले जति पनि यहाँ गरेका छैनन् । ब्याङ्क ब्यालेन्स नहुने कम्ती छन्, जनताका कुरा गर्ने भद्रहरू । गफडी आँखाले हेर्छ, कानले सुन्छ, मन-मनै गुन्छ मनको कुरो मुखमा आउँछ, तर समाजमा गएर भन्न सक्तैन । गफडी जनसेवकलाई सुझाउ दिन चाहन्छ- हे जनसेवकहरू, जाऊ जनताका घर दैला । त्यहाँ तिमी देख्नेछौ – क्याम्पस र स्कुल भनेको के हो ? र माग भनेको के हो ? पी.एच.डी. कुन भालूभुत्ते हो ? ‘आमसभा’ कुन चराको नाउँ हो ? प्रजातन्त्रको सिङ हुन्छ कि पुच्छर ? बी.बी.सी. भनेको बेसी हो कि चन्द्रशेखर भनेको शिखर हो ? एकेडेमी भनेको एक्किन हो कि डिल हो ? उनी जान्दछन्- भोक । उनी जान्दछन्-जाडो । उनी जान्दछन्- अभाव । उनी जान्दछन्- शोषण । उनी जान्दछन् -सदाको दुःख, व्यथा, कष्ट, रपनि ती आफ्ना दर्दमा आनन्दित छन् । जाऊ जन-सेवकहरू- यो कालाबजारियाका जगत्वाट वास्तविक दुनियाँमा र कुरा गर जनताका । गफडी अनि ती पातामा कुरा भएका ‘ग’ – चाहिँ यो चिन्नेलाई मान्छ । गफडी आत्मस्वीकृति गर्छ- गफडी पनि ‘क’ र ‘ख’ कै पुच्छर हो ।

पातमा पात ! बातमा बात !

पातमा पात हुँदा बातमा बात हुन्छ । त्यसैले गफडीले बात गर्‍यो । किन भन्नुहोला भने गफडीले पनि माटो चिनेको छ । गफडी पदलोलुपवाट वाक्क भएको छ । ‘त्रुटि हटाऊ’ भनेर कराउँदा-कराउँदा गफडी थाकेको छ । गफडी मौकावादलाई विश्वकै कुष्ठरोग ठान्दछ । गफडी भाषणकर्ताहरूबाट निकै अघाएको छ । भाषणकर्ताबाट मात्र होइन हजुर, जनताका कुरा गर्ने जनताका वास्तविक शत्रुबाट पनि गफडी पुरै विरक्तिएको छ। यति भएर पनि गफडी गफ गर्न चाहन्छ । गफडी ‘वादे वादे जायते तत्ववोध’ मा पत्यार गरेर नै गफ गरिरहेछ । गफडीका गफ घिउ नलाग्ने हुन्, किनभने ऊ भारेभुरे गफडी हो । ऊ माइकमा पाइक नपरेको मान्छे । दूतावास त परै जाओस्, मन्त्रालय पनि नदेखेको मान्छे ! घिउ नलाग्ने उसका गफ हुन् सही- तर घिउ लाग्ने कुरा गर्नेहरूलाई गफडी सोध्छ, साँच्चा जनताका लागि तिमी के गर्छौ ? जनताका कुरा गर्नेहरू ! आमसभामा भन । हवस् त, पोचा गफ बन्द गर्दै सक्कली गफ सुन्न पाए, आगे फेरि ।

०००
युगज्ञान वर्ष १०, अङ्क ३२, २०३६
गफडीका गफ (२०६३)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
खाेइ टेरिस्

खाेइ टेरिस्

चूडामणि रेग्मी
गफडी ! काम गर्ने भइस् !

गफडी ! काम गर्ने...

चूडामणि रेग्मी
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
कुरा बनाइस् ! टाट पल्टँदा पनि धाक !

कुरा बनाइस् ! टाट...

चूडामणि रेग्मी
अठार कसार बटार !

अठार कसार बटार !

चूडामणि रेग्मी
ग्यास्ट्रिक बिग्रियो

ग्यास्ट्रिक बिग्रियो

अशोककुमार शिवा
खुइलिएको तालु

खुइलिएको तालु

होम सुवेदी
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी